भर्खरै :

सीआईए र रअले नेपालमा के के गर्दै छन् ?

अमेरिकी गुप्तचर संस्था सीआईएले विश्वलाई अमेरिकाको छत्रछायामा राख्न खोजिरहेको छ । यो उद्देश्य प्राप्त गर्न विश्वमा अमेरिकाले अरू देशमाथि हदैसम्मको दमन गरिरहेको छ । अमेरिकाले पहिलेको समाजवादी देश सोभियत सङ्घलाई विघटन गर्नुका साथै त्यहाँको समाजवादी व्यवस्थालाई पुँजीवादमा रूपान्तरण गरिदियो । सोभियत सङ्घबाट टुक्रिएका १५ वटा राज्यहरू पुनर्मिलनमा नआऊन् भनी अमेरिकाले विभिन्न मुद्दाहरू उठाइरहेको छ । युक्रेन र रुसको लडाईँ गराएर त्यसको निहुँमा त्यहाँ सेना राखेर हतियारको व्यापार गर्दै छ संरा अमेरिका ।
कज्जाखस्तानमा पनि आन्तरिक विद्रोह गराएर अमेरिकाले हतियार बेच्ने र सेना राख्ने चाल बुन्दै छ, रुसलाई कमजोर बनाउन युक्रेनलाई बलियो पार्ने काम गर्दै छ । यसबारे विश्वका शासकहरू सचेत हुनैपर्छ । रुसमा फेरि समाजवाद स्थापना नहोस् भनेर पुँजीवादलाई नाङ्गोरूपमा प्रयोग गरिरहेको छ । मिखाइल गोर्भाचोभको ऐतिहासिक भूलले रुस र रुसी नागरिकहरू नारकीय जीवन बिताउँदै छन् ।
अमेरिकाले उत्तर कोरिया र क्युवामाथि आर्थिक नाकाबन्दी गरेर पञ्चशीलको भावनाविपरीत त्यहाँका नागरिकहरूको अधिकार खोस्ने काम गरेको छ । त्यस्तै भेनेजुयला, बोलिभिया, निकारागुवा, मेक्सिको, सिरिया, इराक, लिवियाजस्ता देशहरूमाथि पनि अमेरिकी स्वार्थ पूरा गर्न सीआईएले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । चीन र रुसबीचको एकता भाँड्न र ती देशहरूलाई आर्थिकरूपले र आणविक अस्त्रमा कमजोर बनाउन विभिन्न बहानामा झूटको खेती गरिरहेको छ । अमेरिकाले विश्वका जनताको शिरमा बमबारुद प्रहार गर्दै आउँदा पनि बेलायत, फ्रान्स, जर्मनी, अष्टे«लिया, भारतजस्ता शक्तिशाली देशले अमेरिकालाई नै सघाइरहेका छन् । यो जनताको प्रजातन्त्र र समाजवादलाई कमजोर बनाउन अमेरिकाले खेलेको भूमिका हो ।
एमसीसी परियोजना अमेरिकी गुप्तचर संस्था–सीआईएको आडमा चलाइएको संस्था हो । यसले गरिब राष्ट्रलाई झन् गरिब र परतन्त्र बनाउन रूपैयाँको गुलियो विष देखाउँदै छ । एमसीसी पास गर्दा देशको सार्वभौमिकता कमजोर हुने र पास नगर्दा नेताको कुर्सी तथा ज्यानको खतरा हुने धम्की अमेरिकाले दिएकोले पनि यो परियोजना देश र जनताको हितमा छैन । सीआईएले अमेरिकालाई विश्वमा बलियो बनाउन नेपालका दलालको प्रयोग गर्दै छ ।
‘रअ’ भारतीय गुप्तचर संस्था हो । यो सन् १९५९ देखि १९६२ सम्म भारत र चीनबीचको लडाईँपश्चात् भारतले चीनसँग पराजित भएपछि १९६८ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्धिरा गान्धी नेहरूले सैनिक जनरलहरूको सल्लाहमा स्थापना गरेको संस्था हो । यसले स्थापनाकालदेखि भारतलाई बलियो बनाउन विश्वका देश र छिमेकी देशहरूलाई गरिब र परनिर्भर बनाउन गतिविधि गरिरहेको छ ।
छिमेकी देशहरू भुटान, नेपाल, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का, बङ्गलादेश र म्यानमारमा अशान्ति, गरिबी, भोकमरी हुनुमा भारत र त्यसको गुप्तचर संस्था ‘रअ’ को महत्वपूर्ण भूमिका रहेको छ । यसको स्थापनापश्चात् पाकिस्तानबाट बङ्गलादेश टुक्रियो । त्यस्तै सिक्किमलाई भारतमा गाभियो । श्रीलङ्कामा तमिल विद्रोह गराइयो । म्यानमारमा पनि भारतले प्रत्यक्ष अप्रत्यक्ष विभिन्न देशघाती गतिविधि गर्दै आएको छ ।
नेपालमा मोहनशमशेर राणालाई प्रधानमन्त्रीको लोभ देखाएर सन् १९५० को सन्धि गराइयो । नेपाली काङ्ग्रेसलाई सत्तामा पु¥याउने आश देखाएर कोसी सम्झौता गराइयो ।
राजा महेन्द्रको २०१७ साल पुस १ गतेको कदम टिकाउन कालापानीमा भारतीय सेना राखियो । गिरिजाप्रसाद कोइरालाको सरकार टिकाउन टनकपुर सम्झौता गराइयो । महाकाली नदीमा कब्जा जमाउन मदन भण्डारी र जीवराज आश्रितको हत्या गराएर एमालेको प्रस्तावमा महाकाली प्याकेज पारित गराइयो ।
कथित माओवादी जनयुद्धलाई सहयोग गरेर नेपालको राजतन्त्र र राजा वीरेन्द्रको वंशनाश ‘रअ’ कै षड्यन्त्रमा गराइयो । नेपालका दलहरूलाई सत्ताको लोभ देखाएर नागरिकता कानुन, लगानी बोर्ड ऐन, अपर कर्णाली र अरूण जलविद्युत् आयोजना लिने काम ‘रअ’ कै सहयोगमा लिइएको छ ।
नेपालमा उच्चपदस्थ राजनैतिक कार्यकर्ता, कर्मचारी, सुरक्षा निकायका प्रमुखहरूले भारतीय राजदूतावासबाट ‘रअ’ कै सिफारिसमा थुप्रै पैसा खान्छन् भन्ने समाचार छ । मधेश आन्दोलन पनि भारतले नेपाललाई कमजोर बनाउन प्रयोग गरेको प्रस्ट छ । अहिले नेपाललाई एमसीसी सम्झौता गराएर नेपालको जलविद्युत् कब्जा गर्न भारत र त्यसको ‘रअ’ संस्था लागिपरेका छन् । सरकारले सीआईए र रअबाट सचेत भई एमसीसी खारेज गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *