जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयान – ७
- बैशाख ९, २०८३
१. पर्यावरण संहार वा समस्त पर्यावरणको विनाश एउटा सम्भावित वास्तविकता हो । पहिले थाहा नभए पनि सन् १९८० को दशकयता यो सम्भावनाबारे वैज्ञानिकहरूलाई राम्ररी थाहा थियो । यसको गतिबारे सबै अनुमानहरूमा यो विनाश कहिले हुन्छ भनी न्यूनाङ्कन गरिएको थियो ।
पेट्रोलियम कम्पनीहरूलाई तिनका आफ्नैै वैज्ञानिकहरूले सन् १९७० को दशकमै जैविक इन्धन जलाउँदै जाँदा ग्लोबल वार्मिङ हुन्छ भनेर बताएका थिए भनी सन् २०१५ यता थाहा भइसकेको छ । तैपनि, ती कम्पनीहरूले तेल उत्पादन बढाउँदै लगे । त्यतिमात्र नभई तिनीहरूले खासगरी संरा अमेरिकामा जनताको नजरमा जलवायु विज्ञानलाई उपहासको वस्तु बनाउने नियोजित अभियान चलाए ।
पुँजीवादी पर्यावरण संहार त्यसैले बेवास्ताको विषय मात्र होइन, यो त आपराधिक चरित्रको परिणाम हो । यो चरित्रले पुँजीवादको सेवा गर्छ । यसले जानाजान मानव जाति र प्रकृतिको सुस्वास्थ्यलाई नाफाको अधीनमा राख्छ ।
अहिले प्रकृति विनाश उत्कर्षतिर गइसकेको छ । बर्सेनि पृथ्वीको तापक्रमले कीर्तिमान बनाउँदै छ । सँगै आउने सुक्खा र डढेलोले वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्ने दर तीव्र पार्दै छ । हिमनदीहरू पग्लिँदै छन्, समुद्री सतह अग्लिँदै छ, महासागरहरू तात्दै छन्, आँधीहुरी बेगिँदै छन् । प्रदूषण र अचाक्ली माछा मार्नाले मात्र समुद्री जीवन खतरामा पारेको छैन । बरु पानीमा अक्सिजनको मात्रा घट्नाले (वा डी–अक्सिजिनेसनले) पनि यो खतरा बढेको छ । यसबीच ब्राजिलमा जस्तै उष्ण प्रदेशमा जानाजान वनविनाश भइरहेको छ । कतै ‘प्रकृति संरक्षण’ को नाममा चलाइने हरित उपनिवेशवादमार्फत् वनजङ्गलको जगेर्ना गर्ने आदिवासी जनतालाई बाहिर लखेटिँदै छ । के निजी र कर्पोरेट पुँजीले आफैले निम्त्याएको यो सङ्कटको समाधान गर्न सक्छन् ? तिनले कुनै गम्भीर प्रयासहरू गरेका छैनन् । त्यसैले बाँच्नका लागि हामीलाई पर्यावरणीय चेतनासहितको समाजवादी अवधारणा चाहिएको छ, पर्यावरणमैत्री समाजवाद चाहिएको छ ।
२. सङ्कटको गहिराई बुझेका व्यक्तिहरूले समाजवादको विरोधमा दिने सबैभन्दा साझा तर्क हो – समाजवादी अवधारणा चाहिनसक्छ । तर, हामी कहिले समाजवाद आउँला र वातावरणीय खतरालाई सम्बोधन गर्ला भनेर पर्खिन सक्दैनौँ ।
वातावरणीय खतराले तत्काल काम थाल्नुपर्ने माग गर्छ भन्ने सत्य हो । त्यस्तै हामी तत्काल समाजवादी रूपान्तरणको अपेक्षा गर्न सक्दैनौँ । यो अर्को सत्य हो । तर, समाजवादको विचार मनमा नराखी वातावरणीय खतराविरुद्ध आवश्यक पाइला चाल्न सकिन्छ भनी मान्न सकिन्न ।
पुँजीवादीहरूले ‘सफा ऊर्जा’ भनेर आफूलाई सीमित पारेबाट यो कुरा गतिलोगरी बुझ्न सकिन्छ । तिनले अघि सारेको प्रस्तावमा कूल ऊर्जा खपत घटाउने कुरा हुन्न । तिनीहरूले उत्पादनमा प्रयोग हुने मालसामानको मात्रा घटाउने कुरा गर्दैनन्, विविधतायुक्त पर्यावरणबाट फाँडिएको क्षेत्र घटाउने कुरा पनि गर्दैनन् ।
उदाहरणको लागि, जो बाइडेनले २०३० सम्ममा संरा अमेरिकामा बेचिने कारहरूमध्ये कम्तीमा आधा कारहरू बिजुलीबाट चलाउनुपर्ने आदेश दिए । तर, उनले निजी कारहरूको सङ्ख्या घटाउनुपर्ने कुरा गरेनन् । अहिलेको तुलनामा कारहरूको सङ्ख्या घटाउन सकिन्छ र घटाउनुपर्छ । नयाँ कारहरू चलाउन चाहिने बिजुली जैविक इन्धनबाट निकालिने छैन भनी मान्यौँ भने पनि समस्या रहिरहन्छ । ‘बजारको दबाब’ थेग्न नसकेर गाडीको सङ्ख्या बढ्न खोज्नेछ । यसले गर्दा खानीहरूबाट अझ धेरै धातु निकाल्नुपर्नेछ र अझ बढी हरियाली क्षेत्र नष्ट गर्नुपर्नेछ ।
अर्को तथ्यमा पनि ध्यान दिऔँ, विद्युतीय ब्याट्रीको लागि मात्र नभई सञ्चार उपकरणहरू (र हतियारहरू) को लागि पनि दुर्लभ धातुहरूको माग बढ्दै जानेछ । यो माग पुराना धातुहरूको पुनः प्रयोगले मात्र पूरा गर्न सक्दैन । त्यसको लागि नयाँ धातुहरू चाहिन्छ र खानी उत्खननको प्रक्रियामा जानुपर्छ । यस्तो प्रक्रिया हानीकारक हुन्छ । जस्तो ग्यास वा तेलको उत्खननले पानीको प्राकृतिक आपूर्तिमा क्षति पुग्छ, कम्प्युटर चिप्सहरूमा प्रयोग हुने सुन निकाल्दा चट्टानबाट त्यसलाई अलग पार्न विषालु साइनाइडलाई जमिनभित्र गाड्नुपर्छ ।
भविष्यमा उर्जाको माग बढ्ने अनुमान गर्न सकिन्छ । सौर्य र वायु उर्जाको सीमित हुने हुनाले बढ्दो मागले आणविक उर्जाको पैरवी बढ्छ । आणविक उर्जा खर्चिलो र जोखिमपूर्ण मात्र छैन । यसले अचाक्ली पानी खेर फाल्छ । आणविक शक्तिको आयु, आणविक भट्टीको बढ्दो जोखिम र त्यसले निम्त्याउने विनाशकारी जलवायु गडबडीबारे विस्तृत अध्ययनहरू भएका छन् । सारमा, घातक वातावरणीय लक्षणहरूलाई अलिकति उल्टाउन पनि आधारभूत मानवीय आवश्यकताहरूलाई टेवा नदिने आर्थिक गतिविधिलाई सर्लक्कै घटाउनुपर्ने निष्कर्षबाट हामी भाग्न सकिन्न ।
आर्थिक गतिविधि घटाउने कुरा पुँजीवादी शब्दकोशमा छैन । मानवीय आवश्यकताहरूलाई सम्मान गर्दै योजनाबद्धरूपमा यस्तो खालको कटौती गर्न बजार होडबाजी र पुँजी सञ्चयबाट मुक्त परिस्थितिमा मात्र सम्भव हुन्छ । तैपनि, स्थानीय स्तरमा तत्काल यस्तो कार्य थाल्न सकिन्छ र यसले जरा गाडेमा नयाँ संस्कृतिको जग बस्न सक्छ । सारा समाजभरि यो स्थिति आउनैपर्छ । समाजवादी अवधारणाले जरा गाड्न यो अपरिहार्य छ ।
सहरी बगैँचाहरूमा वृक्षारोपण गर्नु यस्तो अगुवाइको उदाहरण बन्न सक्छ । किसानहरूको बजार बनाउनु अर्को अगुवाइ हुन सक्छ । कुनै खास पुँजीवादी अतिक्रमणको प्रतिकार गर्नु अझ अर्को अगुवाइ हुनसक्छ । जस्तो, तेलको पाइपलाइन बिछ्याउने कार्यको विरोध गर्न सकिन्छ । जनसहभागिताको लागि शैक्षिक कार्यहरू आवश्यक हुन्छ । यसले आर्थिक प्राथमिकताहरू तय गर्ने समग्र दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन सक्छ । यस्तो प्रक्रियाका एउटा उदाहरण हालै एल साल्भाडोरमा देखाप¥यो । क्यानाडाको एउटा खानी कम्पनीले जमिनमुनिको पानीको भण्डार नष्ट गर्न थालेपछि त्यहाँका किसानहरूले लामो सङ्घर्ष गरे । अहिले त्यो देश सबै खानी उद्योगमाथि प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।
अन्ततः पर्यावरणको सुरक्षामा आफूलाई पूर्ण समर्पित गर्ने शासन व्यवस्थाको खाँचो पर्छ । तर साल्भाडोरका किसानहरूको विशाल परिचालनले यस्तो शासन व्यवस्था ल्याउनु छ भने सबैभन्दा पहिले समस्त समाजमा पर्यावरणबारे चेतना फैलाउन आवश्यक हुन्छ भनी देखाएको छ । अनपेक्षित व्यवधानविरुद्ध सङ्घर्ष गर्नुपर्ने हुनसक्छ । यस्तो खालको प्रतिकार गर्नुपर्ला भनी सङ्घर्षको आरम्भमा नसोचिएको हुनसक्छ ।
३. पर्यावरणमैत्री समाजवादमा अडिग यस्तो शासन व्यवस्था एकचोटि स्थापित भएपछि त्यसका रणनीतिहरू आफ्नैै समाजको विशेषताअनुसार तय हुनेछन् । जनताले कलकारखानालाई भन्दा पर्यावरणीय विविधतालाई महत्व दिनुपर्छ भनी बुझेपछि तिनले आर्थिक गतिविधिहरूमध्ये कुनलाई कायम राख्ने, कुनलाई फैलाउने र कुन उद्योगलाई कम गर्दै लगेर शून्यमा झार्ने भनी गरिने छलफलमा सहभागी हुन चासो दिनेछन् । यस्ता आर्थिक गतिविधिमा कारखानाहरूसँगै सेवा उद्योगहरू पनि पर्न सक्छन् ।
यस्तो छलफललाई विशेष सिद्धान्तले नियमन गर्नेछ । निश्चित उद्योगले कुन हदसम्म (शारीरिक र मानसिक गरी) मान्छेका आधारभूत आवश्यकताहरूलाई टेवा दिन्छ भन्ने कुरामा ध्यान दिइन्छ । ती उद्योगले पुँजीको सेवा गर्छ कि गर्दैन भन्ने कुरा हेरिँदैन । अचाक्ली उत्पादन, उत्पादनको विज्ञापन, वित्तीय सट्टाबाजी, वातावरणीयरूपमा हानिकारक प्रविधिहरू, विशेषगरी पुँजीपति वर्गको विश्वव्यापी स्वार्थ जोगाउन चलाइने विशाल सुरक्षा संयन्त्रको व्यवस्थापनजस्ता क्रियाकलाप पुँजीको सेवामा गरिन्छ ।
यो आधारभूत भेदबारे ज्ञान दिनसक्ने र त्यसलाई लागू गर्न सक्ने शासन व्यवस्थामात्र हाम्रो साझा अस्तित्वलाई खतरामा पार्ने शक्तिविरुद्ध डट्न सक्छ ।
(Ecocide or Socialism?) -MR online
अनुवाद : संयम
Leave a Reply