भर्खरै :

कोभिड–१९ को रोकथामको लागि विश्वस्तरीय सहकार्यको आवश्यकता

“जर्मनीमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न उपायहरू अपनाइएका छन् । परम्परागत चिनियाँ औषधि (TCM) र पश्चिमी चिकित्साको संयोजन समावेश गरी अपनाइएका निदान र उपचार कार्यक्रमहरूको कारण अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई अझ राम्रो उपचार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।” जर्मनीको ह्यानोभर मेडिकल स्कूल (MHH) को पुनर्वास केन्द्रका निर्देशक क्रिस्टोफ गुटेनब्रुनरले अप्रिल ६ मा चीन, अमेरिका र युरोपका विशेषज्ञहरूसँग आयोजित कोभिड–१९ उपचारसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी (वेबकास्ट)मा यो विचार व्यक्त गर्नुभएको हो । सो गोष्ठीमा विज्ञहरूले आफ्नो उपचार गर्दाको उपचार अनुभवहरू पनि साटेका थिए । गुटेनब्रुनरले विश्व समुदायले नै एक आपसमा सहयोग र सहकार्यलाई सुदृढ गर्दै एक अर्काको उपचार अनुभवबाट सिक्न आवश्यक रहेको कुरा औँल्याउनुभएको थियो ।
चिनियाँ र पश्चिमी चिकित्साको एकीकृत उपचार
“कोभिड–१९का केसहरू परम्परागत चिनियाँ औषधि (TCM) उपचार पद्धतिअनुसार चिसो–ओस प्लेग (cold–damp plague) भनिने रोगअन्तर्गत पर्दछ भन्ने हामीले पत्ता लगाएका छौँ । चिकित्सकहरूको सल्लाहबमोजिम औषधि सेवन गरेका अधिकांश बिरामीहरूको तीन दिनभित्र ज्वरोको लक्षण उल्लेखनीयरूपमा सुधार भएको छ र ज्वरो आउने औसत समय १.७ दिनमात्र हुने गरी घटेको छ”, चाइनिज एकेडेमी अफ साइन्सेसका प्राज्ञ टोङ सियाओलिनले भन्नुभयो । उहाँले अप्रिल ६ मा भिडियो कन्फरेन्समा भाग लिएर आफ्नो निदान र उपचारको अनुभव साट्नुभएको थियो । उहाँको विचारमा चिनियाँ र पश्चिमी चिकित्साको संयुक्त निदान र उपचार पद्धति चिनियाँ प्रोटोकलको प्रमुख विशेषता हो । कोभिड–१९ विरुद्ध लड्न विश्वव्यापी प्रयासमा यो चिनियाँ योगदान रहेको उहाँले विचार व्यक्त गर्नुभयो ।
परम्परागत चिनियाँ चिकित्सा पद्धतिको राज्यस्तरीय विज्ञ समूहका प्रमुख र चाइना एकेडेमी अफ चाइनिज मेडिकल साइन्सेस (CACMS) का प्रमुख अनुसन्धानकर्ता टोङ केन्द्रीय निर्देशन समूहका विशेषज्ञको रूपमा कोभिड–१९ फैलिरहेको समय अर्थात् चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उहान पुग्नुभएको थियो । सुरूआती समयमा बिरामीको चाप बढ्दै गएको थियो तर उपचार सामग्रीहरूको अभाव रहेको समयमा उहाँले समुदायस्तरका ठूलो मात्रामा परम्परागत चिनियाँ औषधि वितरण गर्ने प्रस्ताव राख्नुभएको थियो । यो कदम बिरामीहरूको सङ्ख्या नियन्त्रण गर्ने अचुक उपाय साबित भयो । “महामारीको फैलावटलाई रोक्नको लागि समुदाय स्तरमा रोकथाम र नियन्त्रणका उपायहरूले रक्षाको पहिलो पर्खाल निर्माण गर्दछ”, टोङले भन्नुभयो । समुदाय स्तरमा फैलिएको प्रारम्भिक चरणमा मात्र नभई नियन्त्रण प्रक्रियाको सम्पूर्ण अवधिमा पनि परम्परागत चिनियाँ चिकित्सा प्रयोग गर्नु महत्वपूर्ण छ, विशेषगरी जबसम्म कुनै वैकल्पिक पश्चिमी औषधि पद्धतिले स्पष्ट उपचारात्मक प्रभाव पार्न सक्दैन र कुनै खोपहरू विकास भएका छैनन् । यो नै सबैभन्दा उत्तम उपाय हो ।
“चीनले परम्परागत चिनियाँ चिकित्सासहित राष्ट्रिय निदान र उपचार पद्धतिको नवीनतम संस्करण अङ्ग्रेजीमा अनुवाद गरिसकेको छ र यसलाई विश्वका सबै देशहरूमा उपलब्ध गराइसकेको छ । युरोप, संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रहरूका विज्ञहरू सम्मिलित कोभिड–१९ उपचारसम्बन्धी धेरै अन्तर्राष्ट्रिय प्राज्ञिक छलफल तथा सम्मेलनहरूमा परम्परागत चिनियाँ चिकित्सा प्रयोग गर्ने मेरो अनुभव साट्न आमन्त्रित गरेका छन् ।”, टोङले भन्नुभयो ।
टोङका अनुसार चिनियाँ उपचार पद्धति समाजको विश्व महासङ्घ (WFCMS) र विश्व फेडरेसन अफ अक्युपङ्क्चर–मोक्सिबस्टन सोसाइटीज (WFAS) ले कोभिड–१९ को अन्तर्राष्ट्रिय रोकथाम र उपचारमा परम्परागत चिनियाँ उपचार पद्धतिको व्यापक प्रचार गर्न सोसम्बन्धी चिकित्सकहरूलाई एकीकृत गर्दै छन् ।

अप्रिल १२ का दिन नान्चाङ्गबाट एम्स्टर्डमका लागि उडेको सियामेन एयरलाइन्सको चार्टर गरिएको B787–900 विमानमा अन्तर्राष्ट्रिय उडानमा उपचारमा प्रयोग हुने सुरक्षाका सामग्री लोड गरिँदै



हालैका वर्षहरूमा युरोपेली देशहरूले चिनियाँ उपचार पद्धति धेरै वटा अनुसन्धान र सेवा संस्थानहरू स्थापना गरेका छन् । उदाहरणका लागि, CACMS र MHH  द्वारा संयुक्तरूपमा स्थापित जर्मन–चिनियाँ एकीकृत चिनियाँ चिकित्सा केन्द्र र CACMS र अस्ट्रियाको ग्राज विश्वविद्यालयद्वारा स्थापित चिनियाँ चिकित्सा विज्ञानका लागि चीन–अस्ट्रियन सहकार्य केन्द्रलगायतका संस्थाहरूमा सम्मिलित विज्ञहरू तथा विभिन्न युरोपेली विश्वविद्यालयहरूमा फार्माकोलजी र अक्युपङ्क्चरको क्षेत्रका विद्वानहरू संयुक्त अनुसन्धानलाई प्रवद्र्धन गर्न प्रतिबद्ध छन् ।
मे ८ मा आयोजित अर्को भिडियो कन्फरेन्समा चिनियाँ र अस्ट्रियाका विज्ञहरूले कोभिड–१९ को चिनियाँ उपचार पद्धति, भाइरसजस्तो कणहरूको निर्माणबारेमा अध्ययन तथा कोभिड–१९ को उपचारका लागि प्रयोग भएका प्याटेन्ट प्राप्त तीनवटा चिनियाँ औषधि तथा तीनवटा चिनियाँ जडीबुटी सूत्रहरूको औषधीय तथा उपचारको वैज्ञानिक परीक्षणलगायतका विषयमा विचार आदानप्रदान गरेका थिए ।
ग्राज विश्वविद्यालयको औषधि विज्ञान संस्थानका निर्देशक र चिनियाँ चिकित्सा विज्ञानका लागि सिनो–अस्ट्रियन कोलाबोरेटिङ सेन्टरका संस्थापक अध्यक्ष प्राध्यापक रुडोल्फ बाउर पनि बैठकमा उपस्थित हुनुभएको थियो । उहाँले परम्परागत चिनियाँ उपचार पद्धतिले कोभिड–१९ विरुद्धको लडाइँमा गरेको राम्रो योगदानको कुरा पुष्टि गर्नुभयो । “परम्परागत चिनियाँ उपचार पद्धतिको धेरै लामो इतिहास छ र महामारी र अन्य सङ्क्रामक रोगहरूको रोकथाम र नियन्त्रणको सन्दर्भमा यसको प्रभावकारिता पुष्टि भइसकेको छ । मलेरियाविरुद्धको लडाइँमा आर्टेमिसिनिनको सफलता र सार्सको रोकथाम र उपचार परम्परागत चिनियाँ उपचार पद्धतिको प्रयोगबाट यो निष्कर्ष निकाल्न सकिन्छ”, प्रोफेसरले भन्नुभयो । उहाँका अनुसार कोभिड–१९ को उपचारमा चिनियाँ उपचार पद्धतिको कुन–कुन तत्वले काम गर्दछ भन्ने पत्ता लगाउन र बिरामीको रोगविरुद्ध लड्न सक्ने शक्ति बढाउन कुन पदार्थले कार्य गर्दछ भन्ने कुरा अनुसन्धानबाट निष्कर्ष आउनेछ भन्नेमा विश्वस्त छ ।
महामारी रोकथाम सामग्रीको विश्वव्यापी आपूर्तिको प्रतिबध्दता
मार्च २० मा पेइचिङमा आयोजित कोभिड–१९ विरुद्ध लड्न इटालीलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने समारोहमा चीनस्थित इटालियन दूतावासका मन्त्री काउन्सुलर इमानुएल डे माइग्रेटले चाइना मेहेको (MEHECO) कम्पनीका अध्यक्ष गाओ युवेनलाई युरोपेली स्तरका १० लाख मेडिकल मास्क समयमै हस्तान्तरण गरेर लिएकोमा कृतज्ञता व्यक्त गर्दै कसिलोसँग हात मिलाउनुभएको थियो ।
पाँच दिनअघि इटालियन सिभिल प्रोटेक्शन एजेन्सीले ःभ्ज्भ्ऋइ लाई ८० लाख युरोपेली स्तरका मेडिकल मास्क उपलब्ध गराउने सम्झौता गरेको थियो । सम्झौतामा पहिलो ब्याचको उत्पादनको डेलिभरी मार्च २४ मा हुने भनिएको थियो । तर, इटालीमा महामारी द्रुतगतिमा फैलिरहेको कारण, इटालियन पक्षले MEHECO  लाई तत्काल फोन गरेर मार्च २० मै डेलिभरी गर्न अनुरोध गरेको थियो ।
महामारी नियन्त्रणका लागि चीनको लडाइँको सबैभन्दा कठिन अवधिमा MEHECO ले इटालीबाट मास्क, सुरक्षात्मक सामग्री र मेडिकल चस्मालगायत सुरक्षा सामग्री आयात गरेको थियो । चिनियाँ पक्षले आफ्नो इटालियन साझेदारको तदारुकतालाई बुझेर उनीहरूले जीवन बचाउने अत्यावश्यक सामग्रीको पहिलो ब्याच सम्बन्धित कम्पनीहरूबाट जतिसक्दो चाँडो डेलिभर गर्ने बन्दोबस्त मिलाउने कुरामा पनि विश्वस्त रहेको कुरा इमानुएल डे माइग्रेटले जानकारी गराउनुभयो । “यो हाम्रा दुई देशबीचको गहिरो मित्रताको प्रतीक हो । इटालीका राष्ट्रपति सर्जियो मटारेल्ला र चिनियाँ राष्ट्रपति सी चिनफिङले यो महामारीविरुद्धको युद्धमा दृढ सङ्कल्पका साथ दुई सरकारहरूले एक आपसमा सहयोग गर्ने विचार आदानप्रदान गरेका छन् । सन् २०२० चीन र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव हो । जनता–जनताको आदानप्रदानको लामो इतिहास भएकोले यी दुई देशबीचको घनिष्ठ सम्बन्धले दुई देशका जनतालाई एकताबद्ध गर्न मद्दत गर्नेछ र उनीहरूलाई महामारी विरोधी लडाइँ जित्न सक्षम बनाउनेछ ।
सङ्कलन गरिएको चिकित्सा सामग्रीलाई लक्षित देशहरूमा समयमै ढुवानी गर्न हरित मार्ग स्थापना गरिएको छ । महामारीको प्रभाव कम गर्न तथा रसदको अन्तर्राष्ट्रिय ढुवानीमा समस्या नआओस् भन्ने हेतुले अन्तर्राष्ट्रिय हवाई क्षमता विस्तार र चीन–युरोप रेलवे एक्सप्रेसको वृद्धि र चीन–अमेरिका सीमापार एक्सप्रेस शिपिंग सेवाहरूमा गरिएको बढोत्तरी यसका उदाहरणहरू हुन् ।
जून ५ मा महामारी रोकथाम र उपभोग्य वस्तुहरूको ८६ वटा कन्टेनर (TEU) लिएर ‘यिवु –मेड्रिड’ चाइना–युरोप रेलवे एक्सप्रेस हड 020 यिवु–पश्चिम रेलवे स्टेसनबाट १३,५०२ कि.मि. टाढा स्पेनको राजधानी – म्याड्रिडको लागि प्रस्थान गरेको थियो । महामारी रोकथामको अन्तर्राष्ट्रिय सहयोगका लागि चीनबाट स्पेन जाने यो नै पहिलो रेल थियो ।
समुद्रबाट ढुवानी गर्न ४० दिन लाग्दछ । यद्यपि, हालको हवाई यातायात तथा समुद्री ढुवानीलाई प्रतिबन्धित गरिएको कारण चीन–युरोप रेलवे एक्सप्रेस अपेक्षाकृत छिटो र सस्तोमा हुने ढुवानी हो । यसले यात्राको समयलाई २० दिनमा घटाएर आधा पारेको कुरा चीन रेलवे कन्टेनर यातायात (CRCT) को साङ्घाई शाखाका महाप्रबन्धक लिउ सिलिनले भन्नुभयो । यो ट्रेनमा लगभग २ करोड ५० लाख ५ हजार वटा सर्जिकल मास्क, ४ लाख सेट सुरक्षात्मक लुगाहरू र अन्य सामग्रीहरू गरी जम्मा २५७ टन तौलका सामग्रीहरू थिए ।
बढ्दो विश्वव्यापी महामारीको समयमा चीनले धेरै देश र क्षेत्रहरूलाई आफ्नो अनुभव र योजनाहरूको बारेमा बिना कुनै पूर्वाग्रह जानकारी दिँदै सहयोग र सहायता प्रदान गर्ने प्रयास गरेको छ । जून ७ मा राज्य परिषद्को सूचना कार्यालयले पेइचिङमा ‘कोभिड–१९ को युद्धः चीनका कार्यहरू’ नामक श्वेतपत्र जारी गरेको छ । मे ३१ सम्ममा चीनले १५० वटा भन्दा बढी देशहरू र चारवटा अन्तर्राष्ट्रिय संस्थाहरूलाई भौतिक सहायता प्रदान गरेको छ भने २७ वटा देशहरूमा महामारीसम्बन्धी विज्ञ समूहहरू पठाएको छ र १७० भन्दा बढी देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग १८० भन्दा बढी भिडियो सम्मेलनहरू आयोजना गरेको छ । त्योबाहेक पनि चीनका स्थानीय सरकारहरू, उद्यमहरू, निजी संस्थाहरू साथै व्यक्तिहरूसमेत सबैले सक्रियरूपमा अन्तर्राष्ट्रिय अनुदानका हात बढाए । यसैबीच, चीनले चीनमा अन्य राष्ट्रहरूको व्यापारिक खरिद कार्यमा पनि सुविधा दिँदै २०० भन्दा बढी देश तथा क्षेत्रहरूमा महामारी रोकथामका सामग्रीहरू निर्यात गरेको छ । मार्च १ देखि मे ३१ सम्ममा चीनले ७० अर्ब ६० करोड मास्क र ३४ करोड सेट सुरक्षात्मक कपडा निर्यात गरेको थियो । यी सबै तथ्यहरूले चीनले एउटा प्रमुख जिम्मेवार राष्ट्रको रूपमा आफ्नो विश्वव्यापी जिम्मेवारी बहन गरेको मात्र नभई अन्य धेरै देशहरूसँगको मित्रता र व्यावहारिक सहयोगलाई पनि प्रवद्र्धन गरेको स्पष्ट पारेको छ ।
खोपको विकासमा सहयोगको प्रतिबद्धता
विश्व नै अहिले चाँडोभन्दा चाँडो कोरोना भाइरसको खोपको प्रतिक्षामा छ । आधारभूत अनुसन्धान, क्लिनिकल परीक्षणहरू तथा खोप निर्माण र वितरणलगायत खोप विकासका प्रत्येक चरणलाई अन्तर्राष्ट्रिय सहयोगले गति दिनसक्ने भएकोले चाँडोभन्दा चाँडो खोप उपलब्ध गराउन तथा सबैलाई खोपको पहुँचको ग्यारेन्टी गर्न सरकार, अन्तर्राष्ट्रिय संस्थाहरू, गैरसरकारी संस्थाहरू र उद्यमहरूलाई अन्तर्राष्ट्रिय समुदायले बृहत् दबाब सृजना गर्दै आएको छ ।
जून ४ मा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा ग्लोबल भ्याक्सिन समिट २०२० आयोजना गर्नुभएको थियो । भिडियो सम्मेलनको क्रममा उहाँले शिखर सम्मेलनको उद्देश्य कोभिड–१९ विरुद्धको खोपको पहुँच सुनिश्चित गर्न, विशेषगरी खोपको विकास, उत्पादन र वितरणलाई तीव्रता दिनको लागि योसँग सम्बन्धित संस्था ‘खोप र रोग प्रतिरोध लागि विश्व गठबन्धन (GAVI)’ को लागि कोष जुटाउनु हो भनी औँल्याउनुभयो । शिखर सम्मेलनले ३२ वटा दाता सरकारहरू र १२ वटा फाउन्डेसन, निगम र संस्थाहरूबाट कुल ८ अर्ब ८० करोड डलर सङ्कलन गरेको छ, जुन ३० करोड बालबालिकालाई खोप लगाउन र कोभिड–१९ विरुद्धको विश्वव्यापी लडाइँलाई समर्थन गर्न प्रयोग गरिनेछ ।
बैठकमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि मन्तव्य दिनुभयो । उहाँले महामारी विरुद्धको लडाइँ समाप्त नभएको र चुनौतीहरू गम्भीर रहेको अवस्थामा यो खोप भाइरसविरुद्धको शक्तिशाली ढाल भएको बताउनुभयो । चीनले विश्व स्वास्थ्य सङ्गठनलाई खोपको अनुसन्धान र विकासमा समन्वय गर्ने, धेरै क्षेत्रहरूमा केन्द्रित क्लिनिकल परीक्षणहरूलाई प्रवद्र्धन गर्ने तथा विश्वलाई सुरक्षित, प्रभावकारी र उच्च गुणस्तरको सार्वजनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउँदै विकासशील देशहरूमा खोपको पहुँचका लागि केन्द्रीय भूमिकामा रहेर सहयोगलाई जारी राख्नेछ ।GAVI ले चीनसँग राम्रो सम्बन्ध राखेको छ र चिनियाँ खोप र यसको अन्तर्राष्ट्रिय अनुप्रयोगहरूलाई समर्थन गर्न लगानीसमेत गरेको छ । कोभिड–१९ को चुनौतीको सामना गर्दै चिनियाँ सरकारले गठबन्धनको कोष चक्रमा लागि सहयोग प्रदान गर्ने तथा चिनियाँ अनुसन्धान तथा विकास संस्थाहरू र खोप उत्पादकहरूलाई गठबन्धनसँगको सहयोग सुदृढ गर्न प्रोत्साहित गरेको छ । साथै खोपको प्रयोगलाई प्रवद्र्धन गर्न GAVI लाई महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्न इच्छुक छ । चिनियाँ सरकारले विश्व समुदायप्रतिको आफ्नो प्रतिबद्धता पूरा गर्न र ‘स्वास्थ्यको विश्वव्यापी समुदाय’ निर्माण गर्न महत्वपूर्ण कदमहरू चाल्नेछ । सहभागीहरूले बहुपक्षीय सहयोग क्षेत्रमा चीनले खेलेको अनुकरणीय भूमिकाको प्रशंसा गरेका थिए ।
GAVI का सीईओ डा. सेठ बर्कले एक महामारीविद् हुनुहुन्छ । उहाँ लामो समयदेखि विश्वव्यापी अनुसन्धान र खोपको प्रवद्र्धनमा प्रतिबद्ध हुनुहुन्छ । उहाँले भन्नुभयो, “विगत केही महिनाहरूमा एउटा कुरा स्पष्ट भएको छ कि यो रोगले देशहरूको सिमानालाई चिन्दैन, त्यसैले यो विश्वव्यापी समस्याको लागि विश्वव्यापी समाधान चाहिन्छ ।”
स्रोतः चाइना टुडे
अनुवादः एस. दुवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *