भर्खरै :

कस्ता बनियाँ निजी स्कूल ?

ललितपुरमा रहेको नेपालकै महँगोमध्येकै एक निजी स्कूलमा केजी (किन्नडर गार्टेन)को प्रवेश परीक्षापछि नाम निकाल्न एक विद्यार्थी सफल भएछन् । केजीमा प्रवेश परीक्षा लिनुहुन्थ्यो वा हुन्थेन भन्नेमा पनि वहस गरौंला । बच्चालाई सो स्कूलमा भर्ना गर्नका लागि अभिभावक जाँदा स्कूलले पहिले अध्ययन गरिरहेको मन्टेश्वरीबाट ट्रान्सफर सर्टिफिकेट ल्याउनू भन्यो । ट्रान्सफर सर्टिफिकेटका लागि त्यो मन्टेश्वरीमा जाँदा त्यसका सञ्चालकले बीचमा बच्चालाई लिएर जान मिल्दैन त्यसैले आगामी चैत मसान्तसम्मको शुल्क तिरेपछिमात्र ट्रान्सफर सर्टिफिकेट दिन्छु भन्यो । उता ट्रान्सफर सर्टिफिकेटबेगर भर्ना लिइन्न भन्ने अडान त्यो महँगो स्कूलको छ । नर्सरीमा ट्रान्सफर सर्टिफिकेट खोज्ने स्कूलको मानसिकता हेरौं । ट्रान्सफर सर्टिफिकेट दिन पढ्नै नपढेको नौ महिनाको शुल्क असुल्न खोज्ने त्यो मन्टेश्वरीका सञ्चालकको दाउ हेरौं । अन्ततः बाध्य भएर अभिभावकले तीन महिनाको शुल्क तिरेर ट्रान्सफर सर्टिफिकेट किनेर लगे र नयाँ स्कूलमा साउन ६ गते शुक्रबार ट्रान्सफर सर्टिफिकेट बुझाए ।
प्याब्सनका एक वरिष्ठ पदाधिकारीले मलाई फोन गरेर यो घटनाक्रमको बारेमा जानकारी दिँदै ती दुई स्कूलको नाम सार्वजनिक नगरिदिन आग्रह गर्नुभयो । उहाँले आफूले पनि स्कूल सञ्चालन गरे पनि यस्तो घटना थाहा पाउँदा निकै लाजै लागेको बताउनुभयो । हो, पक्कै पनि निजी स्कूलका सञ्चालकहरूको यस्तो बनियाँशैली देख्दा सबैलाई लाज लाग्नुपर्ने हो ।
खुलासा !
अभिभावकको आग्रहको कारण मैले ती स्कूलको नाम सार्वजनिक गरेको थिइन । धेरै व्यक्तिहरूले मलाई स्कूलको नाम चाहियो भन्नुभयो । बल्लतल्ल अभिभावकलाई मनाइयो र उहाँहरू नाम सार्वजनिक गरिदिन सहमत हुनुभयो । केजीमा भर्ना हुन आउने नयाँ शिशुसँग ट्रान्सफर सर्टिफिकेट खोज्ने स्कूल रातोब·ला हो र त्यस्तो सर्टिफिकेट लिन चाहने अभिभावकले नौ महिनाको शुल्क तिर्नुपर्ने भनाइ राख्ने मन्टेश्वरी मिक्किज इन्टरनेसनल हो । मेरो हिजोको पोस्टमा धेरैले निजी स्कूललाई सत्तोसराप गर्नुभएको पनि देखे । आवेगमा आरोप प्रत्यारोप गर्नु पनि ठीक हुन्न । सबै निजी स्कूल खराब नै छन् भन्ने पनि होइन । केही गलत प्रवृत्तिले सबैप्रति हेर्ने दृष्टिकोण खराब बनेको पनि हुनसक्दछ । निजी स्कूल खराबै हो भन्ने ठान्ने, तर सामुदायिकमा बच्चा पढाउन मरिगए नमान्ने हामीहरूको सोच पनि उपयुक्त होइन । निजीलाई बहिष्कार गर्ने हो भने सामुदायिकलाई अङ्कमाल गर्नसक्नुपर्दछ । त्यसैले निजी स्कूललाई नियममा ल्याउन तथा कतिपयमा रहेको लूटतन्त्र र छुटतन्त्रलाई नियन्त्रण गर्नु जरुरी छ । त्यसका लागि दबाब चाहिएको छ ।
–प्रकृति अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *