भर्खरै :

एमसीसी सम्झौताविरुद्ध जुलुसमा देशभक्त विद्यार्थी

काठमाडौँ, १२ फागुन । भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विज्ञान सङ्कायकी विद्यार्थी प्रमिला बुढा बिहीबार मिनभवन नगएकी भए उनी आफ्नो विद्यालयको विज्ञान प्रयोगशालामा भ्यागुतो चिर्दै हुन्थिन् । जीवविज्ञानको पाठ्यक्रमअन्तर्गत प्रयोगशालामा भ्यागुतोको शरीर विज्ञान (एनाटोमी) बुझ्ने बिहीबारको पाठ योजना थियो । तर, यतिबेला देशभर निकै चर्चामा रहेको एमसीसी सम्झौताको विरोधमा आयोजित जुलुसमा सहभागी बन्न आफ्ना साथीहरूले आह्वान गरेपछि प्रमिला कक्षाका सहपाठीहरूसँगै मिनभवन पुगिन् । मिनभवनको कालोपत्रे सडकमा उनी र साथीहरू हातमा रङ्गीन प्लेकार्डसहित नारा लगाउँदै थिए । उनीहरूले बोकेका प्लेकार्डमा अङ्ग्रेजी शब्दमा विभिन्न रङका थरी–थरी नारा लेखिएका थिए– ‘नो एमसीसी ¤’ (एमसीसी चाहिँदैन ¤), ‘नो मोर भियतनाम ¤’ (अर्को भियतनाम चाहिँदैन ¤), ‘नो मोर इराक ¤’ (अर्को इराक चाहिँदैन), ‘नो मोर सिरिया ¤’ (अर्को सिरिया चाहिँदैन ¤), ‘नो मोर लिविया ¤’ (अर्को लिविया चाहिँदैन ¤) । प्रमिलासँगै थिए– अनिषा लिगल, युनिषा आचार्य, शुभेच्छा खत्री र सविता तिवारी ।
“जुलुस किन आएको ?”
प्रश्न भुइँमा खस्न नपाउँदै प्रमिलाले भनिन्, “देशको माया लागेर ।”
“अमेरिकाले हामीलाई पैसा दिने भनेको छ नि ¤”
“पैसा ठूलो कुरा होइन । हाम्रो देशमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने अमेरिकाले दिने भनेको पैसाभन्दा बढी हाम्रै देशसँग पैसा छ”, विभिन्न जिल्लाका ती छात्राहरू टाठो भएर भन्दै थिए ।
“अमेरिकाले जुन–जुन देशमा एमसीसी सम्झौता लागु ग¥यो, ती देशमा विकासभन्दा बढी विनाश भएको छ”, छात्राहरूको समूहबीचबाट सुनियो ।
एमसीसी सम्झौताको विरोधमा भइरहेका प्रदर्शनमा हुने गरेको प्रहरी दमनबारे थाहा पाएका उनीहरूले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन नहुने र भए सबै मिलेर प्रतिरोध गर्ने बताए ।
भक्तपुरकै तारा माध्यमिक विद्यालयको कक्षा ९ का छात्राहरू प्रतीता, नेहा, कृषा, सोफी र क्रिसला विरोध सभा चल्दै गर्दा छेउमा मोबाइलमा तस्बिर खिच्न व्यस्त थिए । उनीहरू नेपालमा ‘अमेरिकी सेना आउन नदिन’ जुलुस आएका हुन् । उनीहरूलाई एमसीसी सम्झौता पारित भए नेपालका प्राकृतिक स्रोत–साधन अमेरिकाले आफ्नो हितमा प्रयोग गर्ने कुरा थाहा छ । “एमसीसी सम्झौता पारित भए नेपालको कानुनभन्दा अमेरिकाको कानुन माथि हुनेछ । हामी उनीहरूले भनेजस्तै बस्नुपर्ने हुन्छ”, सरल शब्दमा उनीहरूले सुनाए ।
“हाम्रो देशले पनि अफगानिस्तानका मान्छेहरूले जस्तै दुःख पाउनेछन्”, मसिनो स्वरमा प्रतीताले भनिन् ।
ख्वप माविको कक्षा १२ की विद्यार्थी डिम्पल खाइजूलाई एमसीसी सम्झौता पारित गरे नेपाली छोरी–चेली विदेशी सेनाबाट असुरक्षित हुने लाग्छ । संरा अमेरिकी सिपाहीँ बसेका संसारका विभिन्न देशका महिलाहरू बलात्कृत र अपमानित भएका इतिहास डिम्पलको भनाइमा प्रतिबिम्बित थियो । जापानको ओकिनावा टापुमा अहिले पनि अमेरिकी सिपाहीँहरूबाट त्यहाँका छोरी–चेलीमाथि हुने गरेको अपमान, बलात्कार र हत्याको विरोधमा ठूलठूला प्रदर्शन हुने गरेका छन् ।
उनीसँगै बदाम छोडाइरहेका रिया लवजू र महिमा कोजूलाई २०५३ सालमा भएको महाकाली सन्धिबारे थाहा छ । महाकाली सन्धि गर्दा पनि देशमा विकास र समृद्धिको हल्ला थियो । तर, अहिलेसम्म न देशमा विकास भयो न समृद्धि नै ।
चाँगुनारायण नपाको गणेश माध्यमिक विद्यालयबाट जुलुसमा सहभागी बनेका राजकुमार बस्नेतलाई अमेरिकी अधिकारीले नेपाललाई धम्की दिएकोमा रिस उठेको छ । “अनुदान पनि जबरजस्ती दिइन्छ र !”, उनले रिस पोखे ।
बस्नेतसँगै बसेका बुद्ध लामालाई एमसीसी सम्झौता गुलियो पोतिएको विषजस्तो लाग्छ । उनले भने, “गुलियो देखाएर तीतो खुवाउने हुन् ।”
नेपालका नेताहरू जनताप्रति इमानदार नहुँदा देश अहिलेको चङ्गुलमा फसेको तर्कमा राजकुमार र बुद्ध दुवै जनाको एकमत छ ।
ख्वप माविमा कानुन विषयका विद्यार्थी रूजित काफ्लेलाई जुलुसमा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद ¤’ नारा लगाएको चित्त बुझेको छैन । “एउटै सम्झौताको कुराले अमेरिका र नेपालको सम्झौता प्रभावित हुँदैन ।”
रूजितको तर्कमा प्रतितर्क गर्दै उनकै सहपाठी सागर लम्सालले भने, “अमेरिकी साम्राज्यवाद मुर्दावाद भनेर नारा लगाएको अमेरिकाको विरोध गरेको होइन नि । हामीले अमेरिकाको साम्राज्यवादी प्रवृत्तिको विरोध गरेका हौँ ।”
बिहीबार मिनभवनमा नेपाल मजदुर किसान पार्टीको आह्वानमा भएको विरोध प्रदर्शनमा विभिन्न समुदाय, पेशा र क्षेत्रका जनतासँगै विद्यार्थीहरू पनि सहभागी थिए । केही सञ्चारमाध्यमले ‘विरोध जुुलुसमा विद्यार्थीको प्रयोग भएको’ नकारात्मक टिप्पणी गरे । तर, एमसीसी सम्झौताबारे बिहीबारको प्रदर्शनमा सहभागी विद्यार्थीहरूसँगको कुराकानीले उनीहरू अचेत रूपमा जुलुसमा सहभागी बनेको टिप्पणी सही नभएको देखाएको छ ।
प्रश्न गरिएका सबै विद्यार्थीलाई एमसीसीको पूर्ण रूपमात्र होइन, एमसीसीले नेपालका कुन–कुन क्षेत्रमा लगानी गर्दै छ भन्ने विषयमा पनि जानकारी भएको पाइयो ।
यति गम्भीर विषयमा माध्यमिक तहका विद्यार्थीहरूले कसरी थाहा पाए ?
भदौ महिनादेखि विभिन्न विद्यालयमा एमसीसी सम्झौताबारे आफूजस्ता विद्यार्थीलाई प्रशिक्षण दिने अभियानमा सहभागी बन्दै आएकी रितिष्णा दुवालले कक्षा कोठाहरूमा गएर एमसीसीका तथ्य र यसको विरोध गर्नुपर्ने कारणबारे बोल्दै आएकी छिन् ।
“एमसीसीको पूर्ण रूपदेखि यसले नेपालमा पार्ने प्रभाव र संसारका विभिन्न देशमा अमेरिकाले दिएको दुःखबारे हामी जानकारी दिन्छौँ”, रितिष्णाले सुनाइन् । उनलाई नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घकी केन्द्रीय सदस्य सविता त्वानाबासुले सघाएकी छिन् । सुजी हेङ्गो, विशाल साहलगायत विद्यार्थीहरू एमसीसी सम्झौताविरूद्ध आफ्ना समवयीहरूलाई प्रशिक्षित बनाउन सक्रिय छन् ।
यसरी कक्षा कक्षामा पसेर एमसीसीबारे आफूले जानेका कुरा समवयीहरूलाई भन्न उनीहरूलाई केले घचघच्याउँछ । “हामीलाई पनि देशको मायाले नै यस्तो गर्न उत्साहित गरेको हो”, रितिष्णाले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *