रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
जुम्लामा पुर्खादेखि मार्सीजातको धानको खेती गरिन्छ । दुई जातको मार्सीधानमा काली मार्सी र सेतो मार्सीधान हुन् । मार्सीधानको खेती ७ महिना लगाएर तयार हुन्छ । विश्वको अग्लो ठाउँ जुम्लाको छुमचौर धान फल्ने ज्युला हो ।
राणाहरूले जुम्लाको मार्सीधान हुलाकबाट काठमाडौँमा ल्याएर खाने गर्थे भन्ने भनाइ रहेको छ । मार्सी चामलको भात दरिलो, मीठो र तागतयुक्त मानिन्छ । अहिले मार्सी चामलको भात नेपाली जहाँ बस्छन्, त्यहीका भान्सामा पाक्ने गर्छ । सधैँजसो नपाके पनि स्वाद चाख्ने रूपमा पाक्ने गर्छ । अझ जुम्ली जहाँ पुगेका छन्, त्यहाँ मार्सीधान पुग्ने र पाक्ने गरेको हुन्छ ।
सहरका पैसावालहरूको भान्सामा मार्सी चामल पकाएर खाने गरिन्छ । अहिले जुम्लाका प्रायः किसानहरू मार्सीधान बेचेर आयातीत चामल खाने गर्छन् ।
गुरु चन्दननाथ बाबाको पालादेखि जुम्लामा मार्सीधानको खेती सुरु गरिएको किवदन्ती भए पनि जुम्लामा यसको खेती परम्परादेखि चलिआएको छ ।
स्वास्थ्यको लागि लाभदायी, पेट भर्ने, ढिलो भोक लाग्ने, तागत दिने आदिका कारण यसको उपयोग र उत्पादन बढ्दै गएको देखिन्छ । कर्णालीमा यातायात २०६३ चैत ३० गते पुगे पनि पहिल्यै हवाईजहाजबाट चामल ओसारिन्थ्यो । त्यतिबेला जुम्लाका गाउँबस्तीका मानिसहरू त्यो चामललाई मन पराउँदैनथे ।
जुम्लामा मार्सी चामलको स्वादका कारण भातमुखी संस्कार रहेको पाइन्छ । भातको अगाडि अरू खानालाई मन पराइन्न । जुम्लामा सबै अन्नबालीको खेती हुन्छ, तर भात प्राथमिकताको खानामा पर्छ । भातपछि गहँु प्राथमिकतामा पर्छ । खेती मार्सीधान, गहँु, कोदो, चिनो, कागुनो, फापर आदि हुने भए तापनि धानको मान्यता धेरै हुन्छ । गहँु खेतीमा स्थानीय गहँुको बीउ खेती लोप हुँदै गएका कारण गहँु खानाप्रति चाहना घट्दै गइरहेको छ ।
चैत महिनाको १२ गतेदेखि मार्सीधानको खेती प्रारम्भ गरिन्छ । चैत १२ गते बिहानको समयमा भण्डारबाट धानको बीउ निकालेर केलाउने काम गरिन्छ । दिउँसो बीउलाई पानीमा भिजाइन्छ । ४ दिनसम्म पानीमै राखिन्छ ।
उता बीउ उमार्ने ब्याड १३ चैतको दिन पहिलो पटक गरिन्छ । ब्याड कार्तिकबाटै बाँझो राखिएको हुन्छ । ब्याडमा गाईको मल, ओखरका पातको घसन गरेर कुहाएको मल, पिना, ऐंजेरु, फाटो कपडा बीउको ब्याडको माटोमा मिसाइन्छ । ब्याडभरि पानी भरिन्छ । पानी रोप्ने बेलासम्म कहिले पनि पानी खाली गर्नु हुँदैन । ब्याडलाई चैत १६÷१७ गते फेरि गोरु जोतेर खन्ने काम गरेर ब्याड तयार पारिन्छ ।
१२ गते भिजाएको बीउलाई चैत १६ गते पानीले पखाल्ने काम गरिन्छ । पखालेर घाममा पटकपटक पानी मिसाउँदै सल्लाको पात पिटलमाथि उनीको लुगामा दिनभरि सुकाइन्छ । राती सल्लाको पात, भोजपत्र प्रयोग गरी भान्साको अगेनामा लुगा ओढाएर राखिन्छ । १९ गतेको बेलुकीसम्म बिहान चिसो पानीले सिँचित गरिन्छ । बीउभित्र तीतेपाती मिसेर उमाल्ने चलन छ ।
चैत २० गते बीउ उम्रिन्छ र ब्याडमा लगेर छरिन्छ । ब्याडमा चामलको पुवा र लगड हालेर पूजा गर्ने चलन छ । बीउ ब्याडमा छरिसकेपछि दिनदिनै ब्याडभरि बीउ डुब्ने गरी पानी राखिरहनुपर्छ । वैशाख १ गते नयाँ वर्षको दिन बेर्नामा फेरि पूजा गरी बीस अंजुली पानी बेर्नाबाट बाहिर फाल्ने चलन छ । यो अहिले बुझ्दा बेर्नामा भएका पानीमा पानी थुन्दा थुन्दा बीस बढ्ने भएपछि फालिने रहेछ । त्यसपछि बीउ चरीपाते हुँदै बढ्दै जान्छ र जेठ महिनाको १ गतेबाटै बीउ बेर्ना रोप्न तयार हुन्छ ।
खेतमा जौ पाकिरहेको हुन्छ । जेठमा जौ बाली उकेरेर किसानहरूले जेठ महिनाभरि धान रोप्ने गर्छन् । चिउरे खेतमा जेठ १५ गते अगाडि धान रोपिन्छ भने जौ लगाएको खेतमा जेठ १५ गतेपछि धान रोप्ने काम हुन्छ । तियापानी खेत (आकासे पानीको भरका खेत) मा असार १ गतेदेखि १० गतेसम्म धान रोपिन्छ । असार १० गतेपछि धान रोप्दा धान काँचो भएर पलाँटोमात्र फल्ने हुन्छ ।
जुम्लामा अनौठो धान रोप्ने चलन छ । पुख्र्याैलीदेखि धान रोप्न दिन तोकिएको हुन्छ । २० गते रोप्नेले २० गते नै वर्ष वर्षै रोप्ने गर्छ ।
खेतमा धान रोपिसकेपछि एक महिना लगातार खेतीभरि पानी राख्नुपर्छ । जुम्लामा तिलानदी, रिमानदी र यिनका सहायक खोलानालाबाट नहर खनी पानी पठाउने काम हुन्छ । नदीको पानी सजिलै सिँचाइ हुने जुम्ला देशकै पहिलो होला । आकाशको पानीको भरमा जुम्लामा धान खेती गरिँदैन । नदी र खोलाको पानीको भरमा खेती गरिन्छ ।
एक महिनामा खेतमा पानी भरिभराउ गर्नुको कारण खेतमा धान रोपेपछि धानको बिरुवा ढिला बढ्छ भने झारपात अत्यन्तै चाँडो उम्रन्छ र धानलाई कमजोर बनाउँछ । जुम्लामा झारपातको कारण धान, कोदो, मकै, सिमी आदिको खेती गर्दा किसानहरूले धेरै श्रम दिनुपर्ने हुन्छ । कमजोर मानिसले खेती गरेर खानु जुम्लामा दुुःख हुन्छ ।
धान रोपेको १ महिना पुगेपछि पानी भरेको खेतमै गोडमेल गरी बिगारो लगाएर खेत छाल्ने गरिन्छ । अनि धान बढ्न सुरु गर्छ । साउनमा फेरि दोस्रोपटक झार उखेलेर फालिन्छ । साउन महिनामा पानी राख्नुपर्दैन । आकासे पानीको भरमा धान बढ्दै जान्छ । धान बढ्ने काम अत्यन्तै ढिला हुने गर्छ । झारपातले किसानहरूलाई धेरै सताउँछ भने धानमा त्यसकै कारण लागत बढ्ने गर्छ ।
भदौ महिनाभरि धानलाई आकासे पानीको मात्र भर नगरी नहरबाट पानी पठाउने काम गरिन्छ । जति पानी दियो त्यति धान चाँडो पाक्न तयार हुन्छ ।
भदौ २२ गतेभित्र पसाएको धान पाक्ने र नपसाएको धान काँचो हुने गर्छ । असोज महिनाभरि धान पाकेर कार्तिकमा काटेर घर भित्र्याउने गरिन्छ ।
धान हातले कुटेको रसिलो र मीठो हुन्छ । मिलमा कुटेको चामलको त्यति स्वाद हुँदैन ।
Leave a Reply