न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
नेपाल मजदुर किसान पार्टीलाई आजको यो अवस्थामा पु¥याउन धेरैको प्रत्यक्ष र अप्रत्यक्ष योगदान छ । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि पार्टीको उद्देश्यप्रति प्रतिबद्ध र अविचलित रही हाम्रा अग्रज कामरेडहरूले निकै कष्टपूर्ण काम गर्नुभयो र दशकौँसम्म भूमिगत, प्रवास जीवन र जेलमा बिताउनुभयो । पार्टीलाई कहीँ कतैबाट खोट लगाउने ठाउँ दिनुभएन । उनीहरूले पञ्चायत कालदेखि बहुदलीय व्यवस्था हुँदै आजको पुँजीवादी गणतन्त्रसम्म पार्टीलाई सैद्धान्तिक र वैचारिक हिसाबले झन् परिपक्व बनाउँदै नेपालको कम्युनिस्ट आन्दोलनमा एक प्रकाशस्तम्भको रूपमा खडा गर्नुभयो । आजको यस महत्वपूर्ण दिनमा म उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । ‘देश र जनताको इमानदारीपूर्वक सेवा नै राजनीति हो’ भन्ने हाम्रा अग्रजहरूले देखाउनुभएको बाटोमा जीवन समर्पित भएर निरन्तर लागिरहनुभएका सम्पूर्ण कार्यकर्ताहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
आजको कार्यक्रममार्फत फ्रेडरिक एङ्गेल्सबारे यहाँ केही कुरा राख्ने अनुमति चाहन्छु ।
फ्रेडरिक एङ्गेल्स विश्व सर्वहारा वर्गका गुरु, अन्तर्राष्ट्रिय व्यक्तित्व तथा महान् नेता हुनुहुन्छ । माक्र्स र एङ्गेल्सले समाज परिवर्तनको लागि गर्नुभएको योगदान अतुलनीय छ ।
राजा र राजतन्त्रबारे आफ्नो दृष्टिकोण स्पष्ट पार्दै एङ्गेल्सले भन्नुभएको छ, “म त्यही राजाबाट मात्रै राम्रो कुराको आशा गर्दछु जसको दिमाग आफ्ना जनताको मुक्काबाट घाइते भएको होस्, जसको दरबार क्रान्तिका ढुङ्गाहरूले हिर्काएर भत्किरहेको होस् ।”
२८ नोभेम्बर १८२० मा जर्मनीको बर्मेन सहरमा जन्मनुभएका उहाँ विद्यार्थीकालदेखि नै एक असल र अनुशासित हुनुहुन्थ्यो । त्यतिबेला बेलायतमा औद्योगिक क्रान्ति सुरु भएको थियो । मेसिनको प्रयोगले एकैजना मानिसले सयौँ जनाको काम गर्नसक्ने भयो । हजाराँै मजदुरहरू बेरोजगारी भए । गरिबी चुलिँदै गयो । थोरै व्यक्तिमा सम्पत्ति केन्द्रित हुँदै गयो । पुँजीपति वर्ग झन्झन् धनी हुँदै गयो । समाजमा धनी र गरिबको दूरी झन्झन् बढ्दै गयो ।
धनी परिवारमा जन्मनुभएका एङ्गेल्सको पिताको बेलायतको मेनचेस्टर सहरमा ठूलो कारखाना थियो । उहाँले बेलायतबाटै मजदुरहरूको अवस्थाबारे राम्ररी अध्ययन गर्ने अवसर पाउनुभयो । सन् १८४५ मा उहाँले ‘बेलायतमा मजदुर वर्गको अवस्था’ पुस्तक प्रकाशित गर्नुभयो । त्यस पुस्तकले मजदुरहरूको अवस्था बुझ्न सहज बनायो ।
त्यतिबेला राजनीतिको केन्द्र पेरिस थियो । एङ्गेल्स पार्टी सङ्गठन निर्माणमा माक्र्ससँगै सक्रिय हुनुभयो । पेरिसमा ‘न्याय सङ्घ’ नामक गुप्त सङ्गठन थियो । सन् १८४७ मा त्यसको अधिवेशन भयो । त्यही अधिवेशनबाट ‘न्याय सङ्घ’ को नाम ‘कम्युनिस्ट लिग’ राखियो । त्यही अधिवेशनले कम्युनिस्ट पार्टीको व्यवहारिक र सैद्धान्तिक कार्यक्रम तयार गर्ने जिम्मा माक्र्स र एङ्गेल्सलाई दिएको थियो । सन् १८४७ डिसेम्बरदेखि १९४८ जनवरीसम्मको छोटो अवधिमै उहाँले ‘कम्युनिस्ट घोषणापत्र’ तयार गरी प्रकाशित गर्नुभयो । त्यही घोषणापत्रको आधारमा आज विश्वका आधाभन्दा बढी जनता आ—आफ्ना देशमा समाजवादी व्यवस्था स्थापनाको लागि लडिरहेका छन् । घोषणापत्रको सुरुमै लेखिएको छ, “आजसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” त्यसलाई पछि ‘आदिम समाजको विकासपछि’ भनी उहाँहरूले सुधार गर्नुभयो ।
कम्युनिस्ट घोषणापत्रले पुँजीपति वर्गले सर्वहारा वर्गलाई गर्ने शोषण, अन्याय—अत्याचारमात्रै देखाएन, सर्वहारा वर्गलाई मुक्तिको बाटो देखायो । घोषणापत्रमा लेखिएको छ, “सर्वहारा वर्गले बल प्रयोगद्वारा पुँजीपति वर्गलाई हटाएर आफ्नो सत्ता कायम गर्नुपर्दछ ।” अर्थात् पुँजीपति वर्गले दयामायाले सत्ता छोड्दैन बरु सशस्त्र सङ्घर्षको माध्यमबाट सर्वहारा वर्गले सत्ता हातमा लिनुपर्छ ।
त्यसअघि पनि धेरै विचारकहरूले समतामूलक समाजको कल्पना नगरेका होइनन् । सेन्ट साइमन (१७६०—१८२५), चाल्स फ्युरियो (१७७२—१८३७), रोबर्ट ओवेन (१७७१—१८५८) लगायतले एउटा सुन्दर संसारको कल्पना गर्नुभएको थियो । तर उहाँहरूले सर्वहारा वर्गले शोषणविरुद्ध लडेर कसरी आफ्नो हातमा शासन सत्ता लिने भन्ने कुरा प्रस्टसँग देखाउन सक्नुभएन । शोषणमुक्त समाजको कल्पनाले मात्रै आमूल परिवर्तन सम्भव थिएन । त्यसैले उहाँहरूलाई काल्पनिक समाजवादी भनियो ।
कम्युनिस्ट घोषणापत्र सार्वजनिक भएको केही समयपछि नै फ्रान्समा राज्य क्रान्ति सुरु भयो । औद्योगिक विकाससँगै मजदुर वर्गको सङ्ख्या र चेतनामा वृद्धि हुँदै गयो । मजदुर वर्गलाई आन्दोलनको बिगुल फुक्ने काम घोषणापत्रले ग¥यो । यसले सुतिरहेका सर्वहारा वर्गलाई उठाउने र अझ सङ्गठित भएर लड्न उत्साहित गर्यो । घोषणापत्रमा भनिएको छ, “पुँजीपति वर्गले आफ्नो चिहान खन्नेहरू आफै जन्माउँछ । उसको पतन र सर्वहारा वर्गको विजय समानरूपले अनिवार्य छ ।”
फ्रान्समा सन् १८७१ मा मजदुर वर्ग पुँजीपति वर्गको विरोधमा सङ्गठित भएर उठ्यो । तिनीहरू हरेकसँग हतियार थिए । पुँजीपति वर्गको विरोधमा सङ्घर्षको लागि तयार भए पनि त्यो त्यति व्यवस्थित थिएन । तापनि, आन्दोलन अगाडि बढ्दै गएपछि माक्र्स र एङ्गेल्सले पूर्णरूपमा त्यस आन्दोलनलाई अगाडि बढाउन सहयोग गर्नुभयो र पेरिस कम्युन स्थापना भयो । तत्काल सैनिक भर्तीकेन्द्र र स्थायी सेना भङ्ग गरियो । नागरिकहरूद्वारा गठित राष्ट्रिय गार्डलाई देशको एकमात्र सैन्य शक्ति घोषणा गरियो । चर्चहरूलाई राष्ट्रियकरण गरियो, सबै क्षेत्रमा निर्वाचितहरूको व्यवस्था गरियो । सबै कर्मचारीहरूको तलब सामान्य मजदुरसरह बनाइयो । छिटछिटो परिवर्तनहरू भए ।
एउटा विचारमा प्रतिबद्ध राजनैतिक दल नहुनु, अनुभवको कमीले त्यो पेरिस कम्युन धेरै दिन टिकेन । पुँजीपति वर्गले पेरिस कम्युनलाई दबायो । एकजना कम्युनार्ड जीवित रहुञ्जेल पेरिस कम्युनको झन्डा झुक्न दिइएन । ‘फ्रान्समा गृहयुद्ध’ को भूमिकामा एङ्गेल्सले लेख्नुभयो, “महानुभावहरू हो ! सर्वहारा अधिनायकवाद कस्तो हुन्छ ? पेरिस कम्युनतिर हेर्नुहोस् । यही हो सर्वहारा अधिनायकवाद ।”
पेरिस कम्युन परिपक्व भई नसकेको हुँदा माक्र्स र एङ्गेल्स तत्काल आन्दोलन अगाडि बढाउनुपर्ने पक्षमा नभएको र त्यसलाई रोक्न निकै प्रयास गर्नुभएको कुरा पछि लेनिनले लेख्नुभयो । माक्र्सले फ्रान्सेली सर्वहारा वर्गलाई असामाजिक विद्रोह नगर्न अनुरोध गर्नुभएको थियो । तर, सन् १८७१ मा त्यो विद्रोह भएपछि माक्र्सले जनसमुदायको त्यो उत्साहलाई स्वागत गर्नुभयो ।
पेरिस कम्युन असफल भए पनि क्रान्तिकारी जनताको उत्साहमा कमी आएन । माक्र्स र एङ्गेल्सले लेख्नुभयो, “त्यो कम्युन जसलाई पुराना सत्ताधारीहरूले सदाका लागि खत्तम पारे भनेर ठानेका थिए । त्यो जीवित छ, आज त्यो त्यति शक्तिशाली छ, जति कहिल्यै भएको थिएन ।”
पेरिस कम्युनको असफलताबाट शिक्षा लिएर सोभियत सङ्घ, चीन, प्रजग कोरिया, क्युवालगायतका देशमा समाजवादी क्रान्ति भयो । त्यो दिगो भयो । सोभियत सङ्घमा संशोधनवादीहरूले पार्टी कब्जा गरेपछि त्यहाँ कम्युनिस्टहरूको अस्थायी हार भयो । यद्यपि, समाजवादी झन्डा बोकेर त्यहाँका जनता फेरि पनि समाजवाद पुनःस्थापनाको लागि सङ्घर्षरत छन् । तर, शान्तिपूर्ण तरिकाबाट समाजवाद स्थापना हुन्छ भने संशोधनवादी विचार बोकेका पार्टीहरू सत्तामा गए पनि धेरै समय टिक्न नसक्ने विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा चिली, इन्डोनेसियालगायतका देशहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ ।
नेपालमा पनि एमाले, माओवादीजस्ता आफूलाई मूलधारका कम्युनिस्ट पार्टी दाबी गर्ने पार्टीहरू चुनावबाटै समाजवाद स्थापना गर्ने दाबी गरिरहेका छन् । तिनीहरू संशोधनवादीहरू हुन् । संशोधनवादीहरू पुँजीवादकै पक्षपाती हुने गर्छन् । नेपाल मजदुर किसान पार्टीले कम्युनिस्ट पार्टीभित्र देखापरेका संशोधनवाद, वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा छुट्टै पहिचान कायम गरेको छ । यसलाई अझ अगाडि बढाउने काम नयाँ पुस्ताको काँधमा आएको छ ।
एङ्गेल्सको एउटा महत्वपूर्ण कृति ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पति’ भन्ने पुस्तक पनि हो । सन् १८८४ को मार्चमा सुरु गरेर मेको अन्त्यसम्ममा तयार गर्नुभएको उक्त पुस्तकमा समाज विकासका चरणहरूबारे उल्लेख छ । उहाँले उक्त पुस्तकमा “निजी स्वामित्वको प्रादुर्भाव भएपछि त्यस्तो समाजको उत्पत्ति भयो, जसमा पारिवारिक व्यवस्था स्वामित्वका सम्बन्धहरूमा पूर्णतः निर्भर हुन्छ” भनी उल्लेख गर्नुभएको छ ।
पुँजीवादी उत्पादन प्रणालीको पूर्णरूपमा उन्मूलन नभएसम्म महिलाहरूले वास्तविक स्वतन्त्रता पाउन नसक्ने कुरा उहाँले बताउनुभएको छ । अझ उहाँ समाजवादी व्यवस्थामा मात्रै महिलाहरूले पूर्ण स्वतन्त्रता पाउँछन् भन्ने कुरामा यसरी स्पष्ट पार्नुहुन्छ, “समाजवादी समाजमा सामाजिक उत्पादनमा महिलाको सहभागिता हुन्छ, सामाजिक जीवनका समस्त क्षेत्रमा महिला र पुरुषबीचमा पूर्ण समानता हुन्छ, नारी घरधन्धाको बोझबाट मुक्त हुन्छिन्, नारीको पूर्ण समानता, एक अर्काेप्रति आदरको भावना र सच्चा प्रेममा आधारित परिवारको नयाँ उत्कृष्टरूपको प्रादुर्भाव हुन्छ ।”
माक्र्स र एङ्गेल्स मिलेर पुँजीको पहिलो, दोस्रो र तेस्रो भाग लेख्नुभयो । तेस्रो खण्ड प्रकाशित हुनुभन्दा पहिले नै माक्र्स बित्नुभयो । तेस्रो खण्ड एङ्गेल्सले प्रकाशित गर्नुभयो । त्यसबेलासम्ममा उहाँ निकै कमजोर भइसक्नुभएको थियो । यसरी संसारका मजदुर वर्गको मुक्तिको लागि मार्गनिर्देश गर्नुहुने एङ्गेल्सको ६ अगष्ट १८९५ मा संसारबाट बिदा भयो । एङ्गेल्स बित्नुभयो तर उहाँ संसारमा काम गरी खाने वर्ग भएसम्म बाँचिरहनुहुनेछ ।
(नेमकिपाको ४८ औँ स्थापना दिवसको अवसरमा माघ १० गते अनलाइनमार्फत आयोजित प्रवचन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य– सं.)
Leave a Reply