भर्खरै :

ललितपुरमा एमसीसीविरुद्ध नेमकिपाको जनसभा

ललितपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा महालक्ष्मी नगरपालिकाको देवननी चोकमा एमसीसी सम्झौताविरुद्ध विरोधसभा भयो ।
सभामा नेमकिपा ललितपुर जिल्ला अध्यक्ष राजवीर डंगोलले देशघाती एमसीसी सम्झौतालाई सोचविचार र छलफल नै नगरी जनतालाई झुक्याएर अनुमोदन गरिएको बताउनुभयो । सत्तासीन दलहरूको नाम फरक भए पनि काम एउटै भएको उहाँको तर्क थियो । उहाँले भन्नुभयो, “एमसीसी सम्झौताको निरन्तर विरोध गरेको नेमकिपामात्र अहिलेसम्म विश्वासिलो पार्टी साबित भएको छ । आफूलाई कम्युनिस्ट भन्ने अन्य सबै दल नक्कली कम्युनिस्ट साबित भएका छन् ।” अमेरिका पनि पत्ता नलागेको बेला आत्मनिर्भर देश नेपाललाई एमसीसीले झन्झन् परनिर्भर बनाउने खतरा उहाँले औँल्याउनुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका सहसंयोजक सुरेश परियारले साम्राज्यवादी बुद्धिजीवीहरूका खोटा विचारको खण्डन गर्नुभयो । असंलग्न परराष्ट्र नीति त्यागेमा नेपालको हविगत युक्रेनको जस्तै हुने उहाँले बताउनुभयो । नेपाली जनताले सत्ता गठबन्धनका सबै दल र एमालेलाई दण्डित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “देशलाई एमसीसीको कहरबाट जोगाउन २७५ जना सांसदहरूमध्ये ४÷५ जना सांसदले मात्र बोल्नु कहालीलाग्दो स्थिति हो । नेपाली काङ्ग्रेस, माओवादी र एमालेलाई दिएको जनताको मत खेर गएको छ ।” कार्यक्रममा नेमकिपा ललितपुरका प्रज्ज्वल महर्जन र नमन महर्जनले पनि बोल्नुभएको थियो । सिद्धिपुर नगरको ध्वाकाबाट सुरु भएको विरोध जुलुस देवननी चोकमा गई विरोधसभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *