भर्खरै :

किसानलाई सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउन माग

भक्तपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधिमण्डलले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भेटी किसानलाई समयमै सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गरायो ।
कृषिमन्त्री महेन्द्र राय यादव हप्ता दिनको बिदामा रहेको हुँदा उहाँहरूले कृषि सचिव शर्मालाई भेटेर किसानको समस्या र मलको अभावबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद सुवालले प्रदेशको सचिवस्तरीय बैठकबाट हचुवाको भरमा रासायनिक मलको कोटा वितरण गरिएको अविलम्ब पुनरावलोकन गर्न कृषि मन्त्रालयको ध्यानाकर्षण गराउँदै सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिक मल कृषकहरूले समयमै प्राप्त गर्न नसक्दा कृषि उत्पादनमा कमी आउने, खाद्यान्न उत्पादन समेत घट्ने र खाद्यान्न आयात झन् बढ्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले रासायनिक मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीमा आवश्यक पदाधिकारीको व्यवस्था गरी पर्याप्त मल आपूर्ति गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई उपलब्ध गराइएको मलको कोटा २० मे.टन अत्यन्त अपुग भएको उल्लेख गर्दै किसानको मागअनुरूप कम्तीमा ६०० मे.टन रासायनिक मल भक्तपुर नगरपालिकालाई उपलब्ध गराउन सचिवलाई लिखित पत्रसहित सरकारको ध्यानाकर्षण गराउनुभयो । भक्तपुर नपा क्षेत्रका कृषकको खेतबारी भक्तपुर नपालगायत चाँगुनारायण, मध्यपुर र सूर्यविनायक नपा क्षेत्रमा समेत भएको हुँदा भक्तपुर नपालाई छुट्याइएकोे मलको कोटा अपुग भएको उहाँले उल्लेख गर्नुुभयो ।
कृषि मन्त्रालयका सचिव डा. शर्माले कृषकको मागबमोजिम मन्त्रालयले आवश्यक मलखाद उपलब्ध गराउन लागिपरेको बताउँदै भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्रालय स्रोतकाअनुसार कृषि सामग्री कम्पनीका कार्यकारी निर्देशकसहित मल खरिदको १ अर्ब ५३ करोड रूपियाँ भ्रष्टाचारको मुद्दामा परेको हुँदा उक्त ठाउँमा नयाँ कर्मचारी पूर्ति गर्नसमेत नमिलेर मल खरिदको कारबाही अघि नबढेको हो । यस्तो सङ्कट समाधान नगरेको प्रम देउवाको असक्षमता नै हो ।
आजै नगर प्रमुख प्रजापतिले बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईँलाई सम्पर्क गरी भक्तपुरको लागि छुट्याइएको मलको कोटा वृद्धि गर्न ध्यानाकर्षण गराउनुभयो ।
देशको सन्तुलित विकास गर्नु जरुरी
सांसद सुवाल र प्रमुख प्रजापतिले वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसँग भेट गरी काठमाडौँ उपत्यकाको पर्यावरण सुधारको कार्यक्रम तर्जुमा गर्न र देशको सन्तुलित विकास गर्न जोड दिनुभयो ।
सांसद सुवालले भक्तपुर जिल्ला चाँगुनारायण नपाको नगरकोटस्थित भक्तपुर नगरको खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खानेपानीको स्रोत बढाउनुपर्ने र भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश सांस्कृतिक क्षेत्र र भक्तपुरका नवदुर्गा पीठहरूको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्न वनमन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले सरकारले नेपालको सन्तुलित विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्दै काठमाडौँ उपत्यकाको वातावरण मानिसको लागि बस्न योग्य नभएको तर्फ मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
वनमन्त्री यादवले सांस्कृतिक नगरी भक्तपुरको सार्वजनिक स्थलहरूको संरक्षण र संवद्र्धनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बढ्दो सहरीकरणको कारण काठमाडौँ उपत्यकामा खेतीयोग्य जमिन मासिँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सांसद सुवाल र प्रमुख प्रजापतिले मन्त्री यादवलाई नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *