भर्खरै :

काभ्रेको पाँचखालमा एमसीसी सम्झौताको विरोध सभा

पाँचखाल, १७ फागुन । नेमकिपा पाँचखाल नगर समितिको आयोजनामा पाँचखाल नगरपालिकाको तामाघाट चोकमा एमसीसी सम्झौताको विरोधसभा सम्पन्न भएको छ ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले भन्नुभयो, “शासक दलले आफ्ना कार्यकर्ताहरूलाई जाँडरक्सी, जुवातास खेल्न सिकाइरहेको बेला नेमकिपाका कार्यकर्ताहरू जनतालाई देशभक्त र क्रान्तिकारी बनाएर देश र जनताको सेवा गर्न प्रेरित गर्दै छन् ।” एमसीसी सम्झौताविरुद्ध नेपाली जनताले लामो सङ्घर्ष गर्नुपर्ने उहाँले बताउनुभयो ।
सभामा नेमकिपा पाँचखाल नगर समितिका अध्यक्ष धनबहादुर तामाङले आफ्ना कार्यकर्तालाई विकासको नाममा ठेक्कापट्टा दिलाएर शासक पार्टीहरूले भ्रष्टाचारलाई मलजल गरेको बताउनुभयो । मतदाताहरूले अब सोचविचार गरेर मतदान गर्नुपर्ने जिकिर गर्दै उहाँले भन्नुभयो, “एमसीसी पास गर्ने शासकहरूलाई हालेको मत खेर गयो । नेमकिपालाई हालेको मत कहिल्यै खेर गएन ।”
कार्यक्रममा नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले भन्नुभयो, “शासक दलका विद्यार्थी सङ्गठनहरूले पनि आफ्नो पार्टीका एमसीसी पक्षधर नेताहरूलाई कारबाही गर्न सकेनन् ।” उहाँले एमसीसीको पक्ष लिने पूर्वराजदूत, सचिव, शासक दलका नेताहरूलाई जनताले चिन्नुपर्ने र दण्डित गर्नुपर्ने बताउनुभयो । आर्थिक सहयोगको नाममा संरा अमेरिकाले हस्तक्षेप गरेका विभिन्न देशबारे उहाँले चर्चा गर्नुभयो ।
त्यस्तै समितिका सहसंयोजक सुरेश परियारले एमसीसीलाई रोक्न नेमकिपाले धेरै प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब एमसीसीसँगै साम्राज्यवादविरोधी सङ्घर्ष अझ सघन पार्नुपर्नेछ ।”
सभामा वाला म्हेन्दो सांस्कृतिक समूहका कलाकारहरू तथा रणबहादुर राना र सीर्जु शाहीले एमसीसीविरोधी गीत कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मुना तामाङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *