भर्खरै :

मित्र हुन चाहने व्यक्तिले अप्रिय र तीतो भाषा बोल्दैन

काठमाडौँ, २९ माघ । नेपालमा एउटा उखान चर्चित छ – ‘वनको बाघले नखाए पनि मनको बाघले खान्छ !’ नेपालका वर्तमान र केही पूर्वप्रधानमन्त्रीहरूको मानसिकता त्यही उखानले चरितार्थ गर्छ । तिनीहरू भन्छन्, “हाम्रो देश धेरै गरिब छ यसकारण विदेशीले सहयोग नगरी हामी केही पनि गर्न सक्दैनौँ ।”
प्रधानमन्त्री तथा शासक दलका केही नेताहरूको यस्तो विचार मानसिक दरिद्रताको परिचायक हो । संसार भन्छ – “नेपाल प्राकृतिकरूपले सा¥है धनी र सम्पन्न छ ।” हामै्र ज्येष्ठ बुद्धिजीवीहरू सिंहदरबारलाई देखाउँदै भन्छन्, “सुनको पहाडमा बसी माग्ने सरकार ।”
शासक दलका नेताहरू डराएको चाल पाउनासाथै केही तल्लो स्तरका अमेरिकी अधिकारीहरूले नेपालले एमसीसीमा हस्ताक्षर नगरे राम्रो हुनेछैन भनी धम्की दिए । ती नेताहरू ‘अब त बित्यो, के गर्ने, कसो गर्ने’ भनी थर्कमान भए ।
“सार्वभौम देशले भित्री वा बाहिरी कुनै पनि शक्तिको अगाडि झुक्नु पर्दैन ।” जुन देशको सार्वभौम शक्ति (सरकार) कुनै अरू देशको धम्कीबाट डराउँछ वा झुक्छ, त्यो देश सार्वभौम हुँदैन ।
यहाँ शक्तिको अर्थ सैनिक शक्ति, आर्थिक शक्ति, मित्रहरूबाट मान्यता प्राप्त राजनैतिक शक्ति, कूटनैतिक कुशल, मित्रवत् राज्य व्यवस्थाको शासन, राष्ट्रिय एकता र देश, जनता र सिद्धान्तप्रति निष्ठा हो । यसबाटै कुनै पनि देशले आफूलाई सार्वभौम साबित गर्छ ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रम शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्माओलीलाई टेलिफोनमार्फत “एमसीसी संसद्बाट अनुमोदन नगरे नेपाल र अमेरिकाको सम्बन्धमै असर पर्नसक्ने” धम्की दिए ।
लुले “आफूले दिएको अनुदान सहायता परियोजना फिर्ता भए चीनले हस्तक्षेप गरेको अर्थमा बुझ्ने” भनाइ राखे (अन्नपूर्ण पोष्ट, २८ माघ २०७८) ।
मित्र राष्ट्रको कुनै पनि मन्त्री वा जिम्मेवार व्यक्तिले दुई देशको बीचमा भइरहेको छलफलमा तेस्रो पक्षलाई अघि सार्ने धृष्टता गर्नसक्दैन । एक कूटनैतिक व्यक्तिले त्यस्तो शब्द र वाक्य प्रयोग गर्दैन ।
अमेरिकी राष्ट्रपति ट्रम्पका परराष्ट्रमन्त्री पम्पेओले अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूको भ्रमण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीहरूसँग भएको कुराकानीमा “चिनियाँहरू उपनिवेशवादीहरू हुन्, तिनीहरू राम्रा व्यापार साझेदार हुँदैनन्”, “तिनीहरूसँग व्यापार गर्नुहुन्न” जस्ता कुरा राखेछन् ।
तर, अमेरिकी परराष्ट्रमन्त्रीको त्यस्तो अकूटनैतिक भाषाको जवाफमा ती महादेशका राष्ट्रपति र प्रधानमन्त्रीहरूले भने, “उपनिवेशवाद के हो र उपनिवेशवादीहरू को हुन् भन्ने हामीलाई थाहा छ,” “चिनियाँहरू राम्रो व्यापारका साझेदार हुन्,” “संरा अमेरिकासँग भन्दा चीनसँग व्यापार बढ्दै छ ।”
यस्ता अकूटनैतिक कुराकानीकै कारण हुनुपर्छ, पम्पेओ स्वदेश नपुग्दै उनी संरा अमेरिकाको परराष्ट्रमन्त्री नभएको समाचार सुनियो ।
‘अन्नपूर्ण पोष्ट’ को एउटा समाचारको शीर्षक यस्तो छ, “अमेरिकाले भन्यो– एमसीसी पास नभए सम्बन्धमा असर पर्न सक्छ ।”
२८ माघ २०७८ को ‘नागरिक दैनिक’ ले लेख्यो– “पास नभए चिनियाँ स्वार्थ कारक ठान्छौँ ः अमेरिका ।”
‘मिस्टर’ लुलाई थाहा हुनुपर्छ नेपाल बेलायतसँग लडाइँ गरेको देश हो । बेलायती साम्राज्यवाद एक बेला अमेरिकामाथि शासन गर्ने उपनिवेशवादी देश थियो । साथै, संसारले अमेरिकाको सुरुको इतिहासलाई प्रशंसा गरेको थियो । त्यसबेला संसारको सबभन्दा शक्तिशाली देश बेलायती उपनिवेशवादको विरोधमा स्वतन्त्रता सङ्घर्ष गर्ने देश अमेरिका थियो ।
तर, आज ‘मिस्टर’ लुजस्ता घमण्डी (आरोगेन्ट) ले नेपाललाई सानो र नयाँ देशको रूपमा हेला गरेका छन् । अमेरिका पत्ता लाग्नुभन्दा धेरै शताब्दी पहिलेदेखि नेपाल एक प्राचीन र सुसंस्कृत राष्ट्र हो ।
मित्र देशको योग्य प्रतिनिधिले मात्र मित्रता बलियो बनाउने ढङ्गले वार्ता गर्छ, मित्र हुन चाहने व्यक्तिले अप्रिय र तीतो भाषा बोल्दैन । हेरौँ, संरा अमेरिकी सरकारको प्रतिक्रिया कस्तो आउला ! हाम्रो अगाडि एमसीसीबारे मित्र देश श्रीलङ्काको उदाहरण छ ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *