भर्खरै :

शिक्षाबारे माक्र्सको धारणा

शिक्षाबारे माक्र्स र एँगेल्सको कुनै मौलिक रचना पढ्न पाइन्न । विभिन्न अमूल्य कृतिहरूमा शिक्षाबारे उहाँहरूका धारणाहरू छरिएका छन् । तिनकै आधारमा शिक्षाबारे माक्र्सका विचारहरूको अध्ययन गर्ने प्रयास गरिन्छ ।
माक्र्सले पँुजीको विकासबारे गहिरो अध्ययन गर्नुभयो । उहाँले बेलायतमा मजदुरहरूको स्थिति र तत्कालीन बेलायती कारखाना कानुनहरूको तुलना गर्नुभयो । उहाँ लेख्नुहुन्छ – “पँुजीको सक्कली भावना चित्रण गर्न सन् १८३३ देखि १८६८ सम्मका बेलायती कारखाना कानुनहरूको इतिहासजस्तो गतिलो उदाहरण अर्को पाइन्न ।” यिनै कानुनको चर्चा गर्दै माक्र्सले १९ औँ शताब्दीमा कारखानामा बालबालिकाको प्रयोग, तिनको दरिद्र जीवन र शिक्षादीक्षाबारे आफ्ना निष्कर्ष दिनुभएको छ ।
मजदुरहरूको काम गर्ने समय लम्ब्याउन पँुजीले ‘नैतिकता, प्रकृति, उमेर र लिङ्ग, दिन र रात, सबैको छेकबार भत्कायो’ । नाफाको भोक बढ्दै गएपछि पँुजीले नैतिकता र प्रकृतिलाई बेवास्ता ग¥यो । यसबारे माक्र्सले हावाको उदाहरण दिनुभएको छ । प्रत्येक मान्छेलाई सास फेर्न दैनिक ८०० क्युबिक फिट हावा चाहिन्छ । तर, बेलायती कारखानाहरूमा हावाको अभावले कामदारहरूबीच फोक्सोका रोगीहरू बढ्न थाले । डाक्टर र सरसफाइ अधिकारीहरूले कामदारहरूलाई कम्तीमा दैनिक ५०० क्युबिक फिट हावा उपलब्ध गराउनुपर्ने माग राख्न थाले । तर, पँुजी बढाउन त्यो माग पूरा गर्न सकिन्नथ्यो । यसरी नाफाको लागि पँुजीपतिले नैतिकता र मान्छेको प्रकृति नै च्याखेमा राखिरहे ।
प्रविधिको विकाससँगै कारखानाका कतिपय काममा सीप नचाहिने भयो । सस्तोमा काम गराउन पँुजीले कामदारहरूको परिवारमा घुसपैठ ग¥यो । महिला र बालबालिकालाई पँुजीपतिहरूले कलकारखानाहरूमा उतारे । तिनीहरूले दिन र रात भनेनन् । छाक टार्न कामदार परिवारले बजारलाई सस्तोमा आफ्ना चेली र लालाबाला दिन थाले । त्यतिमात्र होइन, गाउँदेखि सहरमा ठूलो सङ्ख्यामा गरिब महिला र बालबालिकाको ओसारपसार हुन थाल्यो । गाउँघरमा मात्र नभई सहरबजारमा पनि बालबालिकाको चोरी र अपहरणका घटना बढे । पँुजीले अनाथालयका बालबालिकालाई पनि छोडेन । (आज पनि अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका गरिब महिला र बालबालिकाको त्यस प्रकारको शोषणमा विश्वका धनाढ्यहरूले कुनै कसर छोडेका छैनन् । ती महादेशका खेतखलियान र खानीहरूमा कलिला बालबालिकाको निर्मम शोषण बहुराष्ट्रिय कम्पनीहरूकै कर्तुत हो । मानव तस्करीको जालो पँुजीवादी लुटकै हिस्सा हो । यसमा देशी–विदेशी माफियाहरू सक्रिय हुन्छन् । पँुजीपतिहरूले दिनको उज्यालोमा जुन काम गर्छन्, अपराधीहरूले त्यही काम रातको अँध्यारोमा गर्छन् । दिनमा गर्न नसकिने काम रातमा हुन्छ । शोषण र अपराध एकअर्काबाट अलग होइनन्, बरु परिपूरक हुन् । नेपाली बालबालिका र महिलाहरूको बेचबिखनमा समेत पँुजीको नाफाखोर चरित्रले काम गरेको छ । यसमा नेपाली मात्र नभई भारतीय, अरबीलगायत अन्य देशका पँुजीहरूको पनि चलखेल छ । पँुजीका अगाडि कानुनको कुनै सीप चल्दैन । बालअधिकारका जति नै चर्का कुरा गरे पनि भारतीय र नेपाली सहरबजार र खानीहरूमा बालश्रमको अचाक्ली प्रयोग भएको जगजाहेर छ ।)
सन् १८३३ को बेलायती कारखाना कानुनले केही उद्योगमा १५ घण्टाको कार्य दिन तय ग¥यो । त्यसमा १३ देखि १८ वर्षसम्मका बालबालिकालाई बीचमा डेढ घण्टा आरामको समय दिएर १२ घण्टा काम गराउनुपर्ने र ९ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई ८ घण्टा काम गराउनुपर्ने लेखिएको थियो । यो कानुनले बालबालिकालाई रातमा काम गराउन नपाइने बतायो । यसको अर्थ यो कानुन आउनुअघि बेलायतमा ९ वर्षमुनिका बालबालिकालाई ८ घण्टाभन्दा लामो समयसम्म दिनमा मात्र नभई रातमा पनि काम गराइन्थ्यो । यतिले नपुगेर सन् १८४४ मा अर्को कारखाना कानुन ल्याइयो । त्यसमा बालबालिकाले दैनिक साढे ६ घण्टा काम गरे पुग्ने भयो । तर, यसपालि पँुजीपतिहरूले ८ वर्षमाथिका बालबालिकालाई काममा लगाउन पाउने भए । त्यसो त बेलायतमा सन् १८१९ मा कारखानामा महिला र बालबालिकाको प्रयोग कम गराउने पहिलो कानुन जारी भएको थियो । यसको लागि रोबर्ट ओवेनले पाँच वर्षसम्म सङ्घर्ष गर्नुभएको थियो । तर, पँुजीको भोकलाई कानुनले कसरी छेक्नु ¤ कानुन मिचाइ चलिरह्यो ।
श्रमजीवीहरूले पँुजीपतिहरूलाई सजिलै ‘सबै छेकबार भत्काउन’ दिएका थिएनन् । त्यसैले माक्र्स भन्नुहुन्छ, “सामान्य कार्यदिन तय गर्न पँुजीपति वर्ग र कामदार वर्गबीच झन्डै लामो गृहयुद्ध मच्चिएको थियो ।” यस्तो लडाइँ धेरै शताब्दीसम्म चलेको एँगेल्सले लेख्नुभएको छ । पँुजीपतिहरूले कारखाना कानुनमार्फत बालबालिकाको परिभाषा बदलिरहे । तिनका बुद्धिजीवीहरूले १०–११ वर्षसम्मलाई बाल्यकाल मान्नुपर्ने बताउँथे । तर, पँुजीपतिहरू आफूलाई सजिलो पर्ने हिसाबले काम गराउने उमेर तलमाथि पारिरहन्थे । कामको घण्टा पनि घटबढ गरिरहन्थे । पँुजीपतिहरूले जित्दा काम गर्ने समय लामो बन्थ्यो । उनीहरूले दिनको १६–१८ घण्टासम्म पनि काम गराउँथे । मजदुरहरूले जित्दा त्यो समय घट्थ्यो । बेलायतमा सन् १८३८ पछि चलेको ‘मागपत्र’ को आन्दोलनले दैनिक १० घण्टा कार्य दिनको माग राखेको थियो ।
पँुजीपतिहरूले कामदारका छोराछोरीलाई प्राथमिक शिक्षा दिए । यो तिनीहरूको बाध्यता थियो । कारखानाको अमानवीय बसाइमा पुरुषहरूसँगै महिला र बालबालिकाको नैतिक स्तर खस्कियो । सन् १८४४ ताका लन्डनका गल्लीहरूमा ४० हजार ‘वेश्या’ हरू थिए । आइमाई केटाकेटीले जाँडरक्सी खानु सामान्य थियो । भारत र चीनमा अङ्ग्रेजहरूले नाफाका लागि अफिमको कुलत प्रसार गरेका थिए । त्यो लत बेलायती श्रमिक नारीपुरुष र बालबालिकामा पनि देखियो । व्यापारीहरूले नाफा कमाउने त्यो ‘सुनौलो मौका’ गुमाएनन् । यो देखेर बेलायती शासकहरू १४ वर्षमुनिका बालबालिकालाई अनिवार्य शिक्षा दिनुपर्ने कानुन ल्याउन बाध्य भए । तर, यस्तो शिक्षा नाम मात्रको हुन्थ्यो । सन् १८४४ ताका बेलायत सरकारले शिक्षाका लागि कुल बजेटको ०.००१ प्रतिशत खर्च छुट्याएको थियो । (प्रसङ्गवश भनौँ, अङ्ग्रेज सरकारले भारतमा गुरुकुल र मदरसामा राजकीय लगानी नगरेर भेदभाव ग¥यो भन्नु तर्कपूर्ण देखिन्न ।) गरिब विद्यार्थी पढ्ने विद्यालयमा अक्षर चिन्ने र नचिन्ने दुवैलाई शिक्षक बनाइन्थ्यो । विद्यालयमा आवश्यक फर्निचर र किताब नै हुन्नथ्यो । धेरै विद्यार्थी हाजीर मात्र गरेर काममा जान विवश थिए । बाँकी विद्यार्थी विरक्तलाग्दो कोठामा समय कटाउँथे । शिक्षकको स्थिति नाजुक थियो । नाम मात्रको तलबमा गुजारा चलाउनुपथ्र्यो । तिनको काम हप्ताहप्तामा कारखाना मालिकलाई विद्यार्थीको उपस्थिति देखाउने मात्र हुन्थ्यो । कतिपय शिक्षकलाई हाजीर कापीमा आफ्नो नाम लेख्न समेत आउँदैनथ्यो । विद्यार्थीलाई पढाउन तिनीहरू अयोग्य थिए ।
कालो बादलको किनारमा चाँदीको घेरा देखिएझैँ कारखानामा बालबालिकाको प्रयोगबाट नयाँ ज्ञान पलायो । सन् १८६५ को एक प्रतिवेदनअनुसार बाल रोजगारी आयोगका कर्मचारीसँग रेशम कारखानाका मालिकले भने, “मलाई विश्वास छ, एउटा कुशल कामदार उत्पादन गर्न शिक्षा र श्रमलाई बाल्यकालदेखि नै जोड्नुपर्छ । पक्कै पनि त्यस्तो काम कठिन, पट्यारलाग्दो र अस्वस्थ हुनुहुँदैन । तर, शिक्षा र श्रमलाई जोड्नुपर्नेमा मलाई पटक्कै शङ्का छैन । म मेरा छोराछोरीले पढ्दै गर्दा केही काम गरून् वा खेलून् भन्ने चाहन्छु ।” ती रेशम कारखानाका मालिकले नौलो कुरा पत्ता लगाएका थिएनन् । १७ औँ शताब्दीका एक अर्थशास्त्री जोन बेलर्सले सन् १६९७ मा लेखेका थिए, “शारीरिक श्रम… सनातन परम्परा हो ।… बाँच्नलाई खानुजस्तै शरीरलाई श्रम चाहिन्छ, शारीरिक कष्टबाट जोगिने मानिस, रोगको आहार हुन्छ ।… श्रमले जीवनको दियालोमा तेल थप्छ र चिन्तनले आगो बाल्छ ।… बच्चाजस्तो मूर्ख मालिकले बालबच्चालाई पनि मूर्ख बनाउँछ ।”
कारखानामा काम गर्ने बालबालिकाको मानसिक स्फूर्तिलाई माक्र्सले ध्यान दिनुभएको छ । एक सरकारी प्रतिवेदन उद्धृत गर्दै माक्र्स लेख्नुहुन्छ, “कारखानामा काम गर्ने बालबालिकाहरू आधा दिनमात्र स्कूलमा बस्ने हुनाले ताजा हुन्छन् र शिक्षा लिन प्रायः तम्तयार र उत्सुक हुन्छन् । आधा शारीरिक श्रम गर्ने र आधा विद्यालयमा पढ्ने व्यवस्थामा श्रम र पढाइ दुवै एकअर्काको लागि विश्राम र क्षतिपूर्ति बन्न पुग्छन् । त्यसैले दुुवै काम बालबालिकाको लागि आरामदायी बन्छ । उनीहरूलाई लगातार एउटै काम गराउँदा यस्तो हुन सक्दैन । कुरा स्पष्ट छ, एकाबिहानै विद्यालय गएको बालकले (खासगरी गर्मी याममा) कामबाट ताजा र प्रफुल्ल भई फर्केको बालकसँग प्रतिस्पर्धा गर्न सक्दैन ।” अनिवार्य शिक्षालाई व्यायामसँग जोड्दाका फाइदाबारे अर्थशास्त्री नासौ सिनियरले जोड दिएका थिए । शिक्षण कर्मबारे उनको विचारमाथि प्रकाश पार्दै माक्र्स लेख्नुहुन्छ, “सन् १८६३ मा एडिनबरामा आयोजित समाज विज्ञान सम्मेलनमा सिनियरले दिएको भाषणमा धेरै जानकारी पाइन्छ । त्यहाँ उनले अरू कुरासँगै के पनि प्रस्ट्याए भने उच्च र मध्यम तहका कक्षाहरूमा बालबालिकालाई एकोहोरो तालले व्यर्थमा घण्टौँसम्म पढाइरहँदा शिक्षकको श्रम पनि व्यर्थ जान्छ । साथै, उनले कसरी ‘ती शिक्षकले अनुपयोगी मात्र नभई घातक ढङ्गले बालबालिकाको समय, स्वास्थ्य र शक्ति खेर फाल्छन्’ भनी देखाएका छन् ।”
यहाँनिर शिक्षा मान्छेको समय, स्वास्थ्य र शक्ति नष्ट गर्ने माध्यम बन्न सक्ने खतरामा ध्यान दिऔँ ¤ शासकहरूले कहिल्यै पनि शोषितहरू शिक्षित भएको हेर्न चाहँदैनन् । त्यसैले सुरुमा बालबालिकालाई विद्यालय पठाउने अभिभावकलाई गाउँले सुविधाबाट वञ्चित गरिएको इतिहास बेलायतमा भेटिन्छ । ‘गरिबले पढे हाम्रो खेत कसले जोत्छ’ भन्ने सामन्तहरू दक्षिण एसियामा पनि नभएका होइनन् । पँुजीपतिहरूमा पनि यस्तो त्रास पाइन्छ । जस्तो – सन् १८५७ को एक सरकारी प्रतिवेदनअनुसार बेलायती जाँचबुझ आयोगलाई एक सीसा उद्योगका मालिकले भनेका थिए, “केही वर्षयता कामदार वर्गले पाएको यत्ति धेरै शिक्षा एउटा कुरीति हो । यो भयङ्कर छ किनभने यसले तिनीहरूलाई स्वतन्त्र बनाउँछ ।” सार्वजनिक शिक्षामा नाम मात्रको प्रगति हुँदा त पँुजीपति वर्ग यति डराउँछ भने कामदार वर्गका छोराछोरीले साँच्चै उच्च शिक्षामा पहुँच पाए के होला ? शासकहरूले धेरै पहिले यो गुत्थी सुल्झाएका छन् । त्यो हो द्वैध शिक्षा नीति । हुनेखानेहरूलाई एकथरी शिक्षा दिइन्छ, नहुनेलाई कमसल शिक्षाले टारिन्छ । यतिले नपुगेर उनीहरूले माक्र्सले औँल्याउनुभएको शिक्षाको खतरनाक पक्षको पनि प्रयोग गरेको देखिन्छ । एकोहोरो र पट्यारलाग्दो शिक्षाले विद्यार्थीको समय, स्वास्थ्य र शक्ति खेर फाल्छ । नेपालमा सरकारी विश्वविद्यालयले आफ्नो अकर्मण्यताबाट शिक्षालाई यस्तै हतियार बनाइरहेको स्पष्ट छ । पाठ्यक्रम भद्दा बनाउनु, दुई वर्षको पाठ्यक्रम तीनचार वर्ष तानतुन गर्नु सामान्य बनिसकेको छ ।
उद्योगमा बालबालिकाको प्रयोगले अर्को पक्ष पनि उजागर ग¥यो । माथि पनि भनियो, गरिब वा कामदार परिवारले गर्जो टार्न कामदारको रूपमा आफ्ना बालबालिकालाई बजारमा पठाए । यसले ल्याएको विकृति रोक्न नै १४ वर्षमुनिका बालबालिकालाई अनिवार्य शिक्षा दिनुपर्ने कानुन आएको थियो । झट्ट हेर्दा पारिवारिक वा निजी विषय लागे पनि यो समस्याको जरामा पँुजीकै नाफाखोर चरित्र देखापर्छ । बालश्रमको कारक गरिबी होइन, बरु परिवारको वयस्क व्यक्तिलाई काम नदिई सस्तो श्रमको लागि महिला र बालबालिकालाई बजारमा ल्याउने पँुजीको भोक हो । सन् १८४४ को एक प्रतिवेदनअनुसार बेलायतमा एक वयस्क पुरुषलाई हप्तामा १८–४५ सिलिङ ज्याला दिनुपर्ने बाध्यताबाट जोगिन एक पँुजीपतिले १३ वर्षका ३ जना बालिकालाई ६–८ सिलिङ दिएर काममा लगाएको थियो । यी बालिकाहरू कामबाट विस्थापित हुने परिवारकै छोरी हुन्थे । पढाइ छुटाएर काममा लगाउनुपर्ने पँुजीवादी बाध्यताले अन्ततः यस व्यवस्थामा दिइने अनिवार्य शिक्षालाई पङ्गू र पाखण्डी बनाइदिन्छ । पँुजीपति वर्गले पनि ‘तैँले कानुन मिचिस्’ भनेर बालश्रमिकलाई कारबाही गर्दैन ¤ गर्नुपर्ने कुनै कारण पनि छैन ।
माक्र्सले पँुजीवादी व्यवस्थाभित्र दिइने कथित ‘अनिवार्य शिक्षा’ को मात्र खण्डन गर्नुभएको छैन । उहाँले यस व्यवस्थाभित्र दिइने ‘निःशुल्क शिक्षा’ को पनि आलोचना गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “स्वीजरल्यान्ड र संरा अमेरिकामा आधारभूत शिक्षा निःशुल्क छ । अमेरिकाका केही राज्यमा त उच्च शिक्षा पनि ‘निःशुल्क’ छ । त्यो भनेको शिक्षाको खर्च व्यहोर्नुपर्ने माथिल्लो वर्गको भार सामान्य करदाताको टाउकोमा थोपर्नु हो ।” यसलाई अलि प्रस्ट्याऔँ ¤ पँुजीवादी व्यवस्थामा मूलतः पँुजीपतिले विद्यार्थीबाट लाभ लिन्छ । उदाहरणको लागि, नेपालमा ‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा’ दिने शैक्षिक संस्थाहरूले बहुराष्ट्रिय कम्पनीको लागि जनशक्ति तयार पार्छन् । कतिपय विषय पढेर नेपालमा काम पाइन्न किनभने ती पाठ्यक्रमहरू विदेशी बजारलाई हेरेर तयार गरिन्छ । तर, ती विद्यार्थी नेपाल सरकारको (वा आमाबाबुको) खर्चमा पढेर हुर्केका हुन्छन् । अर्थात्, ‘विदेशी ज्यामी’ हुर्काउन नेपाली ढुकुटी प्रयोग हुन्छ । खासमा त्यो ढुकुटीमा प्रत्यक्ष–परोक्ष सर्वसाधारण जनताको रगतपसिना हुन्छ । यसरी ‘निःशुल्क शिक्षा’ ले अन्ततः विदेशी पँुजीपतिलाई फाइदा पुग्छ किनभने खासमा तिनका ज्यामी उत्पादन गर्न तिनैले लगानी गर्नुपथ्र्यो । जस्तो, इँटा भट्टामा काम गर्ने बालबालिकाका लागि भट्टा साहुले नै ससानो पाठशाला चलाएको हुन्छ । यी पाठशालाहरू १९ औँ शताब्दीका युरोपेली प्राथमिक विद्यालयका नेपाली संस्करण हुन् । यिनमा पढ्ने प्रायः बालबालिकाहरू पछि गएर त्यही भट्टामा खपत हुन्छन् ।
‘राज्यले आधारभूत तहको शिक्षाको दायित्व बोक्नुपर्छ’ भन्ने विचारलाई माक्र्स अपुग मान्नुहुन्छ । राज्यले प्राविधिक शिक्षा र व्यायाम वा खेलकुदको पनि जिम्मेवारी लिनुपर्ने उहाँको जोड छ । उहाँ लेख्नुहुन्छ, “शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणा छन् ः १) बौद्धिक शिक्षा, २) शारीरिक विकास (जस्तो व्यायाम र फौजी तालिम) र ३) बहुप्राविधिक शिक्षा । यो तेस्रो किसिमको शिक्षाले बालबालिका र किशोरकिशोरीलाई उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाउँछ ।” यहाँ हामी देख्छौँ माक्र्स बालबालिकाको शारीरिक, बौद्धिक र उत्पादनमुखी चरित्रको निर्माणमा जोड दिनुहुन्छ । त्यसैले उहाँ तथाकथित ‘बालश्रम’ को पूरै विपक्षमा हुनुहुन्न । बरु युवायुवतीले श्रम गर्नु अनिवार्य भएझैँ ९ वर्षमाथिका बालबालिकाले उत्पादन श्रममा भाग लिनुपर्ने माक्र्सको विचार छ । उहाँ विद्यार्थीलाई कक्षाकोठामा एकोहोरो घोटाएर जुम्सो बनाउने पँुजीवादी शिक्षाको विपक्षमा हुनुहुन्छ । उहाँ लेख्नुहुन्छ, “विभिन्न उमेर समूहअनुसार काम गर्ने अवधिमा कडा निगरानी गरेर र बालबालिकाको संरक्षणका अन्य सुरक्षा उपाय अपनाएर उत्पादक श्रमलाई यथाशीघ्र शिक्षासँग जोड्नु वर्तमान समाजलाई रूपान्तरण गर्ने सबैभन्दा प्रभावशाली साधनमध्ये एक हो ।”
माक्र्सले शिक्षाको सामाजिक पक्षमा जोड दिँदै गर्दा अर्को प्रश्न उठ्छ । “शिक्षा परिवारको निजी मामिला हो । राज्यले त्यसमा कडाइ गर्न मिल्दैन । छोराछोरी आमाबुवाको बाटोमा हिँड्नुपर्छ, आमाबुबाबाट शिक्षा लिनुपर्छ ।” आमाबुबा आकाशबाट खसेका हुँदैनन् । उनीहरू सामाजिक परिवेशबाट निर्देशित हुन्छन् । जस्तो माथि पनि भनियो, पँुजीको लोभ चर्किँदै जाँदा बाबुको सट्टामा आमा र छोराछोरी सस्तोमा बेचिन विवश भए । उनीहरूले छोराछोरीलाई बजारमा लैजाँदा कतिपय पँुजीपतिहरूले यसलाई ‘बाल रोजगारी’ (दासतालाई आजकल ‘वैदेशिक रोजगारी’, ‘यौन व्यवसाय’ भनेझैँ), ‘आमाबुबाको मर्जी’ वा ‘स्वतन्त्रता’ भनी व्याख्या गरेका थिए । तर, केही सरकारी अधिकारीहरूले आमाबुबाले बालबालिकालाई ‘पैसा कमाउने मेसिन’ बनाएकोमा चिन्ता प्रकट गरे ।
सन् १८६६ मा प्रकाशित बेलायत सरकारको प्रतिवेदन भन्छ, “‘यो दर्दनाक र दुःखद कुरा हो, प्रमाणहरूले के देखाउँछन् भने केटाकेटीहरूलाई आफ्नै आमाबाबुबाट चाहिएजति सुरक्षा अरू कसैलाई चाहिएको छैन ।” सामान्यतः बालबालिकाको श्रम र खासगरी कथित घरेलु श्रमको चरम शोषणमा आधारित यो व्यवस्था “आमाबाबुले बेरोकतोक जवान र कलिला छोराछोरीमाथि मनपरी र छलछामपूर्ण अधिकार जमाउन पाएकैले कायम भएको हो ।… सन्तानलाई ‘यति धेरै ज्याला कमाउने मेसिन’ बनाउन पाउने निरङ्कुश शक्ति आमाबाबुलाई दिनु हुँदैन ।” यस्तो खण्ड आइपरे उमेरै नपुगी आफ्नो शारीरिक शक्ति खस्काउने तथा बौद्धिक र नैतिक स्वास्थ्य बिगार्ने कार्यविरुद्ध आफ्नो नैसर्गिक हक दाबी गर्न बालबालिकाहरू अदालत जान पाउनुपर्छ ।” कुरा प्रस्ट पार्दै माक्र्स लेख्नुहुन्छ, “अभिभावकीय अधिकारको दुरुपयोगले बालश्रममाथिको प्रत्यक्ष वा परोक्ष पँुजीवादी शोषण जन्माएको थिएन । बरु, उल्टो शोषणको पँुजीवादी ढाँचाले अभिभावकीय अधिकारको आर्थिक जग हल्लाएर अभिभावकलाई शक्तिको छलछामपूर्ण दुरुपयोग गर्ने स्तरमा झारेको थियो ।” यसको विकल्प दिँदै माक्र्स लेख्नुहुन्छ, “बाबुआमा हुन् वा मालिक, कोही कसैले पनि बालबच्चाको श्रम उपयोग गर्ने अनुमति समाजबाट त्यतिखेरसम्म पाउनेछैन, जबसम्म बालबच्चाले उत्पादक श्रमशिक्षामा भाग लिएका हुँदैनन् ।” किनभने, माक्र्सको निष्कर्ष छ, “परिवार र शिक्षादीक्षाबारे, आमाबुबा र छोराछोरीबीचको आत्मीय सम्बन्धबारे बुर्जुआ गफ त्यति नै घिनलाग्दो हुँदै जान्छ जति आधुनिक उद्योगले गर्दा सर्वहारा वर्गका सबै परिवारिक सम्बन्धहरू छिन्नभिन्न हुँदै जान्छन् र तिनका छोराछोरीहरू व्यापारका साधारण वस्तु र श्रमका ज्याबलमा फेरिँदै जान्छन् ।”
यसरी आमाबुबाले दिन खोजेको कथित ‘घरेलु’ वा ‘निजी’ शिक्षा पनि सामाजिक नै हुन्छ । त्यो समाज शोषणकारी समाज हुन्छ । त्यसैले घरेलु शिक्षादीक्षा नष्ट गरेर सामाजिक शिक्षा दिनखोज्ने कम्युनिस्टहरूले आत्मीय सम्बन्ध ध्वस्त पार्न चाहेको भन्ने गुनासोमा माक्र्स र एँगेल्सको उत्तर छ, “तपार्इँहरूको शिक्षा नि ? के त्यो सामाजिक होइन ? तपार्इँ जुन समाजमा बसेर तिनलाई शिक्षा दिनुहुन्छ, त्यो शिक्षा त्यही परिस्थितिमा आधारित छैन त ? तपार्इँले दिने शिक्षामा स्कूल आदिको मध्यमबाट प्रत्यक्ष–परोक्ष त्यही समाजको हस्तक्षेप हुन्न र ? शिक्षादीक्षा समाजले सञ्चालन गर्नुपर्छ भन्ने विचार कम्युनिस्टहरूले आविष्कार गरेका होइनन् । उनीहरूले त खालि त्यो शिक्षाको चरित्र फेर्न र शिक्षालाई शोषक वर्गको असरबाट मुक्त पार्न खोजेका हुन् ।” वर्तमान पँुजीवादी व्यवस्थाअन्तर्गत विद्यार्थीहरू अन्ततः पँुजीपति वर्गका ज्यामी र उपभोक्ता बन्ने हुन्, समाजबाट च्यूत अलगावपीडित कामदार बन्ने हुन् । यसको विकल्प खोज्नै पर्छ । तर, सामाजिक शिक्षाको नाममा कम्युनिस्टहरूले समाजलाई अज्ञात प्रयोगतिर डोे¥याउँदै त छैनन् ? यसको उत्तर खोजौँ !
कारखाना प्रणालीले कामदार वर्गको शोषण चर्काइदिएको भए पनि यही प्रणालीले नै भविष्यको परिवार र मान्छेको खाका कोर्नेमा माक्र्स ढुक्क हुनुहुन्छ । उहाँ पुरानो परिवार व्यवस्थालाई छिन्नभिन्न पारेको कारखाना प्रणालीको सकारात्मक पक्ष केलाउनुहुन्छ । आमाबुबाले सन्तानलाई पँुजीको दास बनाउन आफ्नो अभिभावकीय अधिकार दुरुपयोग गरेको बताउँदै माक्र्स लेख्नुहुन्छ, “पँुजीवादी व्यवस्थामा पुरानो परिवार व्यवस्थाको यो स्खलन जति नै भयानक देखिए पनि, आधुनिक उद्योगले महिला, युवायुवती र बालबालिकालाई घरेलु घेराबाहिर उत्पादन प्रक्रियामा महत्वपूर्ण भूमिका दिएर उन्नत खालको परिवार र नारीपुरुष सम्बन्धको निम्ति नयाँ आर्थिक जग पैदा गर्छ ।”
शिक्षाको क्षेत्रमा कारखाना प्रणालीले ल्याएको क्रान्तितिर औँल्याउँदै माक्र्स लेख्नुहुन्छ, “प्राविधिक, कृषि र विशेष विद्यालयहरू स्थापना गरेर पहिल्यै एउटा पाइला अघि सारिएको छ । यी विशेष विद्यालयहरूमा कामदार वर्गका छोराछोरीले प्रविधि र थरीथरीको श्रम गर्ने तरिकाहरू सिक्छन् । कारखाना कानुनले पँुजीको चङ्गुलबाट अलिकति छुट दिए पनि त्यो छुट कारखानाको काममा प्राथमिक शिक्षा दिनुमै सीमित छ । निःसन्देह कामदार वर्ग सत्तामा आउने नै छ, त्यति बेला कामदार वर्गका विद्यालयहरूमा सैद्धान्तिक र प्रयोगात्मक गरी दुवैथरी प्राविधिक शिक्षा दिइनेछ । यस्तो क्रान्तिकारी परिवर्तनले अन्ततः पुरानो श्रम विभाजन अन्त्य गर्नेछ । यस्ता परिवर्तनहरूले पँुजीवादी शैलीको उत्पादन र त्यससँग जोडिएको श्रमिकहरूको आर्थिक दुरवस्था नकार्नेछ । यस्तो उत्पादन पद्धतिमा हुने अनिवार्य द्वन्द्वको ऐतिहासिक विकासले गर्दा नै त्यो उत्पादन पद्धति नष्ट भएर नयाँ पद्धतिको स्थापना हुन्छ । घडी मर्मत गर्ने वाटले बाफ इन्जिन बनाए, कपाल काट्ने नाई अर्कराइटले धागो कात्ने मेसिन बनाए र गहना बनाउने फुल्टनले बाफले चल्ने जहाज बनाए । यी आविष्कारपछि पुरानो हाते युगको महिमागान फोस्रो देखिएको छ ।” माक्र्सले यहाँ कारखाना प्रणालीले मान्छेलाई सिर्जनशील बन्ने अवसर दिनसक्ने तथ्यमा जोड दिनुभएको छ ।
बेलायतको औद्योगिक क्रान्तिले पँुजीपतिहरूलाई अकूत नाफा कमाउने सम्भावनाको ढोका खोलिदियो । तर, फ्रान्सेली बौद्धिक क्रान्तिबाट दीक्षित रोबर्ट ओवेनले औद्योगिक क्रान्तिलाई आफ्ना उदात्त विचारहरू प्रयोग गर्ने माध्यम बनाउनुभयो । स्कटल्यान्डको न्यू लानार्क सहरमा उहाँले औद्योगिक मजदुरहरूको कम्युन बनाउनुभयो । बाहिर अन्य उद्योगपतिहरूले मजदुरलाई दैनिक १३ देखि १४ घण्टासम्म काम गराएर नाफा चुसिरहँदा उहाँले साढे १० घण्टाको कार्य दिन लागु गर्नुभएको थियो । चार महिनासम्म सुती उद्योगमा सङ्कट पर्दा उहाँको कम्युनका कामदारहरूले पूरा तलब पाए । अरू पँुजीपतिहरूले ‘नो वर्क, नो पे’, अर्थात् काम नगरे पैसा नदिने नियम लागु गरे । रोबर्ट ओवेनले नै आफ्नो कम्युनमा शिशुशालाहरूको आविष्कार गर्नुभएको थियो । दुई वर्ष पूरा भएपछि बालबालिकाहरू शिशुशाला जान्थे । तिनीहरूले त्यहाँ कति रमाइलो मान्थे भने तिनलाई घर फर्काउन आमाबाबुलाई हम्मे पथ्र्यो । यसको एउटा विशेष कारण थियो । बालबालिकालाई त्यहाँ उत्पादनका कुरा सिकाइन्थ्यो । शिक्षालाई उत्पादन श्रमसँग जोड्दाको ओवेनको अनुभवबारे माक्र्स लेख्नुहुन्छ, “हामीलाई रोबर्ट ओवेनले कारखाना प्रणालीबाट भविष्यको शिक्षाको कोपिला फक्रेको देखाइदिनुभयो । त्यो शिक्षाले निश्चित उमेर पार गरेका प्रत्येक बालबालिकाको हकमा उत्पादन श्रमलाई शिक्षा र व्यायामसँग जोड्नेछ । उत्पादनको कौशल बढाउनमात्र नभई, एक पूर्ण विकसित मानव निर्माण गर्ने एक मात्र विधिको रूपमा यस्तो शिक्षा दिइनेछ ।”
माक्र्स र एँगेल्सका यिनै धारणाहरू कम्युनिस्ट घोषणापत्रमा शिक्षासम्बन्धी कार्यक्रममा प्रतिविम्बित भएका छन् । घोषणापत्र भन्छ, “सबै बालबालिकालाई सरकारी विद्यालयहरूमा निःशुल्क शिक्षा दिइनेछ । अहिलेको तरिकाले कारखानाहरूमा बालश्रमको दुरुपयोगको अन्त्य गरिनेछ । शिक्षालाई उत्पादनसँग जोडिनेछ ।” माक्र्सले शिक्षालाई धर्मबाट अलग्याउनुपर्ने ‘मागपत्र’ आन्दोलनका अगुवाहरूको मागलाई सही ठह¥याउनुभएको छ ।
माथिको छलफलबाट निम्न निष्कर्षहरू निकाल्न सकिन्छ ः
१) पँुजीवादी उत्पादन प्रणालीले महिला र बालबालिकालाई एक सामन्ती एकाइको रूपमा परिवारको चङ्गुलबाट बाहिर ल्याउन खोज्यो । खोटो रूपमा भए पनि ‘अनिवार्य’ र ‘निःशुल्क’ शिक्षा पँुजीवादी समाजको ‘देन’ थियो । स्पष्ट भाषामा यसलाई पँुजीको बाध्यता वा देखावा भन्न सकिन्छ ।
२) शिक्षालाई सामाजिक वा राज्यको दायित्वमा ल्याउनुपर्ने र शारीरिक शिक्षामा जोड दिनुपर्ने धारणा सुरुमा पँुजीवादी अर्थशास्त्रीहरूले नै राखेका थिए । व्यायाम (खेलकुद) सँग शिक्षालाई जोड्नुपर्ने कुरा तिनकै देन थियो । यसमा माक्र्सको विमति छैन ।
३) शिक्षालाई उत्पादन श्रमसँग जोड्दा नौलो मानिसको निर्माण हुनसक्ने काल्पनिक समाजवादी रोबर्ट ओवेनको अनुभवको सारमा माक्र्स सहमत हुनुहुन्छ । यस्तो शिक्षाले नै मान्छेलाई बढी सिर्जनशील बनाउनसक्ने उहाँको मत छ । माक्र्सले वाट, अर्कराइट, फुल्टनजस्ता आविष्कारकहरूको उदाहरण दिनुभएको छ ।
४) बालश्रमका कथित विरोधीहरूलाई माक्र्स कटाक्ष गर्नुहुन्छ । उहाँ ९ वर्ष नाघेका बालबालिकाले सतर्कता वा सुरक्षा उपाय अपनाएर उत्पादनका विभिन्न पक्षको सैद्धान्तिक र प्रयोगात्मक अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । बालश्रमको दुरुपयोगलाई जरैबाट उखेल्नुपर्ने कम्युनिस्ट घोषणापत्रको निष्कर्ष छ ।
५) राज्यले नै सम्पूर्ण बालबालिकालाई निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा दिनुपर्ने माक्र्सको अडान छ । श्रमसँग जोडिएको शिक्षाले बालबालिकाको शारीरिक र मानसिक विकास सुनिश्चित गर्ने उहाँ बताउनुहुन्छ । शिक्षाबारे माक्र्सका विचारहरू मनगढन्ते नभई तत्कालीन औद्योगिक क्रान्तिका सफल वा विफल दुवैथरी प्रयोगहरूबाट जन्मेका र खारिएका हुन् ।
सन्दर्भ सामग्रीहरू :
माक्र्स, पँुजी, भाग १, प्रगति प्रकाशन, मस्को ।
एँगेल्स, पँुजीबारे, राहुल फाउन्डेसन, लखनउ ।
माक्र्स र एँगेल्स, कम्युनिस्ट घोषणापत्र, प्रगति प्रकाशन, मस्को ।
माक्र्स, गोथा कार्यक्रमको आलोचना, विदेशी भाषा प्रेस, पेकिङ ।
एँगेल्स, ड्युरिङ मतखण्डन, विदेशी भाषा प्रेस, पेकिङ ।
एँगेल्स, समाजवाद : काल्पनिक र वैज्ञानिक, विदेशी भाषा प्रेस, पेकिङ ।
एँगेल्स, बेलायतमा मजदुर वर्गको अवस्था, विदेशी भाषा प्रकाशन गृह, मस्को ।
शिक्षामा माक्र्सवादी चिन्तन, खोजी प्रकाशन गृह, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *