भर्खरै :

पढाइबारे दार्शनिक बेकन

पढाइले मानिसलाई आनन्द र आभूषण दिन्छ, आफ्नो क्षमता बढाउन सहयोग गर्छ । पढाइको आनन्द मूलतः एकान्त र शान्त वातावरणमा मिल्छ । अलङ्कार मूलतः बहस गर्दा उपयोग हुन्छ भने पढाइबाट मिल्ने क्षमता मूलतः दैनन्दिन व्यवहारमा काम लाग्छ । पढाइबाट होइन, अनुभवबाट मात्र ज्ञान बटुलेका मानिसले काम राम्रोसँग गर्न सक्लान्, कुनै कुराको सूक्ष्म परख गर्न सक्लान् तर बहुआयामिक विचार गर्न, कुनै समस्याको समाधानका उपाय बताउन र समस्या समाधान गर्न विद्वान्हरूले नै सबैभन्दा राम्रोसँग सक्छन् ।
पढाइमा अति धेरै समय बिताउनु भनेको अल्छी हुनु हो । पढाइलाई आभूषणका रूपमा अति धेरै उपयोग गर्नु भनेको ढोङ हो । किताबी ज्ञानको भरमा मात्रै कुनै कुराको विवेचना गर्नु विद्वताको उपहास हो । पढाइले मानिसको स्वभावलाई पूर्ण बनाउँछ अनि पढाइलाई अनुभवले पूर्ण बनाउँछ किनभने स्वाभाविकरूपमा आउने क्षमता जङ्गली वनस्पतिजस्तै हुन्छ, जसलाई पढाइले काँटछाँट गरी चिटिक्क पार्नुपर्छ । अनुभवले निश्चित दिशातिर डोहो¥याएन भने पढाइले मानिसलाई दस दिशातिर भौतारिने बनाउँछ ।
धूर्त मानिसहरू पढाइलाई हेला गर्छन् । सोझासाझाले पढाइको तारिफ गर्छन् । बुद्धिमान्ले पढाइलाई उपयोग गर्छन् किनभने पढाइले पढेका कुरा उपयोग गर्नमात्र सिकाउँदैन, यसले पढाइबाट नपाइने, पढाइको भन्दा माथिल्लो दर्जाको विवेक उपयोग गर्न पनि सिकाउँछ, जुन विवेक मानिसले आफ्नो अवलोकनको भरमा हासिल गरेको हुन्छ ।
कुनै कुराको महत्व नबुझी अर्काको कुराको खण्डन र विरोध गर्ने उद्देश्य लिएर नपढ । अन्धाधुन्ध विश्वास गर्नका लागि पनि नपढ । कुरा गर्न र बहस गर्न मसला पाउने उद्देश्य लिएर पनि नपढ । आफ्नो रुचिका विषयको समीक्षा गर्न र त्यसलाई विचार गर्नका लागि पढ ।
कुनै किताब चाखेमात्र पुग्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चपाएर पचाउनुपर्छ । यो भनेको कुनै किताबका केही पेजमात्र पढे पुग्छ । कुनै किताब उस्तो ध्यान नदिइकन पढे हुन्छ । कुनै किताबचाहिँ परिश्रम गरेर र एकाग्र भएर पूरै पढ्नुपर्छ । कुनै किताब अरूलाई पढ्न लगाएर सारमात्र सुन्दा हुन्छ, कुनै किताबको अरूले उद्धृत गरेका अंशमात्रै पढ्दा पुग्छ । सामान्य खालका विषय भएका वा कम महत्वपूर्ण किताबमात्रै यसरी पढ्दा हुन्छ किनभने यसरी अरूले खिचिदिएका किताबका सार डिस्टिल गरिएका पानीजस्ता मात्र हुन्छन्, जुन हेर्दा राम्रा देखिन्छन् तर तिनमा सारतत्व केही पनि हुँदैन ।
पढाइले मानिसलाई पूर्ण बनाउँछ । कुराकानी र छलफलले मानिसको चित्त फराकिलो बनाउँछ र उसका पूर्वाग्रह हटाइदिन्छ । लेखाइले मानिसलाई चैतन्य अर्थात् सोच्न र अभिव्यक्त गर्नसक्ने बनाउँछ । थोरैमात्र लेख्ने मानिसको स्मरण शक्ति असाध्यै धेरै हुनुपर्छ । थोरैमात्र कुराकानी र छलफल गर्ने मानिसमा प्रत्युत्पन्न मति हुनु जरुरी छ । थोरैमात्र पढ्ने मानिसले छट्टु हुनु जरुरी छ, जसले गर्दा ऊ नजान्ने भए पनि जान्ने मान्छे भई टोपल्न सक्छ ।
मानिसलाई इतिहासले बुद्धिमान्, कविताले विनोदपूर्ण, गणितले चलाख, प्रकृति विज्ञानले गहिरो, नीतिशास्त्रले गम्भीर, न्यायशास्त्र र अलङ्कार विद्याले तर्क गर्नसक्ने बनाउँछ । पढाइ मानिसका हरेक पक्षमा फैलन्छ । यसले मानिसको आनीबानीको ढाँचा ृनर्धारण गर्छ ।
सही खालको पढाइले मानिसको बुद्धिमा भएका जस्तासुकै बाधा वा रोकावट पनि हटाउन सक्छ, जसरी उपयुक्त शारीरिक कसरतले शरीरको रोग हटाउन सक्छ– जस्तैः बोलिङले स्टोन र मिर्गाैलालाई, सुटिङले फोक्सो र छातीलाई, बिस्तारो हिँडाइले पेटलाई र घोडचढीले टाउकोलाई फाइदा गर्छ । त्यसैले बुद्धि भाँडिएको मानिसलाई गणित पढ्न लगाऊँ किनभने गणितको समीकरण हल गरेर देखाउने क्रममा बीचमा उसको बुद्धि भाँडियो भने उसले यो कामतिर सुरुदेखि गर्न थाल्नुपर्छ । सही वा गलत छ्यानबिछ्यान गर्ने बुद्धि नभएका मानिसलाई मध्यकालीन दर्शनशास्त्र पढ्न लगाऊँ किनभने यो विद्या पढ्दा उसले रौँ चिरा पार्न सक्ने गरी सूक्ष्म कुराको विवेचना गर्नसक्छ । एउटै कुरा दोहो¥याई–तेहे¥याई प्रमाणित गर्न खोज्ने अनि एउटा प्रसङ्ग निकालेर त्यसका भरमा अर्को कुराको उदाहरण दिने वा त्यो कुरा सही हो भनी बहस गर्ने क्षमता नभएकालाई मुद्दाका मिसिल पढ्न लगाऊँ । यसैगरी दिमागका सबै रोगका लागि खास कुरा पढ्न लगाउँदा उपचार मिल्छ ।
(फ्रान्सिस बेकन (१५६१–१६२६) दर्शनशास्त्री तथा लेखक हुन् ।)
(शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित डबलीमा सार्वजनिक गरिने लेखक तथा पत्रकार मोहन मैनालीले अनुवाद गर्नुभएका विदेशी निबन्धकारका निबन्धहरूको सङ्कलन ‘आकाशमुखी’ मा समावेश निबन्ध । बुक हिलले प्रकाशन गरेको पुस्तक शनिबार दिनको १ः३० बजे सुरु हुने बताइएको छ ।)
अनुवादः मोहन मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *