भर्खरै :

नेपाली भाषामा शुद्धता र एकरूपता हराउँदै

नेपाली भाषाको प्रयोगमा एकरूपता हराउन थालेको एक दशक नाघ्यो ।
भाषिक परम्परा र सम्पदालाई जोगाउनुको साटो, यसलाई सपार्ने र सुधार्ने नाममा जानाजान बिगार्दै लगिएको छ । धेरैपटक बोलेपछि झूटो कुरा पनि साँचो हुन्छ भन्ने मान्यताअनुरूप श, ष, समध्ये पछिल्लो सको प्रयोग बढाएर दसैँ, सहर र सहिदलाई नै शुद्ध मानिसकियो । संयुक्ताक्षरलाई छुट्याउँदामात्र बुझिने भनेर विद्यालय, बुद्ध, युद्ध, बौद्धिक र शुद्धलाई नै शुद्ध ठानिसकियो । पदयोग, पदवियोग र श्रुतिसमभिन्नार्थी शब्दका सन्दर्भमा पनि खुकुरीभन्दा कर्द लाग्ने भनेझैँ, तर्कहरू कथित नयाँका नै चर्का भए । यद्यपि, त्यसप्रति औँला ठड्याउने स्वाभिमानी र स्वनामधन्य विद्वानहरूको पनि कमी छैन । यस्तो हुँदा, भाषिक शुद्धता र यसको प्रयोगका सन्दर्भमा पनि समूह विभाजित हुने नै भयो । आफूले पढेजानेको एउटा र सरकारी निर्णयअनुसारको पाठ्यपुस्तक अर्को छ । अनि सञ्चार माध्यमहरूको आ–आफ्नै मान्यता छ । यसको मारमा खासगरी जिज्ञासु प्रयोक्ता र नेपाली शिक्षक परेका छन् । आफूले पढ्ने किताबमा एकथोक र शिक्षक तथा अन्य विज्ञका कुरा अर्कै सुनेपछि ,‘नेपालीमा त जे लेखे पनि हुँदोरहेछ ¤’ भन्ने भान विद्यार्थी वर्गमा पर्न थालेको छ ।
भाषिक प्रयोगको क्षेत्र विस्तारै क्रमशः फराकिलो हुँदै जान्छ । यस क्रममा समाजशास्त्र, भूगोल, कृषि, राजनीति, विज्ञान, सञ्चार, प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य, अर्थशास्त्रजस्ता विषयहरूमा बर्सेनि नयाँ नयाँ शब्दहरू जन्मिएर प्रयोगमा आउन थाल्छन् । नयाँ शब्दका प्रयोक्ता÷वक्ता धेरै हुन थालेपछि ती शब्दहरू थाहै नपाइकन स्वतः स्वीकार्य पनि हुने गर्छन् । संस्कृतजस्तो पुरानो भाषामा यस्तो व्यवस्था नभए पनि नेपालीजस्तो जिउँदो भाषामा यो छ । ‘भाषामा उत्पादनशीलता हुन्छ’ भनेको यही हो र हरेक भाषामा शब्दभण्डार बढ्ने तरिका पनि यही हो । तर, यसो भनेर सम्पदा र परम्पराको रूपमा प्रयोग भइआएका शब्दलाई बटारबुटुर पार्दै नयाँ रूपमा प्रयोग गर्न थालियो भने भाषाको पुरातात्विक महत्व हराउँछ र यसमा अराजकता पनि भित्रिन्छ । पछिल्लो दशकमा नेपाली भाषामा सायद यही भएको छ ।
एकातिर अवस्था यस्तो छ भने अर्कोतिर जान्नेबुझ्नेहरूले नै पनि भाषिक प्रयोगमा लापरबाही देखाएको र ध्यान पु¥याउन नसकेको अवस्था पनि छ ।
भनिन्छ, ‘भाषाज्ञान : सर्वोत्तम धन’ पनि । धेरै वक्ताको आफ्नै मातृभाषा पनि हुन्छ । अनि एकजना व्यक्तिले धेरै भाषा सिक्न पनि सक्छ । तर, जसले जुन भाषा बोले पनि त्यसमा शुद्धता हुनु आवश्यक छ किनभने हरेक भाषामा आफ्नै किसिमको व्यवस्था, विशेषता र नियम हुन्छ । नेपाली पनि त्यसैभित्र पर्ने एउटा भाषा हो ।
एउटा भाषा बोलिरहँदा त्यसमा अर्को भाषा मिसाइनु पनि हुँदैन । त्यसो भएमा भाषिक प्रयोग अस्वाभाविक भई सामान्य स्रोताले बुझ्न नसक्ने अवस्था हुन्छ । स्रोता पनि शिक्षित र उसमा भाषाज्ञानसमेत रहेछ भने वक्ताको कमजोरी उसले तुरुन्तै थाहा पाइहाल्छ । मिश्रित भाषाको प्रयोगले भाषा गिजोलिएर त्यसको मौलिक सुन्दरता पनि बिग्रन्छ । त्यसैले अवस्था यस्तो हुनुपर्छ, कुनै वक्ता बोलिरहँदा स्रोताले उक्त वक्ता कुन मातृभाषी रहेछ भन्ने कुराको पहिचानै गर्न नसकोस् । यस्तो अवस्था अनुभव गरिएमा मात्र भाषिक प्रयोगमा सफलता भएको मान्न सकिन्छ ।
अन्य भाषामा झैँ नेपाली भाषामा पनि शब्दनिर्माणको आफ्नै नियम र सीमा छ । नेपाली व्याकरणअनुसार सामान्यतः उपसर्ग लागेर, प्रत्यय लागेर, समास भएर, द्वित्व भएर र सन्धि भएर नयाँ शब्दहरू बन्ने गर्छन् । शब्दको अगाडि लाग्ने उपसर्गहरूको सङ्ख्या सीमित छ भने शब्दको पछाडि लाग्ने प्रत्ययहरूको सङ्ख्या असीमित छ । अक्कड, अत, अन्ते, अनी, आइ, आउ, आरो, आवट, आहा, इलो, उवा, ओट, इयार, अनीय, इका, इत, आडी, आलीजस्ता थुप्रै प्रत्ययहरूमध्ये ‘ता’ पनि एउटा प्रत्यय हो । समानता, सम्पन्नता, स्वाधीनता, मौलिकता, दासता, लघुता, स्वतन्त्रता, विलासिता, सक्रियता, निष्क्रियताजस्ता थुप्रै शब्दहरू ‘ता’ प्रत्यय लागेरै बनेका हुन् ।
तर, यसो भन्दैमा ‘ता’ प्रत्ययको प्रयोग जथाभावी गर्न मिल्दैन । यहाँ भने यस्तै भइरहेछ । कतिपय सञ्चार माध्यमहरूबाट, ‘देशमा राजनीतिक अन्योलता देखियो’, ‘मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो’, ‘उसले विषयवस्तुको गाम्भीर्यता बुझेन’, ‘सौन्दर्यतामा लोभिनेहरू धेरै हुन्छन्’, ‘देश विकासका लागि राजनीतिक इमानदारिता चाहिन्छ’, काठमाडौँ उपत्यकामा नेवारहरूको बाहुल्यता छ’, ‘झगडामा उसले धैर्यता गुमायो’, ‘माछाले काँध फेरेमा भुइँचालो जान्छ भन्ने सोच्नु अज्ञानता हो’, ‘कोदो मकैमा कार्बोहाइड्रेडको प्राचुर्यता पाइन्छ’, ‘निरोगी रहनका लागि रोगविरुद्ध लड्ने सामथ्र्यता चाहिन्छ’, ‘गीत गाउनका लागि स्वरमा माधुर्यता चाहिन्छ’, ‘ती दाजुभाइका बीच वैमनस्यता भएको पनि धेरै भइसक्यो’ जस्ता प्रकृतिका वाक्यहरू जताततै सुन्न र पढ्न पाइन्छ । यी वाक्यहरूमा अन्योल, आतिथ्य, गाम्भीर्य वा गम्भीरता, सौन्दर्य वा सुन्दरता, इमानदारी, बाहुल्य वा बहुलता, धैर्य वा धीरता, अज्ञातता र प्राचुर्य वा प्रचुरता, सामथ्र्य, माधुर्य वा मधुरता, वैमनस्य प्रयोग गरिँदा मात्रै शुद्ध हुने हो ।
त्यस्तै तामाङ, खोटाङ, भञ्ज्याङ, इन्जिनियरिङ, डाइभिङ, ट्रेनिङ लेखिनुपर्नेमा, थप दुःख गरीगरी जताततै तामाङ, खोटाङ, भञ्ज्याङ, इन्जिनियरिङ, ड्राइभिङ, ट्रेनिङ लेखेर ‘परम्परा जोगाउने’ हरू पनि पाइन्छन् । ‘डाइभिङ ट्रेनिङ सेन्टर’ ले ‘ड्राइभिङ ट्रेनिङ सेन्टर’ को परिचयपाटी टाँसेर गल्ती गर्नु स्वाभाविकै भयो । तर, ‘सरस्वती मावि वरभञ्ज्याङ’ र ‘इन्जिनियरिङ कलेज’ ले वरभञ्ज्याङ, इन्जिनियरिङ लेखेर सरस्वतीको अपमान नगर्नुपर्ने हो । त्यस्तै, हुन्छ/बन्छको पारामा सामान्य पाठकले बीचमा ‘न’ थपेर हुन्दैन, सन्धै, पाउँन्दैन, आउँन्दैन, सताउन्थ्यो भनेझैँ विद्यालयमा पढ्ने/पढाउनेले चाहिँ त्यस्तो बोल्नु वा लेख्नु अघि ध्यान पु¥याउनुपर्ने हो ।
बन्द भएका विद्यालय/होटल/ पसल/यातायात/उद्योग/उडान पनि सञ्चालन, चालू वा सुचालू नभएर ‘सुचारु’ भइरहेको सुन्न पाइन्छ । शुल्क शब्दमा ‘नि’ उपसर्ग लागेर ‘निःशुल्क’ भएको हो भन्ने कुरा थाहा नभएरै त होला, यसको विपरीतार्थी शब्दका रूपमा कतैकतै ‘सःशुल्क’ लेखिएको पनि देखिन्छ । अनि, ‘अङ’ शब्दमा ‘अप’ उपसर्ग लागेर ‘अपाङ’ बनेजस्तै ‘सपाङ’ चाहिँ बन्दैन भन्ने कुरा पनि थाहा नभएर होला, ‘अपाङ’ को विपरीतार्थी शब्दका रूपमा जताततै ‘सपाङ’ शब्दको प्रयोग गरिएको पाइन्छ । ‘दुर्घटनाग्रस्त बसबाट घाइतेहरूको उद्धार’ हुनु ठीक हो । तर यहाँ त ठाउँलाई नै ‘अत्याधिक दुर्घटनाग्रस्त क्षेत्र’ लेखी एकै ठाउँमा दुईवटा भद्दा गल्ती गरिएको देखिन्छ । ‘दुर्घटना बाहुल्य क्षेत्र’ लेख्ने सोच कसैको देखिंदैन । ‘प्रवेशद्वार’ लेख्नुको सट्टा, विद्यालयको गेटमै ‘प्रवेशद्वार’ लेखेको देख्रिन्छ भने मन्दिरनजिकै ‘जीर्णोद्धार’ का ठाउँमा ‘जीर्णोद्वार’ पनि ।
नेपाली भाषा र व्याकरणका विषयमा सामान्य चासो राख्ने मान्छेले समेत ख्याल गर्नुपर्ने यस्ता सानातिना कुरामा, सम्पादक, शिक्षक, विद्यार्थी र सञ्चार माध्यमहरूमा काम गर्ने विशेष मानिसहरूले समेत ध्यान पु¥याएको पाइँदैन । यो, नेपाली भाषाप्रति गरिएको बेवास्तापूर्ण अपमान हो । सूचनाका लागि जताततै टाँगिएका परिचय पाटीहरू अशुद्धताको शिकार भइरहेका हुन्छन् । शुद्ध लेख्न सिकाउने कतिपय विद्यालयकै परिचय पाटीमा र तीद्वारा जारी गरिएका सूचनामा त व्यापक अशुद्धि देखिन्छन्भे/टिन्छन् भने बिस्कुट, चाउचाउजस्ता वस्तुको नाम लेखाइप्रति के गुनासो गर्नु छ र ! लोक सेवा आयोगबाट कडा परीक्षा पास गरेर स्थायी भई उच्च तहमा पुगेका सरकारी कार्यालयका कर्मचारीबाट जारी गरिएका कतिपय परिपत्रहरू हेरिसाध्य नभएको कुरा सामाजिक सञ्जालबाट सबैले थाहा पाइएकै छ ।
बोलाइ र लेखाइ गरी भाषाका दुईवटा रूप हुन्छन् । बोलाइ परिवर्तनशील र ठाउँअनुसार फरक भए पनि लेखाइ स्थिर र सबैतिर एकनास हुन्छ, हुनुपर्छ । सोलुका शेर्पाले ‘म पनि जान्छु’ लाई ‘म पनि जान्छा’ भन्लान् । सिराहाका यादवले ‘म पनि काम गर्छु’ लाई ‘म पनि काम गरिलिन्छु’ भन्लान् । भक्तपुरे/पाटने/बनेपाली नेवारले ‘मलाई डुडको चिया मन पर्दैन’ भन्लान् । जोसुकैले पनि ‘मैले काम सक्काएँ’ भन्लान् तर ती सबैले लेखाइमा भने ‘जान्छु’, ‘गर्छु’ र ‘दूध’, र ‘सिध्याएँ’ नै लेख्नुपर्छ ।
शिष्ट परम्परा, शुद्धता र प्रयोगको एकरूपतामा विशेषतः शिक्षक, विद्यार्थी, सञ्चारकर्मी र नेपाली भाषालाई माया गर्ने सबैले ध्यान दिनु अत्यावश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *