विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
भक्तपुर, ८ साउन । भक्तपुर नगरपालिका वडा नं ९ वडा कार्यालयको आइतबार एक कार्यक्रमबीच भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । भक्तपुर दत्तात्रय, सलाँ गणेशस्थानमा नवनिर्मित भवनमा वडा कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो । सो भवन केही महिनाअघि देखि नै साविक वडा नं ३ को वडा कार्यालयको रुपमा सञ्चालन हुँदै आएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको आकांक्षालाई पूरा गर्ने गरी बजेट निर्माण गरेको जानकारी दिंदै नगरपालिकाले तुरुन्तै २५ शैय्याको ख्वप अस्पताल सञ्चालन गर्ने, वडाका घर–घरमा नर्सिङ सेवा पु¥याउने, नपाद्वारा सञ्चालित कलेजहरुलाई निरन्तरता दिंदै ख्वप विश्वविद्यालय स्थापनाको पहललाई अघि बढाउने र खानेपानी वितरणलाई व्यवस्थित गर्न काउखालिसित समन्वय गरेर काम गर्ने बताउनुभयो ।
पुराना सत्तल, मठ–मन्दिर, पाटीपौवा कानुनी रुपमा व्यक्तिको नाममा भए पनि ती सार्वजनिक सम्पत्ति भएको बताउँदै त्यस्ता सार्वजनिक सम्पत्तिको नाम भएकाहरुले स्वेच्छिक रुपमा नगरपालिकालगायत सम्बन्धित निकायलाई नामसारी गरिदिन अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नगरको विकास निर्माण कार्य उपभोक्ता समितिमार्फत अमानतमा गर्नमा जोड दिंदै आएको बताउँदै श्रमदानको भावना र संस्कारलाई जीवित राख्दै कम लागतमा नगरको विकासमा लाग्न नगरबासीसित आग्रह गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुरको नेवारी मौलिक शैलीका घर वैज्ञानिक प्रणाली र भूकम्पप्रतिरोधी समेत भएको बताउँदै घर–भवन निर्माण गर्दा मौलिक शैलीलाई त्याग्न नहुने विचार व्यक्त गर्नुभयो ।
मौलिकतालाई बिर्सेमा नगरको पहिचान र सम्पदा गुम्ने चर्चा गर्दै उहाँले घर–भवन निर्माण गर्दा मौलिक शैली अपनाउनेलाई नपाले सहयोग गर्ने नीति बनाएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं ९ का वडाध्यक्षा रवीन्द्र ज्याख्वले नगरपालिकाले अगाडि बढाएका योजना र कार्यक्रमबारे जानकारी दिंदै नगरबासीको भावना र आवश्यकताअनुसार काम अघि बढाउने बताउनुभयो ।
साविक वडा नं ३ का वडाध्यक्ष कृष्णभक्त लवजूले वडाबासीको भावनाअनुसार सार्वजनिक सत्तल पुनःनिर्माण गरी वडा कार्यालय बनाएको बताउनुभयो ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर प्याथको सभापतित्वमा भएको कार्यक्रममा समितिका सचिव रामकृष्ण मानन्धरले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख प्रजापति र उपप्रमुख रजनी जोशीले भवन निर्माण जानकारी पुस्तिका पनि सार्वजनिक गर्नुभएको थियो ।
Leave a Reply