भर्खरै :

त्रिविमा तालाबन्दीका कारण शैक्षिक क्यालेन्डर पालना गर्न चुनौती

काठमाडौँ, २ फागुन । त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झन्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक सङ्घसङ्गठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्यालयमा तालाबन्दी भएको छ । गत माघ ६ गतेदेखि हालसम्म एउटा विद्यार्थी सङ्गठनले एकाइ समितिको नामबाट र गत हप्तादेखि आंशिक शिक्षकका नाममा तालाबन्दी कायमै छ ।
तिनै तालाबन्दी गर्ने समूहले त्रिविको शैक्षिक क्यालेन्डर निश्चित नभएको, परीक्षाको नतिजा समयमा प्रकाशन नभएको र त्रिविको गुणस्तर खस्कँदै गएको भन्दै विरोध गरिरहन्छन् । विश्वविद्यालयमा निरन्तर तालाबन्दी गराइनुका साथै पदाधिकारीका कुर्सी जलाउने, तोडफोड गर्ने र आफ्नै दैवतुल्य गुरुलाई अशिष्ट व्यवहार गर्ने मात्र नभएर विश्वविद्यालय परिसरमा मरणासन्न हुने गरी साङ्घातिक हमला गरी आफ्ना गुरुलाई अपाङ्ग बनाउने कार्य पनि सो विश्वविद्यालयमा भएको छ ।
विश्वविद्यालयले प्रधानमन्त्री एवं त्रिविका कुलपति, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति र तालाबन्दी गर्ने विद्यार्थी सङ्गठनको केन्द्रीय नेतृत्वसमेतलाई विशेष आग्रह गर्दै आएको छ । यसको अलावा गत हप्ता आंशिक शिक्षकको नाममा लगाइएको तालाबन्दीलाई सम्बोधन गर्न पूर्वगठित वार्ता समितिलाई जिम्मा दिएको छ । आंशिक शिक्षकको समस्यालाई समाधान गर्न पहिले जारी गरेका प्रतिबद्धताअनुरुप त्रिवि आंशिकलाई सम्बन्धित क्याम्पसबाटै आन्तरिक व्यवस्थापन गर्दै जाने, सेवा आयोगद्वारा नियमित विज्ञापन गरी आंशिकलाई स्थायी हुने अवसर प्रदान गर्दै जाने र २०७४ सालमा नेपाल सरकारले स्वीकृत गरेको एक हजार ४२० दरबन्दीलाई आवश्यक पर्ने आर्थिक स्रोतका लागि निरन्तर सरकारसँग पहल गरी आर्थिक स्रोत उपलब्ध हुनासाथ खुला प्रतिस्पर्धामार्फत आंशिक शिक्षकलाई स्थायी हुने अवसर प्रदान गर्ने विश्वविद्यालय नेतृत्वको प्रतिबद्धता छ ।
तालाबन्दी र अनसनको आडमा वा तालाबन्दीको दबाबमा विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाब दिई आंशिक शिक्षकलाई स्वतः करार सेवामा, करार सेवा प्रवेशपश्चात् स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अब उप्रान्त कदापि स्वीकार नगर्ने स्पष्ट पारेको छ । मुलुकका ७६ जिल्लामा फैलिएको र उच्च शिक्षामा झन्डै ८० प्रतिशत भार बोकेको यो विश्वविद्यालय शिक्षा क्षेत्रमा गरेको योगदान, पहुँच र विस्तारका दृष्टिले अग्रणी मानिन्छ ।
पदाधिकारी नियुक्तिको पाँच महिना नपुग्दै विश्वमा देखिएको महामारीको प्रकोप, देशैभरि लागू गरिएको बन्दाबन्दी, विद्यार्थी, शिक्षक, कर्मचारीमा उत्पन्न भएको त्रासले विश्वविद्यालयको पठनपाठनलाई वैकल्पिक विधिबाट निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि हाल एकै समयमा दुई लाख ४१ हजार शिक्षक विद्यार्थी माइक्रोसफ्ट टीममा जोडिन सक्ने स्थिति निर्माण भएको विश्वविद्यालयले जनाएको छ ।
“खुला प्रतिस्पर्धामार्फत आफूलाई अब्बल साबित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुचि राख्ने, सृजनशील, लगनशील, अनुशासित शिक्षकलाई त्रिविले सदैव स्वागत गर्दछ”, त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “निकट भविष्यमा नै देशको झन्डै ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको त्रिविलाई हालको नेतृत्वले एक विशिष्टीकृत विश्वविद्यालयका रूपमा रुपान्तरण गरी यसको साखलाई अझ समृद्ध बनाउन लागिपरेको अवस्थामा प्रवेश परीक्षा र भर्ना प्रक्रिया, सेवा आयोगमार्फत दक्ष जनशक्ति छनोट प्रक्रियाका साथै विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण एवं त्रिविलाई एक विशिष्टीकृत विश्वविद्यालयको रूपमा रुपान्तरण गर्ने कार्यमा नै असर गर्ने गरी अनावश्यक र असान्दर्भिक माग राखेर त्रिविमा निरन्तर तालाबन्दी गर्नुका पछाडिको उद्देश्यमा कतै प्राज्ञिकभन्दा भिन्नको तत्वले सक्रियता बढाइरहेको त छैन भन्ने गम्भीर आशङ्का सिर्जना गरेको छ ।”
विश्वविद्यालयले सुधारका लागि त्रिविले अघि सारेको यस कार्यलाई सार्थक रूप दिन र त्रिविमा बारम्बार हुने तालाबन्दीलाई सदाका लागि अन्त्य गर्न सबै विद्यार्थी सङ्गठन, प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ, विभिन्न वैचारिक सङ्गठन, नागरिक समाज, शिक्षाविद् र अधिकारकर्मीलाई अपिल गरेको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *