न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
भक्तपुर नगर मूर्त र अमूर्त सम्पदाहरूले भरिएको नगर हो । यहाँका मठ–मन्दिर, पाटी–पौवा, देवालय, शिवालयलगायत वर्षैभरि चल्ने चाड पर्व, परम्परागत सांस्कृतिक नाच, दाफा—भजन हाम्रा अमूल्य सम्पत्तिहरू हुन् । त्यो सँगै यहाँ खुलारूपमा रहेका थुप्रै पोखरीहरू पनि हाम्रा महत्वपूर्ण सम्पदा हुन् । पछिल्लो समय जर्मन वास्तुकलाविद् नील गोत्सेले भक्तपुरलाई जीवित सङ्ग्रहालयको नाम दिनुभएको छ । हाम्रा पुर्खाहरूले सिर्जेका ती सम्पदाहरूको संरक्षण भक्तपुर नगरपालिकाको चुनौती हो । इतिहासलाई खोतल्दै कैयौँ लोप भइसकेका र लोपोन्मुख सम्पदाहरूको अध्ययन, अनुसन्धान र उत्खनन गर्दै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र संवद्र्धनलाई जोड दिँदै आएको छ । मल्लकालमा निर्मित थुप्रै सम्पदाहरूलाई मौलिक सीप र प्रविधि तथा स्थानीय स्रोत र साधनको प्रयोग गरी पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुर नगरपालिकाले उत्कृष्टता हासिल गरेको छ । ऐतिहासिक महत्वका भाजुपोखरी र रानीपोखरी (न्हू पुखू) को पुनःनिर्माण एकसाथ भइरहेकोमा रानीपोखरी पुनःनिर्माण सम्पन्न भएको छ भने भाजु पोखरीको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
राजा प्रताप मल्लले ने.सं. ७९० अर्थात् वि.सं. १७२७ मा बनाएको काठमाडाँंैको रानी पोखरी, ने.सं. ७६७ (वि.सं. १७०४) मा राजा सिद्धिनरसिंह मल्लको पालामा बनेको ललितपुरको रानीपोखरी (न्हू पुखु) र राजा जगज्र्योति मल्लले ने.सं. ७५० (वि.सं. १६८७) मा बनाएको भक्तपुरको रानीपोखरी (न्हू पुखु) उपत्यकाका महत्वपूर्ण पोखरीहरू हुन् । मल्लकालमा फरक—फरक समयमा बनाइएका ती ऐतिहासिक महत्वका पोखरीहरूको पुनःनिर्माणको अवसर एकैसाथ पाउनु भक्तपुरवासीको लागि गौरवको कुरा हो । इतिहासमा बिरलैमात्र प्राप्त हुने यो अवसर भक्तपुरवासीलाई प्राप्त भएको छ । आफूलाई भन्दा अरूलाई प्राथमिकता दिनु भक्तपुरको विगतदेखिको परम्परा हो । भक्तपुरको भाज्यापोखरी र रानीपोखरी पुनःनिर्माणकै सिलसिलामा त्यहाँ कार्यरत कैयौँ कालिगढहरूसमेत काठमाडौँ र ललितपुरका रानीपोखरीहरू पुनःनिर्माणमा खटायौँ । ती नै भक्तपुरका दक्ष र सिपालु कालिगढहरूको श्रम र सीपले काठमाडौँको रानीपोखरी र ललितपुरको रानीपोखरी पुरानै अवस्थामा फर्केका छन् । परम्परागत सीप र प्रविधिको प्रयोग गरी मौलिक शैलीमा पोखरी पुनःनिर्माण गर्न भक्तपुरवासीहरू सक्षम छन् भन्ने कुरा ती पोखरीहरूको पुनःनिर्माणले पुष्टि गरेको छ । सम्पदाहरूको पुनःनिर्माणमा भक्तपुरका जनताको सीप र दक्षताप्रति विभिन्न ठाउँका जनताको विश्वास जित्न सकेका छौँ । यो हाम्रो ठूलो उपलब्धि हो । जनताको त्यो विश्वास यतिबेला हामीले आर्जेको महत्वपूर्ण सम्पत्ति हो । त्यसलाई पुँजीको रूपमा ग्रहण गर्दै अझ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
भक्तपुरको रानीपोखरी ने.सं. ७५० (वि.सं. १६८७) मा राजा जगज्र्योति मल्लको पालामा निर्माण गरिएको इतिहास छ । उक्त पोखरी लामो समयसम्म घाँसेमैदानको रूपमा रहेको वा झारपातले ढाकिएको थियो । भक्तपुरवासीमध्ये धेरैलाई भक्तपुरमा पनि रानीपोखरी रहेको थाहा नहुन सक्छ । २०२१ सालको नापीमा सार्वजनिक पोखरी जनिई नाप नक्सा भएको उक्त पोखरीसहितको जग्गा तत्कालीन पञ्चायती सरकारको पालामा २०४० सालतिर नेपाली सेनाको नियन्त्रणमा गयो । रानीपोखरी र वरपरको क्षेत्रमा परम्परादेखि हरेक वर्ष प्रजापति, राजलवट खत्री र अन्य धेरै भक्तपुरवासीहरूले देवाली पूजा गर्ने ठाउँ हो । देवाली पूजाको बेला कहिलेकाहीँ सर्वसाधारण जनता र नेपाली सेनाबीच विवाद पनि नभएको होइन । सांस्कृतिक र ऐतिहासिक महत्वका ठाउँमा सेनाले अवरोध गरेपछि जनता र सेनाबीच दूरी बढ्नु स्वाभाविक हो । पछि देवाली पूजा र अन्य सांस्कृतिक पर्वहरूको बेला खुला गर्ने गर्दै आएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनपछि सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको क्रममा रानीपोखरी पुनःनिर्माणमा हाम्रो ध्यान गयो । नगरपालिकाको नियमित सरसफाइको क्रममा रानीपाखेरी सफाइ गर्ने कार्यक्रम राखियो । जनप्रतिनिधि, स्थानीय जनता, टीम–क्लव, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, दाफा भजन, विभिन्न गुठीका गुठियारहरूलगायत सबैको सहयोगमा पटक—पटक सफाइ कार्यक्रमहरू भए । रानीपोखरीको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वबारे अध्ययन गर्न संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा २०७६।६।१३ गते एक अध्ययन समिति गठन गरियो । उक्त समितिमा सहप्राध्यापक विश्वमोहन जोशी, पुरातत्व विभाग, भक्तपुरका कार्यालय प्रमुख, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रमुख, सम्पदा शाखाका सूर्यभक्त खर्बुजा र योजना शाखा प्रमुख रामगोविन्द श्रेष्ठ रहनुभएको थियो । उक्त समितिले रानीपोखरीको गहन अध्ययन गरी २०७७ मङ्सिर २७ गते भक्तपुर नगरपालिकामा प्रतिवेदन प्रस्तुत ग¥यो । त्यो प्रतिवेदन नै रानीपोखरी आजको स्वरूपमा फर्काउने महत्वपूर्ण आधार बन्यो ।
पोखरीको वास्तविक क्षेत्रफल यकिन गर्न भक्तपुर नगरपालिका, नेपाली सेना र नेपाल सरकार नापी विभागको संयुक्त टोलीले नापजाँच ग¥यो । पोखरीको कुल क्षेत्रफल १५ रोपनी ५ आना २ पैसा यकिन भएपछि पुनःनिर्माणको लागि आवश्यक काम अगाडि बढाइयो ।
नेपाली सेनाका तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापासित २०७५ चैत १८ गते भेट्ने अवसर मिल्यो । सो भेटमा भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण गरिरहेको अवगत गराउँदै रानीपोखरी पुनःनिर्माणको आवश्यकता र सहयोगबारे छलफल भयो । उहाँ पुनःनिर्माणमा सकारात्मक हुनुभयो । उहाँले तत्काल सेनाका एक जर्नेल अनन्त कार्कीको टीमलाई जिम्मा दिनुभयो । त्यो टीमसँग हामीले पटकपटक छलफल ग¥यौँ र २०७६ जेठ २ मा नेपाली सेना जङ्गी अड्डाको तर्पmबाट रानीपोखरी पुनःनिर्माणका साथै सर्वसाधारण जनताको लागि खुला गर्ने सहमतिपत्र प्राप्त भयो र त्यसपछि रानीपोखरी पुनःनिर्माणको ढोका खुल्यो ।
भक्तपुर नगरपालिकाले परम्परागत सीप र दक्षता प्रयोग गरी रानीपोखरी पुनःनिर्माण गर्ने निर्णय ग¥यो । स्थानीय श्यामसुन्दर बाटीको संयोजकत्वमा उपभोक्ता समिति गठन गरी कार्यलाई अगाडि बढाइयो । परम्परागत शैलीमा पोखरी निर्माण एकै वर्षमा सम्पन्न गर्न सम्भव थिएन । भक्तपुर नगरपालिकाको आवधिक योजनामा समावेश गरी क्रमशः निर्माण कार्य अगाडि बढाइयो । हाम्रो कार्यकालको अन्तिम समयमा रानीपोखरी पुनःनिर्माण कार्य सम्पन्न भएको छ । पोखरीसँगै ह्वोङ् ह्वोङ् पाटी र अन्य पाटीहरू निर्माणको लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरी समानान्तर ढङ्गले कार्य अगाडि बढाई सबै निर्माण कार्य सम्पन्न भएको छ ।
रानीपोखरी पुनःनिर्माणले भक्तपुरको सुन्दरता र शोभा बढाउने निश्चित छ भने यो पोखरी पर्यटकीय नगर भक्तपुरको थप आकर्षणको केन्द्र बन्नेमा हाम्रो विश्वास छ । आगामी दिनमा आन्तरिक र बाह्य पर्यटकहरूको आगमनमा यो पोखरीले ठूलो टेवा पु¥याउनेछ ।
पोखरी पुनःनिर्माणको क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले रानीपोखरी पुनःनिर्माणमा चासो लिएर पटकपटक निरीक्षण गर्नु भई यो पोखरीको ऐतिहासिक महत्वबारे जानकारी दिनुका साथै मौलिक शैली जोगाई राख्न जोड दिनुभयो । पोखरी निर्माणमा खटिएका डकर्मी, सिकर्मीलगायत सम्पूर्ण कालिगढहरूलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो र सबैको हौसला बढाइदिनुभयो । उहाँप्रति भक्तपुर नगरपालिकाको तर्पmबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, तत्कालीन प्रधान सेनापति पूर्णचन्द्र थापा, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलगायतले पोखरी निर्माणको क्रममा अवलोकन गर्नुभई कार्यरत सबैलाई उत्साहित गर्नुभएकोमा उहाँहरूप्रति पनि आभार व्यक्त गर्दछौँ ।
यस पोखरी पुनःनिर्माणमा धेरैको प्रत्यक्ष र परोक्ष सहयोग प्राप्त भएको छ । रानीपोखरी पुनःनिर्माणसम्बन्धी कार्यदलका संयोजक डा. पुरुषोत्तमलोचन श्रेष्ठ, प्राविधिक समिति, सम्पदा शाखा र प्राविधिकहरू, उपभोक्ता समितिका सदस्यहरू, पत्रकारहरू र सफाइमा सहयोग गर्ने तःगुठी लगायतका गुठियारहरू, टीम–क्लव, सेना, प्रहरी, सशस्त्र प्रहरी, विद्यालय, कलेजका विद्यार्थी र शिक्षक तथा प्राध्यापकहरूलगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई नगरपालिकाको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा गरिरहेको अगुवाइमा यहाँहरूले गर्नुभएको सहयोगको इतिहासले उच्च मूल्याङ्कन गर्नेछ । भक्तपुरमा अवस्थितमात्रै होइन देशको कुनै पनि सम्पदा परम्परागत शैलीमा पुनःनिर्माण गर्न भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू निरन्तर कटिबद्ध भएर लागिरहने विश्वास दिलाउन चाहन्छौँ ।
(मङ्गलबार न्हू पुखु (रानीपोखरी उद्घाटन समारोहमा व्यक्त मन्तव्य–स.।)
Leave a Reply