भर्खरै :

नाटो, रूस र इतिहासको प्रतिगमन

सन् २०२० मा संरा अमेरिकाको प्रतिनिधिसभा सदस्यको लागि मैले भेर्मन्टबाट कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएको थिएँ । बितेका झन्डै तीस वर्षमा संरा अमेरिकी चुनावमा कम्युनिस्ट उम्मेद्वार बनेको यो नै पहिलोपटक थियो । चुनाव प्रचारको क्रममा हामीले मुख्यतः युद्ध, साम्राज्यवाद र कामदार वर्गका मुद्दा उठाएका थियौँ ।
‘युद्ध अन्त्य गरौँः कम्युनिस्टलाई मतदान गरौँ’ भन्ने नाराका साथ मैले चुनाव प्रचार अभियानमा डोनबासको द्वन्द्वको मुद्दा प्राथमिकताका साथ उठाएको थिएँ । संरा अमेरिका–युरोपेली सङ्घ–नाटो साम्राज्यवादले कसरी संसारलाई आणविक लडाइँको मुखमा पु¥याइरहेको छ भन्ने विषयमा मैले जोडका साथ आफ्ना विचार राखेको थिएँ । मेरो चुनावी पोस्टरमा युक्रेनको नक्सामाथि संरा अमेरिकी झन्डाको आकृति भएको बम खसालिएको चित्र थियो ।
सन् २०२० को त्यो चुनावमा संरा अमेरिकाभरिमा म एक्लो त्यस्तो उम्मेदवार थिएँ जसले लुगान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्रको स्वाधीनता स्वीकार्नुपर्ने विषयमा खुला रूपमा बोलेको थिएँ । सन् २०२० को जनवरीमा डार्टमाउथ कलेजमा आयोजित चुनावी बहसको क्रममा युक्रेनमा नवनाजीवादको उदयबारे राष्ट्रपति पदका उम्मेदवार तुलसी गब्बर्डसँग समेत मैले बहस गरेको थिएँ । गब्बर्डले युक्रेनलाई ‘प्रतिरक्षात्मक’ हतियार दिन समर्थन जनाएकी थिइन् ।
मेरो चुनावी अभियान विश्व शान्तिमाथि संरा अमेरिकी साम्राज्यवादले तेर्साएको खतरामा केन्द्रित थियो । नाटो संरा अमेरिका र युरोपेली साम्राज्यवादको सैनिक अङ्ग हो, जसले संसारभर अराजकता र विध्वंस निम्त्यायो । उसले विश्वभर प्रभुत्ववाद थोपर्न र स्रोतसाधन हत्याउन दसौँ लाख मानिसको संहार ग¥यो । उदारपन्थी पश्चिमा छविको आवरणमा संसारमा हिंसा फैलाउन उसले भूमिका खेल्यो ।
संसारभरका स्रोत हत्याउन र संरा अमेरिकी प्रभुत्ववादलाई चुनौती दिने देशलाई सिध्याउन सरकार परिवर्तन, ‘मानवीय हस्तक्षेप’ र नाटोको विस्तार गर्ने कुरामा संरा अमेरिकाका डेमोक्रेटिक र रिपब्लिकन, उदारपन्थी र नवअनुदारपन्थी सबै एक हुने गरेका छन् ।
सन् १९९१ पछिको प्याक्स अमेरिकाना नै संरा अमेरिकी अभिमान र विजयउन्मादको उत्कर्ष थियो । ‘इतिहासको अन्त्य’ को घोषणा त्यत्तिबेला पश्चिमा देशहरूको उन्मादको अभिव्यक्ति थियो । पश्चिमा देशहरूले युगोस्लाभियामा संरा अमेरिका–नाटो हस्तक्षेपले निम्त्याएको रक्तपात धेरै अघि भुलिसकेका छन् । त्यही कारण सन् १९९० दसकमा युगोस्लाभिया विखण्डित र बाल्कनीकरण भएको थियो । संरा अमेरिका–युरोपेली सङ्घ–नाटो मिलेर कोसोभो स्थापना ग¥यो । कोसोभो बाल्कन क्षेत्रमा संरा अमेरिकाको सबभन्दा ठूलो सैनिक अखडा क्याम्प बोन्डस्टीलको मुख्यालय हो ।
नाटो सेनाले निर्ममतापूर्वक बेल्ग्रेड र सर्वियामाथि हमला ग¥यो । ‘भूलवश’ चीनको दूतावासमाथि पनि हमला भयो । तीन जना चिनियाँ अधिकारीहरूको ज्यान गयो । चीनले त्यो हमलालाई ‘बर्बर कार्य’ भनी निन्दा ग¥यो । नाटोले गरेको बमबारीले सर्वसाधारण नागरिकको नरसंहार ग¥यो, जनताले प्रयोग गर्ने पूर्वाधारलाई निशाना बनाइयो । उनीहरूले रेडियो विकीरणयुक्त सामग्री प्रयोग गरेर मानिस, भूमि र पानीलाई समेत विषाक्त बनाउने अपराध गरे ।
संरा अमेरिका र नाटो युरोपमा मात्र सीमित रहेनन् । उनीहरू युरोप र उत्तरी एटलान्टिक सागर पार गरेर अफगानिस्तान, इराक, लिविया, सिरिया, सोमालियासम्म पनि पुगे । एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा विशेष कारबाहीहरू चलाए । दसौँ लाख मानिस अनाहकमा मारिए । दसौँ लाखभन्दा बढी मानिस विस्थापित भए । विस्थापित भएका मानिसहरूले फेरि संरा अमेरिका–युरोपेली सङ्घ–नाटो देशमा निषेध र निर्ममता सामना गर्न बाध्य भए । उनीहरूले त्यहाँ पनि आफू जुन बर्बर हिंसाबाट जोगिन भागेका थिए, त्यसैको सामना गर्न बाध्य भए ।
यो कुरा बुझ्न इतिहास बुझ्न जरुरी छ । सन् १७७४ मा भएको कुचुक–कैनर्जी सन्धिपछि सन् १७६८–७४ सम्म भएको रूस–टर्की युद्ध टुङ्गियो । त्यो लडाइँमा अटोमन साम्राज्यले क्रिमिया खनाते (खानहरूको देश) गुमायो । यसले रूसलाई आफ्नो निम्ति निकै महत्वपूर्ण सेभास्टोपोल जलसैनिक आधार बनाउने मार्गप्रशस्त ग¥यो । हामीले लेनिन, सोभियत सङ्घ र युक्रेनी सोभियत समाजवादी गणराज्य स्थापनाको कुरा पनि गर्न सक्छौँ । तथापि, दोस्रो विश्व युद्धमा युक्रेनमा भएको घटना भने अझ महत्वपूर्ण छ ।
त्यो इतिहासमा सबभन्दा कुख्यात मान्छे थिए–स्टेपान बान्देरा । उनी दोस्रो विश्वयुद्धताका युक्रेनी राष्ट्रवादी सङ्गठन (ओयुएन) का फासीवादी नेता थिए । ओयुएन र उनका नाजी मित्रहरू मिलेर सन् १९४१ देखि १९४५ सम्ममा दुई लाख युक्रेनी यहुदीहरूको संहार गरेका थिए ।
सन् २०१४ पछि बनेको युक्रेनी सरकारले लेनिन र सोभियतकालीन युद्धवीरहरूको शालिक ढालेर बान्देरा र अरू फासीवादी युक्रेनी नेताहरूको शालिक स्थापना गरेको थियो । सो कदमको धेरैले व्यापक विरोध गरेपछि निर्णय फिर्ता गर्न बाध्य हुनुप¥यो । युक्रेन सरकारले मरणोपरान्त बान्देरालाई ‘युक्रेनी नायक’ को सर्वोच्च सम्मान प्रदान ग¥यो ।
सन् २०१४ ताका युक्रेनमा नवनाजीवादी र फासीवादी लडाकूहरू मौलाए । तीमध्ये राइट सेक्टर र द एजोभ बटालियन दुई उल्लेखनीय शक्ति हुन् । युक्रेनी सेनासँग मिलेर उनीहरूले पश्चिमा देशहरूमा लडाकूहरू पठाउँथे ।
यो ऐतिहासिक संशोधनवादी र फासीवादीहरूको पुनःस्थापना रूसको प्रमुख चिन्ताको विषय हो । फासीवादविरुद्ध महान देशभक्तिपूर्ण युद्धमा सोभियत सङ्घले २ करोड ७० लाख मानिसको ज्यान गुमाएको थियो । यो इतिहास कहिल्यै बिर्सन सकिन्न । यो इतिहास पूर्व सोभियत सङ्घका जनताको लागि आज पनि जीवन्त अनुभव बनेर रहेको छ ।
वार्सा सन्धि कमजोर भएपछि संरा अमेरिकाका तत्कालीन विदेश सचिव जेम्स बेकरलगायत पश्चिमा नेता र कूटनीतिज्ञहरूले सोभियत सङ्घका तत्कालीन महासचिव गोर्भाचोभ र पछि रूसी राष्ट्रपति एल्सिनलाई ‘नाटो एक इन्च पनि पूर्वमा नबढ्ने’ वाचा गरेका थिए । ती नेताहरूले वास्तवमा झुट बोलेको आज आएर प्रमाणित भएको छ ।
नाटो धेरै पटक विस्तार भयो । उसको विस्तारले रूसको राष्ट्रिय सुरक्षालाई जोखिममा पु¥यायो । एउटा सार्वभौम देशको रूपमा जब क्युवाले सोभियत सेना र उसका आणविक हतियारलाई आफ्नो भूमिमा स्वागत ग¥यो, तब संरा अमेरिकाले संसारमा झन्डै आणविक उत्पात मच्चाइसकेको थियो । तथापि, बितेका ३० वर्षमा रूसका सुरक्षा चासोलाई उनीहरूले बेवास्ता गरिरहे । उनीहरूको पाखण्डी आज उदाङ्गिँदैछ ।
साम्राज्यवादी गुण्डा दलले संसारलाई फेरि थप जोखिममा धकेल्दैछ । पूर्ण आकारको प्रभुत्व फैलाउने दुई दलीय प्रतिबद्धताले आणविक द्वन्द्वतिर धकेल्दैछ । संरा अमेरिका–युरोपेली सङ्घ–नाटो मोर्चा अब रोकिनुपर्छ । हाम्रै जीवनकालमा युरोपमा शान्ति स्थापना गर्ने हो भने नाटोको विघटन गर्ने विषयमा विचार गर्नुपर्छ ।
(लेखक संरा अमेरिकी कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सचिव तथा दर्शनशास्त्रमा विद्यावारिधि हुनुहुन्छ ।)
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *