रुसी महासङ्घ र गणतन्त्र उक्राइनाबीच यस्तो चिसो र तीतो सम्बन्ध होला भनी मैले कहिल्यै सोचेको थिइन । जब म उक्राइनाको दोस्रो ठूलो सहर खार्काेभ (खार्किभ) मा अध्ययन गर्दै थिएँ, सन् १९७० को दशकमा खार्काेभबाट महिनाको एक दुई पटक कुनै रोकतोक, कुनै भिसा कागजविना मस्को गइरहन्थेँ । साँझ ७÷८ बजेतिर खार्काेभको रेल–वे स्टेसन जान्थेँ र काउन्टरमा एउटा टिकट किनेर रेल चढ्थेँ ।
तत्कालीन सोभियत सङ्घमा रेल तथा अन्य सवारी साधनमा यात्रा गर्न धेरै सुविधा र धेरै सस्तो पनि थियो । एक ठाउँबाट अर्काे सहर जान र एक राज्यबाट अर्काे राज्य जान सर्वसाधारण जनता प्रायः सार्वजनिक यातायातका साधन प्रयोग गर्थे ।
रसिया वरिपरिका १५ वटा गणराज्यहरू मिलेर विशाल तत्कालीन सोभियत सङ्घ बनेको थियो । यदि अलास्कालाई पनि जोड्ने हो भने सोभियत सङ्घले पूर्व जापानदेखि पश्चिम क्यानाडासम्म छोएको थियो । संयुक्त राज्य अमेरिकाको अलास्का राज्य रुसी साम्राज्यका जार शासकहरूले अमेरिकालाई ७० लाख (सात मिलियन) डलरमा बेचेका थिए । अति दुर्गम क्षेत्रमा रहेको अलास्का केही काम नलाग्ने, वर्षैभरि हिउँले ढाकिरहने जमीन केही काम छैन भनी तत्कालीन निरङ्कुश जार शासकहरूले पैसाको लोभमा बेचेका थिए । तर, आज त्यही अलास्का राज्यबाट अमेरिकाले तेल उत्खनन र उत्पादन गर्छ र अमेरिकी भागको १० प्रतिशत तेल अलास्काले पु¥याइरहेको छ । अलास्कामा अमेरिकाले सुन खानी पनि भेटाएको छ ।
अलास्कालाई छाडेर तत्कालीन सोभियत सङ्घ विश्वकै सबभन्दा ठूलो देश बनेको थियो । पृथ्वीको सतहलाई तीन भागमा टुक्रा गरेर हे¥यो भने एक टुक्रा सोभियत सङ्घ थियो । आकारमा मात्र ठूलो होइन प्राकृतिक स्रोत साधनमा पनि सोभियत सङ्घ विश्वमा सबभन्दा धनी भने पनि त्यति फरक पर्दैन । सोभियत सङ्घ संसारमा पाइने प्रायः सबै वस्तु, खनिज पदार्थ र घना जङ्गलबाहेक जैविक जीवजन्तुले सम्पन्न थियो । सोभियत सङ्घमा प्राकृतिक ग्यास र इन्धन (तेल) को भण्डार पनि विशाल थियो । आज पनि रुसी महासङ्घले युरोपको प्रायः सबै देशहरूमा प्राकृतिक ग्यासको बिक्री वितरण गर्दै आएको छ । त्यहाँ इन्धनको स्रोत पनि अति विशाल नै छ भन्नुपर्छ । यतिका प्राकृतिक स्रोत साधन भएर पनि रुसी महासङ्घ र सोभियत सङ्घ युरोप र अमेरिकाको दाँजोमा पछाडि परेका थिए । खासगरी विज्ञान र प्रविधि अनि उपभोग्य सामग्रीको उत्पादन र गुणस्तरमा पश्चिन जगतभन्दा पछाडि नै परेका थिए । यद्यपि, सैनिक सामरिक हातहतियारको उत्पादन, अनि अन्तरिक्ष विज्ञान प्रविधिमा सोभियत गणराज्यहरूले मिलेर एक आपसमा ठूलो सफलता हासिल गरेका थिए । संसारमा सबभन्दा ठूलो अन्तरिक्ष प्रक्षेपण केन्द्र बैकानुर अन्तरिक्ष स्थल थियो । यो सोभियत काजाख्स्तानमा अवस्थित छ, जहाँबाट विश्वमा सर्वप्रथम अन्तरिक्ष यात्री युरी गागारीन पृथ्वीलोकबाट अन्तरिक्षमा पुगेका थिए ।

तत्कालीन सोभियत ऊक्राइनाको खार्कोभ सहरमा अध्ययनरत नेपालका दुई जना इन्जिनियरिङका विद्यार्थीहरू उपेन्द्रमान शाक्य र राजेन्द्रमान शाक्य नेपाली सङ्गीत सांस्कृतिक कार्यक्रममा ।
सन् १९१७ मा भएको महान् अक्टोबर समाजवादी क्रान्तिपछि विश्वमा सर्वप्रथम समाजवादी देश सोभियत सङ्घ स्थापना भएको थियो । जसमा १५ वटा गणराज्यहरू सम्मिलित थिए । यी गणराज्यहरूमध्ये रुसी महासङ्घ सबभन्दा ठूलो र सबभन्दा शक्तिशाली थियो । रुसी गणराज्यपछि क्षेत्रफलमा सबभन्दा ठूलो राज्य काजाख्स्तान थियो भने तेस्रो ठूलो गणराज्य उक्राइना थियो । उक्राइना गणराज्यलाई रुसी भाषामा उक्राइना भनिन्छ भने अन्य भाषामा उक्राइन भनिन्छ । रुसी महासङ्घको दक्षिण भागमा पर्ने उक्राइना सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि एक स्वतन्त्र गणराज्यको रूपमा रहेको छ । तर, सदियौँदेखि यो क्षेत्र धेरै विवादित र धेरै झै–भगडाको थलो बनेको छ ।
हिजोअस्तिमात्र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुतिनले आफ्ना सैनिकहरू पठाएर उक्राइनामा एक सङ्कट अवस्था सृजना गरिदिएको छ । यस घटनाले विश्व नै तरङ्गित भएको छ ।
रुसी महासङ्घले उक्राइनाको पूर्वी भागमा रहेको डनबासा क्षेत्रमा अवस्थित दुई राज्य लुहान्स्क र डोनेत्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यस क्षेत्रमा शान्ति स्थापनार्थ भनी असङ्ख्य सैनिक दस्तावेज पठाएको छ । डनबासमा मात्र सीमित नरही उक्राइनाको राजधानी किभ र दोस्रो ठूलो सहर खार्काेभमा पनि केही विस्फोटन भएको समाचार प्रसारण भइरहेको छ । यस घटनापछि संयुक्त राष्ट्र सङ्घमा आपत्कालीन सुरक्षा परिषद्को बैठक भयो । संयुक्त राज्य अमेरिकालगायत युरोपियन युनियनका कैयौँ राष्ट्रहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्दै रुसी राष्ट्रपतिलाई उक्राइनाबाट आफ्ना सैनिक फिर्ता गर्न चेतावनी दिँदै विभिन्न प्रकारको नाकाबन्दी लगाए । तर, रुसी राष्ट्रपतिले आफ्ना केही सर्तहरू राखी स्पेसल सैनिक अप्रेसन भनी उक्राइनाको पूर्वी डनबास क्षेत्रका दुई राज्यहरू लुहान्स्क र डोनेत्स्कमा सेनाहरू तैनाथ गरिराखेको छ ।
रुसी महासङ्घको मुख्य उद्देश्य उक्राइनालाई संयुक्त राज्य अमेरिकाको उक्साहतमा उत्तर एटलान्टिक सैन्य गठबन्धन (नाटो) मा प्रवेश नगराउनु र पूर्वी उक्राइनाका राज्यहरू लुहान्स्क र डोनेत्स्कमा रहेका रुसी मूलका जनतालाई दुःख नदिनु भन्ने हो । पूर्वी उक्राइनाका यी गणराज्यहरूमा मूलतः रुसी मूलका जनताको बसोबास परम्परादेखि भइरहेको छ । सन् १९९१ पछि सोभियत सङ्घको विघटनपश्चात् उक्राइनामा रहेका रुसी मूलका जनताले धेरै समस्याहरू भोगिरहेका छन् । यी क्षेत्रहरूमा सन् २०१४ देखि जब रुस र उक्राइनाबीच क्रिमिया र कृष्ण सागरमा (ब्लाय्क सी) अवस्थित शक्तिशाली युद्ध पोतको विषयमा सैनिक सङ्घर्ष भएको थियो । त्यसबेलादेखि उक्राइनाको सैनिक र लुहान्स्क र डोनेत्स्कका पृथकतावादी (रुसी समर्थित) सेनाबीच सङ्घर्ष चलिआएको छ ।
सन् २०१४ मा कृष्ण सागरमा रहेको शक्तिशाली सैनिक अखडा आपसमा बाँडीचुँडी लिएपछि क्रिमिया उपमहाद्वीप (पेनिन्सुला) लाई आफ्नो क्षेत्रमा गाभिएको थियो । किनकि, क्रिमिया क्षेत्र परम्परादेखि रुसकै भूभाग थियो र १९१७ को अक्टोबर क्रान्तिपछि उक्राइनालाई दिएको थियो ।
उक्राइना वास्तवमा स्वतन्त्र राज्यको रूपमा रहेको सन् १९९१ मा तत्कालीन सोभियत सङ्घ विघटन भएपछि नै हो । सन् १९९१ अघिको इतिहास हेर्दा पनि सन् १६४८ देखि १६५४ सम्म उक्राइना पूर्ण स्वतन्त्र देशको रूपमा थियो । यसअघि उक्राइनाको भूभाग रुस र पोल्यान्डको अस्तित्वमा थियो । सन् १६५५ देखि उक्राइनामा छुट्टै प्रशासन रहे पनि रुसी साम्राज्यको संरक्षित क्षेत्रको रूपमा थियो ।
यसरी नियालेर हेर्दा उक्राइना ऐतिहासिक कालदेखि विवादित क्षेत्र रहिआएको छ । विगत कालमा पनि यस क्षेत्रमा धेरै सङ्घर्ष र धेरै युद्धहरू भएका थिए । इतिहासको धेरै समय उक्राइना अटोभन, रुसी, पोलिस, क्रिमिन, काजाख्स्तान आदिको युद्धभूमि भइरहेको थियो । सन् १६८६ मा रुस र पोल्यान्डले एक आपसमा उक्राइनालाई बाँडीचुँडी लिएका थिए । तर, उक्राइनाको आफ्नै भाषा आफ्नै संस्कृति भएर पनि उनीमाथि रुसी भाषा लाड्ने, उक्राइनाका विभिन्न भागहरूमा रुसी नागरिकहरूको बसोबास गराउनेजस्ता क्रियाकलापहरू रचेर उक्राइनाको अस्तित्वमा दखल गर्ने काम नभएको होइन । यही कारणले गर्दा उक्राइनाका जनताले रुसीहरूलाई त्यति मन पराउँदैनन् । यो कुरा मैले सन् १९७१ देखि १९७६ सम्म उक्राइनाको दोस्रो ठूलो सहर खार्काेभमा बसी आफ्नो इन्जिनियरिङ्ग कोर्स अध्ययन गर्दादेखि आएको पनि हो । दोस्रो विश्वयुद्ध हुँदा सोभियत सङ्घलाई भन्दा नाजी हिटलरका सेनालाई समर्थन गरेका थिए भन्ने पनि सुनेको थिएँ । यसरी सोभियत सङ्घमा आबद्ध हुँदा त त्यस्तो अवस्था थियो भने आज एक स्वतन्त्र राज्यको रूपमा रहँदा संयुक्त राज्य अमेरिकाको उक्साहतमा आएर उक्राइना नाटोको सदस्य हुन खोज्नुमा केही अचम्म मान्नुपर्ने छैन । तापनि, रुसी महासङ्घले उक्राइनालाई उत्तर एटलान्टिक सैनिक सङ्गठनमा संलग्न हुनबाट हरतरहले प्रयास गर्नेछ । हिजोआज रुसी राष्ट्रपतिले चालेको कदमको मूल कारण पनि यही नै हो जस्तो लाग्दछ ।
तर, हिजो एकै परिवारका दुई दाजुभाइ, दिदी बहिनीको रूपमा रहेर बसेका समृद्धशील दुई देश आज शत्रुवत् व्यवहारमा उत्रिरहेको देख्दा धेरै दुःख लाग्छ ।
मैले ५/६ वर्षसम्म सोभियत सङ्घमा बसी उच्च शिक्षा हासिल गरेको थिएँ । मेरो जीवन रुस र उक्राइनासँग निकट थियो । मेरी श्रीमती भालेन्टिनाबाट दुई छोराहरू अलेक्जेन्डर र देनीस श्रेष्ठ उक्राइनाको खार्काेभ सहरमा भालेन्टिनाको कोखबाट जन्मेका थिए ।
Leave a Reply