भर्खरै :

विगत फर्केर हेर्दा

इमानदार, नैतिकवान अग्रज किसान कार्यकर्ताहरूले टोलटोलमा बैठक राखी किसान दाजुभाइहरूलाई प्रशिक्षित गराई आफूले कमाएको जग्गामा आफ्नो नाम राख्नुपर्छ भनी प्रशिक्षित गरे । उनीहरूले विभिन्न क्षेत्रमा आफ्नो जग्गामा आफ्नै नाम राख्नुपर्छ भनी सिकाएका थिए । त्यो बेलाको कथा व्यथा छुट्टै थियो । अहिलेको जस्तो राम्रा घरहरू थिएनन् र बिहान खाएर बेलुका के खाने भन्ने समस्या थियो । व्यवस्था पनि राम्रो थिएन । पुँजीपति वर्गले जे गरे पनि हुने थियो । अझ तलो जातलाई आँखाको कुनाले पनि देख्न चाहँदैन थियो । त्यो बेला वाक् स्वतन्त्रता थिएन । त्यो बेला जनता बोल्न पाउँदैनथे । जिल्ला–जिल्लामा जान पाउँदैनथे । पढ्न पाउँदैनथे । कानुन भएर पनि लागु हुँदैनथ्यो । पञ्चायत व्यवस्थामा जनता अन्धकारमा बाँच्नुपथ्र्यो ।
धेरै मानिसहरूले सुरुवालसम्म पनि लाउन पाउँदैनथे । लुगा पनि भोटो लाउँथे । कति मानिसहरूको खुट्टामा जुत्ता हुँदैनथ्यो । त्यो बेला कतिले बिस्केट र दशैँमा मात्र मुस्किलले सुरुवाल लगाउँथे । आफ्नो विवाह गर्न सुन र जुत्ता पैँचोमा ल्याउँथे । त्यसबेला मासु खान नयाँ वर्ष र दशैँ आउनुपथ्र्यो । कोही छिमेकी वा आफ्नो घरमा श्राद्ध भएमात्र पेटभरि मासु खान पाइन्थ्यो । जीवन के हो भन्ने कुरा थाहा पाउन गा¥हो थियो । पैसा हुनेले शोषण गर्न छोड्दैनन् । दस औँला खियाएर पनि खान लाउन मुस्किल हुन्थ्यो ।
पार्टीकै अग्रज दाइहरूले गर्दा मोहीयानी हक जोगाउन सफल भयो । त्यो बेला मोहीले तलसिंको घरमा सागल उठाउनुपर्नेदेखि बच्चा जन्मे पनि जानुपर्ने यावत काम हुन्थ्यो । आफूले दुःख पाएको त्यो तलसिंलाई थाहा हुँदैन थियो । उनीहरूलाई सन्तोष पार्न नसकेको खण्डमा आफूले कमाएको जग्गा भोलि अर्कोले खेती गर्न आउँथे ।
टोलटोलमा तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका अग्रज किसान कार्यकर्ताहरूले क्रान्तिकारी भावना बोकी आफ्नो जिम्मेवारी पूरा गर्थे र जग्गाको जोत कायम गर्न मद्दत गर्थे । यतिमात्रै होइन, त्यो बेला अमेरिकी साम्राज्यवादले भियतनामी जनतालाई सा¥है दुःख दिएको कुरा उनीहरू जनतालाई सुनाउँथे । अमेरिकाले भियतनामलाई आफ्नो देशको अधीनमा राख्न खोजेको तर भियतनामी जनताले आफ्नो देशको स्वाभिमान रक्षा गर्न लडेको घटना टोलवासी दाजुभाइ तथा दिदीबहिनीलाई प्रशिक्षित गर्ने काम पार्टीका अग्रज नेताहरू गर्थे । त्यो बेला अग्रज किसानहरूले घर–घरमा खेतखेतमा गएर आफूले जोतिरहेको जग्गा जमिन आफ्नै नाम राख्नुपर्छ भनेर धेरै नै उल्लेखनीय काम गरेको थाहा छ । अग्रज किसान कार्यकर्ताहरूको सङ्घर्षले गर्दा अन्य जिल्लाको अनुपातमा भक्तपुरमा किसानहरूको मोहीयानी हक जोगिएको थियो । त्यो सङ्घर्षको फाइदा कतिसम्म भयो भन्ने कुरा हिजोआज किसान साथीहरूका छोराछोरीहरूलाई थाहा नहुन सक्छ । मोहीयानी हकको लागि किसान सङ्घर्ष नभएको भए आजको किसान परिवारले सुखको कल्पना पनि गर्न सक्दैँनथे । नेपालको चन्द्र, सूर्य र बुद्ध जन्मेको देशलाई देउवा सरकारले धुजाधुजा पार्ने षड्यन्त्र बुन्दै छ । पचास अर्बको एमसीसी पास गर्नु नेपालको नाक काट्नु सरह हो । शासक वर्ग कहिले सचेत हुन्छ होला ? नेपाली जनता सधैँ चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *