सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
बेलुकीको खाना खाएको समयमा एक अपरिचित व्यक्तिको कल आयो । मैले फोन रिसिभ गर्न सकिनँ । खाना खाइसकेपछि कल ब्याक गरेँ । केही घण्टी गएपछि एक महिलाको आवाज सुनियो । “वडाध्यक्षज्यू नमस्कार, डिस्टब भयो कि ? दिउँसो अफिसको काममा व्यस्त होला भनी मैले बेलुका कल गरेकी हुँ । डिस्टब भए माफ पाउँ ।” मैले जवाफ फर्काएँ, “नमस्कार, को बोल्नुभएको होला ? मैले तपाईँलाई चिन्न सकिनँ । मलाई डिस्टब भएको छैन । के कति कामले कल गर्नुभएको हो ?” उहाँले भन्नुभयो, “म सरिता सुवाल (नाम परिवर्तन) हुँ । भक्तपुर नगरपालिकाको कम्प्युटर अपरेटर हुँ । मेरो घर तपाईँको वडा कार्यालयपछाडि हो । तपाईँ बसेको कुर्सीबाट फर्केर हेर्दा देखिने घर मेरो माइती हो ।” उहाँको उत्तर सुनेबित्तिकै मैले उहाँको पहिचान गरिसकेँ । साथै किन फोन गरेको भनेर अड्कल लगाएँ । उहाँले एक समयमा कम्प्युटर ट्रेनिङ्ग दिनुभएको थियो । मैले त्यसपछि मिस भनी सम्बोधन गरेँ र सोधेँ, “भन्नुस्, म तपाईँलाई के सहयोग गरुँ ? उहाँले प्रत्युत्तरमा भन्नुभयो, “मेरो माइतको पारिवारिक समस्यालाई तपाईँले सुल्झाई दिनुप¥यो । तपाईँले मलाई एकछिन समय दिनुप¥यो । तपाईँलाई भेट्न कुन समयमा आउँ ?” मैले भोलि पल्टको दिउँसो २ बजेपछि वडा कार्यालयमा आउन अनुरोध गर्दै कुरा टुङ्ग्याएँ ।
डायरी पल्टाएर दैनिक कार्यतालिकामा २ बजे सरिता मिसलाई भेट्ने भनी लेखेँ । भोलिपल्ट उहाँ २ बजे वडा कार्यालयमा आउनुभयो । साथमा अर्की एक बहिनी पनि थिइन् ।
सरिता मिसलाई कुराको सुरुवात गर्न अनुरोध गरेँ । दुवै दिदीबहिनी मसँग कुरा गर्न आएको प्रस्ट भयो । सरिता मिसले भन्नुभयो, “घरमा दाइ–भाउजू हुनुहुन्छ तर आमा भोकै बस्नुपर्छ, अनि भोकै सुत्नुहुन्छ । आमाको लागि सुत्ने एउटा अलग कोठा पनि छैन । आमाले नातिको कोठामा भुइँमा सुत्नुपर्छ । घरमा दाइ र भाउजूहरू हुनुहुन्छ । तर, दुबै जनाको व्यवहार राम्रो छैन । अर्को एउटा दाइ सूर्यविनायकमा बस्नुहुन्छ । उहाँ त झन् मतलबै गर्नुहुन्न । तपाईँले दाइहरूलाई वडामा बोलाएर एकचोटि सम्झाइ दिनुप¥यो ।” त्यति भन्दै गर्दा दुबै दिदीबहिनीको आँखामा गहभरि आँसु थियो । आँसु देखेपछि मलाई अलि नरमाइलो लाग्यो । अफिसमा केहीबेर सन्नाटा छायो । मैले अर्की बहिनीलाई बोल्न अनुरोध गरेँ । आँसु पुछ्दै त्यस बहिनीले भनिन्, “मैले सधैँ आमालाई आफ्नो श्रीमान्को घरबाट खाना लगेर खुवाउँदै आएकी छु । जुन दिन मैले खाना लगेको हुँदैन त्यसदिन आमा भोकै बस्नुहुन्छ ।” आँसु पुछ्दै उनले थपिन्, “कति रात त खाना नखाई आमा सुत्नुहुने रहेछ । हामी दिदीबहिनीले पालैपालो खाना लगेर खुवाउँदै आएका छौँ । सँगै बस्ने भाउजूले एक छाक खाना किन खुवाउँदैनन् आमालाई ? भाउजूहरूको त कुरै नगरौँ, दाइहरूले समेत हामी र आमासँग नबोलेको वर्षौँ भयो ।”
समाजमा कस्तो कस्तो घटना हुनेरहेछ ¤ केही दिनअगाडि ती बहिनीहरूकी आमा वडा कार्यालयमा आई फोडिएका तालाहरू देखाउनुभएको याद भयो । त्यसबेला बुढी आमाले आफ्नो बुहारीले सन्दुकको ताला फोडेर गहना र ज्येष्ठ नागरिक भत्ता लगेको उजुरी गर्न आउनुभएको थियो । अनि मैले छोरालाई वडामा बोलाई सम्झाएर पठाएको थिएँ । तर, त्यसबेला बुढी आमाले छोराहरूले खाना नखुवाएको केही बताउनुभएन ।
केही बेर दिदीबहिनीको कुरा सुनेपछि मैले भनँे, “मलाई तीनै जना दाजुहरूको नाम र मोबाइल नम्बर उल्लेख गरी निवेदन दिनुहोस् । अनि म उहाँहरूलाई वडामा राखेर छलफल गर्छु ।” त्यही समयमै चिया ल्याइयो । चिया खाउन्जेल एउटा सामान्य निवेदन लेखेर दिनुभयो । मैले पछि दुवैलाई बिदावारि गरेँ ।
शुक्रबारको वडा कार्यालयको नियमित बैठकमा मैले यस विषयमा छलफल गरेँ । साथीहरूले आमाको पृष्ठभूमि सम्बन्धमा चर्चा गर्नुभयो । आमाले माइतीको घरखेत नै दाइजो लिएर आउनुभएको थियो । छलफलको क्रममा साथीहरूले छोरा र छोरीहरूसँग आमासँगै राखी बैठक बोलाउन सल्लाह दिनुभयो ।
केही दिनपछि समितिको सल्लाहअनुसार दोस्रो प्रहरमा बैठक बस्दै थियौँ । समयमै दिदीबहिनी, आमा र दाजुभाइ वडा कार्यालयमा आउनुभयो । तर, सूर्यविनायकमा बस्ने एक जना छोरा आउनुभएन । मैले उहाँको मोबाइलमा कल गरेँ । धेरै पटक कल गरेपछि उहाँले फोन उठाउनुभयो । फोनमा मैले बैठकको स्मरण गराएँ । उहाँले धम्कीपूर्ण शैलीमा भन्नुभयो, “तपाईँलाई मेरो परिवारको सम्बन्धमा बेइज्जत हुने गरी बैठक बोलाउने अधिकार कसले दियो ? म तपाईँको बैठकमा आउँदिनँ । यसबारे हामी पारिवारिक छलफल गरौँला । तपाईँलाई चाहिने विषय होइन ।” जवाफ सुनेर मेरो जिउ र दिमाग तातिहाल्यो । बैठकमा सहभागीहरू पनि रिसाए । रिस नियन्त्रण गर्दै मैले जवाफ फर्काएँ, “तपाईँको आमाले किटानीका साथ छलफलका लागि निवेदन दिनुभएको छ । त्यसकै आधारमा बैठक बोलाएको हो । बैठक बोलाउँदैमा बेइज्जत हुन्छ ? के कुरा गर्नुभएको ? नभए तपाईँकै घरमा सर्वपक्षीय बैठक बसौँ ।” मेरो जवाफपछि उहाँ तुरुन्तै वडामा आउनुभयो ।
अग्रजहरू नरम व्यवहार र भाषा प्रयोग गर्नुस् भनी दिएको सल्लाह म बरोबर सम्झन्छु ।
सबै आएपछि बैठक औपचारिकरूपमा सुरु गर्दै सबैलाई न्यानो अभिवादन गरेँ र वडामा उजुरी परेको निवेदनबारे जानकारी गराएँ । मैले पहिले बुढी आमालाई बोल्न अनुरोध गरेँ । त्यसपछि आमाले भन्नुभयो, “मैले दिनको एक छाक पनि खान पाइनँ । म बस्ने घर मलाई माइतीले दाइजो दिएको थियो, त्यही घरमा आज बस्ने कोठामा समेत छोरा बुहारीहरूले बस्न दिएनन् । सन्दुकमा केही राख्नु हुँदैन । वृद्ध भत्तासमेत हराउँछ । गरगहना त सबै हराइसके । बुहारीहरू छोरीहरू घर आएको सहँदैनन् । मेरो दाइजोको घरबाट यिनीहरूलाई निकाली दिनुप¥यो । छोराहरूले पसल राखेका छन् । तर, बहाल नदिएको वर्षौँ भयो । अब मैले के गर्ने ?”
आमाको कुरा सुनेपछि जेठो छोरालाई बोल्न अनुरोध गरेँ । उहाँले भन्नुभयो, “मसँग बस्न आए म आमालाई पाल्छु । तर, आमाले बुहारीसँग मिलेर बस्नुपर्छ । यसरी वडामा बैठक बस्नैपर्ने विषय होइन । टोलमा परिवारको बेइज्जत हुने भयो ।”
त्यसपछि माइलो छोराले बोल्नुभयो, “मैले आमालाई नपाल्ने कहाँ भनेको छु र ? तर, आमा नै बस्न मन पराउनुहुन्न । घरमा नातिनातिनी र बुहारीसँग मिलेर बस्न जानुप¥यो । आमाले घरमै मिलाउन सकिने विषयवस्तुलाई वडामा ल्याउन आवश्यक थिएन । हाम्रो पनि इज्जत छ । घरमा खाना खान आउनुभन्दा मान्नुहुन्न । अनि यहाँ खाना खुवाएन भनेर भन्न पाइन्छ ?”
त्यसपछि कान्छो छोराले बोल्नुभयो, “म पसलको भाडा दिन्छु अनि आमालाई खाना खुवाउन पनि तयार छु । तर, आमा श्रीमती र छोराछोरीसँग मिलेर बस्नुप¥यो । आफ्नै तालमा हिँड्न पाइँदैन । आजैबाट आमालाई एउटा कोठा छोडिदिन्छु । तर, वडामा आएर हाम्रो बेइज्जत गर्नु भएन ।”
त्यसपछि छोरीलाई बोल्न अनुमति दिएँ । कान्छी छोरीले भनिन्, “दाइहरूले बिहान र बेलुकी खाना खुवाउनु प¥यो । कोठा एउटा दिनुप¥यो । बरु, हामी आउँदा दाइहरूले नहेरे पनि हुन्छ । आमा एक जनालाई राम्ररी खुवाउनु प¥यो । हामीले घरमा आएर खुवाउनुपर्ने अवस्था बन्द हुनुपर्छ । आमालाई मिलाएर राख्नुप¥यो ।”
जनप्रतिनिधिहरूले भन्न थाले, “आमालाई खुवाउने र राख्ने काम छोराहरूले गर्नुप¥यो । आमा अझ धेरै वर्ष बाँच्नु हुन्छ ।” मैले पनि आमालाई एक्लै राख्न नहुने र छोराहरूले हेर्नुपर्ने भनी सम्झाएँ । तर, छोराहरूले बोलेनन् । आमाको दाइजो नभए पनि छोराहरूले पाल्नु आफ्नो कर्तव्य हो । तर, आफू कर्तव्यबाट च्युत भएको कुरा आफ्नै सन्तानले सिक्ने भएकोले राम्रो संस्कारको विकास गर्नुपर्ने बताएँ । केही बेरपछि मैले निर्णयको खेस्रा बनाउन थालेँ ।
बैठकको निर्णय खेस्रा सुनाएँ, “आमालाई एउटा कोठा दिने, माइलो छोराले खाना खुवाउने, कान्छा छोराले नियमित भाडा दिने, स्थानीय सहकारीमा आमाको पैसा राखिदिने र वडा कार्यालयले अनुगमन गर्ने ।” मैले निर्णय सुनाएपछि छोराहरूले हुन्छ हामी वडाको निर्णय पालना गर्छौँ । तर, वडामा आएर आमाले हाम्रो बेइज्जत गरिदिनुभएन । छोराहरू वडाबाट बाहिरिए । छोराहरू बाहिरिएपछि आमालाई मैले छोरा र बुहारीसँग मिलेर बस्न अनुरोध गरेँ । छोरीहरू वडाध्यक्षलाई धन्यवाद भन्दै बाहिर जानुभयो ।
Leave a Reply