“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
पूर्वी युरोपेली देश युक्रेनमाथि रूसी हमलाले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो हलचल मच्चाएको छ । रूसी हमलापछि युक्रेनको राजधानी किभलगायत प्रमुख सहरबाट लाखौँको सङ्ख्यामा मानिसहरू सुरक्षित स्थलतिर भाग्दै गरेका दृश्य र सामाजिक सञ्जालमा आफ्नो अवस्थाबारे उनीहरूका पोस्टले संसारलाई वास्तवमै गम्भीर बनाएको छ । रूसमै पनि युद्धको विरोधमा प्रदर्शनहरू भएका समाचार र श्रव्यदृश्य सञ्चारमाध्यममा प्रसारण भएका छन् । संसारको बल्झिँदो मानवीय सङ्कटको शृङ्खलामा अर्को एउटा सङ्कट थपिएको छ ।
लडाइँ र हिंसा निःसन्देह अग्राह्य विषय हुन् । तथापि, संसार कहिल्यै पनि त्यस्ता दोषबाट मुक्त हुन सकेन । बरू, संसारको राजनीतिमा ती विषय अविछिन्नजस्तै जोडिएको छ । युक्रेनी जनताले आज भोग्दै गरेको सङ्कटको जिम्मेवार को ? रूसी सेनाले हमला गरेको हुनाले आवरणमा संसारले रूसलाई देखेको हुनसक्छ । तर, रूसलाई युक्रेनमाथि हमलाको बिन्दुसम्म ल्याउन कसले भूमिका खेल्यो भन्ने विश्लेषण पनि समानरूपमा सोचनीय छ ।
शीतयुद्धको समाप्तिसँगै सोभियत सङ्घ विघटन भयो । सोभियत सङ्घको विघटनपछि रूस नङ्ग्रा र दाँत नभएको कमजोर शक्तिमा सीमित रह्यो । तथापि, संरा अमेरिकाको प्रभुत्ववादी सोचाइको कारण कमजोर बनिसकेको रूसमाथि उसले लगातार हमला जारी राख्यो । युरोपमा सोभियत सङ्घको खतराको हाउगुजी देखाएर अमेरिकाले सधैँ युरोपेली देशमाथि आफ्नो प्रभाव बलियोमात्र बनाएन । बरू रूसलाई कहिल्यै उठ्न नसक्ने गरी ‘पोखरीमा डुबेको कुकुरलाई टाउकोमाथि लगातार चिर्पटले बजारेजस्तै’ प्रहार गरिरह्यो ।
संरा अमेरिका र युरोपका पुँजीवादी देशमा गहिरिएको आर्थिक मन्दीसँगै युरोपेली देशहरू प्राकृतिक स्रोतको निम्ति रूस र एसियाली देशमा निर्भर हुन थाले । फलतः सोभियत सङ्घको विघटनपछि शिथिल बनेको रूसले परिवर्तित अन्तर्राष्ट्रिय परिस्थितिमा टाउकोसम्म उठाउने मौका पायो । चीनको आर्थिक र राजनीतिक उन्नतिले पनि रूसलाई उकासिन मद्दत ग¥यो । परिणामतः हिजो संरा अमेरिका र युरोपेली दबदबामा खुम्चिएको रूसका सुरक्षा र प्रतिरक्षा लाभ रूसी शासकको प्राथमिकताको बुँदामा पर्न थाले । उनीहरूले फेरि पनि रूसलाई उठ्नै नसक्ने गरी कमजोर बनाउने संरा अमेरिकी चालबाजीको प्रतिरोध गर्ने अठोट गरे । नाटोको विस्तार गरेर संरा अमेरिका र युरोपेली देशहरूले रूसलाई रणनीतिकरूपमा कमजोर बनाउने प्रयास गरिरहे । नाटोको पूर्वतिरको विस्तार रूसको सुरक्षा स्वार्थलाई प्रभावित बनाउने विषय हो । त्यसकारण, रूसी शासकहरूले पटक–पटक आफ्ना सुरक्षा चासोबारे अवगत गराउँदा पनि नाटोले आफ्नो पूर्वी दौड त्याग्न चाहेन । बरू युक्रेनलाई हातहतियारले सुसज्जित बनाएर रूसलाई कमजोर बनाउने प्रयास जारी राखे ।
परिणाम आज नाटोमार्फत संरा अमेरिका नेतृत्वको पश्चिमा मोर्चाले गरेको हमलाको रूसले प्रतिरोध गरेको छ । रूसको रणनीतिक सुरक्षा स्वार्थप्रति पश्चिमा देशहरूको बेवास्ता र उदासिनता नै युक्रेन सङ्कटको मूल कारण हो । सतहमा युक्रेनी नेतृत्व देखिए पनि यसको पश्र्व भागमा फेरि पनि पश्चिमा मोर्चा नै उभिएको छ । पश्चिमा मोर्चाले काम गर्ने शैली बदलेको छ । तर, उसले चाहेको परिणाम भने फेरि पनि संसारभर आफ्नो एकछत्र प्रभाव र आफ्ना विरोधीहरूको सत्यानाश नै हो । युद्ध आफै निरपेक्ष हुने गर्दैन । युद्धमा सतहमा देखिएका पात्र र कारणमात्र वास्तविक पात्र र कारण हुने गर्दैन ।
Leave a Reply