सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
एमसीसी सम्झौताको प्रकरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दोहोरो भूमिका खेलेको पुष्टिमात्र भएको छैन, उनले र उनको पार्टीले आत्मसमर्पण गरेको छर्लङ्ग भइसकेको छ । उनीहरूले एकातिर एमसीसी सम्झौताको विरोधमा आफ्ना युवा विद्यार्थीहरूलाई सडकमा उतारेर अनावश्यकरूपमा प्रहरीसित मुठभेद गर्न लगाएर चर्चा बटुल्न खोजे भने अर्कोतिर आफूहरू व्याख्यात्मक घोषणाको नयाँ आवरण ओढेर कुनै पनि हालतमा पास नगर्ने कसम खाएको एमसीसी सम्झौता पारित गर्न जोशिएर लागे । यो भन्दा दोहोरो चरित्र वा पाखण्ड अरू के होला ? यसमा देशभक्तिको भावनासहित सडकमा उत्रेका युवा–विद्यार्थीको कुनै दोष छैन बरू उनीहरूलाई भ्रममा राखेका र धोखा दिएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरू विरोध र निन्दाका भागी छन् ।
विडम्बना ! अमेरिकी एक सहायक विदेशमन्त्रीको दबाब र प्रधानमन्त्री तथा नेकाका सभापति शेरबहादुर देउवाको सरकारबाट निष्काशन गर्ने धम्कीको अगाडि लत्रक्क परेका त्यही पुष्पकमल दाहालले कथित व्याख्यात्मक घोषणा आफ्नो सोचाइ भनेर सोमबार एक पत्रकार भेटघाटको क्रममा दाबा गरे । आफ्नो आत्मसमर्पण र बौद्धिक टाट पल्टाइलाई ढाकछोप गर्ने निरर्थक प्रयत्न गर्दै दाहालले देशभक्तिको नाराले केही नहुने, जनताको समर्थन नमिल्ने भन्दै नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालको देशभक्तिपूर्ण र जनताको प्रतिनिधिको भूमिकालाई अवमूल्यन गर्ने दुष्प्रयत्न गरे । उनको अभिव्यक्तिले स्वयम् उनकै नक्कली क्रान्तिकारी र राजनेताको छविलाई पुनः उदाङ्गो पारिदिएको छ ।
एक समय नेपालको क्रान्तिकारी नेताको छवि बनाएका प्रचण्ड वास्तवमा भारतीय विस्तारवादी शासकहरूका गोटीमात्र भएको पनि उनकै क्रियाकलापले प्रमाणित गरिसक्यो । कथित जनयुद्धको क्रममा माओवादीको सशस्त्र युद्धलाई सहायता गर्न र बदलामा माओवादी पार्टीले कहिल्यै भारतको विरोध नगर्ने वाचासहितको पत्र तत्कालीन भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीलाई प्रचण्ड र बाबुराम भट्टराईले पठाएको सार्वजनिक भइसकेकै कुरा हो । एमसीसीलाई पठाएको पत्रले उनको अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सेवा गर्ने लालसालाई छर्लङ्ग पारिदिएको छ । साम्राज्यवादी र विस्तारवादीहरूको पैसाले बिलासी जीवन व्यतित गरिसकेपछि जस्तै नेताको पनि कहाँसम्म पतन हुन्छ भन्ने तड्कारो उदाहरण प्रचण्ड र बाबुराम भट्टराई नै भएका छन् । नक्कली क्रान्तिकारी छवि धेरै दिन नटिक्ने समयले पुष्टि गरेको छ ।
Leave a Reply