भर्खरै :

देशघाती मतियारहरूदेखि सावधान !

नेपालका शासक दलले देशका राजनीतिक दलसँग सल्लाह र परामर्श नगरी एमसीसी सम्झौतामा हस्ताक्षर गरेर गल्ती गरेकोमा शङ्का छैन । शासक दलकै नेता र मन्त्रीहरूले गरेको गलत कामलाई लागु गर्नुपर्दैन भनी अर्को गल्ती गर्न केही बुद्धिजीवीहरू किन बढावा दिन्छन् र दबाब दिन्छन् ? यसरी दबाब दिने एक बुद्धिजीवी हुन् अरूणकुमार सुवेदी । उनले भने, “एमसीसी राष्ट्रिय हितमा छ, एमसीसीको विरोध गर्नेहरूले नेपाललाई असफल राष्ट्र बनाउने दुस्प्रयास गरिरहेका छन् ।”
‘बुद्धिजीवीहरू पनि मूर्ख हुन्छन्’ भन्ने कुरा अरूणकुमार सुवेदीको अभिव्यक्तिबाट थाहा हुन्छ । गलत कार्यलाई सच्याउने कि निरन्तरता दिएर अझ गल्ती गर्दै जाने ¤ यो विशुद्ध भौतिक पूर्वाधार निर्माणका लागि गरिने आर्थिक सहयोगको लागि हो भने सम्झौताका बुँदाहरू नेपालको कानुनसँग बाझिएमा कम्पनीकै सर्त लागु हुन्छ भनी किन लेख्नुप¥यो ? भारतले आर्थिक सहयोग र विकासको प्रलोभन देखाएरै या एक–दुई वटा योजनामा आर्थिक सहयोग गरेरै दर्जनभन्दा बढी असमान सन्धि सम्झौता गरेको छ, भारतसँगै सामान लिनुपर्ने थुप्रै सन्धि र सम्झौताहरू भएका छन् । एमसीसी परियोजनाअन्तर्गत पाउने ५० करोड अमेरिकी डलर लोभ नै हो, विद्युत् प्रसारण लाइन विस्तार र सडकको स्तरोन्नतिको लोभ देखाएर नेपाललाई उपनिवेश बनाउने जाल हो । यो कुरा सम्झौतामा रहेको बुँदाले स्पष्ट गर्छ । सम्झौताका सर्तहरूको कुनै ख्याल नगरी विशुद्ध आर्थिक सहयोग हो भन्ने कुरा सुगारटाइमात्र हो । सम्झौता पारित गर्न अमेरिकाले जबरजस्ती थोपर्न खोजेको होइन भने नेपालका शासकहरूलाई दबाब र चेतावनी किन ?
परियोजना पारित गर्न राखिएको सर्त एमसीसी परियोजनाको हो, नेपालको होइन । सम्झौताका बुँदाहरू अध्ययन नगर्नु, सोचविचार नगर्नु या राजनीतिक दलबीच छलफलमा नलैजानु नेपाल सरकारको कमजोरी हो । नेपाललाई असफल पार्ने षड्यन्त्र सत्तारूढ दलका नेताहरूले नै बुनिरहेका छन् । सवाल एमसीसी सम्झौताको मात्र होइन, यसअघि पनि थुप्रै देशघाती र जनघाती काम नेपालका सत्तारूढ दलका नेताहरूले गरिसकेका छन्, एमसीसी सम्झौता त पछिल्लो दृष्टान्त हो । एमसीसी परियोजनाको विरोध गर्दैमा या सो सम्झौता खारेज हुँदैमा नेपाल असफल राज्य हुन्छ भन्ने अरूणकुमार सुवेदीको भनाइ सो¥है आना झूट हो । एमसीसी नेपालको लागि ठीक छैन भन्ने कुरा बुँदा–बुँदा केलाई राजनीतिक दल, दलका नेता, नागरिक समाज र बुद्धिजीवीहरूले भनिरहेका छन् । यो यथार्थलाई सुवेदीले किन बुझ पचाउँछन् ? एमसीसी सम्झौता खारेज भएपछि अरू आर्थिक सहयोग बन्द हुन्छ भन्नु अर्को झूट हो । एमसीसी सम्झौताको विरोध देशको हितको लागि गरिएको हो कुनै देशको विरोध गर्न होइन । विकासको नाउँमा नेपाल कठपुतली हुने योजनाको विरोध ग¥यो भनेर विकासविरोधी देख्नु, राजनीतिक बेइमानी र कूटनीतिक अपरिपक्वता भन्नु दिउँसै रात देख्नु हो, गधालाई गाई बनाउने दुस्प्रयास हो । देशभक्त दल, नेता र जनताले एमसीसीको विरोध गर्नैपर्छ । गलत कार्य र सम्झौताको विरोध गर्ने अरूणकुमार सुवेदीजस्ता पात्रहरू नेपालको लागि जरूरी छैन । उनीहरू देशघातीका मतियार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *