नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
दोस्रो ‘फ्री फ्रान्स’ (स्वतन्त्र फ्रान्स)
दे गाल गाउँमा उराठलाग्दो जीवन बिताउँदै थिए । सन् १९४७ फ्रान्सको लागि वित्तीय मन्दी र औपनिवेशिक सङ्कट बनेर आयो । माडागास्करमा मुक्ति सङ्घर्ष सुरु भयो । हिन्द चीनमा लडाइँ सुरु भयो । १९४० मा हिटलर शत्रु थिए । सैन्य र राजनीतिक सङ्कट थियो । यसपालि ‘भूत’ को हौवा मात्र फैलाइयो । जनवरीमा सोभियत सङ्घविरोधी दुष्प्रचारको बाढी आयो । पश्चिम युरोपभरि सोभियत सङ्घले पश्चिम युरोप खाने भयो भनी हल्ला पिटियो । कम्युनिस्ट पार्टीको शक्तिबाट आत्तिएका फ्रान्सेली पुँजीपतिहरूले यो हल्लामा घिउ थपे । दे गाललाई गाउँमा भेट्न जानेहरूको लर्को लाग्यो । ‘युरोपेली समुदाय’ को कुरा गर्ने दे गाललाई फ्रान्स र पश्चिम युरोपको रक्षकको रूपमा बखान गरियो ।
दे गालले जीवनकै ठूलो भूल गरे । उनले फ्रान्सेली जनताको जुलुस (आरपीएफ) नाउँको सङ्गठन बनाए । एकजना उपन्यासकार र प्रशंसक आन्द्रे मालरक्सको सहयोगमा उनले आरपीएफलाई ‘दोस्रो फ्री फ्रान्स’ को रूपमा प्रचार गरे । यो इतिहासको भद्दा नक्कल मात्र थियो । सन् १९४७ मार्चमा दे गालले ‘दोस्रो प्रतिरोध सङ्घर्ष’ सङ्घ सुरु गर्ने निधो गरे । ३० मार्चमा नोरमेन्डीको एक सैन्य समारोहमा दे गालले यसको घोषणा गरे । त्यहाँ बेलायती र क्यानडाली राजदूतहरू थिए । खासमा दे गालले शीतयुद्धको घोषणा पछ्याएको स्पष्ट थियो । त्यही वर्ष मार्च ५ मा विन्स्टन चर्चिलले कुख्यात फुल्टन भाषण दिएका थिए ।
फ्रान्समा सैनिक कूको हल्ला चल्यो । दे गालकै घर पुगेर प्रधानमन्त्री रामादिएले गणतन्त्रको सेवा गर्न आग्रह गरे । आफूले देशको सेवा गर्ने भनेर दे गालले प्रमलाई नै चेतावनी दिए । प्रमको रिपोर्ट सुनेर राष्ट्रपतिले आफूले हिटलर नजन्माउने बताए । यता दे गालले चौथो गणतन्त्रविरुद्ध जाने सोच बनाइसकेका थिए । ७ अप्रिल १९४७ मा एक कार्यक्रममा दे गालले नयाँ परिस्थितिमा फ्रान्सले अमेरिकाको पक्ष लिने बताए । उनले संविधान र सरकारी कामकाजको आलोचना गरे । १४ अप्रिलमा उनले ‘दलहरूभन्दा माथि उठेको’ नयाँ दल गठन गरे । यो दलमा सबै नेता दे गालले चुन्थे । यो दलले राजनीतिक दलहरूको प्रभाव कम हुने बलियो राष्ट्रपतीय बन्दोवस्तको वकालत गथ्र्यो ।
देशले आर्थिक सङ्कट व्यहोरिरहेको बेला खुलेको हुनाले आरपीएफको सदस्य सङ्ख्या बढ्यो । दे गालले जहाँतहीँ फ्रान्सेली कम्युनिस्ट पार्टीलाई पृथकतावादी समूह भनी गाली गर्न थाले । २९ जुलाईमा कम्युनिस्टहरूले तानाशाही स्थापना गर्न खोजेको दे गालले आरोप लगाए । पहिले उनले सोभियत सङ्घको तारिफ गरे । सोभियत सङ्घको सिमाना नजिक आएको हुनाले त्यसबाट फ्रान्सको सुरक्षा खतरामा परेको बताए । बिस्तारै दे गालको बोली र लेखनीमा कम्युनिस्टविरोधी विष पोखिन थाल्यो । अक्टोबरको एक मन्तव्यमा उनले बोल्शेभिकहरूलाई हिटलरसँग तुलना गरे । रुसी आक्रमणबारे उनले कुनै प्रमाण दिनसकेनन् । अब उनी ठोस परिस्थितिमा भन्दा पनि कम्युनिस्टविरोधी हौवाका आधारमा राजनीति गर्दै थिए । दे गाल आफ्नै शैलीका व्यक्ति थिए । तर, यसपालि उनले सस्तो लोकप्रियता कमाउन खोजे । (दे गाल पनि आफ्नो स्वार्थको निम्ति कहिले कम्युनिस्टलाई प्रशंसा गर्थे र कहिले गाली गर्थे । पुँजीवादी नेताहरू सबै एउटै ड्याङका मुला हुन् ।)
आरपीएफ
जनतालाई कम्युनिस्टको झूटो डर देखाउँदै आरपीएफले नयाँ राजनीति थाल्यो । उसले झकिझकाउ जुलुस निकाल्थ्यो । देशभक्तिपूर्ण नाटक, गीत र नाराबाजीसहित जनसभा सुरु हुन्थ्यो । रङ्गीबिरङ्गी प्रकाश र पटाकाहरूको प्रयोग गरेर झिलिमिली पारिएको हुन्थ्यो । देशभरि हुने यस्ता सभामा दे गालले जनताको रगत उमाल्न खोज्थे । कार्यक्रमबारे अखबारहरूमा प्रशस्त प्रचारप्रसार हुन्थ्यो । यी सबै झिलीमिलीपछाडि मालरक्स थिए । केही समयलाई यो नाटकले काम ग¥यो । भीड दे गालको पछाडि लाग्यो । युद्ध सुरु भइहाले दे गाल परिवारलाई देशबाहिर भगाउन एउटा हवाइजहाज चौबीसै घण्टा तयार राखिएको हुन्थ्यो । आरपीएफले बन्दुकहरू झिकायो । उसले फ्रान्सलाई युद्धमय देखाउन खोज्यो । उनीहरू आफैले बनाएको जालोमा जेलिँदै थिए !

‘दलभन्दा माथि’ भने पनि आरपीएफ एउटा पार्टी थियो । त्यो प्रचारबाजीमा सिपालु थियो । यसमा मध्यम वर्ग, सहरी निम्न मध्यम वर्गका मान्छेहरू थिए । किसान र व्यापारीहरू पनि तिनकै पछाडि लाग्दै थिए । भिशे सत्ताका मान्छेहरू पनि यसमै घुसे । खासमा दे गाल भिशे सत्ताका मान्छेहरूप्रति नरम नै रहेका थिए । ८० लाख जनसङ्ख्या भएको बेल्जियमले युद्धपछि ५० हजार विश्वासघातीलाई मृत्युदण्ड दिएको थियो । तर, ४ करोड जनसङ्ख्या भएको फ्रान्सले ३९ हजारलाई मृत्युदण्ड दियो । दे गालले जनरल पेताँको मृत्युदण्ड पनि अमलेख गर्न लगाएका थिए । यसरी भिशे सत्ताका मानिसहरू नै ‘दोस्रो प्रतिरोधी सङ्घर्ष’ का ‘योद्धा’ बने । यसपालि नेता पेताँ नभई दे गाल थिए ।
आरपीएफले आफूलाई जनसाधरणको पार्टी भन्थ्यो । तर, तानाशाहीको पैरवी गथ्र्यो । त्यसले बजार भाउ, ज्याला, नाफाखोर र एकाधिकार पुँजीको करकापबारे बोल्दैनथ्यो । यस्तो गरेमा बैङ्कपति र एकाधिकार जमाइबसेका पुँजीपतिहरूले तिनलाई चन्दा दिने थिएनन् । यही चन्दाको बलमा स्थानीय चुनावमा आरपीएफले भड्किलो प्रचारबाजी ग¥यो । पेरिसको नगरसभामा उसले कम्युनिस्टले भन्दा दोब्बर सीट ल्यायो । दे गालका भाइ मेयर बने । आरपीएफ पार्टीले देशका धेरै मेयरलाई विस्थापित ग¥यो । तर, उसले सोचेजति कम्युनिस्टहरूलाई बढार्न सकेन । स्थानीय निर्वाचनमा आफ्नो शक्ति देखेर दे गालले समय अगावै संसदीय निर्वाचन हुनुपर्ने विचार राखे । उनले सत्ताधारीहरूले दुईतिहाइ मतले संसद्् भङ्ग गर्नुपर्ने र चुनावको मिति तोक्नुपर्ने बताए ।
सन् १९४७ को अन्त्यतिर फ्रान्समा ठूल्ठूला हडतालहरू भएका थिए । यसबाट फ्रान्सको पुँजीपति वर्ग डरायो । संसद््का अन्य पुँजीवादी दलहरूले कम्युनिस्टहरूले भन्दा पनि दे गालको पार्टीले आफ्नो जरो उखेल्ने देखे । बिस्तारै आरपीएफले देखाएको ‘सोभियत खतरा’ झूटो प्रमाणित भयो । चौथो गणतन्त्रबारे दे गालको फलाकोले पनि हावा खायो । ‘दोस्रो प्रतिरोधी युद्ध’ शत्रुहीन बन्न पुग्यो । त्यसैले आरपीएफका नेता मालरक्सले भने, “आरपीएफ प्रतिकार हो, भिशे तेस्रो शक्ति हो र साम्यवाद शत्रु हो ।” यो नारा ओइलाउँदै गयो । खासमा संसद््मा रहेका गैर कम्युनिस्ट पार्टीहरूले आफूलाई ‘तेस्रो शक्ति’ भन्थे । फ्रान्सका पुँजीपतिहरूले ‘तेस्रो शक्ति’ ले मात्र आफ्नो स्वार्थ पूरा गर्न सक्ने देखे । किनभने, एकचोटिलाई भए पनि तिनले कम्युनिस्टहरूलाई सत्ताबाहिर फाल्न सकेका थिए ।
सन् १९४८ को अप्रिलमा मार्सेइमा आरपीएफ पार्टीको राष्ट्रिय अधिवेशन ठूलो झिलीमिलीका साथ भयो । तर, त्यसपछि ऊ ओरालो झर्न सुरु ग¥यो । चुनावपिच्छे उसको सीट सङ्ख्या घट्दै गयो । पार्टीमा भित्री खट्पट् बढ्यो । झिलिमिली सभाहरू गर्न पैसा अपुग हुँदै गयो । यस्ता सभामा सुरक्षाका लागि हतियारसहितका गुन्डाहरूको पनि प्रयोग हुन्थ्यो । यो कुरा जनताले थाहा पाएपछि आरपीएफ बदनाम भयो । दे गालले युद्धताकाको आफ्नो प्रतिष्ठामा आँच आएको बुझे । तर, पार्टीबाट हात झिक्न पनि गा¥हो थियो । सन् १९५१ को संसदीय निर्वाचनमा दे गालको पार्टीले पराजय भोग्यो ।
पराजय
सन् १९५० मा कोरियायुद्ध सुरु भयो । दे गालले विश्वयुद्ध हुने आशङ्का गरे । ‘तेस्रो शक्ति’ का दलहरूले पालैपालो सरकार चलाइरहे । हिन्द चीनको मुक्तियुद्धले फ्रान्सलाई अप्ठ्यारो पर्दै गयो । खासमा फ्रान्स नाटोको ‘सम्पर्क क्षेत्र’ मा फेरिएको थियो । अमेरिकी सहयोग ‘नपाउने’ डरले शासकहरू अमेरिकाका पिछलग्गू बने । राइन क्षेत्रमा लडाकू समूहहरू जन्मे । त्यसैले पश्चिम जर्मनीलाई निःशस्त्रीकरण गर्नुपर्ने दे गालको प्रस्तावले हावा खाइसकेको थियो । फ्रान्सको अलग विदेश नीति रहेन । यसबाट आक्रोशित दे गालले फेरि एकचोटि जोडतोडले आरपीएफका सभाहरू गर्न थाले । उनले १५ दिनमा ३० वटा सभा गरे । १७ जून १९५१ को चुनावमा आरपीएफले ११८ सीट ल्यायो । तर, बहुमतको सरकार बनाउन त्यो अपुग थियो । फेरि एकचोटि दे गालको मनोरथ पूरा भएन ।
सन् १९४७ पछि कम्युनिस्ट पार्टीलाई ‘सोभियत एजेन्ट’ र ‘पृथकतावादी’ भनेर अनेक दुस्प्रचार भयो । सञ्चार जगतमात्र नभई राज्यका सबै निकाय कम्युनिस्टहरूविरुद्ध प्रयोग भए । तैपनि, सन् १९५१ को चुनावमा कम्युनिस्ट पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्यो । दे गालले आरपीएफको हार स्वीकार्दै भने, “साम्यवादको बल र क्षमता बढेको छ । कम्युनिस्टहरू मात्र प्रतिबद्ध मान्छेहरू हुन् ।” धेरै सीट ल्याए पनि दे गालको पार्टी सत्ताको भागबन्डामा गएन । दे गालले चौथो गणतन्त्र र बहुदलीय व्यवस्थाको विरोध चालु राख्ने नीति लिए । तर, पार्टीका धेरै सदस्य बहुदलीय व्यवस्थाको विरोधमा थिएनन् । उनीहरू मन्त्री पद खान चाहन्थे । तिनीहरूमध्ये २७ जनाले पार्टीको विरोधमा गएर दक्षिणपन्थी पार्टीका एन्तोइन पिँएको सरकारलाई समर्थन गरे । पिँए भिशे सरकारमा काम गरेका व्यक्ति थिए । रुष्ट दे गालले भने, “पिँएको हातमा सुम्पिन मैले फ्रान्सलाई जोगाएको थिइनँ ।”
सन् १९५३ अप्रिलको निर्वाचनमा आरपीएफले ठूलो हार व्यहो¥यो । देशभरिमा उसले १० प्रतिशत मत ल्यायो । दे गालले आफ्ना नेताहरूलाई ‘जे गरे पनि गर’ भनेर छोडिदिए । यो निर्णयले उनलाई सजिलो भयो । राजनीतिमा पाखण्डको प्रयोेग गर्न नहिच्किचाउने उनी कहिलेकाहीँ एकदम स्पष्ट वक्ता पनि बन्थे । आरपीएफका मान्छेहरू छिट्टै बहुरूपी बनेर निस्केपछि उनले भने, “पुँजीवादी धुलो झ¥यो ।” उनी एकदम निराश बनिसकेका थिए । तैपनि राजनीतिमा फेरि उदाउने झिनो आशासहित उनी गाउँको घरतिर लागे ।
अमेरिकी छत्रछाया
‘आरपीएफ’’ मा लाग्नाले दे गालको बदनामी भयो । गाउँले घरमा उनी लामो समयसम्म निस्क्रिय जीवन बाँचे । उनी आफ्ना मन परेका लेखहरू पढ्थे । उनले आफूलाई ल्याटिन अमेरिकी लेखक हेमिङवेको उपन्यास ‘बुढो मान्छे र समुद्र’ को बुढोसँग दाँज्थे । यसैबीच उनकी छोरी आनको निधन भयो । उनी मानसिकरूपमा अपाङ्ग थिइन् । ६३ वर्ष पुगेका दे गालको जीवन निरसतालले बित्दै थियो । ‘गणतन्त्रात्म राजतन्त्र’ स्थापना गर्ने लक्ष्यले बनाइएको ‘आरपीएफ’ को चरम कम्युनिस्टविरोधी छवि अन्ततः फ्रान्समा संरा अमेरिकी प्रभुत्व भित्याउने साधन बन्यो । पश्चिम युरोपका देशहरू अमेरिकी आश्रित देश बन्दै गए । बिस्तारै दे गालले वास्तविक शत्रु वासिङ्टन भएको खुलासा गरे । पश्चिमी देशहरू जर्मनीलाई पुनःशस्त्रीकरण गर्ने र फ्रान्सको घाँटी थिच्ने काममा लागेको देखे ।
अमेरिकाले ‘युरोपेली सुरक्षा समुदाय’ (इडीसी) को विचार अघि सा¥यो । सन् १९४६ जनवरीमा दे गालपछि सत्तामा पुगेका फ्रान्सका शासकले ‘युरोपेली युनियन’ को अवधारणा अघि बढाए । पश्चिम युरोपका देशहरूको साझा संसद् र साझा सरकार बनाउने सोच थियो । खासमा त्यहाँ फैलिएको कम्युनिस्ट प्रभावविरुद्ध पुँजीवादीहरूलाई बलियो बनाउन यो प्रस्ताव अघि सारिएको थियो । सन् १९४८ मा युरोपेली संसद्को भ्रुण जन्मियो । तर, त्यसलाई धेरै अधिकार थिएन । सन् १९५० मा फ्रान्स, पूर्वी जर्मनी, इटाली, बेल्जियम, नेदरल्यान्ड एवम् लक्जेम्बर्गको संयुक्त युरोपेली कोइला र इस्पात समुदाय बन्यो । विशाल उद्योगको हकमा सीमा कर हटाइयो । यस्ता कार्यले राष्ट्रको गरिमा कम गरेकोमा दे गाल सुरुदेखि नै विरोधी रहे ।
युरोपेली युनियनका पक्षधर ज्याँ मोनेँ र रोबर्ट शुमन सरकारका हर्ताकर्ता थिए । पूर्वी जर्मनीले आफूलाई फ्रान्सबराबर मान्नुपर्ने जिरह गरेपछि उसलाई त्यस्तो स्थान दिइयो । दे गाल यसको विपक्षमा थिए । तर, पछिल्लो सरकारले खुरुखुरु जर्मनीको उदयमा सघायो । शुमनलाई दे गालले खुट्टा पेरिसमा राखेर मन बर्लिनमा राख्ने व्यक्ति भन्थे । अन्ततः जर्मनीको पुनरोदय भयो । सन् १९५० अक्टोबरमा दे गालका पुराना साथी प्रम रेने प्लेभेँले ‘युरोपेली सेना’ को अवधारणा ल्याए । जर्मनीलाई सेना राख्न दिने तर त्यसलाई ‘युरोपेली जनरल स्टाफ’ को मातहत राख्नुपर्ने भनियो । यसमा ६ वटा देशका सेना रहने भए । समग्र ‘युरोपेली सेना’ चाहिँ नाटो मातहत रहने भयो । दे गालले त्यसलाई वाहियात चुटकिला भने । मे १९५२ मा विदेशमन्त्री बिदोले ‘ईडीसी’ गठन गर्ने सन्धिमा हस्ताक्षर गरे । दे गालले तुरुन्तै पत्रकार सम्मेलन गरेर सो सन्धिले युरोप जर्मनीको सैन्य र राजनीतिक छत्रछायामा पुग्ने बताए । उनले फ्रान्सको स्वतन्त्र सेना हुनुपर्नेमा जोड दिए । दे गालले जस्तै फ्रान्सका धेरै राजनीतिक दलले जर्मनीको सशस्त्रीकरणको विरोध गरे । ‘आरपीएफ’ का नेताहरू लाखापाखा लागेपछि मे १९५३ मा उनले त्यो दल विघटन गरे । अब दे गाल एकदम स्वतन्त्र भए ।
‘ईडीसी’ सम्बन्धी सन्धिलाई फ्रान्सको संसद्ले अनुमोदन गर्नुपथ्र्यो । धेरैजसो सांसद यसको विपक्षमा थिए । दे गाललाई तिनैको भर थियो । केही समय चुप बसेपछि नोभेम्बर १९५३ मा दे गालले ‘युरोपेली सेना’ को विरोध गरे र त्यो पश्चिम युरोपलाई संरा अमेरिकाको संरक्षित भूभाग बनाउने षड्यन्त्र भएको बताए । (यो आरोप सत्य थियो किनभने पछि युरोपेली सेनाको प्रमुखमा पूर्व नाजी जनरललाई ल्याइएको थियो ।) उनले युरोपलाई एउटै ठूलो राज्य बनाउनुको साटो सङ्घीय शैलीमा लैजान भने । उनी ६ वटै देशको स्वाधीनता कायम रहनुपर्नेमा अडिग थिए । उनले सोभियत सङ्घलाई फ्रान्सको साथी भने । फ्रान्सको सडक र सदनमा सन्धिको विरोध भइरहेको थियो । तर, अमेरिकाले फ्रान्सलाई दबाब दिइरह्यो । सन् १९५४ को सुरुतिर अमेरिकाले आफ्नो एक कठपुतलीलाई फ्रान्सको सत्तामा ल्यायो । जोसेफ लानिए नोरम्यान्डीका उद्योगपति थिए । अमेरिकाकै आर्थिक आडमा उनको धन बढेको थियो । उनले अमेरिकासँग उनलाई हिन्द – चीनको युद्धमा छिराउने गोप्य सम्झौता गरे । विदेशमन्त्री बिदोले ‘युरोपेली सेना’ को सम्झौतालाई संसद्बाट अनुमोदन गराउन हुनीहुनामी गरे । ती दुवैका नीतिहरूले दुष्परिणामहरू ल्याएपछि मे १९५४ मा दुवैले राजीनामा दिए । अब फ्रान्समा ठूलो राजनीतिक सङ्कट आयो ।
¥याडिकल पार्टीका नेता मेन्डेस प्रधानमन्त्री भए । उनले हिन्द चीनमा शान्ति सम्झौता गरे । फ्रान्सेली कम्युनिस्ट पार्टी र दे गालका कारण ‘ईडीसी’ सम्झौताविरुद्ध सडक तातिरहेको थियो । ३० अगस्त १९५४ मा फ्रान्सको संसद्ले बहुमतका साथ ‘ईडीसी’ सम्झौता अस्वीकार ग¥यो । फ्रान्सको सार्वभौमिकता नै खोस्ने अमेरिकी षड्यन्त्र विफल भयो । अमेरिकी विदेशमन्त्री डलेसले त्यसलाई ‘दुर्भाग्य’ भने, जुन फ्रान्सको अहोभाग्य थियो । यसबाट दे गाल प्रसन्न भए ।
‘आरपीएफ’ का नेताहरूले अब ‘सामाजिक गणतन्त्रवादीहरू’ नामक पार्टी बनाएका थिए । तर, पार्टीबाहिर रहेर नै दे गालले फाइदा हुने देखे । यसपालि जनता उनको पक्षमा थिएनन् । ‘जनताको स्वर सुन्न’ उनी विभिन्न कार्यक्रमहरूमा जान्थे । तर, उनी त्यो स्वर नसुनी फर्किनुपथ्र्यो । अब उनले ‘चौथो गणतन्त्र’ को तीखो आलोचना गर्न छाडे । उनी पर्ख र हेरको स्थितिमा थिए । उनले देशभित्र भन्दा पनि बाहिर चासो दिन थाले ।
‘युद्ध संस्मरणहरू’
सन् १९५५–५६–५९ मा दोस्रो युद्धसम्बन्धी दे गालका संस्मरणहरूको क्रमशः पहिलो, दोस्रो र तेस्रो खण्ड प्रकाशित भयो । दे गालका संस्मरणहरू प्रायः आफैवरपर घुमेको थियो । तिनबाट तत्कालीन घटनाक्रमभन्दा पनि दे गालको व्यक्तित्व राम्ररी चिन्न सकिन्छ । ती संस्मरणहरूमा दस्तावेजहरू पनि दिइएको छ । चर्चिलका आत्मसंस्मरणहरूमा जस्तै तिनमा आफू प्रतिकूल हुने दस्तावेजहरू दिइएको छैन । चर्चिलले जस्तै यी संस्मरणहरू लेख्न धेरै लेखक खटाइएको थिएन । छोरी इलिजावेथ र एक पूर्व अधिकारीको सहयोगमा यी संस्मरणहरू लेखिएको थियो । उनले वर्ग विशेषलाई भन्दा पनि राष्ट्रलाई बढी महत्व दिए । यस्तो गर्दै गर्दा उनले कम्युनिस्टहरूविरुद्ध जथाभावी लेखे । यद्यपि, तिनको शक्ति र प्रतिरोधी सङ्घर्षमा तिनको योगदानलाई यदाकदा ठाउँ दिएका छन् । जनतालाई दे गालले खालि भीडको रूपमा प्रस्तुत गरे । खासमा दे गालले गरिमाका लागि मात्र फ्रान्सको गरिमाको कुरा गरेका छन् । त्यो गरिमामा फ्रान्सबाहेक अर्थोक केही अटाउन्न ।
युद्ध संस्मरणहरूमा दे गालले राजनीतिक दलहरूको निन्दा गर्न कन्जुस्याइँ गरेका छैनन् । ‘चौथो गणतन्त्र’ लाई ठाडै गाली नगरे पनि उनले ‘तेस्रो गणतन्त्र’ को चर्को आलोचना गरेर अभिष्ट पूरा गरेका छन् । जसरी तेस्रो गणतन्त्र हिटलरपरस्त थियो, त्यस्तै चौथो गणतन्त्रले अमेरिकालाई शिरोपर गरेकोमा उनको असन्तुष्टि थियो । उनका संस्मरणहरूको तारिफ पनि भयो । तर, उनी शक्ति चाहन्थे । उनले पुस्तकका केही विशेष प्रतिहरू पोपलगायत विशिष्ट व्यक्तिहरूलाई पठाए । खासमा उनी आस्तिक थिएनन् । जान्नेबुझ्नेले उनले खालि ‘असल’ र ‘खराब’ मा विश्वास गर्ने बताउँथे । तर, बेलाबखत उनी गिर्जाघरमा गएर शिर निहुराउने गर्थे ।
प्रस्तुति : सुरेन
Leave a Reply