भर्खरै :

नयाँ तथ्याङ्कले देखाएको असन्तुलित विकासको खाडल

काठमाडौँ, १३ माघ । तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कले देशको उत्तरी हिमाली र पहाडी भेगमा राज्यले अझै पनि पुग्दो ध्यान दिन नसकेको देखाएको छ । तथ्याङ्कअनुसार २०६८ मा तराईमा कुल जनसङ्ख्याको ५०.२७ प्रतिशतको बसोबास भएकोमा हाल ५३.६६ प्रतिशतमा वृद्धि भएको छ । त्यस्तै हिमाली क्षेत्रमा कुल जनसङ्ख्याको ६.७३ प्रतिशतको बसोबास रहेकोमा अहिले घटेर ६.०९ प्रतिशतमा ओरालो लागेको छ । पहाडी जिल्लाहरूमा कुल ४३.०१ प्रतिशत जनसङ्ख्याको बसोबास रहेकोमा अहिले ४०.२५ प्रतिशतमा झरेको छ । त्यस्तै नयाँ तथ्याङ्कले सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको जनसङ्ख्या पनि बढेको छ । कुल जनसङ्ख्याको ६६.०८ प्रतिशत सहरी क्षेत्रमा बसोबास गर्ने र ३३.९२ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्ने देखिएको छ । त्यसो त सहरी क्षेत्र केलाई भन्ने र ग्रामीण क्षेत्रको परिभाषा के हो भन्ने विषयमा पनि अन्योल र अस्पष्टता छन् । मनपरी नगरपालिका घोषणा गर्दा न्यूनतम पूर्वाधार नै नभएका क्षेत्रलाई पनि नगर घोषणा गरिएको छ । त्यसले पनि सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या बढेको सहज अनुमान गर्न सकिन्छ । तथापि, तथ्याङ्कको विश्लेषण गर्दा देशको विकास अझ बढी असन्तुलित बन्दै गएको देखिएको छ । हिमाली र पहाडी क्षेत्रमा विभिन्न हिसाबले मानिसलाई बाँच्न असहज भएकोले नै तराईमा बसाइसराइ बढेको देखिन्छ । जलवायु परिवर्तनको कारण निम्तिएका अनेकन वातावरणीय सङ्कटले हिमाली र पहाडी क्षेत्रको बसोबास अझ बढी जोखिमपूर्ण र समस्याले भरिएको हुनाले दक्षिणतिरको बसाइ बढेको हो ।
डेभिड सेडनलगायत विद्वानहरूले लेखेको पुस्तक ‘वर्कर्स एन्ड पिसेन्ट इन नेपाल’ मा वन विनाशका कारण पहाडी क्षेत्रमा पानीको स्रोतसम्म मानिसको पहुँच क्रमशः टाढा बन्दै गएको उल्लेख छ । मङ्गलबार ‘द काठमाडौँ पोस्ट’ मा प्रकाशित आदेश सुवेदीको लेखमा नेपालको मध्य पहाडी क्षेत्रमा स्वच्छ पानीका धेरै मुहान जलवायु परिवर्तनको कारण सुक्दै वा हराउँदै गएको लेखेका छन् । उनले पहाडी क्षेत्रमा विकासको नाममा जथाभावी बाटोघाटो र अन्य भौतिक पूर्वाधार बनाउँदा पनि पानीको स्रोत बस्तीबाट टाढा हुँदै गएकोले गाउँलेहरू, विशेषतः महिलाहरू टाढा टाढासम्म पानीको लागि भौतारिनु पर्दा विभिन्न शारीरिक समस्या र सामाजिक द्वन्द्व बढेको बताएका छन् ।
वैदेशिक रोजगारीको नाममा पहाडी र हिमाली क्षेत्रका अधिकांश युवा शक्ति या त विदेश अथवा काठमाडौँजस्ता ठूला सहरमा केन्द्रित हुँदा ती क्षेत्रहरूमा जनसङ्ख्या कम हुँदै गएको छ । जसले ती क्षेत्रको सन्तुलन विकासमा नकारात्मक असर परेको छ । आर्थिक गतिविधिको कमीले ती क्षेत्रका जनता अझ गरिबीको दलदलमा धकेलिएका छन् ।
राज्यले सन्तुलित विकासको लागि ध्यान दिन नसक्दा एकातिर देशको उल्लेखनीय जनसङ्ख्या अझै गरिबी र अभावमा बाँच्न बाध्य छन् भने अर्कोतिर ती क्षेत्रका आर्थिक सम्भावनाको खोजी र उपभोग पनि हुन सकेको छैन । अर्कोतिर काठमाडौँ उपत्यकालगायत केही सहर र तराईका जिल्लामा अति जनसङ्ख्या केन्द्रीकरणले अर्को समस्या थपिएको छ । सानो क्षेत्रफलमा क्षमताभन्दा बढी मानिसको बसोबास हुँदा त्यहाँको स्रोत साधनको अति दोहन बढेको छ । फोहोर, प्रदूषण, अपराध, हत्याहिंसा, ट्राफिक घनत्व, खानेपानीको अभाव आदि समस्या झेल्नुपरेको छ । तथ्याङ्क विभागको सार्वजनिक तथ्याङ्कअनुसार देशभरमा सबभन्दा बढी जनसङ्ख्या वृद्धि भक्तपुर जिल्लामा भएको छ । भक्तपुर भौगोलिकरूपमा सबभन्दा सानो जिल्लामा सबभन्दा बढी जनसङ्ख्या बढ्नुको अर्थ काठमाडौँ उपत्यकामा जनसङ्ख्या केन्द्रीकरणको क्रम अझ तीब्र बन्नु हो । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र ललितपुर जिल्लामा अधिकांश क्षेत्र मानिसको बसोबासले भरिभराउ भइसकेको अवस्थामा बाँकी बचेको भक्तपुर जिल्ला पनि त्यही दिशामा अघि बढिरहेको देखाएको छ । यसले कुनै बेला अन्न र कृषि उत्पादनको ख्याति पाएको काठमाडौँ उपत्यका अब कङ्क्रिटको जङ्गलमा परिणत हुने सङ्केत गरेको छ । यसले कृषि भूमि, पानीको स्रोत, सांस्कृतिक विशिष्टता आदि सबै नष्ट हुने क्रममा गएको छ । अर्कोतिर तथ्याङ्कले देशका पहाडी र हिमाली क्षेत्रका घरहरू खाली हुँदै छन् । त्यहाँको खेत खन्ने, हलो जोत्ने, वस्तुभाउ पालन गर्ने, बाटोमा उम्रेका घाँस पन्छाउने हातको कमी भएको छ ।
सहरी क्षेत्रमा जनसङ्ख्या बढ्नु देशमा असन्तुलित विकासको दुष्परिणाम हो । कुनै पनि देशको सन्तुलित विकासले नै दिगो विकास र स्थायित्व सम्भव हुन्छ । तराई र काठमाडौँ उपत्यकामा जुन अनुपातमा जनसङ्ख्या वृद्धि दर बढेको छ, पहाडी र हिमाली क्षेत्रमा पनि उही अनुपातमा जनसङ्ख्याको वितरण आवश्यक छ । त्यसको राज्यले पूर्वाधार विकास, आर्थिक सम्भावनाको खोजी गर्ने काम गर्न जरुरी छ । तर, राज्य भने ठीक उल्टो बाटो हिंड्दैछ । ‘मेट्रो’ र ‘स्मार्ट सिटी’ को नाममा राज्य जनसङ्ख्या केन्द्रितकरणलाई जोड दिइरहेको छ । जसले देशको समग्र विकासमा नकारात्मक असर पार्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *