सुकुलढोकाको उत्तरलिच्छविकालीन खण्डित
(यसको चित्र, मूलपाठसहितको व्याख्या ‘पासुका’ को अतिरिक्ताङ्क, चैत्र १, ०५६ मा पहिलोपल्ट र यसैको पुनर्मुद्रण एवं संशोधन (व्याख्या भाग) ‘पासूका’ वर्ष ४, अङ्क ८, वैशाख १ ०५७, पृ. ३, ४ र १५ मा प्रकाशित गरेको छु ।)
भक्तपुर सहरको मध्यमागमा अवस्थित प्रसिद्ध टोल सुकुलढोकाको दक्षिण–उत्तर केही तेर्सो परेको बजारको मूलसडकको पश्चिम किनारामा पूर्वाभिमुख एउटा तीनतले घर छ । त्यस घरको भुइँतलामा पसल पनि थापिएको छ । सो पसलमा पुग्नको निमित्त तीन तहको पेटी बनेको छ । त्यस पेटीको माथिल्लो तहको घेरामा खण्डित अवस्थाको यो शिलापत्र पाइला टेक्ने खुड्किलाको रूपमा छापिएको छ । शिलापत्र खण्डित हुँदा त्यसमा कुँदिएको अभिलेख पनि खण्डित हुन पुगेको छ ।
मूलपाठ यसप्रकार छ–
१. श्रीमहावृजिकरथ्या निवासीसत…………..
२. न्तायदेहिनम् माता पितृ पुरोगा (मिन्)………..
३. पातुरं ध्विकोयतः ।। द्विजानृप ………
४. त्यधिगते सम्वत्सर शतद्वये (बैशाख)…………..
५. न्त (?) तगस्य कृतादोप शैलद्रोणी…………….
६. शत त्रयम् ।। श्रीपश्चिमाधिकर (ण)…………..
यो अभिलेख खण्डित भए तापनि उत्तरलिच्छविकालीन भक्तपुर वा उपत्यकाको इतिहासबारे केही महत्वपूर्ण कुरा जान्न उपयोगी छ । यस अभिलेखको सम्बन्ध शैलद्रोणी (यस शब्दको पहिलो उल्लेख पनि (ढुङ्गे जलद्रोणीका लागि) यसै शिलापत्रमा परेको छ ।) (ढुङ्गे जलद्रोणी) सित छ । संवत् २०० (वि.सं ८३३ वैशाख) मा ढुङ्गे जलद्रोणी बनाई त्यसको हेरचाह ‘श्रीपश्चिमाधीकरण’ (देवमन्दिरहरूको हेरचाह, धार्मिक विषयका कुराहरू हेर्ने, राजदरबारको पश्चिम भागमा रहेको लिच्छविकालीन सरकारी कार्यालय) ले गर्ने आदि कुराको व्यवस्था गरी सोही शैलद्रोणीमा यो शिलापत्र राख्न लगाएको बुझिन्छ ।

सुकुलढोकाको खण्डितरूपमा रहेको उत्तरलिच्छविकालीन अभिलेख
‘वृजिकरथ्या’ (वृजिकहरूद्वारा निर्मित सडकसहितको देवस्थलमा बस्ने) शब्दको पहिलो उल्लेख देउपाटन कसाई टोलको नरेन्द्रदेवको शिलालेखमा परेको छ ।
(गौतमवज्र बज्राचार्य ‘वृजिकरथ्या’ पूर्णिमा, ६ पूर्णाङ्क, वि.सं. २०२२ पृ. ११–१२) अनि यो चाहिँ (शिलालेख प्रमाणका आधारमा) दोस्रो महत्वपूर्ण शिलापत्रको रूपमा अहिले देखापरेको छ । विचारणीय कुरा के छ भने नरेन्द्रदेवको शिलापत्रमा वृजिकरथ्याको अघिल्तिर कुनै विशेषण लागेको छैन, तर यस शिलापत्रमा राजकीय सम्बन्धलाई समेत दर्शाउने (श्री) ‘महा’ विशेषण पनि परेको छ । यसरी यस्तो विशेषण परेको यो पहिलो शिलापत्रको रूपमा देखिन आएको छ ।
यसरी तात्कालिक समयमा शैलद्रोणीको शोभा आभिलेखिक दृष्टिकोणबाट समेत दर्शाइरहेको, धार्मिक, सामाजिक, प्रशासनिक आदि केही महत्वपूर्ण कुरा बुझ्न उपयोगी यो शिलापत्र कालक्रमले कुनै कारणवश खण्डित भई अन्य सामान्य ढुङ्गा सरह निर्माण सामग्रीको रूपमा त्यस पेटीमा छापिन पुगी प्रत्येक दिन असङ्ख्य पाइतलाहरूले यसमाथि कुल्चँदै गरेका छन् ।
भैरवस्थानको निर्भयदेवको पालाको शिलापत्र
वि.सं. २०१८ सालमा संशोधन मण्डलद्वारा पहिलोपल्ट प्रकाशित यो शिलापत्र त्यसैबेला कुन हालतमा थियो भन्ने कुरा निम्नलिखित विवरणबाट स्पष्टरूपले थाहा पाइन्छ ।
(रामजी तिवारी र साथीहरू (सं), –अभिलेख सङ्ग्रह, दोस्रो भाग, काठमाडौँ, संशोधन–मण्डल, वि.सं. २०१८ पृ. ९)
“भक्तपुर तौमढी टोलमा भैरवको प्रसिद्ध मन्दिर छ । भैरव मन्दिरनिरै भजन गर्ने चोकमा एउटा इनार छ । त्यस इनारबाट पानी झिक्दा टेक्ने ढुङ्गा बनाइराखेको एउटा कुनै देवताको पादपीठ छ । त्यस पादपीठमा यो अभिलेख कुँदिएको छ । यसको अभिलेख कुँदिएको भाग २२ अङ्गुल, लम्बाइ ५ अङ्गुल चौडाइ छ । यो अभिलेखको छेउको केही भाग खण्डित छ ।”
सो अभिलेखको मूलपाठ यस्तो छ ।
(क. सोही, पृ. ९
ख. डी. आर रेग्मी– मेडिभल नेपाल, तेस्रो भाग, कलकत्ता, फर्मा के एल. मुखोपाध्याय, ई.स. १९६६, पृ. २–३
ग. हरिराम जोशी – ‘नेपाल भाषाको प्राचीनता’ हेमा–ज्वाला, काठमाडौँ, वि. सं. २०२८, पृ. १२
घ. धनवज्र बज्राचार्य– ‘मध्यकालका सुरुका केही अभिलेख’ कन्ट्रिव्युसन्स टू नेपलिज स्टडिज, सि. एन. ए. एस जर्नल, भोलम भि, नं १, डिसेम्बर १९७७ इ., पृ. १११)
१. ॐ श्रेयोस्तुः ।। सम्वत् अ. थ. ह. (१००+२०+५) चैत्रशुक्लत्रियोदस्या…
२. महाराजाधिराज श्रीनिर्भयदेवविजयराज्येः ।। श्रीख्वपु…
३. शिवग्वलोत्तर धेनक वास्तव्य जयचतुपाकन श्रियाधरदवकपरक…
४. देवस्थानार्थ द्वादस मानि धानि प्रज्ञातयति । तिलिकमराण…

भैरव मन्दिरको दक्षिणपट्टिको चोकमा रहेको इनारको पानी लिनको निम्ति पाइला टेक्न राखिएको निर्भयदेवको पालाको अभिलेख
पूर्वमध्यकालिक भक्तपुर वा उपत्यका वा मध्यकालीन नेपालको इतिहासको राजनैतिक, प्रशासनिक, धार्मिक एवं भाषिक आदि केही महत्वपूर्ण कुरा प्रामाणिकरूपले व्याख्या गर्नसकिने एक भरपर्दो ऐतिहासिक सामग्रीको रूपमा यो पनि प्रयुक्त हुँदै आएको छ । इतिहासकार बज्राचार्यले यस अभिलेखको व्याख्या निम्न रूपमा गरेका छन् –
(क. पूर्वोक्त जोशी (वि. सं. २०२८), पृ. १०–१२
ख. ‘मध्यकालीन अभिलेख’ प्राचीन नेपाल, सङ्ख्या ५३–५६, वि.सं. २०३६, पृ. ९–१०)
“ने. सं. १२५ (वि.सं. १०६२) को यस अभिलेखबाट यसबेला निर्भयदेवले ‘महाराजाधिराज’ को रूपमा एक्लै शासन गरिरहेका थिए भन्ने प्रमाणित हुन्छ ।… यो अभिलेख पाइएको ठाउँमा केही देवमूर्तिका… साथै लिच्छविकालको ढुङ्गाको ठूलो पात्रविशेष पनि रहेको छ । यसबाट यो ठाउँ लिच्छविकालदेखि नै विशेष देवस्थलको रूपमा रहेको थियो भन्ने सङ्केत पाइन्छ । पछि यहाँ भैरव स्थापना भएपछि यो स्थल भैरवस्थानको रूपमा अझ प्रसिद्ध हुन पुगेको देखिन्छ ।…
…‘खोपृड’ को अपभ्रंश भई ‘ख्वप’ हुन पुगेको हो । …‘मानि’ यो शब्द लिच्छविकालका अभिलेखमा देखिएको अनाजको नापोलाई बुझाउने प्रसिद्ध शब्द ‘मानिका’ नै हो भन्ने देखिन्छ ।…”
त्यस्तै इतिहासकार हरिराम जोशीले यसको भाषिक महत्वका बारेमा यसरी व्याख्या गरेका छन्–
(मूलस्थानबाट विचलित भई चोक, पेटी, खुड्किला आदि यस्तै कुल्चिने ठाउँमा छापिन पुगेका शिलापत्रहरू खोजी गर्दै जाने क्रममा यो त्यस हालतमा फेला परेको हो ।)
“उत्तर प्राचीनकालका संस्कृत भाषाका शिलाभिलेखहरूमा हिजो आज नेपालभाषा भनिने तत्कालीन जनभाषाका हारागुङ, गुँ, जरेँ, सि, हाह्मु, कुह्मुजस्ता शब्दहरूको प्रचुर मात्रामा प्रयोग पाइएबाट तत् समय संस्कृत भाषा अन्य लौकिक भाषाहरूको पनि समाजमा प्रचलित थियो भन्ने कुराको अनुमान गर्ने यथेष्ट आधार जार भेटिन्छ ।… यसै तथ्यको परिप्रेक्ष्यमा प्रस्तुत अभिलेखलाई लिन सकिन्छ । यस अभिलेखमा नेपालभाषाको प्रयोग पाइएबाट अहिलेसम्म प्राप्त नेपालभाषाका अभिलेखहरूमा यी अभिलेख नै सर्वप्राचीन भएको कुरा जानिन्छ ।”
तर, अपशोचको कुरो छ, तात्कालिक केही महत्वपूर्ण कुरा बुझ्न उपयोगी उक्त शिलापत्र (इतिहासकार एवं अन्वेषकहरूले निर्देश गरेको स्थानमा) धेरै वर्षसम्मन् अनगीन्ति पाइलाहरूले पानी लिन यसमाथि टेक्दै कुल्चँदै गर्दा यसमा लेखिएका अक्षरहरू अब सायद खिइसकेका होलान् । यहाँ ‘होलान्’ लेख्नु पर्नाका कारण यो छ कि सो शिलापत्र अहिले त्यस स्थानबाट पनि विचलित भई विलुप्त हुन पुगेको छ, सो स्थान वरपर पनि कहीँ कतै फेला पार्न सकिएन । तर, आश्चर्यको कुरो के देखियो भने सो शिलापत्रको स्थान त्यहाँ अर्कै शिलापत्रले लिन पुगिसकेको रहेछ । जुन शिलापत्रमाथि आजभोलि त्यस इनारमा पानी लिनेहरूले कुल्चने गरेका छन् । सायद यसैकारण पहिलेको भन्दा पनि ठूलो यस शिलापत्रमा कँुदिएका सबै कुराहरू मेटिइसकेका छन् ।
भक्तपुर राजदरबारस्थित जगन्नाथ मन्दिरको पेटीमा छापिन पुगेको अभय मल्लको पालाको (अहिलेसम्मन् प्रकाशमा नआएको) शिलापत्र
भक्तपुर राजदरबारको पश्चिमपट्टि सेतो रङ्गले पोतेको प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै दायाँपट्टि चारधामका मन्दिरमध्ये जगन्नाथ मन्दिर र रामेश्वर मन्दिर हाम्रो सामुन्ने देखापर्न आउँछ । पूर्वाभिमुख, एकतले (जस्ताको छानाले छाएको, सेतो रङ्गले पोतेको) जगन्नाथ मन्दिरको पेटी तला तीन तहको छ । त्यसमध्ये तल्लो तहको पेटीको आग्नेय भागमा यो शिलापत्र जीर्णोद्वारको क्रममा, कालक्रमको परिबन्दले गर्दा अहिले सबैले टेक्न वा कुल्चन हुने ढुङ्गाको रूपमा (यस कार्यमा श्री श्यामसुन्दर राजवंशी र योगेशले सहयोग गर्नुभएको थियो ।) त्यसरी छापिन पुगेको छ । यस ढुङ्गामा उत्कीर्ण अभिलेख (लिपि– प्रारम्भिक नेपालभाषा+प्रभाव श्र उत्तर लिच्छकि, – केही) का आरम्भका अक्षरहरू ठाउँँठाउँमा फुटेका, खिइसकेका र बीचको पाप्रा उप्किएका कारण त्यस भागमा उत्कीर्ण झन्डै तीन अक्षरको शब्द पनि नष्ट हुन पुगेको छ । अभिलेख पढी ठम्याउन सकिने जति यहाँ दिइएको छ–
(प्रामाणिक जानकारीका निमित्त हेर्नुहोस्–
१. धनबज्र बज्राचार्य, कमलप्रकाश मल्लः दि गोपाल राजवंशावली, काठमाडौँ, नेपाल रिसर्च सेन्टर पब्लिकेसन्स, ई. सं. १९८५, २६, ३३, ३४, ३५, ३६, र ३८ पत्र ।
२. लुसियानो पेटेक– मेडिभल हिष्ट्री अफ नेपाल, रोमा, ई. सं. १९५८, पृ. ८५–९० ।
३. हरिराम जोशी– मेडिभल कोलोफोन्स, ललितपुर, जोशी रिसर्च इन्स्टिच्युट, ई. सं. १९९१, पृ. १४७–१६५ ।
४. जोशी– ‘मध्यकालीन अभिलेख’, पूर्वोक्त, पृ. २६–२८ ।
५. ज्ञानमणि नेपाल– नेपालको पूर्वमध्यकालको इतिहास, कीर्तिपुर, नेपाल र एसियाली अनुसन्धान केन्द्र, वि स २०५४, पृ. ११५–१२२ ।
६. तथा यस विषयका प्रकाशित अन्य विविध स्रोत–सामग्रीहरू ।)
१. (श्रेयोऽस्तु ?) म पञ्चम्यां मुनि वेदाग्निवत्सरे । (३००+४+७)
२. (विष्णोः ?) श्रीमन्नेपालस्य… संस्कृताइमाः ।।

जगन्नाथ मन्दिरको पेटीमा छापिन पुगेको अभय मल्लको पालाको अभिलेख
अभिलेख राख्दा वा कुनै ग्रन्थ लेख्दा (वा कुनै महत्वपूर्ण कार्यको अवसरमा) त्यसबखत राज्य गरिरहेका राजाको नाम पनि अनिवार्यरूपमा भने (जस्तैः ‘राजप्रशस्ति+राजाको नाम+… देवस्य विजयराज्ये’) उल्लेख गर्ने लोकप्रिय चलन– प्रवाहको एउटा अपवाद–उदाहरणको रूपमा यो अभिलेख पनि देखापर्छ । त्यस्तै संवत्लाई अङ्कमा भक्तपुरका …
नभएर अक्षराङ्कमा पनि उल्लेख गर्ने चलन पूर्व मध्यकालको सुरुका केही शताब्दीसम्मन् विशेषरूपले चलेको थियो भन्ने कुराको उदाहरण यस अभिलेखको अक्षराङ्क–संवत्ले पनि प्रस्तुत गरेको छ ।
यो अभिलेख अभय मल्ल (ने. सं. ३३६–३७५) को पालाको हो । यिनको लामो राज्यकाल आन्तरिक कलह, बाह्य आक्रमण तथा प्राकृतिक विपत्ति (भूकम्प, अनिकाल, महामारी) आदिले भयङ्कररूपमा (बारम्बार) आक्रान्त हुन पुगेको थियो, धनजनको ठूलो विनाश भएको थियो, अनेक देवल घरहरू सखाप भए र अन्तमा ने. सं. ३७५ (आषाढ शुक्ल तृतीया, सोमबार) मा गएको भयङ्कर विनाशकारी भूकम्पमा परेर तीन भागमा एक भाग प्रजासहित स्वयं उनको पनि मृत्यु भएको थियो । तात्कालिक ऐतिहासिक सामग्रीका आधारमा उक्त कुरा ज्ञात हुन्छ । (यो ढुङ्गेपत्र पनि आफ्नो मूलस्थानबाट कारणवश (भूकम्प, जीर्णोद्धार आदि) इतिहासको कालक्रममा यत्रतत्र विचलित हुन पुगे तापनि मूलस्थान परिसर (भक्तपुर राजदरबार) बाट अन्यत्र स्थानान्तरित भइसकेको छैन भन्ने कुराको आभास हुन्छ ।)
यस ढुङ्गा वा पत्रको दोस्रो पङ्क्तिको बीचका तीन (?) अक्षर कुँदिएको पाप्रो चोइटिइसकेको हुँदा अभिलेखमा रहेका कुराहरू बुझ्न गा¥हो परेको छ । तथापि, अभय मल्लको तात्कालिक अशान्त राज्यकालका अप्रिय विनाशकारी घटनाहरूतर्फ दृष्टिगत गरी यस अभिलेखका पढ्न सकिने जति अक्षरहरू बुझ्दा पूर्वकालमै स्थापित कुनै वास्तु–कृति (जलद्रोणी ? वा मूर्तिसहितको मन्दिर ?) भत्के बिग्रेको हुँदा (भूकम्पका कारण ?) त्यसको पुनः संस्कार वा जीर्णोद्धार गरी सोही अवसरमा यो ढुङ्गे शिलापत्र राख्न लगाएको अनुमान हुन्छ । (योगेशराजद्वारा पासूका, वर्ष ३ अङ्क ४ पौष ०५५) को पृष्ठ ५ मा पहिलोपल्ट यो अभिलेख छापिएको छ । यहाँ प्रस्तुत पाठ मूलबाटै पढी दिइएको छ । यस कार्यमा पनि श्री योगेशराज र श्यामसुन्दर राजवंशीज्यूले सहयोग गर्नुभएको थियो ।)
(छड्के परेका अक्षरहरू लेखकले मूल स्रोतमा पादटिप्पणीको रूपमा समावेश गर्नुभएको हो ।)
स्रोतः प्राचिन नेपाल (सन् २००१)
बाँकी भोलिको अङ्कमा
रु डा. पुरुषोत्तमलोचन श्रेष्ठ
Leave a Reply