भर्खरै :

संरक्षणको पर्खाईमा लिच्छविकालीन ढुङ्गे जलपात्र

भक्तपुर, १३ माघ । ऐतिहासिक नगर भक्तपुरमा लिच्छविकालीन ढुङ्गे जलपात्र संरक्षणको अभावमा बेवारिसे अवस्थामा रहेकोमा इतिहासकार र सम्पदाप्रेमीहरूले चिन्ता व्यक्त गरेका छन् । भक्तपुरको टौमढीस्थित ऐतिहासिक भैरवनाथ मन्दिरको भित्री परिसरमा लिच्छविकालीन ढुङ्गे जलपत्र उपेक्षित अवस्थामा फोहोर फाल्ने थलो बनाइएको भन्दै इतिहासकार डा.पुरूषोत्तमलोचन श्रेष्ठले सामाजिक सञ्जालमा केही तस्बिर पोस्ट गरी संरक्षणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभएको छ ।

लिच्छवि राजा नरेन्द्र देवको समय अर्थात् सातौँ शताब्दीको सो जल पात्रमा एक जना भक्तले ललित महेश्वरलाई ताम्रकलश अर्पण गरेको अभिलेख उल्लेख रहेको डा. श्रेष्ठले बताउनुभयो । विश्व भैरवनाथ र त्रिपुरासुन्दरीको संयुक्त स्वरूपलाई नै ललित महेश्वर भन्ने गरिन्छ ।
“इतिहासमा पवित्र जल राख्ने पात्र अहिले दिसापिसाब गर्ने मुत्र पात्र बनाइएको छ”, मजदुर दैनिकसँग कुरा गर्दै उहाँले भन्नुभयो ।
उहाँले यस्ता बेवारिसे अवस्थामा राखिएका साना आकारका ऐतिहासिक सम्पदाको संरक्षणमा पनि राज्यका सम्बन्धित निकाय, नगरपालिका र स्थानीय जनताले ध्यान दिनुपर्ने बताउनुभयो ।
डा. श्रेष्ठले सो सम्पदाको विषयमा १५ वर्षअघि नै ‘प्राचीन नेपाल’ पत्रिकामा ‘भक्तपुरका असुरक्षित अभिलेख’ को शीर्षकमा लेख लेखी सो सम्पदाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएको तर अझै पनि सो जलपात्र बेवारिसे अवस्थामा असुरक्षित राखिएकोमा दुःख व्यक्त गर्नुभयो ।

“पहिला त्यो जलपात्र सागलमा दबिएको अवस्थामा थियो । अहिले बाहिर राखिएको छ । तर, अझै त्यसको उचित संरक्षण हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
इतिहास बोकेको सो ऐतिहासिक सम्पदाको संरक्षण गर्न भक्तपुर नगरपालिका र स्थानीय जनताको अग्रसरतामा सोही स्थानमा उचित संरक्षण गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । “नभए राष्ट्रिय सङ्ग्रहालयमा लगी त्यसको संरक्षण गर्न जरूरी छ”, उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालमा डा. श्रेष्ठको पोस्टमा टिप्पणी गर्दै सो सम्पदाको संरक्षणमा ढिलाइ गर्न नहुने इन्टरनेट प्रयोगकर्ताहरूले बताएका छन् ।
तस्बिरहरू –डा. पुरूषोत्तमलोचन श्रेष्ठको फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *