भर्खरै :

फागुन १५ अर्थात् कालो दिन

नेपालको इतिहासमा फागुन १५ गते अर्को कालो दिन बनेको छ । देशभक्त र साम्राज्यवादविरोधी नेपाली जनताको चर्को विरोधबीच आइतबार प्रतिनिधि सभाको बैठकबाट संरा अमेरिकी एमसीसी सम्झौता पारित गरियो । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी सम्झौताको पक्षमा उभिएर आफूलाई देशघाती दल प्रमाणित गरेका छन् । नेकपा एमालेले अन्तिम समयसम्म एमसीसी सम्झौताप्रति ढुलमुले नीति लिएर अन्ततः देशघातकै कित्तामा आफूलाई उभ्याएको छ । एमसीसी सम्झौताप्रति शासक दलहरूको यो मत इतिहासमा सधैँ कालो हस्ताक्षरको रूपमा रहनेछ ।
कथित ‘व्याख्यात्मक परिभाषा’ को नाटक गरेर शासक दलहरूले आफूलाई संरा अमेरिकाका ‘नोकर’ प्रमाणित गरेका छन् । उनीहरूले देशको सार्वभौमिकतालाई भन्दा सत्तासुखलाई प्राथमिकतामा राखेको देखियो । ‘व्याख्यात्मक परिभाषा’ नेपाली जनतालाई झुक्याउने जालझेलमात्र हो । यसले एमसीसी सम्झौताको साम्राज्यवादी कुरूप अनुहार कदापि छेक्न सक्दैन ।

 संरा अमेरिकाले प्रजातन्त्र, मानवअधिकार, विकास र समृद्धिको गुलियो पोतिएको विष चखाएर विकासशील र विकासोन्मुख देशमाथि आफ्नो प्रभुत्व जमाउँदै आएको छ । आफ्नो स्वार्थभन्दा थोरै तलमाथि गरे पनि संरा अमेरिकाले आक्रमण र हमलाको हतियार प्रयोग गरी विध्वंस मच्चाउने गरेको छ । एमसीसी सम्झौता संरा अमेरिकी साम्राज्यवादी विध्वंसको राजनीति नेपालमा प्रवेश गराउन राजमार्ग बन्दै छ । विकास र अनुदानको नाममा नेपाललाई साम्राज्यवादी शक्तिको क्रिडास्थल बनाउने ‘लाइसेन्स’ बन्दै छ –एमसीसी सम्झौता ।

नेपाली काङ्गे्रसले एमसीसी सम्झौताको पक्षपोषण गर्नु उसको धर्म हो । साम्राज्यवादी र विस्तारवादी शक्तिले नेपालमा आफ्ना स्वार्थ पूरा गर्न जन्माई हुर्काएको काङ्ग्रेसले आफ्नो मालिकको सेवामा देशघात गर्नु उसको वर्गीय र राजनीतिक चरित्र हो । विडम्बना, आफूलाई साम्राज्यवादविरोधी दाबी गर्दै आएका ‘कम्युनिस्ट’ भन्ने शासक दलहरूले पनि यो सम्झौताको पक्षमा उभिएर आफ्नो असली कुरूप जनतासमक्ष देखाएका छन् । उनीहरूले लगाएको कम्युनिस्टको मुखुण्डो जनता झुक्याउने जालझेलबाहेक केही नभएको वास्तविकता फेरि पनि पुस्टि भएको छ । विशेषतः माओवादी केन्द्रको दोहोरो र सिद्धान्तहीन व्यवहारले ऊ साम्राज्यवादी र विस्तारवादी शक्तिको दलाल प्रमाणित गरेको छ । माओवादी केन्द्रलाई दिइएको ‘ट्रोजनको घोडा’ को उपमा दिनानुदिन पुस्टि हुँदै गएको छ ।
संरा अमेरिकी साम्राज्यवाद संसारको जुनसुकै देशमा पसे पनि विध्वंस र अशान्ति मच्चाउने गरेको छ । त्यसकारण, ऊ संसारका सबै कुनाबाट लखेटिँदै छ । संरा अमेरिकाले आफ्ना नागरिकको समेत चित्त बुझाउन सकेको छैन । संरा अमेरिकाले प्रजातन्त्र, मानवअधिकार, विकास र समृद्धिको गुलियो पोतिएको विष चखाएर विकासशील र विकासोन्मुख देशमाथि आफ्नो प्रभुत्व जमाउँदै आएको छ । आफ्नो स्वार्थभन्दा थोरै तलमाथि गरे पनि संरा अमेरिकाले आक्रमण र हमलाको हतियार प्रयोग गरी विध्वंस मच्चाउने गरेको छ । एमसीसी सम्झौता संरा अमेरिकी साम्राज्यवादी विध्वंसको राजनीति नेपालमा प्रवेश गराउन राजमार्ग बन्दै छ । विकास र अनुदानको नाममा नेपाललाई साम्राज्यवादी शक्तिको क्रिडास्थल बनाउने ‘लाइसेन्स’ बन्दै छ –एमसीसी सम्झौता ।
शासक दलहरूले कायरतापूर्वक एमसीसी सम्झौता पारित गरे पनि नेपाली जनताको साम्राज्यवादविरोधी आन्दोलन भने चालु रहनेछ । एमसीसी सम्झौता पारित भएसँगै संरा अमेरिकी साम्राज्यवादले नेपाली भूमिमा देखाउने ताण्डव नाचको प्रतिरोधमा आगामी दिनमा साम्राज्यवादविरोधी सङ्घर्ष अझ सघन बनाउनुपर्नेछ । एमसीसी सम्झौताको विरोधमा सडकमा उर्लिएका नेपाली जनता संरा अमेरिकी साम्राज्यवादको निम्ति सधैंको लागि चुनौती बन्नेछन् । एमसीसी सम्झौता पारित गरेर यो साम्राज्यवादविरोधी आवाज कदापि कमजोर बन्नेछैन ।
एमसीसी सम्झौताको पक्षमा उभिएर वा ढुलमुले नीति लिएर देशघातको पक्षमा उभिने शासक दलहरूलाई नेपाली जनताले सजाय गर्न जरुरी छ । साम्राज्यवादको पक्षपोषण गरेर देशको सार्वभौमिकतालाई कमजोर बनाउने र समृद्धिको नाममा देशलाई कमजोर बनाउने शासक दलहरूलाई सजाय नगरे साम्राज्यवादी शक्तिहरू अझ बढी उत्साहित हुनेछन् । तसर्थ, अबको सङ्घर्ष साम्राज्यवादी शक्ति र तिनका पिछलग्गु बनेका नेपालका शासक दलहरूविरुद्ध केन्द्रित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *