भर्खरै :

अर्जेन्टिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषको विरोध

ब्युनर्स आयर्स, ९ फेब्रअरी । अर्जेन्टिनाका हजारौँ जनताले राजधानी ब्युनर्स आयर्सका सडकमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को विरोधमा प्रदर्शन गरेका छन् । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिएको ४० अर्ब अमेरिकी डलर बराबरको ऋण नवीकरणलाई लिएर हुन लागेको सम्झौताको विरोधमा उनीहरूले मङ्गलबार प्रदर्शन गरेका हुन् ।
राजधानी ब्युनर्स आयर्समा प्रदर्शनकारीहरूले ‘आईएमएफलाई पैसा तिर्न पाइँदैन’, ‘आईएमएफसँग सम्झौता गर्न पाइँदैन’ जस्ता नारा लेखिएका व्यानरसहित प्रदर्शन गरेका थिए । जनवरी महिनादेखि अर्जेन्टिनामा आइएमएसफसँग सम्भावित ऋण नवीकरण सम्झौतालाई लिएर तनाव बढ्दै गएको छ ।
जनवरीको अन्त्यमा अर्जेन्टिना सरकार र आईएमएफबीच सन् २०१८ मा असफल भएको ऋण प्रस्तावबारे निर्णायक वार्ता भएको थियो । सो सम्झौताअनुसार आईएमएफले ऋण चुक्ता गर्ने समयावधि केही थप गरेको छ । तर, त्यसवापत अर्जेन्टिना सरकारले ऋणदाताले तोकेका केही आर्थिक लक्ष्य भने पूरा गर्नुपर्ने शर्त राखिएको छ ।
सो सम्झौताबारे थप बहस चालु छ । अर्जेन्टिनाको संसद् र आईएमएफ बोर्ड दुवैले त्यसको अनुमोदन गर्नुपर्ने प्रावधान छ ।
“आइएमएफसँग सरकारको सम्झौता खारेज गर”, ‘भ्रष्टाचारको पैसा तिरिन्न’ लेखिएको टी–सर्ट लगाएको विरोध प्रदर्शनका सहभागी सिलिस्टे फेयरोले भने ।
“उनीहरूले हामीबाट थप आर्थिक पुनःसंरचना खोजिरहेका छन् । त्यसले थप समस्या निम्त्याउनेछ । हामीसँग भएका कुरा उनीहरूले थप शोषण गर्नेछन् । त्यसकारण, हामी जनता आइएमएफको योजनाप्रति नतमस्तक हुन सक्दैनौँ”, उनले भने ।
सम्झौताको विषयमा अर्जेन्टिनाको सत्तारुढ गठबन्धनमा मतान्तर भएको छ । सम्झौताको विरोधमा सत्तागठबन्धनका एक जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सम्झौताको विरोधमा आयोजित प्रदर्शनमा सहभागी एउटा वामपन्थी समूहका प्रतिनिधि जुआन कार्लोस ग्वर्डानोले कामदार जनतालाई ऋणको भार बोकाएर जनतालाई गरिबीबाट बाहिर निकाल्न त्यो पैसा प्रयोग गर्ने विरोधासपूर्ण कुरा गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *