भर्खरै :

सोभियत सङ्घका मार्सल जुकोभको सम्झना र संस्मरणबारे चर्चा–६

मार्सल जुकोभलाई ‘विजयका मार्सल’ भनेर बोलाइन्थ्यो । आप्mनो जीवनकालमा थुप्रै उपाधिहरूमा उहाँ विभूषित बन्नुभयो । सोभियत सङ्घका नायक, लेनिनको सच्चा शिष्य या अनुयायी, सदा विजयी, अक्टोबर क्रान्तिका रक्षक, सोभियत सङ्घका रातो झन्डा आदि उपाधिले सम्मान गरियो । आप्mनो सैन्य जीवनकालमा उहाँले शाही रुसी फौज हुँदै सोभियत लालसेना र सोभियत सैन्यशक्तिमा रहेर जनताको सेवा गर्नुभयो । उनलाई दिइएका महत्वपूर्ण जिम्मेवारीमध्ये किभ सैन्य क्षेत्र, आडेसा सैन्य क्षेत्र, पहिलो बेलारुसी मोर्चा, लेनिनग्राद मोर्चा, सोभियत मोर्चा, सोभियत पश्चिमी मोर्चाहरू उल्लेखनीय र ऐतिहासिक छन् । जहाँबाट नाजी जर्मनी सेना, इटालीयाली फासीवादी सैन्य आक्रमणहरूलाई जुकोभको नेतृत्वले परास्त पारेको थियो ।
उहाँ पहिलो विश्वयुद्धदेखि दोस्रो विश्वयुद्धसम्म युद्धमैदानमा हुनुहुन्थ्यो । रुसी गृहयुद्ध अर्थात् देशभक्तिपूर्ण आन्दोलनबाट अनुभव प्राप्त गरी सन् १९३९ मा सोभियत जापानी द्वन्द्व खाल्खीन गोलको युद्धमा बहादुरीपूर्वक लड्नुभयो । दोस्रो विश्वयुद्धमा ब्रोडीको लडाइँ, १९४१ यल्न्याको भिडन्त, मस्कोको ऐतिहासिक विजयी युद्धमा मार्सल अग्रपङ्क्तिमै हुनुहुन्थ्यो । उहाँ सन् १९४२ को स्तालिनग्रादमाथि जर्मन नाजीहरूको हमलाविरुद्ध इस्पात बनेर खडा रहनुभयो । युरानसको भिडन्त, मार्स, इस्क्रा, पोलार स्टारमा शत्रुको हमलाविरुद्ध प्रतिरोधमा खरो उत्रनुभयो । सन् १९४३ मा कस्र्कमा भएको लडाइँमा उहाँको योगदान इतिहासका पानाहरूमा लेखिएको छ । बाग्रसन, बाल्टिक, भिस्तुला ओडरका भिडन्त, बर्लिन र हङ्गेरियाको सन् १९४५ को लडाइँ या क्रान्तिको इतिहासमा मार्सल जुकोभ बाँच्नुभएको थियो । उहाँले सन् १९५५ फेब्रअरी ९ देखि अक्टोबर सोभियत सङ्घको रक्षामन्त्रीको कार्यभार पनि इमानदारीपूर्वक सम्हाल्नुभयो । स्तालिनको मृत्युलगत्तै उहाँले महत्वपूर्ण जिम्मेवारी बहन गर्नुभएको थियो । लेनिन र स्तालिनका उहाँ जीवनपर्यन्त एक सच्चा अनुयायी बनेर बाँच्नुभएको अनुभव पुस्तकका पछिल्ला अध्यायहरूमा अझ बढी हुन्छ ।
मार्सल शाही सेनाबाट सोभियत सङ्घको कम्युनिस्ट सेनासम्मको जिम्मेवारीमा रहँदा एउटा असाध्यै असमान, गरिबी र दरिद्र देशलाई एउटा आर्थिकरूपले अगाडि बढेको विकसित देशमा कम्युनिस्टहरूको नेतृत्वले रूपान्तरण गरेको आप्mनै आँखाले देखेको बताउनुहुन्छ । समाजवादी व्यवस्थाले गरेको औद्योगीकरण, आधुनिकीकरण, आर्थिक विकासले सैन्य प्रविधि र विज्ञानलाई सहयोग मिलेको तथ्यसहित बोल्नुभएको छ । त्यतिमात्र होइन, सेनाभित्र कम्युनिस्ट विचारको प्रवाह, जनतामा नेतृत्वप्रतिको सम्मान र भरोसा, नेतृत्वको सैद्धान्तिक अडान र नेतृत्व कौशलको कारण अन्यायपूर्ण युद्धहरूले हार्नुको विकल्प थिएन भन्नुहुन्छ जुकोभ ।
लेनिनग्राद (हाल सेन्टपिटर्सवर्ग) को लागि भएको लडाइँबारे मार्सल जुकोभले विशेष स्मरण गर्नुभएको छ । लेनिनग्राद सङ्घर्ष देशभक्तिपूर्ण सङ्घर्षको सिलसिला थियो । त्यसले सम्पूर्ण सोभियत जनताको हृदयमा देशभक्तिको भावना सञ्चार गरेको थियो । लेनिनले नेतृत्व गर्नुभएको विश्वकै पहिलो समाजवादी राज्यको राजधानी थियो लेनिनग्राद । सोभियत सरकार गठन भएपश्चात् त्यही राज्यले सम्पूर्ण रूसको आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासको मोडल तयार ग¥यो । देशको सैद्धान्तिक र व्यावहारिक नेतृत्व लेनिनग्रादबाट भयो । लेनिनग्राद वास्तुकला, चित्रकला, मूर्तिकला, भव्य स्मारक, अद्वितीय बगैँचा, सङ्ग्रहालय, पार्कको निम्ति विश्वकै उत्कृष्ट नमुना मानिन्छ । लेनिनको नेतृत्वमा लेनिनग्राद अझ भव्य बन्यो । नाजीहरू आप्mनो फाइदाको लागि रूसका औद्योगिक सहरहरूमा हमला गर्दै, बन्दरगाहमा आक्रमण गर्दै थिए । लेनिनग्राद राजनीतिक, आर्थिक र नैतिकरूपले नै धेरै महत्वको क्षेत्र भएरै नाजी जर्मनीले लडाइँको सुरुआत ग¥यो ।
दोस्रो विश्वयुद्धको समयमा फिनल्यान्ड सोभियत रूसविरुद्ध लड्दैथियो । नाजी जर्मनीले लेनिनग्राद कब्जा गरी फिनिस फौजसँग मिल्ने योजना बनाएको थियो । लेनिनग्राद ढलेपछि नाजी जर्मनीलाई विश्वयुद्ध जित्छु भन्ने लागेको थियो । सोभियत सङ्घको लागि लेनिनग्राद गुम्नु भनेको युद्धका सम्पूर्ण रणनीति र योजनाको साँचो हराउनु जत्तिकै हुन्थ्यो ।
लेनिनग्रादको भिडन्तमा एकातिर नाजी फौज र अर्कोतिर फिनिस फौज सोभियत फौजविरुद्ध युद्ध गर्दै थियो, चारैतिरबाट घेर्दै थियो । अवस्था संवेदनशीलमात्र थिएन, कष्टसाध्य पनि थियो । लेनिनग्रादलाई चारैतिरबाट नाकाबन्दी गरियो । इस्टोनिया जस्ता ठूल्ठूला क्षेत्रमा भोकप्यास नभनी लडेका कमान्डर र फौज लेनिनग्रादमा लड्दै थिए । यद्यपि, हरेक दिन अवस्था नाजुक बन्दै गयो । मस्कोदेखि लागोडा तालसम्म प्लेनको यात्रा राम्रो मौसममा मात्र हुन्थ्यो । त्यतिबेला पानी परिरहेकै बेला कमान्डर र सेनाको टोली लेनिनग्राद पुगे । ज्यान हत्केलामा राखी लड्नु भनेको सायद त्यही थियो ।
मार्सल जुकोभले आफ्नो सम्पूर्ण विवेक र अनुभवलाई लेनिनग्रादको लडाइँमा प्रयोग गर्नुभयो, थुप्रै जुझारु योद्धाहरू लेनिनग्रादमा लड्दालड्दै ढले । ती सबैलाई आत्मीय हृदयले जुकोभ पुस्तकमा सम्झनुहुन्छ । लेनिनग्रादमा हातहतियार आयात गर्ने मुद्दा महत्वपूर्ण बन्यो । ठूल्ठूला राइफल ब्रिगेडदेखि किरोभ प्लान्ट अर्थात् प्रतिकारका लागि बनाइएको ठूलो ट्याङ्कसम्मको कुरा जुकोभले गर्नुभएको छ । नाजीहरूले कारखाना शैक्षिक संस्था, रेल्वे स्टेसन, अस्पताल, सपिङ सेन्टरहरूलाई मुख्य तारो बनाई बम बर्साएको विभत्स घटना जुकोभले सम्झनुभएको छ । सबैभन्दा जीवन्त सडकहरू अर्थात् मानिसहरूको घनत्व बढी हुने सडकहरूमा दनादन गोली हान्नु र बम खसाल्नु नाजीहरूका निम्ति सोखको विषय थियो । लेनिनग्राद नाजीहरूले केही समयका लागि सिज पनि गरिसकेका थिए । त्यसो गर्नुको मुख्य उद्देश्य लेनिनग्रादभित्रका सम्पूर्ण ठूल्ठूला उत्पादन भवन, व्यापारिक र आर्थिक केन्द्र ध्वस्त बनाउनु थियो । त्यतिमात्र होइन लेनिनग्रादको भब्यता र सान खरानी बनाउनु नै नाजीहरूको उद्देश्य थियो ।
सेप्टेम्बर १९४१ देखि लेनिनग्राद सिज गर्न सुरु गरेको थियो । सन् १९४३ को जनवरी १८ मा एउटा साँघुरो बाटो या कोरिडोर निर्माण गर्न लालसेना सफल भयो । लेनिनग्रादमाथि लगाइएको त्यो नाकाबन्दी इतिहासमै सबैभन्दा लामो र अति अमानवीय एवम् ध्वंसकारी थियो । त्यतिमात्र होइन त्यो नाकाबन्दी इतिहासमै सबैभन्दा महँगो पनि साबित भयो ।
विश्वमा लेनिनग्रादको राजनीतिक गरिमा र रुसी अक्टोबर समाजवादी क्रान्तिविरुद्ध फासीवाद र साम्राज्यवादको आक्रामक हमला थियो त्यो । लालसेना रुसी सैन्यशक्ति प्रभावकारी बनिसकेको त्यो अवस्थामा सम्पूर्ण सैन्य मामिला या शक्तिको केन्द्र लेनिनग्राद थियो । सोभियत बाल्टिक क्षेत्रकै महत्वपूर्ण केन्द्र, औद्योगिकीकरण र उत्पादनको केन्द्र थियो । लेनिनग्राद कब्जा गर्नु भनेको रूसको सैन्यशक्ति मुठ्ठीमा लिनु पनि थियो । त्यसकारण, हिटलर अझ लेनिनग्रादप्रति निर्मम बने । विश्वमा युद्धको ताण्डव नाच्दै गरेका हिटलर, मान्छेको रगतले नुहाउन पल्केका नाजी फौजलाई करुणाको अर्थ के ? सोभियत सेना हातहतियारको जोहो र सोभियत जनताको रक्षामा केन्द्रित बने । साँचो अर्थमा लेनिनग्रादको सङ्घर्ष जीवनरक्षाको लडार्इंसँगै समाजवादी मूल्यमान्यता रक्षाको लडाइँ थियो । जुकोभका अनुसार –“युद्धपूर्व लेनिनग्रादमा ३१ लाख ३ हजार रुसी जनता बसोबास गर्थे । उपनगर सहितको गणना गर्दा ३३ लाख ८५ हजार थियो । ४ लाख १४ हजार १४८ बालबालिकासहित १७ लाख ४३ हजार १२९ जना लेनिनग्रादवासीलाई सन् १९४१ जून २९ देखि १९४३ मार्च ३१ सम्ममा आप्mनो जमिनबाट निकालियो । पछि ती भोल्गा क्षेत्र, उर्लास, साइबेरिया र कजाख्स्तानमा रहन गए ।”
लेनिनग्रादमा सन् १९४१ सेप्टेम्बरदेखि भोल्खोभ मोर्चा तैनाथ थियो जसको नेतृत्व किरिल मेरेट्स्कोभले गरेका थिए । रक्षाको मामिला सम्हाल्न ४ वटा आर्मी फौज तयार थियो । २३ आँै आर्मी फौज उत्तरी क्षेत्रमा, ४२ औँ आर्मी फौज पश्चिमी क्षेत्रमा ५५ औँ आर्मी दक्षिण र ७५ औँ आर्मी फौज पूर्वी क्षेत्रमा हमलाको प्रतिकारमा तैनाथ थिए । भोल्खोभ मोर्चाको आठौँ आर्मीलाई लडाइँको मार्ग निर्धारण गर्ने जिम्मेवारी थियो, लाडोगा प्mलोतिल्लासँगको समन्वयमा हातहतियारको व्यवस्थापन गर्नुपर्ने दायित्व थियो । लेनिनग्रादको सैन्य जिल्ला टोली र बाल्टिक फ्लिटको पैदल सेनाका इकाइहरू असाध्यै सक्रिय थिए । जर्मनको बमवर्षाबीच सोभियत सेनाको उपचारमा लागिपरेका नर्स र चिकित्सकहरूलाई जुकोभले सम्झनुभएकोे छ । जर्मनीविरुद्ध लालसेनाले पहिलो पटक जूनमा हमला ग¥यो र सफल भयो । त्यसपछि मार्सल जुकोभ प्रतिकारको नेतृत्वमा खडा रहनुभई करिब “९०० दिन र रात” सेना र जनतालाई लेनिनग्रादमा जर्मन नाजीले थुन्दा, भोकले मर्नुपर्दा, प्यासले स्वास बन्द हुँदा पनि अविचलित भई सोभियत सैन्यशक्तिले लडेका गौरवका पानाहरू जुकोभले स्मरण गर्नुभएको छ ।
लागोडा तालदेखिको सानो र साँघुरो बाटो खोल्न निकै जरुरी थियो लेनिनग्रादका लागि । त्यहीँबाट भित्रका सेनालाई खाना, पानीको आपूर्ति हुन्थ्यो । गुप्त ढङ्गबाट गाउँ–गाउँबाट खाद्यान्न आपूर्ति नगरिएको भए लड्न सकिन्नथ्यो । जनता भोकमरीले दिनदिनै मरिरहेको अवस्था थियो । एकजना ११ वर्षीय तान्या साभिचेभाले तात्कालीन समयको भोक र मृत्युकोबारे डायरीमा लेखेकी थिइन् । भोकले उनको दिदी, हजुरआमा, काकाहरू, आमा सबैलाई मृत्युको मुखमा पु¥यायो । आप्mनो वरपरका सबै मरे । तान्या एक्लै बाँचिन् । उनी पनि लेनिनग्राद सिजपछि ‘प्रोग्रेसिभ डाइस्ट्रोफी’ का कारण मरिन् । तान्याको डायरी तत्कालीन समयमा आम लेनिनग्रादवासीको कहानी थियो । त्यस्तो कहालीलाग्दो अवस्थामा सेना भएर माटो र जनताको जीवन जोगाउने काम गर्नु अत्यन्त कष्टसाध्य अवधि रह्यो । यस्ता सम्पूर्ण घटनाक्रमको शब्ददृश्य पुस्तकमा छ । लेनिनग्रादको मात्र होइन स्तालिनग्राद (अहिले भोल्गोग्राद) को सङ्घर्ष, मस्कोको लडाइँलाई पनि विश्वमा नाजीवादी हमलाको निर्मम दृष्टान्तको रूपमा अध्ययन गरिन्छ ।
सिन्याभिनो प्रतिकार (१९४२) इस्क्रा अपरेसन (१९४४) मार्फत लालसेना जर्मनको सिजलाई कमजोर बनाउँदै थिए । लेनिनग्राद–नोभगोरोद प्रतिकारले अझ बलियो धक्का दियो । सन् १९४४ को वर्षमा फिनिस फौजलाई भिवोर्ग (Vborg) र भुओक्सी नदी पारी लखेट्न लेनिनग्राद र भोल्खोभ मोर्चा सफल भए । सन् १९४४ जनवरी २७ सम्म नाजीहरू पराजित भए र लेनिनग्राद अझ उँचो गौरवका साथ उभियो ।
स्तालिनको नेतृत्वमा भएको सो सङ्घर्ष विश्व फासीवादविरुद्ध बलियो मुक्का साबित भयो । लेनिनका शिष्य स्तालिनको नेतृत्वविना लडाइँ सम्भव थिएन भन्नुहुन्छ जुकोभ । पुस्तकमा जुकोभप्रति स्तालिनको विश्वासबारे चर्चा छ । स्तालिनसँग जुकोभको भेट र कुराकानीलाई महत्वका साथ लेखिएको छ । जुकोभले ठाउँठाउँमा उल्लेख गर्नुभएको छ –“जर्मन नाजीको नाकाबन्दी अर्थात् सिज सहन सजिलो थिएन यदि सेना र जनतासँग आप्mनो भूमिप्रति प्रेम र समाजवादप्रति उँचो आस्था नहुँदो हो त ।”
मार्सल जुकोभले पुस्तकमा रूसको भूमिमा भएका थुप्रै लडाइँहरूको दस्तावेजीकरण गर्नुभएको छ । धेरैधेरै वीर सोभियत सेनाको जीवन योगदान लेख्नुभएको छ । शहिदहरूको कथा लेख्नुभएको छ । युद्धहरूले पु¥याएको अपूरणीय घाउहरूको स्मृति पनि हृदयविदारक हुन्छ, त्यसकारण अन्यायपूर्ण युद्धविरुद्ध नयाँ विश्व अगाडि बढ्नुपर्ने सन्देश दिनुभएको छ । माक्र्सवाद – लेनिनवादको विचार नै विश्व साम्राज्यवाद र फासीवादविरुद्ध लड्ने ससक्त एवम् महत्वपूर्ण हतियार हो भन्ने शिक्षा विश्व कम्युनिस्ट आन्दोलनलाई जुकोभले पुस्तकमार्फत दिनुभएको छ ।
त्यसकारण, यो पुस्तक इतिहासमात्रको फेहरिष्त होइन, युद्धको इतिहासको पुनरावृत्ति हुनसक्ने सम्भावना र इतिहासबाट सिक्नुपर्ने पाठ पनि हो । जुकोभ आपैmले देखेका र भोगेका युद्धमैदानहरूको कथा हो । जुकोभले देखेको सोभियत समाजवादको समृद्धिको शब्ददृश्य हो । १३ वटा अध्यायमा विभक्त यस पुस्तकले लेनिन–स्तालिनकालीन सोभियत जनताको जीवनशैली र पद्दतिलाई शब्दमा उतारेको महसुस हुन्छ । जुकोभ आपूm पनि सैन्य कमान्डरभन्दा पनि एक साधारण सोभियत जनताको गौरव बाँचेको सुनाउनुहुन्छ । देश र जनतामा समर्पित जीवनका केही अध्यायहरू पुस्तकमा सङ्ग्रहित छन् । समाजवाद र कम्युनिस्ट मूल्यमान्यताप्रति जुकोभको झुकाव अनि आस्था कति बेजोडको थियो, पुस्तक अध्ययनबाट थाहा पाइन्छ । मार्सल जुकोभको सम्झना र संस्मरणमा अटेको इतिहास, जीवनहरू, सङ्घर्ष र युद्धहरू, सोभियत सङ्घको आरोह–अवरोह पुस्तकमा प्रतिविम्बित छ । पुस्तकको अध्ययनले बेग्लै ऊर्जा मिल्छ । सारमा पुस्तक अत्यन्तै पठनीय र सङ्ग्रहणीय छ । सैन्यकौशल र सैन्यविज्ञानको ज्ञान मिल्दछ । सही र जनसेवाको विचारले हातहतियारलाई जीवन रक्षामा लगाउँछ, देश निर्माणमा प्रयोग गराउँछ । विध्वंस, हिंसा, उत्पात र उन्मादमा रमाउने साम्राज्यवादीहरूका निम्ति हिजोजस्तै आज पनि हतियार प्रभुत्व र शोषणको माध्यम हो । जुकोभको पुस्तकले यही शिक्षा दिन्छ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *