भर्खरै :

युक्रेनमा संरा अमेरिकी स्वार्थ

वाशिङ्टन, १ फेब्रुअरी (सिन्ह्वा) । गएको सोमबार संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा रूस र संरा अमेरिकी अधिकारीहरूबीच युक्रेन सङ्कटबारे चर्को बहस भयो । संरा अमेरिकाले रूसमाथि युक्रेन कब्जा गर्न खोजेको आरोप लगायो भने रूसी कूटनीतिज्ञहरूले अहिलेको सङ्कटमा ‘मट्टीतेल छर्ने’ काम गरेको भन्दै वाशिङ्टनमाथि रिस पोखे ।
रूस–युक्रेनबीचको तनाव मत्थर बन्दै गएको अवस्थामा संरा अमेरिकाको वर्तमान सरकारले आगोमा घ्यु थप्ने काम गरेको विश्लेषकहरूको भनाइ छ । यसो गर्नु पछाडि उसका केही कारण छन् । पहिलो कारण, संरा अमेरिकी सरकारले आफ्नै जनताको ध्यान अन्यत्र मोड्न र आगामी मध्यावधि चुनावको लागि गतिशीलता देखाउन हो । अर्को रूसविरूद्ध युरोपेली मोर्चालाई बलियो बनाएर युरोपमा आफ्नो पुरानो प्रभावलाई पुनःस्थापित गर्नु हो ।
संरा अमेरिकी औजार
युक्रेनको सीमामा चालु सङ्कटमा संरा अमेरिका सरकारले तीन प्रमुख कदम चालेको विश्लेषकहरूको भनाइ छ ।
पहिलो, संरा अमेरिका र उसका साझेदार देशहरूलाई प्राप्त भरपर्दो ‘गुप्त सूचना’ खुलासा गरेर युक्रेनमाथि रूसले ‘हमला गर्न लागेको’ भनी अतिरञ्जनापूर्ण प्रचार गर्नु हो । उनीहरूले युक्रेनमा अस्थिरता कायम राख्न रूसले गरेका कामको तथाकथित ‘प्रमाण’ खुलासा गर्दै युक्रेनस्थित संरा अमेरिकी दूतावासका आफ्ना कर्मचारीहरूलाई सो स्थान छोड्न निर्देशन जारी ग¥यो ।
दोस्रो, रूसविरूद्ध आर्थिक नाकाबन्दीको धम्की फलाक्नु हो । त्यसरी हल्ला गरिएको नाकाबन्दीले रूसका धेरै ठूला बैङ्क र केही महत्वपूर्ण वित्तीय संस्थाहरूलाई निशानामा पार्ने थियो । कतिसम्म भने उनीहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नाकाबन्दी थोपर्ने योजना बनाएका थिए । यी सबै कदमले पश्चिमा वित्तीय प्रणालीसँग रूसका सबै सम्बन्ध तोडिने थियो ।
तेस्रो, संरा अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) भित्र सैनिक परिचालनलाई बलियो बनाउन खोज्यो । प्रत्यक्ष सेना नपठाए पनि संरा अमेरिकाले युक्रेनलाई मद्दत ग¥यो । संरा अमेरिकाले वाचा गरेअनुसार युक्रेनमा हातहतियार र अन्य सैनिक तथा आर्थिक सहायता पठायो ।
अहिलेको सङ्कटपूर्ण समयमा युक्रेन वरपर वाशिङ्टनका गतिविधिको रूसले विरोध गर्दै आएको छ ।
गत सोमबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हालैका महिनामा संरा अमेरिकी सञ्चारमाध्यमहरूले युक्रेन र वरपरका गतिविधिबारे धेरै परिमाणमा अपुष्ट, बङ्ग्याइएको र प्रस्टतः असत्य र उत्तेजनात्मक सूचना फैलाइएको बताए ।
रूसी विदेशमन्त्री सेगेई लाभ्रोभले मस्को लडाइँ गर्ने पक्षमा नभएको तर आफ्ना हितमा सम्झौता वा बेवास्ता पनि गर्न नसक्ने बताए ।
युक्रेनका राष्ट्रपति भोलोदिमेयर जेलेन्स्कीले अहिलेको सङ्कटपूर्ण समयमा पश्चिमा देशहरूलाई थप ‘भय’ सिर्जना नगर्न र युक्रेनमाथि हमला हुनसक्ने हल्लाले युक्रेनको अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारेको बताए ।
संरा अमेरिकी परिचालन
युक्रेनमा लडाइँ हुनसक्ने भनी वाशिङ्टनले गरेको हल्ला पछाडि उसका आन्तरिक र कूटनीतिक स्वार्थ निहीत भएको विश्लेषकहरूले बताएका छन् ।
संरा अमेरिकाभित्र युक्रेन सङ्कटबारे वर्तमान सरकारको निर्णयले विदेशी नीतिमा उसको अडान देखाउने बताइएको छ । राष्ट्रपति बाइडेन कमजोर भएको भन्ने रिपब्लिकनहरूको आरोपको खण्डन गर्न यो अडानलाई प्रयोग गरिएको छ ।
बाइडेनप्रतिको जनसमर्थन घट्दै गएको अवस्थामा रूसप्रति उनको आक्रामक अडानले नोभेम्बर महिनामा हुने मध्यावधि चुनावमा थप मत प्राप्त गर्न सकिने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
कूटनीतिकरूपमा बाइडेन सरकारले मस्कोमाथि थप दबाब दिन रूस–युक्रेन तनावलाई प्रयोग गर्न सक्छन् । समयान्तरमा त्यसले रूसविरूद्ध कडा नीति लिन युरोपेली देशहरूलाई पनि एकताबद्ध गर्न मद्दत पुग्नेछ ।
गत वर्ष अफगानिस्तानबाट हतारमा फर्केर अन्तर्राष्ट्रिय छवि गुमाएको अवस्थामा संरा अमेरिकाले युक्रेन सङ्कटलाई पश्चिममा आफ्नो नेतृत्व स्थापित रहेको देखाउने मौकाको रूपमा प्रयोग गर्नसक्छ ।
यद्यपि, यो अवस्थामा संरा अमेरिकी चुनाव प्रचारमा विदेश नीति पहिलो प्राथमिकता पक्कै होइन । बरू आज अमेरिकी जनता आफ्नो देशको अर्थतन्त्र, महामारी र आफ्नो दैनिक जीवनसँग सरोकार राख्ने विविध विषयहरूप्रति बढी चासो राख्दै छन् । त्यसका साथै ऊर्जाको लागि रूसमाथि निर्भर रहेका धेरै युरोपेली देशहरू तनाव बढाउन चाहँदैनन् । उनीहरू रूसप्रति संरा अमेरिकी नीतिमा बाँधिएर बस्न बाध्य नभएको विश्लेषकहरूले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *