भर्खरै :

कोलम्बसदेखि अहिलेसम्मको भूमण्डलीकरण– १

(एरिक तुसाँ राजनीतिशास्त्रका विज्ञ हुन् । उनी बेल्जियमस्थित सीएडीटीएमका अध्यक्ष पनि हुन् । सीएडीटीएमकोे अर्थ तेस्रो विश्वका देशहरूको ऋण मिनाहा गर्नको निम्ति खोलिएको समिति भन्ने हुन्छ । साम्राज्यवादी देशहरूको ऋण पासोबारे तुसाँले अनेक प्रसिद्ध पुस्तकहरू लेखेका छन् । यो आलेखमा एरिक तुसाँले १५ औँ देखि २१ औँ शताब्दीसम्मको पुँजीवादी भूमण्डलीकरणका नाटकीय असरहरू समेटेका छन् ।)
१४९२ अक्टोबरमा क्रिस्टोफर कोलम्बस जहाजी यात्रा गरेर क्यारिबियाली समुद्रको एउटा टापुमा पुगे । यसैको प्रभावबाट भूमण्डलीकरण सुरु भयो । अमेरिकी जनताको इतिहासमा युरोपली समुद्री शक्तिहरूको क्रुर र रगतपच्छे हस्तक्षेप सुरु भयो । त्यसबेलासम्म युरोप, अफ्रिका र एसियासँगको नियमित सम्बन्धहरूबाट अमेरिका सुरक्षित थियो । स्पेनी हमलाकारी र उसका सहयात्री पोर्चुगल, बेलायत, फ्रान्स र हल्याण्डले मिलेर अमेरिका भनिने पूरै भूभाग कब्जा गरे । (सुन र चाँदीजस्ता) प्राकृतिक सम्पदाहरू खोस्न तिनीहरूले असङ्ख्य आदिवासी जनताको हत्या गरे । यति नै बेला युरोपेली शक्तिहरूले एसियाली भूभाग कब्जा गर्न थाले । त्यसपछि तिनीहरूले अष्ट्रेलिया कब्जा गरिभ्याए र अन्तमा अफ्रिका हत्याए ।
स्पेनी र पोर्चुगलीहरूले मध्य र दक्षिण अमेरिकामा क्रुर हस्तक्षेप गर्नुभन्दा ठीक अघि सन् १५०० मा यो क्षेत्रमा कम्तीमा १ करोड ८० लाख बासिन्दा थिए । केही लेखकले १० करोड मानिस थिए भनी लेखेका छन् । एक शताब्दीपछि ८० लाख मान्छे मात्र बाँकी रहे । युरोपेली आप्रवासी र प्रथम अफ्रिकी दासहरूको सङ्ख्या पनि जोडेर ८० लाख पुगेको थियो । क्यारिबियाली समुद्रका धेरैजसो टापुका सम्पूर्ण रैथाने जनतालाई सोत्तर पारियो । सम्झिनुपर्ने कुरा के छ भने लामो समयसम्म युरोपेलीहरूले अमेरिकी आदिवासी जनतालाई मान्छे नै मान्दैनथे । मान्छे नै नमानेपछि शोषण र मारकाटलाई सही ठह¥याउन सजिलो भयो । यसमा उनीहरूलाई भ्याटिकनका मठाधीशहरूको पूर्ण साथ थियो ।
उत्तर अमेरिकामा १७ औँ शताब्दीमा युरोपको उपनिवेशी शासन सुरु भयो । बेलायत र फ्रान्सले यसको नेतृत्व गरेका थिए । १८ औँ शताब्दीमा उनीहरूले तीव्र गतिमा आफ्नो भूभाग बढाए । यसबीच उनीहरूले अत्यन्त धेरै अफ्रिकीहरूलाई दास बनाएर त्यहाँ लगे । आदिवासी जनतालाई तिनले सखाप पारे वा युरोपेलीहरू बस्ने इलाकाभन्दा बाहिर धपाए । सन् १७०० मा आदिवासी जनसङ्ख्या कुल जनसङ्ख्याको तीन चौथाइ थियो । सन् १८२० मा तिनको जनसङ्ख्या घटेर ३ प्रतिशत भयो । अमेरिकालाई जबरजस्ती विश्व व्यापारमा नजोड्दासम्म अन्तरमहादेशीय व्यापारका मुख्य खम्बा चीन, भारत र युरोप थिए । युरोप र चीनबीच जमिन र (कालो सागर हुँदैै) समुद्री मार्गबाट व्यापार हुन्थ्यो । युरोप र भारतलाई जोड्ने मुख्य व्यापार मार्गमा भूमध्य सँगर, अलेक्जेन्ड्रिया, सिरिया, अरबी उपमहाद्वीप र अरबी सँगर पर्थे । उत्तर–पश्चिम भारतको गुजरात, केरला र दक्षिण–पश्चिम भारतको क्यालिकट वा कोचिन बन्दरगाहबाट यो बाटो सुरु हुन्थ्यो । भारतले चीन र युरोपबीच हुने व्यापारमा सक्रिय भूमिका खेल्थ्यो ।

समुद्री यात्राको क्रममा क्युवाको उत्तरी तटमा पुगेको कोलम्बसको जहाज


१५ औँ शताब्दीसम्म प्राविधिक प्रगतिको लागि युरोप एसिया र अरब विश्वबाट लगेको प्रविधिमा आश्रित थियो । १५ औँ शताब्दीको अन्त्यमा र १६ औँ शताब्दीमा व्यापारले अरू बाटोहरू लिन थाल्यो । जेनोवाबासी क्रिस्टोफर कोलम्बसले स्पेनी मुकुटको सेवा गर्दै आन्ध्र महासागर पश्चिमबाट छिचोलेर अमेरिका जाने समुद्री बाटो खोले । यति नै बेला आन्ध्र महासागरलाई दक्षिणबाट छिचोलेर भास्को दा गामा भारत पुगे । अफ्रिकाको पश्चिम किनार हुँदैै उनी उत्तरबाट दक्षिणतिर लागे र दक्षिण अफ्रिकाको केप अफ गुड होप पुगेपछि पूर्व लागे ।
फर्डिनान्ड म्यागेलानले स्पेनको झन्डा फहराउँदै सन् १५१९ मा इस्ट इन्डिज यात्राको नेतृत्व गरे । यात्राको योजना उनकै थियो । प्रशान्त महासागर तरेर उनले व्यापारको समुद्री मार्ग पत्ता लगाए । यो मार्गको नाम उनकै नाममा राखियो । आन्ध्र महासागरबाट एसिया पुग्ने बाटो उनले बनाए । यो यात्रामा पृथ्वीको पहिलोचोटि फेरो मारियो । (अहिले फिलिपिन्समा पर्ने) म्याकटनको लडाइँमा सन् १५२१ मा म्यागेलान मारिए । पाँचमध्ये दुइटा जहाज सन् १५२२ मा स्पेन फर्के ।
स्पेनी र पोर्चुगली राजमुकुटको सेवामा कोलम्बस, भास्को दा गामा र फर्डिनान्ड म्यागेलानले मारकाट, जबरजस्ती र डकैतीको सहारा लिए । मुख्य तरिका यही थियो । त्यसपछिका शताब्दीहरूमा युरोपेली शक्तिहरू र तिनका सेवकहरूले आतङ्क, हत्या र डरधम्कीलाई व्यवस्थित बनाए । यसको लागि तिनले स्थानीय मतियारहरू खोजे । कब्जा, आप्रवासी र युरोपेली पुँजीको कोर्राले हिंस्रक तवरले आफ्नो इतिहास मोडिएको विश्वभरि अनेक मानिसहरूले देखे । अन्य मानिसहरूले अझ भयानक दुर्भाग्य भोगे । तिनीहरू नामेट भए वा तिनको देश विदेशीहरूको खटनमा गयो । केहीलाई एउटा महादेशबाट अर्कोमा दासको रूपमा जान बाध्य पारियो, तिनको जरा उखेलियो ।
क्राइष्टेली १५ औँ शताब्दीअघि इतिहासमा कब्जा, दमन र पाशविकताले धेरै समय रजाइँ ग¥यो । त्यसबेला यस्ता घटनाले विश्वका कुनाकाप्चा छोएका थिएनन् । तर, पछिल्लो पाँच शताब्दीमा युरोपेली शक्तिहरूले पूरै विश्व कब्जा गर्न थाले र पाँच शताब्दीमा क्रुर तरिकाले तिनीहरूले संसारका झन्डै मानिसहरूलाई जोडे । यति नै बेला पुँजीवादी विचारले अन्य सबैथरी उत्पादनका तरिकालाई दबायो । उसले तिनलाई नामेटै भने पारेन ।
भास्को दा गामाको दोस्रो यात्रा (१५०२)
भास्को दा गामाले सन् १४९७–१४९९ मा भारतको पहिलो यात्रा गरेका थिए । पोर्चुगलको राजदरबारले उनलाई बीसवटा जहाज लिएर फेरि भारत जान भन्यो । १५०२ फेब्रुअरीमा उनी लिस्बनबाट हिँडे । पन्ध्रवटा जहाज फर्के । तर, उनको काकाले नेतृत्व गरेका पाँचवटा जहाज फर्केनन् । तिनलाई भारतस्थित पोर्चुगली आधार इलाकाहरूको सुरक्षा गर्न र रातो सागरतिर आउने जहाजहरू छेक्ने जिम्मा दिइएको थियो । पछि बसेका जहाजको काम व्यापारिक मार्ग बन्द गर्नु थियो । जुन महिनामा दा गामा केप पुगे । पूर्वी अफ्रिकाको सोफालामा सुन किन्न रोकिए । किलवामा उनले स्थानीय शासकहरूलाई वार्षिकरूपमा सुन र मोतीहरू दिन बाध्य पारे । (क्यालिकटबाट ७० किलोमिटर उत्तर, आजभोलिको कोझिकोद) कानानोर नजिकै दा गामाले रातो सागरबाट फर्किरहेका अरबी जहाजहरू ढुकेर बसे । मक्काबाट फर्केको तीर्थालु र बहुमूल्य मालताल बोकेको जहाज लुट्ने योजना थियो । प्रशस्त मालताल खोसेपछि जहाजमा आगजनी गरियो । जहाजका सबै कामदार र तीर्थालुहरू आगोमा डढेर मरे । त्यसपछि दा गामा कोनानोरमा ओर्ले । त्यहाँ स्थानीय शासकसँग उनले उपहार आदानप्रदान गरे । सुन दिएर बहुमूल्य धातुहरू पाए । व्यापार गरेको भए मसालाहरूको मूल्य तिर्न नसक्ने देखेर उनले यो उपाय अपनाएका थिए । अनि उनी कोचिन वा आजको कोचीतिर लागे । क्यालिकटमा उनका जहाजहरू रोकिए । त्यहाँका शासकलाई उनले मुसलमान व्यापारी समुदाय (४ हजार घरधुरी) लाई देशबाट धपाउन भने । ती व्यापारीहरूले रातो सागर क्षेत्रसँग व्यापार गर्न क्यालिकट बन्दरगाहलाई आधार बनाएका थिए ।

भास्को दा गामाको सम्मानमा १९६९ मा जारी गरिएको ५० इस्कुडोसको सिक्का


१५ औँ शताब्दीको अन्त्यमा विश्वको पुँजीवादी व्यापारीकरणले ठूलो ऊर्जा पायो । त्यसपछि यो क्रम चलिरह्यो । १९ औँ शताब्दीमा पश्चिम युरोपबाट औद्योगिक क्रान्ति अन्त प्रसार भयो । पूरै अफ्रिकालाई युरोपेली शक्तिहरूको उपनिवेश बनाए । पहिलो विश्वव्यापी आर्थिक सङ्कट १९ औँ शताब्दीको आरम्भमा आयो । उद्योग, वित्त र व्यापारमा यसले सङ्कट ल्यायो । २० औँ शताब्दीमा दुई विश्वयुद्ध देखापरे । युरोप त्यसको मुहान बन्यो । साथमा समाजवाद लागू गर्ने पहिलो असफल प्रयास गरियो । १९७० को दशकमा विश्व पुँजीवाद नवउदारवादतिर ढल्कियो, चीन र सोभियत सङ्घको प्रभावमा रहेका क्षेत्रहरूमा पुँजीवादको पुनःस्थापना भयो । यी घटनाले भूमण्डलीकरणलाई थप ऊर्र्जा दिए ।
हिन्दु राजा समुद्रले भास्को दा गामाको प्रस्ताव मानेनन् । त्यसैले दा गामाले अर्का पोर्चुगल जहाजीको बाटो पछ्याउँदै सहरमाथि बमबारी गरे । पोर्चुगली जहाजी पेद्रो काबालले सन् १५०० मा क्यालिकटमाथि बमबारी गरेका थिए । नोभेम्बरमा दा गामा कोचिनतिर लागे । त्यहाँ उनले डुबेको जहाबाट लुटेको चाँदी, तामा र लुगाफाटो दिएर मसलाहरू किने । कोचिनमा एउटा स्थायी व्यापारिक इलाका बनाइयो । पोर्चुगेली व्यापारिक स्वार्थको रक्षा गर्न पाँचवटा जहाज त्यहीँ छोडियो ।
भारतबाट पोर्चुगलतिर लाग्नुअघि दा गामाको जलबेडामाथि तीसवटा जहाजले आक्रमण गरे । हमलाको खर्च क्यालिकटका मुसलमान व्यापारीहरूले दिएका थिए । पोर्चुगालीहरूले बमबारी गरेर हमलाकारीहरूलाई हराए । फलस्वरूप क्यालिकटका मुसलमान व्यापारी समुदायले आफ्ना क्रियाकलाप अन्तैबाट गर्ने निधो गरे । ती जलयुद्धहरूले भास्को दा गामा र पोर्चुगली जहाजीहरूको हिंस्रक र आपराधिक प्रवृत्ति छर्लङ्ग पार्छन् ।
१५०३ अक्टोबरमा दा गामा लिस्बन फर्के । उनीसँग तेह्रवटा जहाज र झन्डै १७०० टन मसला थियो । १५ औँ शताब्दीको अन्त्यतिर त्यति नै मसलाहरू भेनिसले मध्यपूर्वबाट आयात गरेको थियो । भेनिसका व्यापारीहरूले भन्दा पोर्चुगेलीहरूले यो व्यापारबाट धेरै नाफा कमाए । उनीहरूले ल्याएको मसला एनत्वेर्प हुँदैै युरोपमा बिक्री गरियो । एनत्वेर्प नेदरल्यान्डको बन्दरगाह थियो र त्यतिबेला नेदरल्यान्ड स्पेनको उपनिवेश थियो । युरोपका अन्य बन्दरगाहको तुलनामा अधिकांश मसला एनत्वेर्पबाटै बिक्री भयो ।
टाढाटाढा पुगेर समुद्री मार्गहरू खोज्नेमा युरोपेलीहरू मात्र थिएनन् । तर, उनीहरू सबैभन्दा आक्रामक र कब्जाकारी थिए । भास्को दा गामाको यात्राभन्दा धेरै दशकअघिको कुरा हो । सन् १४०५ देखि सन् १४३३ को बीचमा चिनियाँ यात्रीहरूको सातवटा दल पश्चिमतिर लागेको थियो । ती दलहरूले इन्डोनेसिया, मलेसिया, भारत, श्रीलङ्का, अरब उपमहाद्वीप (हर्मुज जलडमरु र रातो सागर), अफ्रिकाको पूर्वी किनार (मोगादिशु र मालिन्दी) पुगेका थिए ।
सम्राट योङलीको पालामा मिङ जलसेना बलियो थियो । जहाज मात्रै पनि ३८०० वटा थिए । त्यसमध्ये १३५० वटा जहाजले गस्ती गर्थे । १३५० वटा सैन्य जहाज थिए । तिनले प्रतिरक्षा र आफ्नो हितको रक्षा गर्थे । नानकिङमा ४०० वटा ठूला जलबेडा तैनाथ थिए । ४०० वटा मालसामानका जहाज थिए । तिनले अन्न पैठारी गर्थे । विशेष जहाज २० भन्दा बढी थिए । तिनलाई ठूलो आकारको लडाइँका लागि तयार राखिएको हुन्थ्यो । यी जहाजहरू दा गामाका जहाजभन्दा पाँचगुणा ठूला थिए । तिनको लम्बाई १२० मिटर थियो र चौडाई ५० मिटर थियो । ठूला जहाजहरूमा १५ वटा हलुका कोठाहरू हुन्थे । त्यसैले बिग्रेको जहाज डुब्दैनथ्यो । बिग्रेको जहाजलाई समुद्रमै मर्मत गर्न सकिन्थ्यो ।
चिनियाँ यात्राहरू शान्तिपूर्ण थिए । सैन्य हिसाबले तिनीहरू बलिया थिए । कसैको आक्रमणलाई राम्रो जवाफ दिन सक्थे । पूरै यात्राको क्रममा तीनचोटि मात्र यस्तो लडाइँ भयो । मसलाको लागि पहिलो टोली भारत पुग्यो । अरू टोलीहरू अफ्रिकाको पूर्वी किनार, रातो सागर र फारसी खाडीतिर लागे ।
यी यात्राहरूको मुख्य उद्देश्य सम्बन्ध सुमधुर बनाउनु थियो । यसको लागि उपहार आदानप्रदान गरिन्थ्यो, चीन आउनेजाने राजदूत वा शासकहरूलाई सुरक्षा दिइन्थ्यो । व्यापार वा सैन्य प्रयोजनका लागि कहिल्यै आधार क्षेत्रहरू बनाउने प्रयास कहिल्यै भएन । औषधिको लागि चिनियाँहरूले नयाँ रुखबिरुवाहरू खोज्दै थिए । एउटा यात्रा टोलीमा १८० वटा वैद्यहरू थिए । यसको उल्टो भास्को दा गामाको पहिलो यात्रामा करिब १६० मान्छे थिए । त्यसमा बन्दुके, सङ्गीतज्ञ र अरबी जान्ने दोभाषे थिए । सन् १४३३ पछि चिनियाँहरूले लामो समुद्री यात्रा गर्न छोडे । त्यसपछि तिनले देशको आन्तरिक मामिलालाई प्राथमिकता दिन थाले ।
सन् १५०० मा जीवनस्तर दाँज्न मिल्ने थियो
१५ औँ शताब्दीको अन्त्यतिर पश्चिम युरोपेली शक्तिहरूले विश्व कब्जा गर्न सुरु गरे । त्यतिबेला युरोपेली जीवनस्तर र विकासस्तर विश्वका अन्य ठूला क्षेत्रका जनताकोभन्दा माथि थिए । पक्कै पनि चीन पश्चिम युरोपभन्दा धेरै अर्थमा माथि थियो । जनताको जीवनस्तर, विज्ञान, पूर्वाधार, कृषि र कारखानामा चीन पश्चिम युरोपभन्दा अगाडि थियो । जीवनस्तर र उत्पादनको गुणस्तरमा भारत युरोपकै हाराहारीमा थियो । भारतको लुगा र फलाम युरोपको उत्पादनभन्दा गुणस्तरीय थियो । दक्षिण अमेरिकी एन्डीज पहाडको इन्का सभ्यता र मेक्सिकोको अजटेक सभ्यता हराभरा र उन्नत थिए ।
विकासलाई नाप्दा हामी एकदम सावधान हुनुपर्छ । जीडीपी वा कूल गार्हस्थ उत्पादनको हिसाब मात्र लगाउनु हुँदैैन । यसरी नै हिसाब गरे पनि र त्यसमा औसत आयु र उपलब्ध खानाको गुणस्तर थप्ने हो भने युरोपेलीहरू माथि थिएनन् । अरूलाई कब्जा गर्नुअघि युरोपेलीहरूको जीवन विश्वका अन्य ठूला भूभागका बासिन्दाभन्दा गतिलो थिएन ।
युरोपेलीहरू आउनुअघि एसियाली देशहरूबीचको व्यापार
सन् १५०० मा एसियाको जनसङ्ख्या पश्चिम युरोपको भन्दा पाँचगुणा बढी थियो । भारतकै जनसङ्ख्या पश्चिम युरोपको भन्दा दोब्बर थियो । भारतको बजार धेरै ठूलो थियो । एसियाली व्यापारीहरू पूर्वी अफ्रिका र पश्चिम भारतबीच, पूर्वी भारत र इन्डोनेसियाबीच ओहोरदोहोेर गर्थे । मलक्का जलडमरुभन्दा पूर्वको व्यापारमा चीन हावी थियो । मलक्का सुमात्रा र मलेसियाबीच पर्छ ।
एसियाली व्यापारीहरूलाई मौसमी वायुको ज्ञान थियो । तिनीहरूलाई भारतीय महासागरमा समुद्री यात्रा गर्दाका कठिनाइहरू थाहा थियो । यस भेगमा प्रशस्त अनुभवी जहाजीहरू थिए । तिनीहरूसित खगोलविज्ञान र जलयात्रासम्बन्धी वैज्ञानिक साहित्यको ढुकुटी थियो । जलयात्रामा प्रयोग हुने यन्त्रहरूको हिसाबले तिनीहरू पोर्चुगलभन्दा पछाडि थिएनन् ।
पूर्वी अफ्रिकादेखि मलक्कासम्म व्यापारीहरूका विभिन्न समुदायले एसियाली व्यापार धानेका थिए । तिनीहरू हतियार वा हतियारबन्द जहाजबिना व्यापार गर्थे । सरकारले त्यसमा हस्तक्षेप गर्दैनथ्यो ।
पोर्चुगली, डच, अङ्ग्रेज र फ्रान्सेलीहरूले अपनाएको विधिले ठूलो हेरफेर आयो । तिनले राज्य र व्यापारीहरूको स्वार्थअनुसार काम गर्थे । समुद्रको बाटो हुँदैै युरोपेली शक्तिहरू एसियाका विभिन्न भागमा जाने क्रम बढ्यो । (तालिकामा यसको जानकारी छ ।) १६ औँ शताब्दीतिर अन्य युरोपेली शक्तिभन्दा पोर्चुगल एसियामा अगाडि थियो । अर्को शताब्दीमा डचहरू अगाडि आए । १८ औँ शताब्दीसम्म तिनकै दबदबा चल्यो । अङ्ग्रेजहरू दोस्रो शक्ति थिए ।
अनुवाद : संयम

Leave a Reply

Your email address will not be published. Required fields are marked *