‘धेरै ठुलो कुरा नगरेर सानो काम गरेर पनि जनताको सेवा गर्न सकिन्छ’
- असार ९, २०८३
भक्तपुर, १० साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले मंगलबार बिहान एक कार्यक्रमबीच भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका (साविकको सुडाल गाविस) जोड्ने गोसं पुल उद्घाटन गर्नुभयो ।
भक्तपुर जिल्ला समन्वय समिति र स्थानीय जनताको संयुक्त पहलमा सो पुल निर्माण भएको हो । सो पुल निर्माण गर्न जम्मा एक करोड ६० लाखको लागत इस्टमेट भएको र दुई वर्षअघि भण्डारा थुतुङ एण्ड श्यामबाबु जेभी कम्पनीले एक करोड २४ लाख रुपैयाँमा ठेक्कामा निर्माण ठेक्का लिएको थियो । कम्पनीले १२ लाखको पहिलो किस्ता लिई काम समेत शुरु गरिसकेको थियो । तर कम्पनीले सो पुलको निर्माण अघि बढ्न नसकेसम्म लामो समय निर्माण कार्य लथालिङ अवस्थामा रह्यो । सो विषयमा स्थानीय जनताले पटक पटक सम्बन्धित सरकारी निकाय र कम्पनीसमेतलाई तोकता गरे तापनि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन ।
लामो प्रयासपश्चात पनि पुल बन्ने संकेत नदेखिएपश्चात स्थानीय जनताको श्रमदान र आर्थिक चन्दा संकलनबाट सो पुल निर्माण कार्य सम्पन्न भएको हो । स्थानीय नेतृत्वअनुसार हालसम्म ८२ लाख ७५ हजार रुपैयाँबाट जिल्ला समन्वय समितिले भुक्तानी दिएको तर ९० लाख रुपैयाँ खर्च भइसकेको छ ।

निर्माण ठेक्काले ८ लाख ६१ हजार ९ सय २८ बराबरको जरिवाना तिर्नुपर्ने तर सो कार्यबाही नभएको बताइएको छ ।
मंगलबारको पुल उद्घाटनमा प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद आचार्य, स्थानीय विकास अधिकारी धु्रव कोइराला, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईलगायत स्थानीय व्यवसायी, जनताको उपस्थिति थियो ।
Leave a Reply