भर्खरै :

टोखामा १५ औँ नेपालभाषा साहित्य तःमुंज्या “एमसीसी परियोजना अनुदान होइन लगानी हो”

काठमाडौँ, ७ फागुन । जनसाहित्य समाज टोखाको आयोजनामा टोखाको थनेलाछीमा १५ औंँ नेपालभाषा साहित्य तःमुंज्या शनिबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उहाँले भन्नुभयो, “एमसीसी परियोजना अमेरिकी स्वार्थ पूरा गर्न ल्याइएको लगानी हो, अनुदान होइन ।”
एमसीसीको पक्ष लिने प्रतिगामी र देशद्रोही तथा विरोध गर्नेहरू देशभक्त र प्रगतिशील हुने विचार व्यक्त गर्दै उहाँले एमसीसी सम्झौता साम्राज्यवादी देश अमेरिकाको सैन्य मोर्चाको अङ्ग हो भन्नुभयो ।
देश र जनताको हकहित तथा सन्तुलित विकासको निम्ति नेमकिपाले आवाज उठाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले कालापानीमा रहेको भारतीय सेना फर्काउन सरकारले कुनै भूमिका निर्वाह नगरेको हुँदा भारतीय पक्षले महाकाली नदी मिचेर तटबन्ध बनाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले एमसीसी सम्झौता देशघाती र देशभक्तबीचको लडाइँ हो भन्नुभयो । एमसीसी सम्झौता पारित भए नेपाल अमेरिकाको औपनिवेशिक देश हुने उहाँले बताउनुभयो ।
उक्त सम्झौता खारेज गर्न नेमकिपाले निरन्तर सङ्घर्ष गरिरहेको चर्चा गर्दै उहाँले भनपाले विदेशी सहयोगविना सम्पदा संरक्षण गरिरहेको विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले देशघाती एमसीसी सम्झौताका मतियारहरूलाई आगामी निर्वाचनमा हराएर सजाय दिनुपर्ने बताउँदै एमसीसी सम्झौता संसदमा पेश गर्ने र पारित हुन नदिन संसद् बैठक बसेको हरेक दिन वानेश्वरमा देशभक्त नेपालीले धर्ना दिइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेश सभासद् सुरेन्द्र गोसाईले देशमा वास्तविक प्रजातन्त्र अझै आएको छैन, कामदार जनताको प्रजातन्त्रको निम्ति अझै सङ्घर्ष आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा जनकवि चन्द्रबहादुर उलक, सजीव श्रेष्ठ, शिवप्रसाद सापकोटालगायत स्थापित साहित्यिक व्यक्तित्व तथा नयाँ साहित्य सर्जकहरूले रचना पाठ गर्नुभएको थियो । कार्यक्रम जनसाहित्य समाज टोखाका अध्यक्ष काशीलाल डगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा इ. राजदास श्रेष्ठले पनि बोल्नुभएको थियो ।
स्थानीय ज्येष्ठ नागरिक तेजबहादुर डंगोलद्वारा उद्घाटन भएको उक्त कार्यक्रममा नेमकिपा टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोल, मिर्मिरे साकोस टोखाका अध्यक्ष कृष्णमान श्रेष्ठ, नाटेश्वर साकोस टोखाका अध्यक्ष बाबुकाजी डंगोल, गणेश इङ्गलिस स्कूल टोखाका प्रिन्सिपल विशोक डंगोल र बाल विकास क्लव टोखाका अध्यक्ष विश्वास डंगोलले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तःमुंज्याको बीचबीचमा नेपालभाषा, नेपाली भाषा र तामाङ भाषामा प्रगतिशील गीतसङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । तःमुंज्यामा प्रतियोगितात्मक साहित्यतर्फ रमेश महर्जनको कविता उत्कृष्ट, प्रेम के. निडरको कविता सान्त्वना र संगम डंगोलको बाल कविता सान्त्वना परेको थियो ।
‍‍‍‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *