भर्खरै :

मानसिक समस्याबारे कुराकानी गरौँ

मानसिक स्वास्थ्यबारे अझै पनि नेपाली समाजमा कममात्र जानकार छ । त्यही भएर मानसिक समस्या भएका बिरामीलाई सर्वसाधारण नेपाली जनताले अतिरञ्जनापूर्वक ढङ्गले बुझ्ने गरेको पाइन्छ । सामान्यतः मानसिक समस्या शारीरिक रोगजस्तै लक्षण देखिने वा तत्कालै पीडा दिने खालको हुँदैन । मानिसको असामान्य व्यवहार, सोचाइ र बुझाइ नै मानसिक रोगका लक्षण हुनेगर्छ । तर, त्यस्ता लक्षणलाई मानसिक रोगका लक्षण भनी बुझ्ने मानिसको सङ्ख्या नेपाली समाजमा अझै कम छ । त्यसकारण, मानसिक समस्यालाई भित्रभित्र पालेर बस्ने अथवा त्यसलाई रोग भनी थाहा नपाउने र त्यसको उपचार सम्भव छ भनी बुझ्ने नेपाली कम छन् ।
पछिल्लो समय हाम्रै वरपरका घटनाक्रम र अखबारका समाचारलाई गम्भीरतापूर्वक नियाल्ने हो भने नेपाली समाजमा धेरै थरी मानसिक समस्या व्यापक बन्दै गएको अनुमान गर्न सकिन्छ । आत्महत्याको सङ्ख्या बढ्नु यसको सङ्केत हो । तर, त्यही नै सम्पूर्ण सङ्केत भने होइन ।
महामारीको कारण संसारभर नै मानसिक रोगका बिरामीहरू बढेको अध्ययनले देखाएको छ । महामारीको कारण निम्तिएको सन्त्रास, लामो समय घर र कोठाभित्र कैद रहनुपर्ने बाध्यता, आर्थिक समस्याको दबाबले मानिसलाई मानसिकरूपमा थप तनाव दिएको छ । सामाजिक व्यवहार र अन्तरक्रियाको कमी, घुमफिर आदि घट्नुले पनि संसारभर नै मानसिक समस्या बढेको छ । त्यसकारण, संसारका धेरै देशमा मानसिक रोगका चिकित्सकहरू हिजो–आज निकै व्यस्त हुने गरेको बताइएको छ । उस्तै समस्या नेपाली समाजले पनि भोगिरहेको छ । तथापि, नेपाली मनोचिकित्सकहरूले भने अझै पनि आफ्नो भूमिका पूर्ण आकारमा निर्वाह गर्न सकिरहेका छैनन् । यसको अर्थ नेपाली समाज मानसिक समस्याको उपचार गर्न सकिन्छ र आवश्यक छ भन्ने कुरामा सचेत छैन ।
अध्ययनले नेपालमा विशेषतः किशोरकिशोरी र महिलाहरूमा मानसिक समस्या बढी रहेको देखाएको छ । सामाजिक सञ्जालको व्यापक प्रयोग, ठूलो महत्वाकाङ्क्षा तर महत्वाकाङ्क्षा पूरा गर्ने सीमित स्रोत साधन र क्षमता, चलचित्रको प्रभाव, अनावश्यक सामाजिक दबाब र किशोरकिशोरीको मनोविज्ञान बुझ्न नसकेको सामाजिक चेतनाले किशोरकिशोरीहरू नजानिँदो ढङ्गले मानसिक रोगी बन्दै छन् । त्यस्तै महिलाहरूमाथि आर्थिक, सामाजिक र पुरातनवादी सोचाइको दबाबको कारण उनीहरू पनि मानसिक रोगी बन्ने गरेका छन् । शारीरिकरूपमा मात्र होइन, मानिस मानसिकरूपमा पनि स्वस्थ हुन जरुरी छ ।
मानसिक समस्याबारे नेपाली समाजमा निकै कममात्र छलफल हुने गरेको छ । वास्तवमै हाम्रो समाजलाई मानसिक समस्याबाट मुक्त बनाउन चाहन्छौँ भने अब यसबारे कुराकानी हुन जरुरी छ । मानसिक समस्याबाट टाढा बस्ने सबभन्दा उपयोगी माध्यम भनेको सक्रियता हो । कोही पनि मानिस निस्क्रिय भएपछि उसलाई मानसिक समस्याले गाँस्ने सम्भावना प्रबल हुने मनोचिकित्सकहरू बताउँछन् । गतिशील जीवनले मानिसलाई मानसिक समस्याबाट टाढा राख्छ । सामाजिक अन्तरक्रियाले मानिसलाई अझ जीवन्त बनाउँछ । समस्याको कुरामात्र गरेर हाम्रो जिम्मेवारी सकिंँदैन । समाधानको खोजी गर्न छलफल र अन्तरक्रिया गर्न पनि अग्रसर हुनुपर्छ ।
कसैलाई वा कुनैलाई होचो देख्ने अनि अर्कोलाई अग्लो देख्ने विभेदपूर्ण चिन्तन पनि मानसिक समस्याको कारण हो । कुनै पनि काम वा तह सानो वा ठूलो हुने गर्दैन । बरु सबै तह र उचाइहरू मिलेर नै समाजले समग्रता हासिल गर्ने सोचाईलाई प्रवद्र्धन गर्न जरुरी छ । मानसिक समस्याका लक्षण देखिए चिकित्सकको परामर्श लिनुलाई अपराध ठान्ने सोचाइबाट समाजलाई मुक्त गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *