न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
म त्यस्तो परिवारमा हुर्केँ जसले भ्रातृत्व, सद्भाव र सहृदयताजस्ता धार्मिक मूल्यलाई जोड दिन्थ्यो । यमनको मेरो सानो गाउँमा पनि यस्ता नैतिक गुणको पालना भएको देख्थेँ । घर र विद्यालयमा मलाई धर्म गुरु मोहम्मद (उनलाई सधैँ शान्ति मिलोस्) का उदाहरण अनुशरण गर्न सिकाइयो । विशेषतः उनको ‘मलाई उच्चतम नैतिकतालाई पूर्णता दिन पठाइएको मात्र हो’ भन्ने भनाइ खुब मनपर्छ ।
वर्षौँपछि ग्वान्टानामोमा मसँगै बन्दी बनाइएका साथीहरूसँगको छलफलमा मात्र त्यो भनाईलाई मैले पूर्ण रूपमा बुझेँ । हाम्रा साझा आस्थामार्फत हामीले कहिल्यै नतोडिने आत्मीय सम्बन्ध जोड्यौँ । कठोरभन्दा कठोर यातना र अत्याचारबीच पनि हामीले त्यो सम्बन्धलाई कमजोर हुन दिएनौँ ।
सन् २००१ को शरद् याममा म अफगानिस्तानको यात्रा गर्दै थिएँ । त्यही बेला स्थानीय युद्धसरदारको एउटा समूहले मलाई अपहरण गरी संरा अमेरिकी सेनालाई बुझायो । उनीहरूलाई मलाई ‘इजिप्टका वरिष्ठ अल कायदा कार्यकर्ता’ भनेर अमेरिकीहरूको हातमा बेचेका थिए । म त्यत्तिबेला भर्खर १८ वर्षको थिएँ । त्यसको केही समयपछि सन् २००२ को फेब्रुअरी महिनामा मलाई ग्वान्टानामो पठाइयो ।
ग्वान्टानामोका अन्य बन्दीहरूलाई जस्तै मलाई म कहाँ थिएँ, मलाई त्यहाँ किन लगियो अथवा किन त्यहाँ लगातार कुटपिट र गालीगलौजमात्र भइरहेको थियो, केही थाहा थिएन । म अन्योलमा थिएँ । म डराएको थिएँ, म रिसाएको थिएँ । लगातार बदलिरहने नियमविरुद्ध म प्रायशः विद्रोह गरिरहन्थेँ । चौध वर्ष ग्वान्टानामोमा बन्दी जीवन बिताएपछि म ग्वान्टानामोमै हुर्केँ भन्न मिल्यो । त्यत्तिबेला म प्रायशः बाल्यकालमा मलाई पढाइएको पाठ सम्झन्थेँ । ज्यादै कठोरतापूर्वक यातना दिइएको बेलामा पनि म ती दीक्षाहरू सम्झन्थेँ । धर्मगुरुका व्यवहार र नैतिक चरित्रबारे उनका शिक्षा मेरो दिमागमा घुमिरहेको हुन्थ्यो ।
ग्वान्टानामोभित्रै पनि एउटा शिविरबाट अर्को शिविरमा, कहिले अस्थायी कारागारबाट कालकोठरी अनि त्यहाँबाट कारागारका कोठासम्म स्थानान्तरण हुँदै वर्षौं वर्ष बिताउने क्रममा हामी बन्दीहरूबीच एउटा गहिरो आत्मीयताले जोडिएको सम्बन्ध बनिसकेको थियो । हाम्रो जीवन, संस्कृति र सम्झनाहरू सबै एकआपसमा बाँड्यौँ । राम्रो होस् वा खराब, हामी सबै मिलेर परिस्थितिको सामना ग¥यौँ । खासमा हामी एउटा परिवारका सदस्य बन्यौँ ।
सन् २०१० मा हामीलाई शिविर नं ६ मा सामूहिक बसाइमा स्थानान्तरण गरियौँ । त्यहाँ हाम्रो सम्बन्ध अझ गाढा बन्यो । त्यहाँ सोधखोज गर्ने र सुरक्षाकर्मीहरू थोरै सङ्ख्यामा मात्र थिए । शिविरका नियम पहिलेका जस्ता त्यत्ति कडा थिएनन् । त्यसकारण, हामीले तुलनात्मकरूपमा बढी स्वतन्त्रता उपभोग गरिरहेका थियौँ । हामीबीच पहिलाभन्दा बढी अन्तरक्रिया र छलफल हुन थालेको थियो । शिविरका कर्मचारीहरूसँग पनि हाम्रो कुराकानी हुन थालेको थियो ।
अलग अलग कोठरीमा प्रार्थना गर्नुको सट्टा हामीले मस्जिदमा गरेजस्तै पङ्क्तिबद्ध भएर सामूहिक प्रार्थना गर्न थालेका थियौँ । अलग अलग एक्लै एक्लै खानुको सट्टा हामी हाम्रा परिवारसँग घरमा खाएजस्तै सबै बसेर खाना खान थालेका थियौँ । एक्लै फूटबल खेल्नुको सट्टा हामी कारागारबाहिर जस्तै टोली टोली विभाजन गरेर खेल्न थालेका थियौँ । अनि कोठरीका उही छिमेकीसँग सधैँ कुराकानी गर्नुको सट्टा हामीले फरक फरक ब्लकका दसौँ जना बन्दीहरूसँग कुराकानी गर्न थालेका थियौँ ।
हामीसँग धेरै कुरा थिएनन् । तर, हामीसँगै एकअर्का थियौँ । बन्दीहरूले एकआपसलाई बोलाउँदा ‘हामी अफगानी’, ‘हामी यमनी’ आदि भन्थे । धेरै थरी विषय र सांस्कृतिक परम्पराबारे एकअर्कालाई सिकाउँथ्यौँ र सिक्थ्यौँ । हामीले एकआपसका संस्कृतिका राम्रा पक्ष अनुशरण गथ्र्यौं । अरबीहरू अफगानीजस्तो र अफगानीहरू अरबीजस्तो व्यवहार गर्न थालेका थिए ।
यदि कोही अर्काे समूहको ब्लकमा अचानक पसे, ऊ कति भाग्यमानी हुन्छ भन्ने कुरा कमैलाई थाहा होला । त्यो ब्लकमा रहुञ्जेल उसलाई पाहुना समान व्यवहार गरिन्थ्यो । उसलाई हरेक खालको व्यवहार गरेर सकेसम्म आदर सत्कार गर्ने गरिन्थ्यो ।
मैले त्यसको अनुभव बटुलेको छु । अफगान साथीहरूले मलाई आफ्नै परिवारका सदस्यजस्तै व्यवहार गरे । निरक्षर अफगान बन्दीहरूलाई मैले अरबी सिकाएको थिएँ । केही बन्दीहरू कविता लेख्थे । म उनीहरूका कविता सुन्थेँ । ६० वर्ष पुगेको एक जना अफगान कवि र गायकले ग्वान्टानामोमा बस्दा पास्तु भाषाका दुई ठेली कवितासङ्ग्रह लेखेका थिए । उनी ब्लकमा सधैँ आफ्ना कविता गाउँथे । मेरो लागि पनि उनी गीत गाउँथे ।
बन्दीहरूमध्ये बहुमत अरबीहरू थिए । त्यसकारण, उनीहरूले चरम यातना र अत्याचारको विरोधमा प्रतिरोध र विरोध पनि गर्थे । सुरुमा अफगानी र अन्य जातिका अधिकांश बन्दीहरू त्यस्ता विरोध कार्यक्रममा संलग्न हुन अनकनाए । शिविरका प्रशासकहरू विरोधबाट डराएका थिए । त्यसकारण, उनीहरूले बन्दीहरूबीचको विभाजनलाई अझ गहिरो बनाउन खोजे ।
एक दिन एक जना पास्तु अनुवादक आएर अफगानी बन्दीहरूबीच मात्र पर्चा बाँडे । त्यसमा पास्तु र दारी भाषामा मात्र लेखिएको थियो । केही अरबी बन्दीहरूका तस्बिर छापेर उनीहरूलाई ‘पाखण्ड’ भनिको थियो । पर्चा पाउने पहिलो अफगान बन्दीले पर्चा अनुवादकको मुखैमा फालेर मुखमा थुके । प्रशासकहरूले हामी बन्दीहरूबीचको भ्रातृत्व वा एकता बुझेका थिएनन् । उनीहरूले हामीलाई बदल्न सक्ने ठानेका थिए ।
जति लामो समय हामीसँगै बस्यौँ, हामीबीचको सम्बन्ध त्यत्ति बलियो बन्दै गयो । हामीले भोगेका कठिनाइ, यातना र दुव्र्यवहारले हामी सबैलाई एकै ठाउँमा ल्याएको थियो र हामीबीचको भाइचारा अझ बलियो बनाएको थियो । हामीले विशिष्ट खालको ऐक्यबद्धताको विकास गरेका थियौँ ।
जेलका अनुसन्धान अधिकारीले हाम्रा बन्धुहरूमध्ये कसैलाई यातना दिए हामी सबै त्यो अधिकारीलाई बोल्न बन्द गथ्र्यौं । यो योजनाबद्धरूपमा भएको थिएन । कसैले भनेर सबैले त्यसो व्यवहार गरिएको हुन्थेन । आफ्ना बन्धुको दुःखमा हामी सबै एकै ठाउँमा उभिनुपर्छ भन्ने भावनाले स्वाभाविकरूपमा त्यसो हुने गर्छ ।
खुसियालीको समय दुर्लभ थियो । तर, कुनै खुसीको अवसरमा हामी सबै एकै ठाउँमा उभिन्थ्यौँ । कोही बन्दीको कुनै सुखद खबर आए हामी सबै मिलेर खुसियाली मनाउँथ्यौँ । बन्दीहरूमध्ये कसैको छोराछोरीको विवाह भए अथवा कोही बाजे भए त्यसैको अवसरमा खुसियाली बनाउँथ्यौँ । हामीले सबै मिलेर हाम्रो धार्मिक पर्व मनाउँथ्यौँ । रमादानको बेलामा हामी मिलेर उपवास बस्थ्यौँ । इद अल–अधा मनाउँथ्यौँ । कोही बन्दी ग्वानटानामो कारागारबाट बाहिर सरुवा भए हामी सबै खुसी हुन्थ्यौँ ।
कारागारका सुरक्षाकर्मी र कर्मचारीहरू हाम्रो व्यवहार देखेर चकित पर्थे । उनीहरूलाई बताइएको थियो–हामी हत्यारा, ‘आतङ्कवादी’ र राक्षसजस्ता हौँ जसले कुनै पनि बेला उनीहरूको घाँटी समातेर मार्न सक्छन् । जब सुरक्षाकर्मी र कर्मचारीहरू हामीसँग कुराकानी गर्थे, हामीप्रति उनीहरूको भनाई पूर्णतः परिवर्तन हुन्थ्यो । धेरै बन्दी र सुरक्षाकर्मीहरूले समेत बलियो मित्रता जोडेका थिए । कोही सुरक्षाकर्मी त धर्म परिवर्तन गरेर इस्लाम धर्मावलम्बीसमेत बनेका छन् ।
हामीबीचको सम्बन्ध र मेरा हरेक सहबन्दीहरूमा मैले देखेको असल नैतिक चरित्रले मलाई धर्मगुरुको शिक्षाको शक्ति देखाएको थियो । इस्लाम धर्म हामी र सृष्टिकर्ताबीचको सम्बन्धलाई पूर्णता दिनुमा आधारित छ नै । त्यसका साथै हामीबीच, हाम्रा परिवार, छरछिमेकी र हाम्रो वरपर अझ हाम्रो शत्रुसमेत बीचको सम्बन्धलाई पनि पूर्णता दिनमा जोड दिन्छ ।
यो सम्बन्ध आपसमा अन्तर सम्बन्धित र अन्तरनिर्भर छ । त्यही सम्बन्धले हामीलाई आकार दियो र हामी आज जस्ता छौँ, त्यस्तै बनायो । कठिनाइको समयमा त्यो सम्बन्धले हामीलाई चुनौती दियो, हामीलाई पोषण दियो र बलियो बनायो । हामीले जे हुन्छ, त्यसमाथि हाम्रो नियन्त्रण नहुँदा पनि, अरूले आफ्नो मानवता गुमाएको बखत पनि हामीले हाम्रो मानवता जोगाउन हाम्रो सबै सामथ्र्य लगाउनुपर्छ । एक जना व्यक्तिको रूपमा हामीले उच्च नैतिक मूल्य बोक्ने सामथ्र्य हामीसँग हुनुपर्छ । हाम्रो एकआपसको सम्बन्ध पनि त्यसैमा निर्भर हुनुपर्छ । ग्वान्टानामोमा हामीले हरेक दिन यही शिक्षालाई व्यवहारमा लागु ग¥यौँ ।
(लेखक कलाकार, लेखक, अभियन्ता र ग्वान्टानामो कारागारमा चौध वर्षभन्दा लामो समय बिनाकारण कैद जीवन भोगेका हुन् । अफगानिस्तान, इराकलगायत देशमा आतङ्कवादीको आरोपमा संरा अमेरिकी सेनाले पक्राउ गरेका बन्दीहरूलाई संरा अमेरिकी सेनाले अनधिकृतरूपमा कब्जा गरिएको क्युवाली टापु ग्वान्टानामोमा बनाइएको शिविर वा कारागारमा बन्दी बनाइएको थियो ।)
अज जजिराबाट नेपालीमा अनुदित सामग्री
Leave a Reply