भर्खरै :

विभिन्न जिल्लामा एमसीसीविरुद्ध जुलुस तथा सभा

बाँके
एमसीसी सम्झौताको विरोधमा बिहीबार नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा जुलुस र कोण सभा भयो । नेपालगञ्जको बौद्धगुम्बा चोकबाट सुरु भएको जुलुस धोम्बोजी चोक हुँदै पुष्पलाल चोकमा पुगेर कोण सभा भएको थियो ।
विरोध सभामा नेमकिपा बाँके जिल्ला समिति संयोजक बखतबहादुर थापाले एमसीसी सम्झौता देशको दीर्घकालीन भविष्यसँग जोडिएको विषय भएकोले शासक दलले बन्द कोठामा बसेर निर्णय गर्न नसक्ने बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता पारित भए देश द्वन्द्वमा फस्न सक्ने भएकोले देशभक्त र शान्तिप्रेमी नेपाली जनता सम्झौताको विरोधमा उठ्नुपर्ने बताउनुभयो ।

सभामा नेमकिपा बाँके जिल्ला समितिका सदस्य नवीनकुमार शाही, नेपाल क्रान्तिकारी मजदुर सङ्घका रसिद अहमद सिद्दिकी, माधव काफ्ले र अञ्जिरबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
जुम्ला
कर्णाली प्रदेशको जुम्लामा पनि बिहीबार एमसीसी सम्झौताविरुद्ध विरोध जुलुस र सभा भएको छ ।
जुम्ला बजारमा आयोजित विरोध सभामा नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीले शासक दलहरूले कुनै पनि बेला संरा अमेरिकी साम्राज्यवादसमक्ष आत्मसमर्पण गर्न सक्ने भएकोले नेपाली जनता देश हितविपरीतको सम्झौताविरुद्ध सङ्घर्षमा आउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कम्युनिस्टहरू साम्राज्यवादविरोधी हुने भएकाले आफूलाई कम्युनिस्ट दाबी गर्ने पार्टीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न चुनौती दिनुभयो ।
सभामा नेमकिपा जुम्ला जिल्ला समितिका उपाध्यक्ष बिर्खबहादुर रावत, कालीबहादुर शाही, हस्त कुँवर, धनबहादुर रावत र लालबहादुर बुढाले पनि बोल्नुभएको थियो ।
दैलेख
एमसीसी सम्झौताविरुद्ध बिहीबार नेपाल मजदुर किसान पार्टी आठबीस नगर समितिको आयोजनामा राकम बजारमा विरोध जुलुस र सभा भयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य सौर्य कामीले एमसीसी सम्झौताले नेपाल र नेपाली जनताको हित नहुने र जनताको शक्तिले नै यो सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशघाती महाकाली सन्धि गर्ने राजनीतिक दलहरू नै एमसीसी सम्झौता पारित गर्न मिलिरहेको भन्दै अनुदान सहयोग सम्झौता संसद्बाट पारित गर्नुपर्ने प्रावधानले देशको सार्वभौमिकता कमजोर बनाउने बताउनुभयो ।

कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य टीकाराम कठायत, नेमकिपा आठबीस नगर समितिका अध्यक्ष जयबहादुर सिजापति, मानबहादुर सिजापति, गम्भीरसिंह विक, डबल कठायत, नन्दाराम सिजापतिलगायतले बोल्नुभएको थियो ।
दैलेखको गुराँस गाउँपालिकामा पनि बिहीबार एमसीसी सम्झौताविरुद्ध विरोध सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले देशको सार्वभौमिकता कमजोर बनाउने सम्झौताको समर्थन गर्ने कोही पनि देशभक्त हुन नसक्ने बताउनुभयो ।
उहाँले देशलाई साम्राज्यवादी शक्तिको मैदान बनाउन दिन देशभक्त सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा गुराँस गाउँ समितिका अध्यक्ष उदयजङ शाहीले देश र जनताको पार्टी र विरोधी छिनोफानो गर्ने मापदण्ड एमसीसी सम्झौताप्रतिको समर्थन र विरोध हुने बताउनुभयो । “एमसीसी सम्झौताको पक्षमा उभिने दल नेपाली जनताका विरोधी हुन्”, उहाँले भन्नुभयो ।
सभामा नेमकिपा दैलेख जिल्ला समितिका हस्तबहादुर घलेले एमसीसी सम्झौताले नेपालको भूमिलाई साम्राज्यवादको रणमैदान बनाउने बताउनुभयो ।
कैलाली
देशघाती एमसीसीको विरोधमा नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा बिहीबार जुलुस तथा सभा भयो । लम्कीचुहा नगरपालिकाको मोतिपुरबाट सुरू भएको जुलुस लम्की चौराहामा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले एमसीसी सम्झौता देशघाती भएकोले पार्टीले सुरूदेखि नै सम्झौताको विरोध गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी अमेरिकी साम्राज्यवादको सैन्य गठबन्धन भएकोले यो सम्झौतामार्फत नेपाल युद्ध भूमि बन्ने खतरा छ ।”

स्वाभिमानी देशभक्त जनताले एमसीसीलाई कुनै हालतमा नस्वीकार्ने धारणा राख्दै उहाँले एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेपालका शासक पार्टी र पार्टीका सांसदहरूले एमसीसी सम्झौतालाई राम्ररी अध्ययन नगरेको कारण उनीहरूमा यसबारे गलत बुझाइ रहेको धारणा व्यक्त गर्नुभयो ।
एमसीसीको पक्षमा बोल्नेहरू देशद्रोही साबित हुने उल्लेख गर्दै उहाँले उनीहरूलाई एक दिन नेपाली जनताले सजाय दिने बताउनुभयो ।
कार्यक्रममा ज्योति बडुवाल, लक्ष्मी पुन, सविन पण्डित र गगनबहादुर थापामगरले पनि एमसीसीको विरोधमा बोल्नुभएको थियो ।
सुर्खेत
नेपाल मजदुर किसान पार्टी सुर्खेतको आयोजनामा बिहीबार एमसीसी सम्झौता खारेजी माग गर्दै वीरेन्द्रनगरको पिपलचौतारामा कोणसभा भयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र बिकले एमसीसी सम्झौताले देशको सार्वभौमिकता र स्वतन्त्रता खतरामा पारेको र यो सम्झौता संसद्बाट पास भए देशको स्वतन्त्रता र सार्वभौमिकता खतरामा पर्ने बताउनुभयो ।

कोणसभामा नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही ,नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका बिजुकला राना, निरकबहादुर शाहीलगायतले बोल्नुभएको थियोे ।
सभाअघि मङ्गलगढीचोकबाट निस्केको जुलुसले बजार परिक्रमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *