भर्खरै :

भारतीय ‘ट्रोजन हर्स’ प्रचण्डलाई नेमकिपाको देशभक्तिमाथि प्रश्न उठाउने अधिकार छैन

काठमाडौँ, १७ फागुन । प्रचण्ड र माधवको सहयोग भएपछि प्रम देउवाले फागुन १५ गतेको प्रतिनिधिसभामा देशघाती एमसीसी सम्झौता जबरजस्ती पारित गराए ।
फागुन १६ गते आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, “म निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो । सम्झौता र व्याख्यात्मक घोषणा एकैसाथ पारित भएको छ । गठबन्धन सरकार जोगिएको छ । मुलुक प्रतिगमनको हातबाट बच्यो । ‘व्याख्यात्मक घोषणा’ कागजको खोस्टा होइन, ठगपत्र होइन । बेलायत बसेका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदी र सार्कका पूर्वमहासचिव अर्जुन थापाले ‘व्याख्यात्मक घोषणा’ लाई अमेरिकाले कानुनीरूपले मान्नैपर्ने बताए । वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले पनि त्यो सम्भव भएको बताए । ‘व्याख्यात्मक घोषणा’ लाई नेपाली काङ्ग्रेसका गगन थापालगायतको टीमसँग मिलेर मूर्त रुप दिइएको हो । ‘व्याख्यात्मक घोषणा’ तयार गर्ने क्रममा सत्ता गठबन्धनको टोली काठमाडौँस्थित अमेरिकी दूतावास पनि पुग्यो । अमेरिकी दूतावासबाट पनि सकारात्मक प्रतिकृया आएको छ । अमेरिकाले ‘व्याख्यात्मक घोषणा’ लाई स्वीकार नगरे एमसीसी सम्झौता खारेज हुन्छ ।”
माओवादी अध्यक्ष प्रचण्डसँग पत्रकारहरूले जिज्ञासा राखे, “तपाईँको पार्टीको देव गुरुङ र नारायणकाजी श्रेष्ठहरूले सम्झौताको विरोधमा प्रतिक्रिया जनाइरहेका छन्, यसबारे के छ ?”
दाहालको जवाफ थियो, “देव गुरुङ अहिले पार्टीको निर्णय पालना गर्ने पक्षमा छन् । उनको नकारात्मक टिप्पणी छैन । उनी संसदमा पार्टीको निर्णय कार्यान्वयन गर्न लागे । नारायणकाजी श्रेष्ठलाई केन्द्रीय समितिको बैठक आउँदै छ त्यहाँ व्यवस्थितसँग राख्नु, बाहिर नराख्नु भनेको थिएँ । उनलाई लाग्यो यो भनेपछि भएभरको कार्यकर्ता मैतिर लाग्छन्, जनता जति ह्वार्र मतिर आउँछन् ।”
प्रचण्डले थपे, “एमसीसीको विरोध गर्नेबित्तिकै सबै जनता एकातिर आउने भए प्रेम सुवालजी लगातार मुर्दावादका मुर्दावाद गर्नुभाछ, नेपाल पूरै त्यहीँ जानुपर्ने, अरू छन् नि मुर्दावादका मुर्दावाद भन्ने सबै उता लाग्नुपर्ने, त्यस्तो हुँदैन ।”
प्रचण्डले जवाफको क्रममा महाकाली सन्धिको विरोध गरी एमालेको आधा जति केन्द्रीय नेताहरू लिएर माले पार्टी खोलेका वामदेवजीको भोट जिरो भएको पनि उल्लेख गरे ।
ग्रीक कथाकार इसपको एउटा कथामा मूर्ति बोकेको गधाले सहरका सबै मानिसले आफूलाई ढोगेको ठानेजस्तै हो प्रचण्डको जवाफ । माओवादी सशस्त्र द्वन्द्वको १० वर्ष प्रचण्ड र बाबुराम भारतीय प्रम वाजपेयीलाई निवेदन दिएर जेलवाला तेलले जुल्फी कोरेर दिल्लीको पाँचतारे होटेलमा बसेका थिए भने नोयडा, गुडगाउँ, जालपाइगुडीमा भारतीय सुरक्षा घेरामा बसेका थिए । (एमालेका अध्यक्ष ओलीको पनि यस्तै टिप्पणी हो) तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीका अनुसार हतियार उठाएको प्रचण्ड (माओवादी) लाई भारतले शान्ति प्रक्रियामा पठाएको थियो ।
२०७४ को स्थानीय चुनावमा नेपाली काङ्ग्रेससँग र त्यसपछिको संसदीय चुनावमा एमालेसँग गठबन्धन नगरेको भए प्रचण्डको भोट जिरो हुन्थ्यो ।
प्रतिनिधिसभाको पुनःस्थापनाको माग गरी नेपाल बन्दमा ओर्लेका प्रचण्डले कार्यकर्तालाई ‘एमसीसी सम्झौता खारेज गर’ नारा लगाउन रोकेका थिए । यसको अर्थ प्रचण्ड र माधवले नेकाका देउवासँग एमसीसी सम्झौता पारित गरिदिने कसम खाएको किन होइनन् ? पाँच महिनाअघि प्रम देउवासँग संयुक्त हस्ताक्षर गरी एमसीसीलाई चार पाँच महिनाको समय मागेर पत्र लेखेको रहस्य फागुन १५ गते स्पष्ट भएको होइन र ?
सो पत्रअनुसार सम्झौता पारित नगर्न कार्यकर्ताको दबाब भएपछि प्रचण्डले फागुन ८ गते सदनमा सांसदलाई विरोध गराएको र सडकमा प्रहरी दमन गराई कार्यकर्ताको टाउको फोड्न लगाएको किन होइन ?
अमेरिकी सहायक उपमन्त्री डोनाल्ड लुले माघ २७ गते फोनमार्फत ‘राम्रो नहुने’ धम्की दिएपछि थरथर काँपेका प्रचण्डले सभामुखलाई फागुन २ गते सर्वदलीय बैठक बोलाउन लगाई सम्झौता पास गर्ने तानाबाना बुनेको किन होइन ?
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीसामु आत्मसमर्पण गरेका प्रचण्डलाई नेपाल मजदुर किसान पार्टीको देशभक्तिमाथि औँला ठड्याउने अधिकार छैन । नेपाली राजनीतिमा प्रचण्ड र उनको माओवादीलाई भारतीय ‘ट्रोजन हर्स’ भनी चिनिएकै हो ।
एमसीसी सम्झौता पारित हुँदा नेपाली जनता देशभक्त (सम्झौताविरोधी) र देशद्रोही (सम्झौताको समर्थक) मा विभाजित भयो, देश दुर्घटनामा प¥यो, देश प्रतिगामीहरूको कब्जामा गयो । अमेरिकी दूतावासको निर्देशनअनुसार ‘व्याख्यात्मक घोषणा’ पारित गरिएको खुलासा गर्ने प्रचण्ड कसरी माओवादीको नेपाली हुन लायक हुन्छन् ? प्रचण्डकै भाषामा ‘व्याख्यात्मक घोषणा’ ठगपत्र हो । यसले देशको सार्वभौमिकता गुम्ने खतरा बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *