भर्खरै :

सङ्घीयता कार्यान्वयन गर्न स्थानीय तहलाई स्वायत्तता

भक्तपुर, २६ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको एघारौँ नगरसभाको आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले जनसहभागिता, जनश्रमदान र पारदर्शी गरेर पार्टीको प्रतिबद्धता नगरवासी तथा अग्रजहरूको मार्गनिर्देशनअनुसार जनप्रतिनिधिहरूले कार्य गरिरहेको बताउनुभयो ।
नगरवासीहरूको सांस्कृतिक स्तर उकास्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीयता पूर्ण कार्यान्वयनको लागि स्थानीय तहलाई स्वायत्तता प्रदान गरी विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्ने बताउनुभयो । अनावश्यक सवारीसाधनमा अत्यधिक खर्च गरी पुँजी निर्माण नहुने हुँदा यस्ता क्षेत्रहरूमा मितव्ययिता अपनाई देशको आन्तरिक उत्पादन बढाएर भ्रष्टाचार नियन्त्रण गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसदहरू ठेकेदार हुनु, सरकारको संरक्षणमा गैरकानुनी प्लटिङ हुनु, अयोग्य ठेकेदारमार्फत असुरक्षित र कमजोर निर्माणहरू हुनु आदि कारणले देश अराजकतातर्फ बढिरहेकोमा चिन्ता व्यक्त गर्दै सांसद सुवालले जनप्रतिनिधिहरूले यस्ता विषयमा जनतालाई सचेत पार्नु आवश्यक छ भन्नुभयो ।
लाखौँ बहाल तिरेर एमसीसीको कार्यालय सञ्चालन गरी अरबौँ रकम दुरुपयोग भइरहेको चर्चा गर्दै उहाँले एमसीसी हिन्द प्रशान्त क्षेत्रको रणनीतिको एउटा भाग भएकोले यसले देशको हित नगर्ने प्रस्ट पार्नुभयो ।
रेमिट्यान्सको भरमा देशको विकास सम्भव नहुने प्रस्ट पार्दै सांसद सुवालले स्थानीय तहले आ–आफ्नो निर्वाचन क्षेत्रका युवालाई रोजगारी दिने विषयमा कानुन बनाउन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपामा निर्वाचित भई शपथग्रहण गरेकै मितिदेखि नगर र नगरवासीहरूको हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको बताउनुभयो ।
आव २०७८।२०७९ को बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराउँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायत नगर र नगरवासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूका साथै थुप्रै विकास निर्माणका कामहरू सम्पन्न गरिसकेको बताउनुभयो ।
केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुपर्नेमा उल्टै सशर्त र समपूरक बजेटमा वृद्धि गर्नु सङ्घीयता र संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिएर केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकहरूलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “हामी जनप्रतिनिधिले सधैँ नगरवासीको प्रगतिलाई ध्यानमा राखी सेवामा समर्पित भएर काम गर्दै आएका छौँ । बाँकी दिनमा पनि जनताको हितमा उदाहरणीय कामहरू गर्दै भक्तपुरलाई देशको नमुना नगरको रूपमा विकास गर्न हाम्रो कार्यकालको अन्तिम दिनसम्म लागिरहने छौँ ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले विवेक र विचारलाई बन्धकमा नराखी सिद्धान्त र विचारको आधारमा व्यापक जनताको निःस्वार्थ रूपमा सेवा गर्नु नै नेमकिपाको परिचय बनिसकेको बताउनुभयो ।
भक्तपुर नपाका जनप्रतिनिधि, बुद्धिजीवी, सम्बन्धित निकाय, कर्मचारी र स्थानीयको साथ—सहयोग आत्मगौरव गर्न लायकको भएको उल्लेख गर्दै सांसद गोसाईले जनताको मन जितेर देशको भावना र आवश्यकताबमोजिम नेमकिपाले समाजवादी मर्मअनुसार काम गर्दै आइरहेको स्पष्ट पार्नुभयो ।
“भक्तपुर नपाले समाजको आमूल परिवर्तन र समाज रूपान्तरण गर्न जनताको चेतनास्तर अभिवृद्धि गर्दै जनपरिचालन गरी भ्रष्टाचाररहित ढङ्गले काम गरेको छ । जनताको विश्वास जितेर जनताको एकता स्थापित गर्न भक्तपुर नपाले सफलता प्राप्त गरेको छ”, उहाँले भन्नुभयो ।
एमसीसीबिना यो देश विकास सम्भव छैन भन्ने दास मानसिकता शासक दलमा रहेको चर्चा गर्दै सांसद गोसाईले नेमकिपाले एमसीसीको विरोधमा जनतालाई सचेत र एकताबद्ध गरी शासक दलको दास मानसिकता उदाङ्गो पार्ने काम गर्दै राष्ट्रको मनोबल उच्च गर्ने काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षामा गरेको प्रगतिबाट ‘ख्वप मोडल’ विकास गर्न सफल भएको आँैल्याउँदै भक्तपुरलाई नमुना र अनुकरणीय नगरको रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले हाम्रो सम्पदाको हरसम्भव संरक्षण, ती सम्पदाको अध्ययन, अनुसन्धान, अभिलेखन र सबलीकरणसहितका पुनः निर्माणका प्राविधिक प्रतिवेदनसहित नयाँ पुस्ताका लागि संरक्षित गर्दै सुरक्षितका साथ राख्ने काम भइरहेको छ ।”
कार्यक्रममा भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले नगरवासीहरूले पु¥याउँदै आएको साथ र सहयोगकै कारण भक्तपुरलाई देशको नमुना नगरको रूपमा विकास गर्न मद्दत पुगेको बताउनुभयो ।
भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नपाले गरेको असल र सफल कामबारे समीक्षा गर्न यो अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *