भर्खरै :

अहिलेको प्रश्न – भारत कहाँ ?

चीनबाट अन्ना लुइस स्ट्रङको चिठी (पत्र सङ्ख्या– ३)
डिसेम्बर १०, १९६२
प्रिय मित्रहरू,
गत नोभेम्बरमा भारत – चीन सीमा क्षेत्रमा इतिहासमै नभएका घटनाहरू भए । अहिले पनि पेकिङका छोटा प्रतिवेदनहरूमा ‘सीमा रक्षक’ भनिने चिनियाँ सेनाले नोभेम्बरको १६ देखि २० सम्म अप्ठ्यारा हिमाली भीरहरूलाई छिचोल्दै उत्तरपूर्वी सीमानामा सयौँ माइलमा कब्जा जमाएर बसेका भारतीय सेनाहरूलाई छल्दै र धरापमा पार्दै सफाया गरेको छ । सैनिक अधिकारी, निजामती कर्मचारी र सर्वसाधारणले ब्रह्मपुत्र नदी पार गरेसँगै त्यहाँ रहेको भारतीय युद्ध आधार तेजपुर तनावग्रस्त बन्यो । नेहरूले वालोङ्ग, से ला, बोन्दी ला, आसामको अन्तिम ढोकामा हार भएको घोषणा गरेसँगै भारतीय संसद्मा भद्रगोल मच्चियो । थप दुई दिनमा उसको सरकार नै ढल्न सक्ने दृश्य देखियो । भारतीय वायु सेवा एयर इन्डियाले आफ्ना सम्पूर्ण हवाइजहाजका उडानहरू रोक्यो । भारतीय वैदेशिक व्यापारको एकचौथाइ ओगट्ने आसामको चिया र जुट खेतीमा संलग्न बेलायतीहरूको उद्धारको तयारीका लागि ती हवाइजहाजहरूलाई बम्बईका लागि एक लाइनमा खडा गरियो ।
नोभेम्बर २० को मध्यरात अचानक पेकिङले युद्ध समाप्तिको घोषणा ग¥यो । चौबिस घण्टामा चीनले ‘युद्ध विराम’ गर्ने र डिसेम्बरको १ बाट चिनियाँ सेनाले नोभेम्बर ७, १९५९ अगाडिको स्थानमा आफ्नो सेना फर्किन थाल्ने बतायो । त्यो भारत – चीन सीमायुद्धको सुरुआतपूर्वको स्थिति हो । सम्भावित मुठभेडबाट बच्ने प्रभावकारी वातावरण बनाउन उक्त सीमानाबाट पनि २० कि.मि. सम्म सशस्त्र गस्ती रोक्ने घोषणा ग¥यो । घुसपैठ भएको क्षेत्रमा सर्वसाधारणलाई डाँकुहरूबाट जोगाउन उनीहरूले जनपथ प्रहरीमात्र तैनाथ गर्ने व्यवस्था गरे । उनीहरूले यही प्रस्ताव धेरै पटक दोहो¥याइसकेका थिए र यसपटक भारतले पनि यस्तै मुठभेड रोक्ने आशा राखेका थिए । किनभने, तनाव अन्त्य होस् र सीमा विवाद अन्त्यका लागि वार्ताको वातावरण बनोस् । भारतले गरेपनि नगरेपनि चीनले युद्धविराम गर्नेछ र आक्रमण भएमा आत्मरक्षाको अधिकारलाई संरक्षण गर्दै चीन एकपक्षीय ढङ्गले कदम पछाडि सार्नेछ ।
विजयी सेनाले त्यस्तो भव्य विजय हुँदाहुँदै युद्ध रोकेको र युद्धविरामको घोषणामात्र गरेको नभई युद्धपूर्वको स्थानमा फर्केको घटना इतिहासमा कहिल्यै भएको थिएन । यस कार्यलाई रणनीतिक चाल भन्नुबाहेक दिल्लीसँग अर्को कुनै जवाफ थिएन । रन्थनिएको पश्चिमा सञ्चारले चीनको यस कदमलाई ‘अस्पष्ट पूर्वीय दिमाग’ को कुरा भएको बतायो । त्यसपछि नेहरू होसमा आए र चीनलाई सन् १९५९ को होइन, सेप्टेम्बर १९६२ को स्थानमा फर्किन माग गरे । विगत तीन वर्षमा भारतले कब्जा गरेका चिनियाँ क्षेत्रहरूलाई ‘वैधानिकता’ प्रदान गर्ने र भारतले भर्खरै गरेका आक्रमणहरूको आधार स्थापना गर्ने उक्त सेटेम्बर ८ को अडानलाई पेकिङले नम्र र दृढतापूर्वक जवाफ दिएपछि यसको अर्थ स्पष्ट भयो । भारतीय त्यस्तो अडान न त ‘व्यावहारिक थियो न शान्तिको पक्षमा’ नै थियो । भारतीयहरू अघि बढेको र आक्रमणको आधार स्थापनाअघिको सन् १९५९ का स्थानहरू ‘व्यावहारिक र शान्तिको निम्ति अनुकूल’ हुनुका साथै दुवै देशको गौरवको समान संरक्षण हुन्थ्यो ।
सन् १९५९ को नोभेम्बर ७ देखि सन् १९६२ को सेप्टेम्बर ८ सम्मको समयावधिमा भारतीय सेनाले बलपूर्वक ४ हजार वर्ग किमी चिनियाँ भूमि कब्जा गरेको स्पष्ट हुन्छ र पछिल्लो केही दिनमा नै चीनले आफ्नो गुमेको भूमि फिर्ता लिइसकेको छ ।
अमेरिका, बेलायत, फ्रान्स, पश्चिम जर्मनी, अस्ट्रेलियाले भारतमा हतियारको बाढी भित्याएको छ र दीर्घकालीन युद्धको विचारलाई मलजल गरेको छ । अफ्रिकी–एसियाली बाङडुङ राष्ट्रहरूले भने युद्धविराम तथा असंलग्नताको तुरुन्तै स्वागत गरे र दीर्घकालीन शान्तिको निम्ति वार्ताको आह्वान गरे ।
अतः अहिलेको प्रमुख प्रश्न छ : भारतले के रोज्छ ?
पश्चिमले ‘अस्पष्ट’ को संज्ञा दिएको यस भव्य (अविश्वसनीय) युद्धविराम–असंलग्नता नै विश्वमाझ विशेषगरी भारत र अफ्रीकी–एसियाली राष्ट्रहरूको बीच पेकिङसामु रहेको एकमात्र उपाय देखिन्छ : “हामी युद्ध चाहँदैनाँै, हामीलाई जित चाहिएको छैन, हामीलाई एक इन्च पनि भारतीय भूमि चाहिँदैन, हामी भारतसँग शान्तिपूर्ण सिमाना र भारतीय मित्रता चाहन्छौँ । युद्धबाट यो प्राप्त हुन सक्दैन । यो त दुवै पक्षको समान आत्मसम्मान हुनेगरी गरिने वार्तामार्फत, आपसी सभ्झौताबाट मात्र प्राप्त हुन्छ ।” के यति कुरा राख्न चीनले पूरै हिमालय शृङ्खला लिन आवश्यक छ ? यस्तो लाग्छ – चीनले यस्तो गरेको छ । पछिल्ला तीन वर्षमा उसले कैयौँपटक युद्धविराम र असंलग्नताको लागि आह्वान गरेको छ । तर, भारतले सधँै अस्वीकार गरेको छ । तवाङ्गमा पहाडको चुचुरोमा पनि चीनले तीन हप्ता पर्खेको थियो र युद्धबाट मुतिmको लागि आह्वान गरेको थियो । भारतले अमेरिकी नयाँ हतियारहरूको बलमा नयाँ आक्रमणको घोषणा ग¥यो । तसर्थ, आफ्नो भूमिमा तीन वर्षदेखि कब्जा जमाएर बसेको भारतीय सेनालाई त्यहाँबाट लखेट्न चीन बाध्य भयो । सन् १९४७–५१ मा भारतले कब्जा गरेको ९० हजार वर्ग किमि चिनियाँ भूमिलाई नेफामा सामेल गरेको हिमाली ढलान जितेर चीनले यस्तो कार्य गरेको छ । चीनले भारतको उक्त अतिक्रमणलाई गैरकानुनी बतायो तर भारतले खिचेको नयाँ सीमाना पार नगरी सीमानामा शान्ति स्थापना गरिराख्यो । तर, सन् १९५९ मा भारतले पश्चिम सीमानाको अक्साई चीन, ‘चीनको सेतो ढुङ्गाको मरुभूमि’ भनिले क्षेत्रमा ३३ हजार वर्ग किमि क्षेत्रमा नयाँ दाबी पेश ग¥यो । चीनको सियान्कीन र तिब्बत जोड्ने एक मात्र मार्ग यसै क्षेत्रमा पर्दछ ।
इतिहासको कुनै कालमा पनि भारतको नभएको र उसको कामको पनि नभएको चीनको उक्त क्षेत्र तिब्बतमा अवरोध गर्नका लागि मात्र भारतले प्रयोग गरेको पाइन्छ ।
सन् १९५९–१९६२ को तीन वर्षमा भारतीय सेना उक्त क्षेत्रमा अगाडि बढ्यो, ४३ सशस्त्र शिविर खडा ग¥यो, चिनियाँ सीमा पोस्टहरूलाई घेरा हाल्यो । चिनियाँ जनताको आपूर्ति रोके, सीमा रक्षकहरूलाई हैरान गरे । चीनले उक्त कदमको कूटनीतिक विरोध ग¥यो तर आफूले आक्रमण गरेन । भारत निरन्तर अगाडि बढ्यो । अन्तत : सन् १९६२ को अक्टोबर २० का दिन भारतले सम्पूर्ण चिनियाँहरूलाई त्यहाँबाट निकाल्न ठूलो आक्रामक युद्ध छेड्यो । चीनले दुई प्रत्याक्रमण गरी भारतीयहरूलाइै नै भाग्न बाध्य पा¥यो । त्यसपछि चीनले जितको फल ग्रहण गर्न अस्वीकार ग¥यो र चीन सुरुआतको स्थानमा फर्किएर युद्धविराम, असंलग्नता र वार्ताको आह्वान ग¥यो । यदि यस पटक भारतले फेरि अस्वीकार गरे संसारले चिन्नेछ आखिर कसले शान्तिको आह्वान गरेको थियो । उक्त नाटकीय जित र असंलग्नताले सबैको ध्यान सीमानामा खिच्यो र यो सबै केका लागि भन्ने प्रश्न खडा ग¥यो । यसले द्वन्द्वमा अमेरिकी भूमिका स्पष्ट पा¥यो र अफ्रिकी – एसियालीहरूलाई शान्तिको निम्ति आह्वान ग¥यो ।
अमेरिकी मित्रहरूले मित्रवत र कुटिल दुवैरूपमा प्रश्नहरू गर्छन् :
१) चीनले हिउँ र चट्टानका निम्ति किन युद्ध गर्दै छ ?
२) के चीनलाई आफ्नो घरमा मनोबल बढाउन युद्धको खाँचो छ ?
३) के चीनले भारतलाई अमेरिकी काखमा धकेलेको हो ?
१) युद्ध हिउँ र चट्टानका निम्ति होइन न त सिमानाका निम्ति नै हो । यो तिब्बत जोगाइराख्नका लागि हो । भारतको दाबी र आक्रमणको प्रकृतिले यसलाई स्पष्ट पारेको छ । अक्टोबर १२ का दिन नेहरूले सम्पूर्ण चिनियाँलाई त्यहाँबाट हटाउन दिएको निर्देशन यसको पछिल्लो प्रमाण हो । पुरानो बेलायतले जस्तै संरा अमेरिका सामरिक महत्वको संसारको छाना मानिने तिब्बतमाथि भारतको सहयोगमा आफ्नो नियन्त्रण जमाउन चाहन्छ । हिजोको भूदास प्रथाबाट मुक्त भइसकेका तिब्बतीहरूलाई भारतसामु झुक्न दिने पक्षमा चीन छैन । तिब्बतका उच्च पठारहरूमा नियन्त्रण गर्न दिएर चीनमाथि अमेरिकी घेराबन्दी पूरा गर्न दिने स्थानमा पनि चीन छैन ।
२) चीनलाई होइन, मनोबल बढाउन युद्धको आवश्यकता भारतलाई छ । चीन त यो युद्धबाट मुक्ति चाहन्छ । जब ऊ युद्ध गर्न बाध्य भयो उसले सकेसम्म छिटो छरितो, प्रभावकारी र आर्थिक मितव्ययी ढङ्गमा युद्ध ग¥यो । बिना कुनै परिचालन, प्रदर्शन, विजयउत्सव, ‘जित’ को कुनै शब्द समेत उच्चारण नगरी । केही सङ्ख्यामा वृद्धि गरिएको सीमा रक्षकले नै आफ्नो काम पूरा गरे, बाँकी चीन आफ्नो अर्थतन्त्रमा नै केन्द्रित रह्यो जुन निरन्तर प्रगति भइरह्यो ।
३) भारत पहिले नै ‘अमेरिकी काखमा’ पुगिसकेको थियो, संसारलाई अहिले मात्र ज्ञान भयो । संरा अमेरिकी वैदेशिक सहयोग प्रशासनका अनुसार संरा अमेरिका र अमेरिका नियन्त्रित कोषहरूले भारतलाई दिएको आर्थिक अनुदान हेर्दा पहिलो ६ वर्ष जब भारत तटस्थ थियो औसत वार्षिक सहयोग १०.५२ करोड अमेरिकी डलरमात्र थियो । सन् १९५६ को मध्यदेखि १९५९ सम्म भारत दक्षिणपन्थतिर ढल्कियो, भारतले वार्षिक ६४.५५ करोड अमेरिकी डलर प्राप्त ग¥यो । अहिले पछिल्लो तीन वर्ष सन् १९५९–१९६२ मा जब उसले चीनसँग युद्ध ग¥यो, उसले वार्षिक औसत १ अर्ब २९ करोड अमेरिकी डलर प्राप्त गर्दै छ । के नेहरू अहिले पनि ‘स्वतन्त्र’ छन् ? कि उनी ऋणदाताप्रति नतमस्तक भइसकेका छन् ?
चीनको कार्यले प्रश्न जन्माएको छ :
के भारत शान्ति चाहन्छ वा ऊ युद्धमा गाँजिएको छ ?
नाटो  र सियाटो राष्ट्रहरूले सारा सैन्य र हतियार सहयोगको ओइरो भारतमा लगाएर लामो–लामो युद्धमा भारतलाई उक्साएपनि, चीनको कार्यले अफ्रिकी–एसियाली राष्ट्रहरूलाई शान्तिको निम्ति कार्य गर्न एक लाइनमा उभ्याएको छ । मैले यी शब्द लेख्दै गर्दा, छ राष्ट्रहरू कोलम्बोमा जम्मा भएका छन्, चीन र भारतबीच शान्तिको मार्ग खोज्न । उनीहरू भारतलाई साम्राज्यवादविरोधी वाङडुुङ सदस्यको रूपमा हेर्न चाहन्छन्, वासिङ्टनका लागि ‘एसियालीसँग युद्ध गर्ने एसियाली’ को उदाहरणका रूपमा होइन ।
अहिले चिनियाँ सीमा रक्षकहरू हिमाली क्षेत्रलाई छाडेर सन् १९५९ कै स्थानमा फर्केका छन् । क्रमशः उनीहरूले बिरामी र घाइते भारतीय बन्दी सैनिकहरूलाई भारतीय रेडक्रसको हातमा सुम्पेका हुन् । ‘सिन्ह्वा’ को पत्रकारका अनुसार बन्दीहरूले आफ्ना चिनियाँ चिकित्सकहरूलाई धन्यवाद दिँदै बिदाईका हातहरू हल्लाएको दृश्य देखिन्छ । तर, जब उनीहरू तेजपुर पुग्छन्, पश्चिमा सञ्चारमाध्यमलाई उनीहरूसँग अन्तर्वार्ता लिने अनुमति छैन ।
स्थानीयबाट बिदाईका केही कथाहरू आएका छन् । उनीहरूमध्ये केही भारतीय नागरिक हुन् भने केही भारतीय सेनाप्रति प्रेमभाव राख्छन् । तीमध्ये एक बर्मा नजिकको सुदूरपूर्वको टाकुराको वालोङ्गबाट आएका छन् । नोभेम्बरको ३० बाट सीमा रक्षकहरूले आफू एघार दिन बास बसेका घर सफा गर्न थाले, स्थानीयवासीका निम्ति उनीहरूले खानेपानी र आगो बाल्न दाउरा जम्मा गरिदिए । युद्धका क्रममा क्षति पुगेको पुल निर्माणका लागि उनीहरूले ४० बट्टा चिया ज्यालास्वरूप प्रदान गरे । भारतीय सेनाले भत्काएका गरिबका घरहरू पुनःनिर्माण गरिदिए, चिनियाँहरू फर्किनुअघि स्थानीय जनतालाई आफ्नो नयाँ घरमा सर्न सहयोग गरे र आगो बाल्ने दाउरा प्रदान गरे । स्थानीयवासीले सधन्यवाद सुनाए : “हामीले तिमीहरूलाई कहिल्यै बिर्सने छैनौँ । बुद्ध जत्तिकै दयालु !”
“बिहान सबेरै पूरै परिवारसहित स्थानीय बिदाई गर्न बाटोमा पर्खेर बसेका थिए । पन्ध्र परिवार भएको एक गाउँमा, सारा गाउँले चिनियाँ सीमा रक्षकसँगै खोलासम्म हिँडे, वृद्धवृद्धालाई सहयोग गर्दै, बालबच्चा च्याप्दै । त्यसपछि सबैले बिदाईका हाल हल्लाए । किसानहरूले केरा र सखरखण्डले सेनाका झोलाहरू भरिदिए । वालोङ्गमा जहाँ सेनाले आगोबाट जलेका स्थानीयका घरहरू पुनः निर्माण गरिदिएका थिए, केही मानिसले उनीहरूलाई भने, “तिमीहरूको दया÷करुणालाई लेखेर राख्न हामीसँग कुनै लिपी छैन तर हामी आफ्ना सन्तानहरूमार्फत पुस्तांैँसम्म रहने गरी यो कुरा सुनाउनेछौँ ।”
पश्चिमका थोरैले मात्र यी कथामा विश्वास गर्नेछन्, तिनै थोरैका निम्ति मैले यो रेकर्ड गरेको हुँ । चीनमा ऐक्यबद्धताका यस्ता कार्य र गरिबको सेवा गर्ने काम जनमुक्ति सेनाको परम्परा बनेको छ । अब यस्ता काम भारतमा समेत भएका छन् । तर, यो भारत हो वा चीन ? यो विवादित क्षेत्र हो । जुनसुकै स्थानमा सीमा समाधान भएपनि जनमुक्ति सेनाका निम्ति उनीहरू ‘एसियाली भाइ’ हुनेछन् ।
उनीहरूले आफूले दाबी गरेको भूमिबाट प्राप्त गरेको यो नै एकमात्र विजय हो र वार्तामार्फत शान्ति प्राप्त नगरेसम्म हासिल गरेको जित पनि यही नै हो ।
तपाईँहरूकी
अन्ना लुईस स्ट्रङ
अनुवाद – साकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *