भर्खरै :

बीआरआई र एमसीसी सम्झौता कसका हुन् ?

संसारको राजनीति दुई खेमामा विभाजित छ । उत्पादन गर्ने भूमि, उद्योगधन्दा, कलकारखाना, उच्चपदस्थ जागिर, निर्माण कम्पनीका मालिक, ठूल्ठूला व्यापारी, निर्यातकर्ता महाजनहरू, औषधि व्यवसायीहरू आदि उत्पादनको साधनमाथि हैकम राख्नेहरू पुँजीपति वर्गमा पर्छ । जमिन जोत्ने किसान (मालिकत्व नभएका), मजदुर, निम्नस्तरका कर्मचारी, निर्माण कम्पनीमा काम गर्ने ज्यामी, पसलहरूमा राखिएका कामदार, निर्यातकर्ताका कुल्लीहरू, औषधि व्यवसायका स्रोत सङ्कलक आदि जो काम गरेमात्र खान पाउँछन्, उनीहरूको हातमा कुनै कुराको अधिकार हुँदैन । शोषित पीडित वर्ग, समाजवादका पक्षधर श्रम बेचेर जीवन चलाउने निम्न वर्ग हुन् । यसरी समाजमा पुँजीवादी वर्ग र कामदार शोषित वर्ग विद्यमान छन् ।
अहिले विश्वमा यिनै दुई वर्गको झगडा भइरहेको छ । पुँजीपति वर्ग धनको आडमा बाँच्ने गर्छ । उसले जे गरेर पनि पैसा नै ठूलो मान्छ । उसले धनको अगाडि अरू केही देख्दैन । हरेक कुरालाई धनसँग दाँज्ने वा तुलना गर्ने गर्दछ । धन कमाउने क्रममा जङ्गलको मूल्यवान जडिबुटी, काठ, सुरा सुन्दरी, ठूल्ठूला मदिरा व्यापारी, दलाली, अपहरण, मानव बेचबिखन, जुवातास खेलेर, घुसखोरी, भ्रष्टाचार आदि गरेर पैसा कमाइन्छ । उसले देश, सेवा, सद्भाव, इज्जत, मानमर्दन, आफ्नो पराइ केही हेर्दैन, धनमात्र हेर्छ । धनलाई मानवतामा साटफेर गर्दछ भने यसलाई पुँजीपति वर्ग भन्न सुहाउँछ । उसले हतियारको व्यापार गर्न अरूको आपसी लडाइँ रच्दछ । हिजोआज चलेको रुस र युक्रेनको विवाद पुँजीपति वर्गको खेल हो । त्यहाँका जनताको मतलब छैन । हतियार बेचेर पैसा कमाउने कसरत भइरहेको छ । नाफाको लागि काम गर्ने पक्ष पुँजीवाद हो ।
अर्काे वर्ग हो, निम्न वर्ग, कामदार वर्ग, शोषित पीडित वर्ग, काम गरेर खान पाउने र नगरे भोकै बस्ने वर्ग । जोसँग इज्जत, सम्मान, मायाममता, मानवीयता, सहयोगी भावना, देशको माया, जनताको सेवा आदि हुन्छ । जो आफूजस्तै अरूलाई सम्झेर सेवा भावमा समर्पित हुन्छ ।
संसारमा यिनै पुँजीवादी र निम्न वर्गको लडाइँ भइरहेको छ । पुँजीवादको नेतृत्व अमेरिका, बेलायत, भारत आदि देशहरूले गरिरहेका छन् भने निम्न वर्गको नेतृत्व चीन, उत्तर कोरिया, क्युवा आदि देशले गरिरहेका छन् । जुन देशको नागरिकमा समानता, श्रमको मूल्य, मर्यादित काम, सेवाका विषय निःशुल्क छन् ती देशहरू समाजवादमा विश्वास गर्छन् ।
जुन देशमा नाफा, असमानता, श्रमको अवमूल्यन र अमर्यादित काम हुन्छ, ती देशहरूमा पुँजीवादको नेतृत्व छ । जहाँ सार्वजनिक सेवाको व्यवस्था व्यक्तिको अधीनमा हुन्छ त्यहाँ पुँजीवाद हुन्छ । यसैले एमसीसी परियोजना पनि पुँजीवादी देशले गरिब देशहरूमाथि कब्जा गर्ने बलियो हतियार हो । यसलाई अमेरिकाले ल्यायो । नेपालका पुँजीपति वर्गले यसको समर्थन गरेको हो । यिनीहरू देश छाड्छन्, तर एमसीसी छाड्न चाँहदैनन् ।
बीआरआई समाजवादी देश चीनले ल्याएकोले यसको पक्षमा विश्वका समाजवादी विचारका देश र पार्टीहरू छन् । हाम्रो देशको स्रोत र साधन प्रयोग गरी देशको उन्नति गर्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *