भर्खरै :

बैङ्कसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

चितवन, २३ माघ । कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैङ्कहरूले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् ।
कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् ।
गत वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा दुई प्रतिशत हाराहारीले बढेको छ । उनीहरूले तरलता अभाव देखाउँदै बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्ने गरेका छन् । बैङ्कमा तरलता अभावले ब्याजदर बढाउनु परेको बैङ्करहरू बताउँछन् ।
ठूलो उद्योग र कृषि क्षेत्रमा बैङ्क केही उदार भए पनि मझौला र साना ऋणीलाई उच्च ब्याजदर लिने गरेका छन् । गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैङ्कको बेसरेट ५ दशमलव ६१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पुसमा यो दर ६ दशमलव ६ प्रतिशत पुगेको छ । यो बेसरेट बैङ्कमा सबैभन्दा कम हो । सिभिल बैङ्कको गत आर्थिक वर्षको पुसमा ८ दशमलव ४५ प्रतिशत बेसरेट रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ दशमलव ७४ प्रतिशत पुगेको छ ।
गत वर्षको पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको बेसरेट बढेको छ । गत वर्षको पुसमा यो बैङ्कको बेसरेट २ दशमलव ७९ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर अहिले ९ दशमलव ४४ प्रतिशत पुगेको छ । यो बैङ्कले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ ।
कृषि क्षेत्रमा ठूला बैङ्कले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाइन्छ । नबिल बैङ्कका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने गरिएको जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले बैङ्कको ज्यादतिका कारण उद्योग व्यवसाय दयनीय हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याजदर मनलाग्दी बढाएका छन् । स्वीकृत भएका ऋण नदिएर व्यवसाय दयनीय अवस्थामा पुगेका छन् ।” बैङ्कले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *