भर्खरै :

युवालाई विदेश पठाउनु शासक दलको अक्षमता

भक्तपुर, ९ साउन । बाल विकास इंगलिस सेकेण्डरी स्कुलको आयोजनामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेंद्धारा लिखित सय वर्षपछिको भक्तपुर पुस्तकको अन्तरक्रिया कार्यक्रम पुस्तकका लेखककै प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा मन्तव्य राख्नुहँुदै पुस्तकका लेखक तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले सत्तासीन पार्टीका अदूरदर्शी नेतृत्वका कारण देश विकासको गति सुस्त भएको र देशमा भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता मौलाएको बताउनुभयो । उहाँले ठूला भनाउँदा शासक दलहरु देश र जनताको हित गर्नेभन्दा पनि विदेशीको दलाल बनेर देशको सार्वभौमिकता विपरीतका कार्यहरु गरिरहेको बताउनुभयो ।
देशमा प्रचुर सम्भावना हुँदाहुँदै पनि युवाहरुलाई विदेशीको दास बन्न पठाउनु शासक दलहरुको असक्षमता र अकर्मण्यताको प्रमाण भएको बताउँदै रोहितले देशमा सुशासन र दूरदर्शी नेतृत्व स्थापित भएमा आफूले कल्पना गरेको नेपालको मुहार देख्न सय वर्ष कुर्नु नपर्ने बताउनुभयो ।
उहाँले आफूले सय वर्षपछिको भक्तपुरको कल्पना गर्दा कला–संस्कृतिको महत्व नबुझेका शासक प्रशासकहरुले आफूमाथि भक्तपुरका विकासविरोधी र भक्तपुरका जनतालाई संग्रहालयमा थुन्न लागेको आरोप लगाएको कुरा संस्मरण गर्नुभयो ।
उहाँले शासन गर्नेहरुको अदूरदर्शीताले गर्दा हाम्रा परम्परा र सम्पदाहरु विदेशीको सम्पत्ति बनेको दुःख व्यक्त गर्दै उहाँले नयाँ पुस्तालाई कला संस्कृतिको विषयमा राम्ररी प्रशिक्षित पार्नुपर्ने कुरा उल्लेख गर्नुभयो । फरक प्रसंगमा उहाँले शिक्षकहरुले विद्यालय तहदेखि नै विद्यार्थीहरुमा नागरिकको विकास गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले हाम्रा पूर्खाले सिर्जना गरेका कला र संस्कृतिलाई आउने पुस्ताका लागि संरक्षण गरेर राखिदिनु नयाँ पुस्ताको दायित्व भएको बताउनुभयो । चीन, कोरियाजस्ता देशमा प्राचीन कला, सभ्यता र संस्कृति राम्रो संरक्षण भएको चर्चा गर्दै उहाँले शासक दलका नेताहरुमा अध्ययन गर्ने र ऐतिहासिक वस्तुको महत्व बुझ्ने क्षमता नभएकाले देशका भाषा, कला, सभ्यता र संस्कृतिको संरक्षण हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरुले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकका बारेमा आफ्नो अध्ययन निचोड प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *