भर्खरै :

पार्टी स्थापना दिवसको अवसरमा अन्तरक्रिया

काठमाडौँ, २३ माघ । नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अनलाइन अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पार्टीले देश र जनताको लागि निरन्तर सङ्घर्ष गर्दै आइरहेको चर्चा गर्दै जनतालाई पुँजीवादी शासक दलको देशघाती कदमहरूको विरुद्ध राजनीतिकरूपमा सचेत र सङ्गठित गर्दै आएको बताउनुभयो ।
नियमितरूपमा प्रकाशित भइरहेको ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले श्रमजीवी जनताको घरघरमा समाजवादी विचार प्रचार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।
“राजनीतिमा महिला सहभागिता अपरिहार्य भएकोले महिलाहरू सङ्गठित हुँदै अन्याय, अत्याचार, दमन र शोषणको विरोधमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक धूमपान र मद्यपानका विज्ञापनरहित आस्थाको पत्रिका भएकोले राजनीतिक र आर्थिकरूपमा विश्वलाई हेर्ने झ्यालको रूपमा स्थापित भएको बताउनुभयो ।
उहाँले पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी सांस्कृतिकस्तर उकास्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका संयोजक गणेशमाया डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा रवीन्द्र डंगोल, कृष्णमान श्रेष्ठ, मीना डंगोल, गीता तुईतुई, श्रृजना डंगोल र समिरा श्रेष्ठले पनि पत्रिकाहरूबारे आ–आफ्नो अध्ययन प्रस्तुति राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *