भर्खरै :

संगम साकोसद्वारा सम्मान तथा पुरस्कार वितरण

भक्तपुर, १४ फागुन । संगम बचत तथा ऋण सहकारी संस्था लि.ले शनिबार आवधिक तथा अक्षयकोष बचतकर्तालाई सम्मान तथा निबन्ध लेखन प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार वितरण ग¥यो ।
कार्यक्रममा बचतकर्ताहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सहकारी संस्थाले बचत तथा ऋणको कारोबारमात्र नगरी सदस्य र समुदायलाई सीपसम्बन्धी तालिमको आवश्यकता औँल्याउनुभयो ।
बढी प्रतिशत लाभांश वितरणमात्र सहकारी संस्थाको सफलता हुननसक्ने धारणा राख्दै सांसद सुवालले सहकारीहरूले स्थानीय जनताको हित हुने कृषि र उत्पादनमूलक कार्यका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान गर्नु जरुरी भएको उल्लेख गर्नुभयो ।
उहाँले जग्गा जमिन बेचेर बैङ्क तथा वित्तीय संस्थामा पैसा जम्मा गर्ने प्रवृत्ति गलत भएको चर्चा गर्दै कृषि वा अन्य कामको आम्दानी सहकारी संस्थामा जम्मा गर्ने गराउनेतर्फ जोड दिनुभयो ।
संस्थाका सदस्य र परिवारलाई जाँड, रक्सी चुरोट आदिको लत छोडाउनुपर्ने, युवा पुस्ताले पुरानो पुस्ताका आमाबुबाहरूको राम्रो हेरचाह गराउन आवश्यक शिक्षा दिनुपर्ने र प्रविधि र सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
देशको राष्ट्रिय राजनीतिको स्थितिबारे चर्चा गर्दै सांसद सुवालले नेपालका शासक दलहरूले जनविरोधलाई बेवास्ता गरी एमसीसी सम्झौता पारित गरेर नेपाललाई युक्रेनकै अवस्थामा पु¥याउन खोजेका हुन् भन्नुभयो । उहाँले युक्रेनलाई साम्राज्यवादी अमेरिकाले जबरजस्ती नाटो सदस्य बनाउन खोजेको उल्लेख गर्दै एमसीसी सम्झौतामार्फत नेपाललाई पनि अमेरिकी सैन्य मोर्चामा सामेल गराउन शासक दलहरू लागिपरेको उल्लेख गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले एमसीसी सम्झौता सामरिकरूपमै अगाडि बढाइरहेको हिन्द–प्रशान्त रणनीतिको एक भाग रहेको बताउँदै एमसीसी सम्झौता पारित गर्न चाहनेहरू अमेरिकी साम्राज्यवादका दलालहरू हुन् भन्नुभयो ।
नेपाल पत्रकार समाजका केन्द्रीय सदस्य तथा निबन्धकार आशाकुमार चिकंबञ्जारले राम्रो निबन्ध पढ्दा जति स्वाद आउँछ, सिर्जना गर्न उत्तिकै मेहनत आवश्यक पर्ने औँल्याउँदै निबन्ध लेखनसम्बन्धी मार्गनिर्देशन कार्यक्रम बरोबर हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार समाजका केन्द्रीय सदस्य प्रकाश थुसाले एमसीसी सम्झौता नेपालको सार्वभौमिकताविरूद्ध रहेको र त्यसमा भएका प्रावधानहरूले नेपाललाई संरा अमेरिकाको नवउपनिवेश बनाउने वास्तविकतालाई नेपाली जनतामाझ स्पष्ट पार्दै जानुपर्ने बताउनुभयो ।
सभापतिको आसनबाट संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्णगोपाल छुस्याकीले बढी प्रतिशत ब्याज दरको लोभमा गैरस्थानीय वित्तीय संस्थामा पैसा राख्न नहुने र धोका हुनसक्ने हुुँदा सचेत हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा संस्था सञ्चालक समितिका उपाध्यक्ष बलराम न्हिसुतु र सदस्य विजय लोहलाले पनि बोल्नुभएको थियो ।
निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका मनिषा श्रेष्ठ, सुजी ह्योंगजू र कृष्णप्रसाद सुवाललाई नगद पुरस्कारसहित सहभागीहरूलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *