भर्खरै :

देश खरानी भएपछि पछुताएर के गर्ने ?

आफ्नो देशलाई स्वाधीन र सार्वभौम ठान्ने देशका प्रजातान्त्रिक र कम्युनिस्ट पार्टीहरू विदेशी शक्तिसामु झुक्दैनन्, विदेशीको उठबसमा चल्दैनन् । आफ्नो देशलाई सर्वोपरि ठानेर नै ती शासक र ठूला दलका नेताहरू जनतासामु हामी विदेशीपरस्त छैनौँ, विदेशीसामु झुक्दैनौँ, विदेशीसँग सम्झौता गर्दैनौँ भनी फुक्छन् र जनताको विश्वास जित्छन् । तिनीहरू नेपालीको भाग्य निर्माण नेपालले नै गर्ने हो, सरकार गठन पनि नेपालले नै गर्ने हो भनी उद्घोष गर्छन् । नेपालीको समस्या नेपालले नै समाधान गर्ने हो, नेपालको आन्तरिक विवाद नेपालले नै सुल्झाउने हो भन्ने ती दलका नेताहरू व्यवहारमा त्यसको ठीक उल्टो काम गर्छन् । देशमा उठेको जल्दोबल्दो राष्ट्रिय मुद्दाको निर्णय पनि तिनीहरू विदेशीको दबाब या आदेशमा गर्न पुगे । एमसीसी सम्झौता संसद्मा दर्ता गर्नु यसको पछिल्लो दृष्टान्त हो । यो देशको विडम्बना हो ।
नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताका सर्तहरू सार्वजनिक भएलगत्तै यो देशघाती सम्झौता हो, खारेज गर्नुपर्छ भन्यो । सम्झौता खारेज नगरेको कारण राजधानीलगायत देशका विभिन्न जिल्लामा आन्दोलन छेड्यो र त्यो क्रम चालु छ । यसरी नेमकिपाले सुरूदेखि नै स्पष्ट धारणा राख्यो र त्यो धारणा जनतामाझ पु¥याउने काम ग¥यो । तर, आफूलाई एमालेभन्दा फरक धार देखाउने, कम्युनिस्ट ठान्ने माओवादी केन्द्र र एकीकृत समाजवादीले लामो समयसम्म स्पष्ट धारणा राखेनन्, लामो समयसम्म आफू पनि अन्योलमा रहे, अरूलाई पनि अन्योलमा राखे । एमसीसीबारे समयमै दलको आफ्नो स्पष्ट धारणा राख्न नसक्नु र कुनै राजनीतिक निर्णय नगर्नुको कारण के ? अमेरिकी सरकारको धम्कीपूर्ण आदेशलाई शिरोपर गरेर आखिरमा एमसीसी सम्झौता संसद्मा पेश गर्ने सहमति जनाउनु के विदेशपरस्त काम होइन ? अमेरिकाको आदेशपछि एमसीसी सम्झौताबारे राजनीतिक निर्णय गर्नु के आफ्नो दलको सिद्धान्त र विचार बन्धक राख्नु होइन ? दबाबपछि राजनीतिक निर्णय गर्ने सत्तारूढ दलका नेताहरूको सैद्धान्तिक र राजनीतिक स्तरको उचाइ घटेको छ ।
एमसीसी परियोजना संसद्मा पेश गरे पनि सत्तारूढ दलका नेताहरूले अहिले पनि सम्झौताका सर्तहरू संशोधनविना पारित नगर्ने आश्वासन बाँडिरहेका छन् । तिनै दलका नेताहरूले सम्झौतामा मतदान गर्नुपरे सांसदहरूलाई नै जिम्मेवारी दिने कुरा पनि फलाकिरहेका छन् । पार्टीले सांसदहरूलाई जिम्मा दिएपछि पार्टीको धारणा कसरी स्पष्ट हुन्छ ? के एउटै पार्टीको एमसीसी ठीक र बेठीक हुन्छ ? पार्टीले ठीक, बेठीक या बहिष्कार के गर्ने हो स्पष्ट पार्नुपर्छ । सार्वभौम देश नेपाल कुनै देशको औपनिवेशिक बन्नु हुँदैन, देशको कुनै दल विदेशी शक्ति राष्ट्रको कठपुतली बन्नुहुँदैन । यसरी नै विदेशी शक्ति राष्ट्रकै तजबिजमा देशका दलका नेताहरू लागिरहे नेपालको स्थिति के होला ? नेपालको राजनीति पछि कसको हातमा जाला ? चिन्ताको विषय छ । एमसीसी सम्झौता हुनेबित्तिकै अमेरिकी सेना नेपाल पस्ने होइन । तर, अमेरिकी सेना पस्ने बाटो खुल्छ । नेपाली भूमिमा अहिले नै परेड खेल्छ भन्ने होइन । तर, भविष्यमा परेड खेल्छ । युद्ध अहिले नै हुने होइन तीन–चार दशक या त्यो भन्दा अघि पछि हुन्छ । जुनबेला एमसीसी सम्झौतामा हस्ताक्षर गरेका शासक र ठूला दलका नेताहरूले प्राण त्यागिसकेका हुन्छन् । के त्यसबेला नयाँ पुस्ताले पछुताएर साध्य हुन्छ ? त्यसबेला नयाँ पुस्ताले देशका नेताहरूलाई धिक्कारेर के गर्ने ? देश खरानी भइसकेपछि पछुताएर के गर्ने ? बेलैमा चेत होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *