भर्खरै :

६० हजार विद्यार्थीलाई पूर्ण खोप

कञ्चनपुर, २४ माघ । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले अझै विद्यालयहरूमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिनुभयो । कुँवरले भन्नुभयो, “सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौँ । केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।”
त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । उहाँले भन्नुभयो, “यहाँको कूल तीन लाख जनसङ्ख्यामध्ये ७८ प्रतिशतले खोप लगाइसके । भारतबाट स्वदेश फर्किनेलाई पनि गङ्गाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणसँगै खोपसमेत लगाइँदैछ ।”
यहाँ दैनिक २८ देखि ४० जनासम्ममा पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यहाँ ५६५ सक्रिय सङ्क्रमित रहेकामा अधिकांश होम आइसोलेसनमा रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *