‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
सरकार कति निकम्मा ! कति बेमतलबी ! नहुनु पनि कसरी । सत्तामा विराजमान भएर धनमुखी र दलमुखी नेता र पार्टी भएपछि । सेवामुखीको बखान गरेर राजस्व स्रोतमा पल्केपछि देश र जनताबारे चासो हुन्छ कसरी ? ठूला दलका शासकहरू पटक–पटक कुर्सीमा विराजमान भएर अघाएकै छन् । सरकार गठन गर्दाताका अनेकानेक सेवा सुविधाका सन्देश छर्न पछि नपर्ने ती सत्तासीन नेता या शासकहरू विधिको शासन र विकासको कुरा गरेर मज्जाक लिन्छन्, आनन्दको सास फेर्छन् र गर्व गर्छन् । तर, सत्तामा टाँसेर कुर्सी न्यानो हुन थालेपछि, ऐय्यासी जीवनमा भुलेर सेवा सुविधामा पल्केपछि जनताको सेवाको कुरा चैत वैशाखको हुरीले झैँ उडाउँछन् र त्यसैलाई विकासको उचाइ मान्छन् ।
प्रसङ्ग हो, यो वर्षको सहिद दिवस । सहिद दिवस मनाइँदै आएको दशकौँ भयो । यसबीच दर्जर्नाैँ प्रधानमन्त्री भए । पञ्च, काङ्ग्रेस र ‘कम्युनिस्ट’ को सरकार बने । सहिदहरूको रगतको होलिमा खेलेर उनीहरुले कति सेवा सुविधा लिए, रजाइँ गरे । तर विडम्बना ¤ अहिलेसम्म सहिदहरूको अभिलेख पनि सरकारको सूचीमा छैन । यतिका लामो दशक पार गरिसकेपछि प्रम शेरबहादुर देउवाले सहिद दिवसको अवसरमा विभिन्न राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्य तथ्य विवरणसहितको अभिलेख तयार गर्न सम्बन्धित मन्त्रालयलाई उपदेश दिए । यसबाट प्रस्ट भयो, सरकारको सूचीमा देशका सबै सहिदहरूको नामावली छैन, भएका नामावलीमा पनि शङ्का छ । धन्य ! सहिदको अभिलेख तयारीको लागि निर्देशन दिन पनि सहिद दिवस नै कुर्नुपर्ने !
प्रजातन्त्र, समानता, न्याय र शोषणरहित समाज स्थापना गर्न ज्यानको बाजी राख्ने सहिदहरूकै सूची सरकारी तथ्याङ्कमा दर्ज नगर्ने कस्तो सरकार ! कस्तो राजनीति ! के यो लाजनीति भएन ? व्यक्तिगत स्वार्थ नराखी देश र समाजको विकास तथा परिवर्तनको लागि रगतको खोलो बगाउने सहिदहरूको हालसम्म सरकारी सूचीमा नाम नहुनु के यो सहिदहरूप्रति सरकारको बेवास्ता होइन ? ज्यान हत्केलामा राखेर प्राणको आहुति गर्ने देशभक्त वीर सहिदहरूप्रतिको के यो अपमान होइन ? स्वेच्छाचारी शासन फाल्न बहादुरीका साथ लड्ने सहिदहरूप्रतिको यो देशको कस्तो जीवनपद्धति ? सहिदहरूप्रति यो विभेद किन ? कुनै सहिदहरूको स्मरण र प्रशंसा गर्ने त कुनै सहिदहरूको योगदान भुल्ने यो सरकारको कस्तो न्याय र समानता !
वास्तविक र सच्चा सहिदहरूको योगदान भुलेर पैसाको निम्ति जो कोहीलाई सहिद घोषणा गर्ने के ठूला दलका शासकहरू होइनन् ? १० लाख आर्थिक सहयोग पाउनको निम्ति सङ्घर्ष र आन्दोलनमा होइन, झगडा गर्दा, दुर्घटना पर्दा निधन भएका नागरिकलाई पनि सहिदको घोषणा गर्ने के देशका ठूला दलका सत्तासीन नेताहरू होइनन् ? गलत थिति बसाल्ने, सहिदहरूको उपेक्षा गर्ने सत्तारुढ दलका नेताहरू यतिखेर आफ्नो ज्यान हत्केलामा राखेर मुलुकमा राजनीतिक परिवर्तन, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न प्राणको आहुति गर्ने व्यक्ति सच्चा सहिद हुन् भन्दै बर्बराउन थालेका छन् । के यही हो शासक दलका नेताहरूको राजनीतिक र सांस्कृतिक स्तर !
आफ्नो देश, संस्कृति र अस्तित्व संरक्षण तथा स्वतन्त्रता प्राप्तिको निम्ति बलिदान भएर लोकहितमा लागेका सहिदहरूको मूल्य र मान्यतामा के सरकारले अवमूल्यन गर्न मिल्छ ? ठूला दलका शासक नेताहरूको गैरजिम्मेवारी कार्य र धृष्टताको जति निन्दा गरे पनि पुग्दैन । सिद्धान्त र विचार बन्धक राखेर सत्ताको निम्ति राजनीति त गरे गरे, राजनीतिक संस्कारसमेत छोडे । सहिदहरूको अभिलेख बनाएर, सहिदहरूको जीवनीमूलक किताब प्रकाशन गरेर आम नेपालीलाई सुसूचित पारिसक्नुपर्ने बेला सहिदको अभिलेखको थालनी गर्न दिइएको प्रमको निर्देशन कहिले लागु गर्ने हो ? त्यो पनि निश्चित छैन । कतै त्यो निर्देशन देशको स्थानीय, प्रदेश र सांसदको निर्वाचनसँगै बन्ने नयाँ सरकारको परिवर्तनसँगै उड्ने पो हो कि ¤ यस्तै रहेछ, नेपालका शासकहरूको नियत ।
देशको विभिन्न राजनीतिक आन्दोलनमा सहादत प्राप्त अमर सहिदहरूको देनको चर्चा खासै हुँदैन । सहिदहरूको अभिलेख राख्न दशकौँ वर्ष पर्खनुपर्ने यो देशमा सहिदै सहिदहरूको ग्रन्थ प्रकाशन के सरकारले गर्ला ? प्रकाशन गरेर विद्यार्थी, युवा तथा नागरिकहरूलाई सुसूचित पार्ने काम गर्ला ? सहिदको बलिदानमा टेकेर सरकार चलाएर बनेका मन्त्री र शासक नेताहरू सहिद परिवारका सदस्यहरूको हालत किन बुझ्दैनन् ? हालत बुझेर उनीहरूको जीवन सुनिश्चित गर्नेतर्फ किन लाग्दैनन् ? सरकारको नेतृत्वमा पुगेपछि, सरकारमा सामेल हुन पाएपछि स्वर्गमा टेकेको जस्तो अनुभूति गर्ने, जीवनको उद्देश्य पूरा भएको ठान्ने शासकहरूको दिमाग कहिले सुसज्जित हुने हो ? असल र इमानदार शासक कहिले बन्ने हो ? देश र जनताप्रति कहिले जिम्मेवार बन्ने हो ?
सहिद परिवारका सदस्यहरूको हालत अहिले पनि दयनीय छ, कष्टकर छ । सहिदहरूको अनुहार सम्झेर परिवारका सदस्यहरू अहिले पनि आँसु पिएर जीवन बिताइरहेका छन् । सरकारले केही गर्ला र हेर्ला भन्ने आशामा तुषारापात भएको छ । सरकारले न सहिदहरूको सम्मान गरे, न सहिदका परिवारलाई हेरे । देशको लागि बलिदान गर्ने सहिदहरूको गठजोड नै गर्न भ्याइएन । के सहिदका परिवारहरूको जीवन सुनिश्चित गर्न सङ्घर्ष नै गर्नुपर्ने ? सहिदहरूको आलो रगतमा पौडी खेलेर आनन्द लिनेहरू, रमाउनेहरू, ऐय्यासी जीवन बिताउनेहरू सहिद परिवारका सदस्यहरूको घाउमा मलमपट्टी लगाउनुपर्दैन ? सहिदका परिवारहरूलाई लात मार्ने ! के सहिदहरूको बलिदान सत्तामा पुग्नमात्रै हो ¤ यसमा विगतदेखि आजसम्मका सरकारहरू दोषी हुन् ।
शासक दलका नेताहरू नैतिकता र चरित्रको ख्याल गर्दैनन् । सिद्धान्त र विचारको वास्ता गर्दैनन् । देश र जनताप्रति समर्पित हुँदैनन् । सहिदहरूको सम्मान गर्दैनन् । सहिदका परिवारका सदस्यहरूको जीवन सुनिश्चित बनाउन लाग्दैनन् । देशलाई आत्मनिर्भर बनाउनेतर्फ सोच्दैनन् । विदेशी सहयोगमै अडेर, विदेशी ऋणमै डुबेर, विदेशी शक्तिकै उठबसमा रहेर शासन चलाउन मनपराउने, रमाउने शासक नेताहरूलाई आफू धनी भएपछि, आफ्नो जीवन चलेपछि देश जस्तोसुकै होस्, जनताले जस्तोसुकै दुःख पाऊन्, कुनै चिन्ता छैन । आज देश किन परनिर्भर भइरह्यो ? आज देश किन साक्षर मुलुक पनि बनेन ? जलस्रोतको धनी देशमा किन अझै कति गाउँ र स्थान अँध्यारो ? खोइ चिन्ता र चासो !
Leave a Reply