सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
एक समयमा जग्गाधनी र किसानको बीचमा सिधा सम्बन्ध हुन्थ्यो । तर, आज कुनै कारखानामा काम गर्ने मजदुर र सामानको उपभोक्ता एक अर्कालाई चिन्दैनन् । नेपालको विकासको नाममा नेपालसँग सम्झौता गर्ने संस्था वा देश नेपालले नचिनेका संस्था वा देश हुनेछन् । पुँजीवादी समाजमा बिचौलिया भएजस्तै नेपाल र भारतबीचको कुनै योजनामा तेस्रो पक्ष लुकेको हुन्छ वा दोस्रो पक्ष देखिन्छ तर वास्तविक पक्ष लुकेकै संस्था वा देश हुने गर्छ ।
इतिहासमा कुवेत पनि इराककै भाग थियो, एउटा कालखण्डमा तिनीहरू छुटे । अरबका देशहरूमा जसलाई हामी ‘बाथ’ पार्टीको नाममा सुन्छौँ– तिनीहरू व्यवहारमा समाजवादी हुन् । तिनीहरू तेलको खानीलाई व्यक्तिको नाममा नदिई देशकै स्वामित्वमा राख्छन् । पश्चिमी प्रजातन्त्रको मुख्य गाँठो हो – सबै वस्तुको मालिक व्यक्ति हुनुपर्छ समाज वा सरकार होइन । सरकारले व्यापार र कलकारखाना– उद्योग, खेती गर्ने होइन । ती सबै व्यक्ति वा कम्पनीको स्वामित्वमा हुनुपर्छ ।
कुवेतभित्र अमेरिकी जाल फैलिँदै गर्दा इराक वा सद्दाम हुसेनले कुवेतमाथि हमला गरे । त्यो त निहुँ थियो, भित्री पक्ष संरा अमेरिका प्रकाशमा आयो । अनि, इराकको विध्वंस सुरु भयो । अमेरिकी साम्राज्यवादको तारो व्यक्ति नभएपनि सबैलाई तर्साउन र थर्काउन सद्दाम हुसेनलाई तारो बनायो । वास्तवमा लडाइँ बाथ पार्टी र विचारविरुद्ध थियो । यही कुरो लिबिया र गद्दाफीसँग भयो । इराकमा सद्दाम हुसेनको शासन ढाल्न अमेरिकी केन्द्रीय गुप्तचर विभागले बाहिरबाटै मानिसहरू पठाएको थियो र लिबियामा पनि त्यस्तै ग¥यो । त्यति बेलासम्म सेना, प्रहरी, गुप्तचर विभाग र प्रशासनमा अमेरिकी एजेन्टहरू पुगिसकेका थिए । यो ‘चमत्कार’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको माध्यमबाट भएको थियो ।
इस्टोनिया, लात्भिया, लिथुआनिया, पोल्यान्ड, बेलारुस, चेकोस्लोभाकिया, युगोस्लाभिया, हङ्गेरी, रोमानिया, बुल्गेरिया र अल्बानियामा पनि गैरसरकारी संस्था (Ngo) र ती देशहरूमा विदेशमा बस्ने देशवासी अथवा ती देशका प्रवासीहरूले पुरानो सत्ताको विरोधमा अमेरिकी र नेटोको सहयोगमा उपद्रव गरेका थिए ।
चीनलाई दुःख दिन हङकङ र थाइवानलाई अमेरिकीहरूले प्रयोग गर्दै छन् । त्यहाँ पहिलेदेखि बेलायती र अमेरिकीहरूका पुस्ता बस्दै आएका छन् र आवश्यक पर्दा बेलायत र अमेरिकाले तिनलाई प्रयोग गर्छन् ।
अहिले युक्रेनलाई संरा अमेरिकाले रुसको विरोधमा प्रयोग गर्दै छ । रुसको निम्ति पहिलेदेखि बा¥है महिना जहाज चलाउन सक्ने बन्दरगाह नहुनु र रुसको दक्षिण– पश्चिममा कुनै पहाडी क्षेत्र नभई मैदानी भागमात्र रहनुको कारण १९ औँ शताब्दीको सुरुमै नेपोलियनबाट हमला भयो र दोस्रो विश्वयुद्धमा हिटलरले उत्तर र दक्षिणबाट हमला गरे । सन् १९०५ तिर जापानले पूर्वबाट हमला गरेको थियो । रुस पेट्रोल र ग्यासको साथै अन्य खनिजको पनि भण्डार हो । युक्रेन पहिले रुसको भाग हुँदा जर्मनी र अन्य युरोपेली देशको लागि युक्रेनको जमिनबाट पाइप बिछ्याइएको थियो । तर, रुसबाट युक्रेन छुट्टिएपछि अमेरिकाले युक्रेनलाई रुससँग रुसी ग्यास र पेट्रोलको शुल्क माग्न लगायो ।
अमेरिकाको अर्काे चाल
नेटोका युरोपेली देशहरूको व्यापार सम्बन्ध रुससँग बढ्दै जाँदा अमेरिकाले युरोपेली देशहरूलाई रुससँग ग्यास, पेट्रोल आदि सामान नकिन्न दबाब दियो र महँगो मोलमा चाहिने सामान अमेरिकाबाटै किन्न बाध्य पा¥यो । संरा अमेरिकाले युक्रेनबाट रुसमाथि हमला गर्ने उद्देश्यले युक्रेन र रुसबीच फाटो ल्याउने काम ग¥यो र रुसको समर्थन गर्ने सरकारलाई फालेर अमेरिकाले आफ्नो समर्थक सरकार गठन गर्न लगायो । रुसले आफ्नो देशलाई बचाउन युक्रेनमाथि हमला ग¥यो । त्यसले अरू पूर्व समाजवादी देशहरू र नेटोका समर्थक युरोपेली देशहरूलाई तर्साएर रुसको विरोधमा उभ्यायो ।
नेपालमा अहिले बुद्धिचालको खेलमा एउटा घोडा जस्तो छ, एमसीसी । नेपाल र भारतबीच फाटो ल्याउन कहिले नेपाललाई त कहिले भारतलाई उचालेर लडाउन खोजिन्छ । अब दुवै मिलेर नेपाललाई दोहन गर्नेछन् । सम्भवतः नेपाली ‘गोर्खाली’ लाई अमेरिकाले विदेशमा आक्रमण गर्न प्रयोग गर्नेछ ।
यसकारण, संरा अमेरिकाले विभिन्न देशमा गरेका अन्याय, अत्याचार र शोषणको इतिहासबारे हाम्रा पाठकहरूलाई सुसूचित गर्नु पत्रकारिताको धर्म हो ।
Leave a Reply